विचार

गर्विलो सहकारी लोभीपापी सञ्चालक

मुलुक अहिले सहकारीमय भएको छ। केही लोभी–पापीहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त विपरित कार्य गरेका र सरकारले तिनीहरूको नियमन गर्न नसकेकाले लाखौँ बचतकर्ता सहकारी पीडित भएका छन् र सहकारी समस्या राष्ट्रियरूपमै विकरालरूपमा देखापरेको छ। यस लेखमा सहकारीको उत्पत्ति किन र कसरी भयो र यसलाई कसरी सञ्चालन गर्नुपर्छ भन्नेबारे जानकारी दिने प्रयास गरिएको छ।

किन आवश्यक सहकारी ?

सहकारी भावना परापूर्वकालदेखि कायम भए पनि आधुनिक सहकारी अवधारणाको उत्पत्ति बेलायतको राचडेल सहरमा सन् १८४४ मा भएको मानिन्छ। १९ औं शताब्दीमा बेलायतमा टेक्सटाइल्सलगायतका कारखानामा काम गर्ने श्रमिकहरूले दैनिकरूपमा लामो समयसम्म गाह्रो काम गर्नुपरेको थियो। अर्कोतर्फ कारखानामा श्रमिकहरूको भीडभाड हुने गरेको र सरसफाइसम्बन्धी न्यूनतम व्यवस्था पनि नभएकोले रोग फैलिँदै गएको थियो। न्यून ज्यालाले गर्दा श्रमिकलाई घर भाडा तिर्न र खानपिनको व्यवस्था गर्न धौ धौ हुन्थ्यो भने कैयौँ मानिसले कुपोषण, रोग र दुर्घटनाका कारण ज्यान गुमाउनुपरेको थियो।

अर्कोतर्फ सीमित कारखाना मालिकहरूले अर्थतन्त्र कब्जा गरेका थिए। तिनीहरूमध्ये कतिले किराना पसलसमेत खोलेका थिए र कारखाना बन्द भएपछि तिनीहरूका पसल मात्र खुला रहने हुँदा दैनिक काम सकिएपछि श्रमिकहरू ती पसलबाट सामान किन्न बाध्य हुन्थे। केही कारखाना मालिकले त श्रमिकको तलवको केही अंश तिनीहरूको किराना पसलमा मात्र चल्ने टोकन दिने गरेकाले श्रमिकहरूलाई कारखाना धनीले चलाएका पसलबाट सामान किन्नुबाहेक अर्को विकल्प थिएन। कतिपय मुनाफाखोरहरू मनोमानी किसिमले वस्तुको मूल्य कायम गर्थे। सामानको तौल तल–माथि गर्थे। दूधमा पानी मिसाउँथे र पिठोमा चक मिलाउने गर्थे।

यसरी श्रमिकहरूले गुणस्तरीय वस्तुहरू सुपथ मूल्यमा पाउन छाडे र तिनीहरूको जीवन कष्टमय हुँदै गयो। त्यस क्रममा राचडेलका केही श्रमिकहरूले साझा पसल खोलेर आफ्ना सदस्यहरूलाई कम गुणस्तर र मिसावटयुक्त महँगो खाद्यान्नको सट्टा गुणस्तरीय वस्तुहरू सुपथ मूल्यमा उपलब्ध गराइ तिनीहरूको अवस्था सुधार्ने अठोट गरे।

त्यस क्रममा राचडेलका २८ जना श्रमिक मिलेर ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ नामले विश्वको पहिलो उभभोक्ता सहकारी स्थापना गरेका थिए। राचडेल अग्रगामीहरूलाई विगतमा खोलिएका सहकारी संस्थाहरू असफल भएको जानकारी भएकाले तिनीहरूले आफ्नो संस्थालाई ‘राचडेल सहकारी’ भन्नको सट्टा ‘राचडेल समाज’ नामकरण गरेका हुन् भन्ने भनाइ छ। राचडेल समाजको उद्देश्य थोक बिक्रेताहरूबाट ठूलो परिमाणमा गुणस्तरीय वस्तुहरू सस्तोमा किनेर आफ्ना सदस्यलाई सुपथ मूल्यमा उपलब्ध गराउने, श्रमिकलाई उचित ज्याला दिने, समानता कायम गर्ने र समुदायका सदस्यहरूको जीवन सुधार्ने थियो।

राचडेल अग्रगामीहरूले उपभोक्ता सहकारी खोल्नका लागि हरेक सदस्यबाट एक वेलायती पाउन्ड उठाए। त्यसरी जम्मा भएको रकमबाट एउटा पुरानो घरको कोठा भाडामा लिए, बिक्री गर्नका लागि ओट, चिनी, पिठो र बटर किनेर सन् १८४४ डिसेम्बर २१ देखि वस्तु बिक्री गर्न सुरु गरे। तिनीहरू दिउँसो कारखानामा काम गर्ने भएकाले काम सकेर फर्केपछि राति पसल खोलेर सामान बिक्री गर्न थाले। स्थानीय ग्यास कम्पनीले तिनीहरूलाई ग्यास नदिएकोले मैनबत्ति बालेर सामान बिक्री गर्नुपरेको थियो। अर्कोतर्फ स्थानीय थोक व्यापारीहरूले राचडेल अग्रगामीहरूलाई कट्टरपन्थी सम्झेर सामान बिक्री गर्न छाडेपछि तिनीहरूले १२ माइल पर म्यानचेस्टरबाट सामान खरीद गरेर ल्याइ बिक्री गर्नुपरेको थियो।

राचडेल अग्रगामीहरूले पसल खोलेको पहिलो रात केही स्थानीयहरू जम्मा भई खिसी गर्नुका साथै तिमीहरूले पसल खोलेर मूर्ख काम गरेको भनेर तर्साएका थिए तर यी विध्नबाधाका बाबजुद पनि राचडेल अग्रगामीहरूले हरेस खाएनन्। राचडेल अग्रगामीहरूले बिक्री गर्ने वस्तुहरूमा चिया, मासुलगायतकका वस्तु थप्दै गए। तिनीहरूले सामान बिक्री गर्न उचित ज्याला दिएर छुट्टै मान्छे नियुक्त गरेर पसल दिउँसो खोल्न थाले। तिनीहरूले १५ वर्षभित्र ६ वटा पसल खोले। सन् १८५० मा तिनीहरूको उपभोक्ता सहकारीको सदस्य संख्या एक हजारभन्दा बढी पुग्यो। जुन १५ वर्षमा तीन हजार पुग्यो। महिलाहरू पनि सदस्य भए र तिनीहरूले राचडेल सोसाइटीमा पहिलो पटक भोट दिने अवसर पाए। त्यसपछि सहकारी अभियान बेलायतका अन्य क्षेत्रका साथै विश्वभर फैलियो।

सन् १८४४ मा विश्वको पहिलो आधुनिक सहकारी संस्था स्थापना भएको मात्र नभई यसै वर्ष फ्रेडरिक एंगेल्सले ‘इंगल्यान्डमा मजदूर वर्गको अवस्था’ र कार्ल माक्र्सले ‘आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ पुस्तक लेखेका थिए। यसैगरी सन १८४४ मा बेलायतको संसद्ले ‘जोइन्ट स्टक एक्ट’ र ‘बैंक चार्टर एक्ट’ पारित गरेको थियो जसले बेलायतमा क्रमशः आधुनिक स्टक निगम र बैंक अफ इंग्ल्यान्ड स्थापना गर्ने आधार सिर्जना गरेको थियो।

सहकारीका मान्यता

एक्लै गर्न नसकिने काम विभिन्न व्यक्ति मिलेर गर्न सकिने मान्यताले प्रेरित भई स्थापना गरिएको ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्स’ को मूल्य मान्यता यसका सदस्यका परिवारका आवश्यकता पूरा गर्ने र समुदायमा सकारात्मक परिवर्तन ल्याउने थियो। हुन त सहकारी संस्था खोल्ने प्रयास त्यसभन्दा अगाडि पनि नभएका होइनन् तर तिनीहरू सफल भएनन्। राचडेल अग्रमागीहरूले सहकारीलाई सफल बनाउन अठोट गरे, तिनीहरू प्रजातन्त्र, इमानदारिता, समानता, स्वायत्तता, उत्तरदायित्व, एकता, पादरर्शिता जस्ता आदर्शप्रति समर्पित थिए र तिनीहरूले यससम्बन्धी शिक्षामा ठूलो जोड दिएका थिए।

राचडेल अग्रगामीहरूले सहकारीलाई सफलता साथ सञ्चालन गर्न र दिगो बनाउन प्रथम पटक खुला सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, राजनीतिक र धार्मिक तटस्थता, शिक्षा प्रवद्र्धन, व्यापारका आधारमा बचत वितरण, पुँजीमा सीमित ब्याजको भुक्तानी र नगद व्यापार जस्ता सात नियम प्रतिपादन गरेका थिए।

राचडेल अग्रगामीहरूले सहकारीको सदस्यता खुला हुनुपर्ने वकालत गरेका थिए। यसको अर्थ सहकारीको सदस्यतासम्बन्धी जिम्मेवारी बहन गर्न योग्य तथा चाहने व्यक्तिहरूका लागि सहकारीको सदस्यता खुला हुनुपर्छ। तिनीहरूलाई सहकारीको सदस्य हुनुभन्दा अगाडि सहकारीका सिद्धान्त, मूल्य, मान्यता तथा सदस्यको दायित्वबारे विस्तृतरूपमा जानकारी दिनुपर्छ जसले गर्दा सहकारीको सदस्य हुन चाहने व्यक्तिले के सहकारी मेरा लागि उपयुक्त छ ? र के म सहकारीका लागि उपयुक्त छु ? भनेर निक्र्योल गर्न सकोस्। केही समयपूर्व सदस्यता अवधि कायम गरिनु राम्रो हुन्छ जुन समयमा व्यक्तिले सहकारीबारे राम्रो जानकारी हांसिल गर्न सकोस्। यसरी सहकारीका बारेमा राम्रो जानकारी हासिल गरेपछि सहकारीको सदस्य हुन इच्छुक व्यक्तिले सहकारीको सदस्य हुनका लागि तोकिएको मापदण्ड पूरा गरेको छ भने निजलाई विनाभेदभाव सदस्यता प्रदान गर्नुपर्दछ। सहकारीको सदस्य हुनका लागि जाति, धर्म, वर्ण लिंग, राजनीति आदि कुनैले पनि छेक्नुहुँदैन।

सहकारीको नियन्त्रण प्रजातान्त्रिक ढंगले हुन्छ। यसमा एउटा सदस्य, एउटा मतको व्यवस्था हुन्छ। सहकारीका सदस्यहरूले आफूमध्येबाट सञ्चालक समिति छनोट गर्दछन् जसले सहकारीसम्बन्धी विभिन्न निर्णय गर्दछन्।

सहकारी सञ्चालन गर्दा राजनीतिक र धार्मिक तटस्थता अपनाउनुपर्छ। सहकारीलाई सफलता साथ सञ्चालन गर्न यससम्बन्धी शिक्षा प्रवद्र्धन गर्नुपर्छ। सहकारीका सिद्धान्त, मूल्य तथा मान्यताहरू, सञ्चालन प्रक्रियाका साथै सदस्यहरूको दायित्वबारे पूर्णरूपमा जानकारी दिनुपर्छ जसले गर्दा तिनीहरू सहकारीको सदस्यका हैसियतले निभाउनुपर्ने भूमिका प्रभावकारीरूपमा खेल्न सक्छन्।

सहकारी यस्तो विशेष व्यवसाय हो जसमा बचतको वितरण सदस्यले सहकारीमा लगाएको समय र त्यसबाट कम्पनिमा भएको मूल्य अभिवृद्धिका आधारमा हुन्छ न कि लगानीको मात्राका आधारमा। यो लगानीकर्ताका लागि अत्यधिक मुनाफा कमाउने उद्देश्यले स्थापित संस्था होइन। हो, सहकारीमा सदस्य वा गैरसदस्यले लगानी गर्न सक्दछन् तर अन्य व्यवसायमा जस्तो लगानीमा कसरी अत्यधिक प्रतिफल दिने भनेर सहकारीमा कार्य गरिँदैन।

सहकारीमा सदस्यहरूका साथै अन्यले पनि लगानी गर्न सक्छन्। त्यसरी सहकारीलाई प्राप्त पुँजीमा सीमित ब्याज भुक्तानी गर्नुपर्छ तर त्यस्तो लगानीमा बजारको भन्दा कम दरले ब्याज दिइन्छ।

उधारोमा सामान बिक्री गरेमा खरीदकर्तामा खरीद गर्ने प्रवृत्ति बढेर तिनीहरू ऋणमा डुब्न सक्ने जोखिम हुने भएकोले कारोवार नगदमा मात्र गरिनुपछै भन्ने राचडेल अग्रगामीहरूको मान्यता थियो।

निष्कर्ष

राचडेल अग्रगामीहरूले एक सय ८० वर्षअगाडि तर्जुमा गरेका नियमहरू अहिले पनि त्यत्तिकै सान्दर्भिक छन्। ती नियमहरूका आधारमा सहकारीका सात सिद्धान्त (स्वेच्छिक र खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, सदस्य आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबीचको सहकार्य र समुदायका लागि चिन्ता) विकसित भएका छन् जसका आधारमा विश्वभरका सहकारी संस्था सञ्चालन भईरहेका छन्। सहकारीका मूल्य मान्यताविपरित कार्य गरेमा समस्या उत्पन्न हुन्छ जुन हाल नेपालमा भइरहको छ। यस किसिमको समस्या भविष्यमा नदोहोरियोस् भन्नका लागि सहकारी नियमबारे त्यससँग सम्बन्धित सबैलाई राम्रो जानकारी दिनुपर्दछ र सहकारीलाई सहकारीकै रूपमा सञ्चालन गर्नुपर्छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App