संसार, गलत क्रियाकलाप गर्नेहरूबाटै नष्ट हुँदैन, यस कारणले हुन्छ जो गलत क्रियाकलाप चूपचाप देखि मात्र रहन्छन्।
-अलबर्ट आइन्स्टाइन
एकदिन वरिष्ठ अधिवक्ता मित्रको ल च्याम्बरमा सेवाग्राही र वकिलबीच संवाद सुन्दै थिएँ। मुद्दाका विषयमा लामा कुरा भैसकेपछि कुरोको चुरो थालनी भयो। मेरा कान ठाडा भए।
सेवाग्रही-हजुरको पार्टीका न्यायाधीश नियुक्ति हुनुभयो नि।
-हो नि।
हजुरका साथी पनि रहेछन्, न्यायाधीशसँग हजुरको सेटिङ छ कि छैन् ? वकिल– तपाईँको मुद्दामा दम छ। आधार छन्। प्रशस्त प्रमाण पनि छन्। बहस, तर्क गर्ने राम्रै ठाउँ छ। मेरो स्वभाव, न्यायप्रतिको समर्पण र आदर्श उनीहरूले राम्रै बुझ्छन्। त्यस्तै मसँग इजलासमा राम्रै व्यवहार पनि गर्छन्। तर, सेटिङ सम्बन्ध भने मेरो छैन। तपाईँका मुद्दामा जब सशक्त प्रमाण हुन्छन् तब सेटिङ आवश्यक हुँदैन।
सेवाग्राही– वकिल साब, हजुर अदालत नबुझेझैँ गर्नुहुन्छ। सेटिङ नभए फैसलामा ढुक्क हुन भने सकिँदैन, क्या।
सेवाग्राही उठे। बाहिरिए। दैनिकजसो यस्ता विषय सामना गर्नुपरेका वकिललाई त यो कुनै नौलो विषय भएन। तर, मलाई भने न्याय किन्ने, बेच्ने पसल हुँदारहेछन् भन्ने ढुक्क भयो। अहिले सेटिङमै मात्रै समस्याको हल हुन्छ भन्ने आमनागरिकमा विश्वास बढ्दो छ। मैले पनि आदर्शका गीत गाउँदाको मूल्य भुक्तान गरिसकेको छु। ऋण लिन त घूस ख्वाउनुपर्ने अवस्था छ। साहू जिम्वाललाई घिउ ख्वाउनुपथ्र्यो। घूस नखुवाए त कामै बन्दैन भन्ने आमधारणा अहिले त्यसै बनेको हैन। स्वयंले घूस ख्वाउने दलाल खोज्नुपरेको घटना सम्झिएँ।
समाजमा सेटिङ शब्दलाई अब चतुर र सक्षमको अर्थका रूपमा लिन थालियो। सेटिङमै सरकार, न्यायालय, अर्धन्यायिक निकाय, पुलिस प्रशासन सबै क्षेत्र चले। सेटिङ भए जे पनि गर्न सकिन्छ भन्ने भाष्य तयार भए। समग्र सरोकारवालालाई मिलाउन सक्नेलाई सक्षम सेटिङवाला मानिन थालियो। अब दलाल होच्याउने गाली शब्द नभएर पौरख बन्यो। तेरो र मेरो भ्रष्टता भनेर एउटै प्रकृतिका मुद्दामा दुईथरी मानक तयार भए। दामली र चाकरहरू निर्णय थलोमा पुगेपछि न्यायका परिभाषा र फैसलामा अन्तर आउने नै भयो।
सेटिगमा सत्ता प्रतिष्ठान चल्छ भने अरूले के भन्ला भन्ने मनोआतंकले बनेका आदर्श स्यालको सिङ बन्न पुग्छ नै। सक्षम सेटिङकर्ताले पुराना मूल्य÷मान्यता, आदर्श, राजनीति, सङ्गठन, सपना, आशा सबैका परिभाषा फेरिदियो। भ्रष्टाचार एक्लै हुनै सक्दैन। भ्रष्ट सिन्डिकेटका हात धेरै लामा हुन्छन्। सत्ता बनाउने, भत्काउने मात्रै हुँदैनन्, पार्टीहरू माफियाका हाकाहाकी भजन गाउन थाल्छन् र कार्यकर्ता खैजडी बजाउन। अदालतमा प्रवेश पाएका विषय पनि न्यायिक ड्राइक्लिनर्सले चोख्याइन्छ। महाभ्रष्ट नचोख्याए आफैँ फस्न सकिने भएकाले निर्णयकर्ता मानसिक दबाबमा हुन्छन्। धेरैका चैनमाथि हमला गरिरहेको यो वेला हो।
भिड राजनीति बन्नै सक्दैन
सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री एवं नेकपा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफनै सन्तान (एमाले पार्टीका छोराछोरी) समेत भिडको हिस्सा बनेकोमा चिन्ता र लाचारी व्यक्त गरे। तर त्यसका कारण के हुन ? कतै पार्टीहरू नै जिम्मेवार त छैनन् ? भनेर चिन्तन गर्न भने कुनै पार्टीले थालेनन्।
सत्तामा रहँदा र नरहँदा नेताहरूकै बोली एकैखाले रहँदैन। सत्तामा रहँदा युवासँग भन्छन्– युवाहरू देश निर्माता हुन् तर देशको विनाश उनीहरूबाटै भइरहेको हुन्छ। चरित्रहीन नै चरित्रवानको शिक्षा दिइरहेका हुन्छन्। शिक्षाको उद्देश्य पैसा कमाउनु हैन भन्छन् तर जस्तोसुकै भ्रष्टाचार गर्न वा भ्रष्ट क्लबको नेतृत्व उनीहरू नै गरिरहेका हुन्छन।
विदेशिनु हुँदैन भन्छन, आफ्ना सन्तान भने या त विदेशिन्छन या सत्ताको आडमा कारोबारी हुन्छन्। यी सबै देखिरहेका शिक्षित युवाहरू तब आफ्नै मान्यता र विश्वासमा तर्क गर्न थाल्छन्। कामधन्धा केही पनि नभएपछि घरको अवहेलना र समाजको अपमानले पनि एउटा शिक्षित बेरोजगार, संवेदनशील युवा भित्रभित्रै टुट्छ। सपना देखाउने नेता र हिजैका क्रान्तिकारी देख्छ, मिडिया देख्छ, बौद्धिक तप्का देख्छ, धार्मिकजन देख्छ तब बनाएको आदर्श, सिद्धान्त, नैतिकता धुजाधुजा भएको प्रत्यक्ष अनुभूत गर्छ। आदर्श पतन, नेताको धूर्तता, अनैतिकता, बेइमानी, नीचता आफ्नै अगाडि देखेर ऊ तिल्मिलाउन थाल्छ। तब प्रतिक्रियामा उत्रन्छ। चौतर्फी पतन देखिरहेको उसले कसलाई पत्याओस् ! भरोसा गरोस् !
चौतर्फी मूल्यको सङ्कट र मूल्यहीनताको जगजगी देखेपछि या त ऊ भिडको हिस्सा बन्न पुग्छ, पैसा नै समाजको आदर्श बनेपछि ऊ जे पनि गर्न हुन्छ भन्ने निष्कर्षमा पुग्छ। उन्माद र तनावले भूमिका तय गर्ने भिडद्धारा हितअनुसारको काम गराएर राजनीति सत्ता हासिल गर्ने तत्व सक्रिय भएर ऊमार्फत विध्वंशक काम गराउन पनि सक्छन्।
दिशाहीन, हतास, नकारवादी, विध्वंशकारी बेरोजगार युवाहरूलाई त धर्मिक उन्मादमा, जातीय उत्तेजनमा उरालेपछि ती झन खतरनाक हुन्छन्। यसको प्रयोग खतरनाक समूहले गर्न सक्छन्। अहिले मधेसमा जातीय घृणा र उत्तेजना कम भए पनि एकाएक धार्मिक उत्तेजना भने ह्वात्त बढेको छ। सक्कली उत्तेजना बढाउन नक्कली दुश्मन तयार गर्न आवश्यक बन्छ।
घृणाले उत्तेजित भीड त अझ विध्वंशक र क्रोधी हुन्छ पनि। अब यहाँ केही हुँदैन् भनेर विश्वस्त भइयो भने मन र मस्तिष्कमा गुम्सिरहेको जागृत घृणा उम्लिएर भिडको हिस्सा बन्दै सन्तुष्ट बन्न पुग्छ। पार्टीहरूका हुने, गर्ने, बोल्ने र देखिनेबीचको भिन्नता सूचना प्रविधिले सहजै पत्ता लगाएपछि हतास युवा प्रतिक्रियामा तुरुन्त उत्रन्छ। उपाय नपाएपछि या त भिडको हिस्सा बन्छ या भ्रष्ट ग्याङ, माफिया वा देशै छाडेर विदेशिन्छ पनि।
मौन संस्कृति
भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी), सेटिङ र भिडतन्त्रविरुद्धको मौन संस्कृति डरलाग्दो छ। के नेपाली सामाजिक चरित्र फेरिएकै हो ! गम्भीर विषयलाई सहज र सरल बनाउनु वा वास्ता नराख्नु भनेको मौन संस्कृतिकै अर्को रूप हो। समाज चिन्तित किन हुँदैन ? चौतर्फी उकुसमुकुस हुनु तर कहीँकतै पनि चासो, सरोकार र विद्रोह किन बनेन् ? मेरो भ्रष्टता ठीक, अर्काको गलत भनेर सडकमा जुलुस निक्लन थाले। कतै यो राष्ट्रिय र सामाजिक चरित्र त बन्दै छैन् ! शङ्का बढ्दा छन्। शङ्का सत्यमा फेरिइरहेका र नायकहरू खलनायकमा फेरिरहेका बेला मान्छे बोल्नुपर्ने, चिच्याउनुपर्ने समयमा पनि मौनता साधिन्छ भने सामाजिक चेतना कतै ध्वस्त त भएन ! भन्ने हुन्छ।
भ्रष्ट सिन्डिकेट योजनाबद्ध ध्यान विषयान्तर गर्दै गयो। नयाँ तर्क, नयाँ मुद्दा उरालिएर गम्भीर विषयलाई महत्वहीन बनाइयो। त कतै यो राजनीतिक शून्यता त हैन ! शून्यता कतै हुँदैन, आँधीबेहेरी पहिलाको सङ्केत भने बन्न सक्छ। यो सामाजिक समस्या राजनीतिप्रतिको उदासीनता र घृणा हो। राजनीति विचार मात्रै हैन, कला पनि भएकाले भ्रष्टाचारले समाजलाई गाँजेपछि जनमतको हृदय, मानसिकता, विश्वास र सपना फेरिदिन्छन्। पुराना सोच भत्काएर नयाँ विकास गर्छ। तर, मौन संस्कृति र तर्कहीन सक्रियताले निष्क्रिय समाजलाई भिडको अंश बनाइदिन्छ। संसारकै ठूला भ्रष्टाचार भनेका नीतिगत भ्रष्टाचार हुन्छन्। त्यही छिद्रमा न्यायका खेल खेलिन्छन्।
अन्तमा
जागृत समाज मात्रै बोल्छ, प्रतिरोधी भूमिकामा उत्रन्छ। तर भिड हल्ला र प्रतिक्रियाले हाँकिन्छ। जागृत इच्छाशक्तिले मात्रै वास्तविकता खोज्ने गर्छ, हल्ला त सित्तैमा घरमै आइपुग्छ। सोच्ने ठेक्कापट्टा अगुवालाई सुम्पिएर पछिपछि लत्रिँदै घिस्रिनु नै भिड चरित्र, लम्पट कार्यकर्ता नागरिकबाट रैतीमा फेरिएको जमात बन्नु हो। भिडमा मान्छे फेरिएर सोच बनाउन थाल्यो भने सबभन्दा पहिला ऊसँग विवेक र चेतनाले छुट्टी लिन्छन्।
नेपाली राजनीतिलाई भ्रष्ट सिन्डिकेटको सहमति चक्रब्यूहबाट निकाल्न मौन संस्कृति तोडेर मात्र मारक तर्क, गतिशील समयको नाडी छाम्ने र त्यसलाई वाणी दिने नेतृत्व, त्यसैको वरिपरि केन्द्रित सक्रियतावादीहरू र क्षय भएको विश्वास पुनः स्थापित हुन्छ। तर, जागरुक मान्छेको उदासीनता मौन संस्कृतिको कारक बन्न पुग्यो।
सामाजिक चरित्रमा फेरिँदै गएको सेटिङमै अब त राजनीतिक पार्टीे, सोच, नारा, मिडिया पनि सेटिङ हुन थालेकै हो ? सत्तामा पुग्न र टिक्न मतमतान्तर भए पनि भ्रष्ट सिन्डिकेट बनाउन, चलाउन र रक्षा गर्न भने सबै पार्टीहरू एक ठाउँमा सहमतिमा पुग्छन्। राजनीतिका नर्सरी ब्याड बनेका अखिल, नेविसङ्घ, तरुण दल, युथ फोर्स र वाइसिएल भ्रष्टतन्त्रका आँगनमा रत्यौली खेल्ने कलाकार बन्न पुगे या सामाजिक सञ्जालमा गाली बक्दै निराशा छर्न थाले। केही भिडमा फेरिए। जुन समाजको युवा र बौद्धिक तप्का मौलिक भूमिकामा हुँदैन तब आशा निराशामा फेरिन्छ नै।
पार्टीहरू भ्रष्ट सिन्डिकेटमा सहमति बन्नु र सम्बन्धित भात्रृ सङ्गठनलाई आन्दोलनको मुद्दा नबन्ने कारण बने। तब राजनीतिप्रति नै वितृष्णा हुनपुग्यो। चनाखो रहनुपर्नेहरूकै सामाजिक मौनता सामान्य हुँदैन। नागरिक समाज यस अभिलेख भत्काउने विषयमा मौन छ। मौनताको मुहान सिन्डिकेट असर तल तल चुहिँदै लाभान्वित बन्दै गएको देखिन्छ। के युवा र विद्यार्थी सङ्गठनहरू तिघ्रे उत्पादन संस्थामा फेरिएका हुन त ? भ्रष्टताको सिन्डिकेट थियो नै, मौनताकै पनि कतै सिन्डिकेट त बनेको छैन ?
पतितहरू दलदलमा फसे भने म मात्रै राम्रो भएर के गर्ने ? भन्ने तर्क केही युवा गर्दैछन्। उनीहरूसामने आस्थाको सङ्कट छ। हाम्रै सामने युवाहरू आन्दोलनमा उत्रिए, क्रान्तिमा होमिए। रथि, सारथि नै पतन भएपछिको आशा र भरोसा कसमाथि भन्ने प्रश्नले रन्थनिए। जुन युवा पिढीले पतनशीलता स्वीकार्यो त्यसबाट अपेक्षा गर्न भने सकिँदैन। एउटा यस्तो नयाँ पिढी पनि देखिँदैछ जो पुरानो पिढीभन्दा पनि भोगविलासमै रमेको छ, अझ नयाँ केही हुनै सक्दैन, पुरानैमा फर्कनुपर्छ भन्ने पश्चगामी सोच पनि राख्छ। सङ्गठनको राजनीतिक चरित्र गुमेपछि भिड बन्छ। भिडको चिच्याहट नारा हुँदैन।
युवा विध्यार्थीसँग विचार होस्, दिशाबोध भएको सङ्गठन होस् र सकारात्मक उत्साह होस् र आफ्ना पूर्वजहरूका कमीकमजोरी चिन्ने र उनीहरू नायकबाट खलनायक बन्ने अवस्था के/कसरी आयो भनेर खुट्याओस्। त्यसलाई त्यागोस्, हकवाला नबनोस् र शिक्षा लिएर बढोस् तब न ऊ समयको नेतृत्व गर्न सक्छ। निरासा, संकट, राजनीतिक र सामाजिक कुरीतिका सिन्डिकेटबाट देशको भ्रष्ट राजनीति मुक्त हुन सकिन्छ। यस्तै अवस्थाबाट गुज्रिएका देशहरूमा फेरि अर्को क्रान्ति भएका छन्, सामाजिक परिवर्तन भएका छन्, नयाँ नायकहरू जन्मिएका पनि छन्। विश्वासको पुनस्र्थापना भएका छन् त्यसमा भिड बन्न अस्वीकार गर्ने युवाहरूकै भूमिका छ। के त्यो आशा नेपाली युवासँग गर्न सकिएला ?
प्रकाशित: २ मंसिर २०८१ ०५:२४ आइतबार