विचार

मिथिलाञ्चलमा विजयादशमीको महिमा यस्तो छ

‘मातृशक्तिको उपासना’

प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो।  

शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ तर मिथिलाञ्चलमा ब्रह्मालाई नभई भगवतीको पूजा गर्ने चलन छ। अतः विष्णु, महेश, गणेश, सूर्य र भगवती मिथिलाञ्चलका पञ्चदेवता हुन्। यहाँ एउटै व्यक्ति शिवपूजकका रुपमा निधारमा भष्म त्रिपुण्ड लगाउँछन् र शक्तिको प्रतीक रातो टीका लगाएर शाक्तका रुपमा पनि प्रस्तुत हुन्छन्।

सीता जन्मभूमि जनकपुरधाममा सीतालाई चेलीबेटीका रूपमा माया गर्ने चलन छ। मिथिलाञ्चलवासी उमेरअनुसार सीतालाई छोरी, दिदी, बहिनी, फुवा आदि मातृ रुपमा माया र स्नेह गर्छन्। माइत आएकी चेलीलाई बेटीजस्तै आदर सत्कार गर्छन्।

 विजयादशमीमा पूजा गरिने दुर्गा, काली आदि सीताकै भिन्न रूप भएको मान्यता छ। अतः मिथिलावासी देवीका विभिन्न स्वरूपलाई चेलीबेटीकै रूपमा आदरसत्कार तथा माया गर्छन्। यहाँ शास्त्रीय रूपमा वर्णित शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म दुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ तर भगवती पूजनका क्रममा शास्त्रीयमात्र होइन, लोक परम्परा पनि विद्यमान रहन्छ।

शास्त्रीय रूपमा दुर्गालाई आदिशक्ति, महिषासुर मर्दिनीजस्ता नाम दिइए पनि मिथिलावासीका लागि दुर्गा सीताजस्तै चेलीबेटी हुन्। जसलाई पूजापाठ अर्थात् श्रद्धासँगै चेलीजस्तै माया, स्नेह पनि गरिन्छ। अर्को शब्दमा भन्दा यहाँ दुर्गाको पूजा वात्सल्य भावले गर्ने चलन छ। भक्तिमार्गमा वात्सल्य भावको उच्च स्थान छ। वात्सल्य भावकै कारण मैथिलानीहरू घटस्थापनाको दिन सोहर तथा बधैया गाएर हर्ष बढाइँ गर्छन् अनि मूर्ति सेलाउँने दिन समदाओन (चेली बेटीलाई ससुराल बिदाइ गर्ने बेला गाइने विगोगको गीत) गाएर बिदाइ गर्छन्। बीचको नौ दिन चुनरी, चुरा, विन्दी, ऐना, काइयो आदि शृङ्गाका सामानहरू दिएर खोइँछा भर्छन्। दसैँमा चेलीबेटीलाई माइत बोलाउने परम्परा छ। धनुषाको सबैला गाउँमा अझै पनि दसैँमा चेलीलाई माइत बोलाइन्छ।

देवी दुर्गा विजयादशमीको १० दिन माइत आएकी प्रसङ्गलाई मैथिलीका महाकवि विद्यापतिले अत्यन्त सुन्दर शब्दमा अभिव्यक्त गर्नुभएको छ। उहाँले दसैँमा गौरी (भगवती) माइती गएकी र यी १० दिनको पूजा विधानबारे यसरी उल्लेख गर्नुभएको छः    

  ‘नैहर आब हम जाएव सदाशिव, नैहर आब जाएव ।

 परिवा तिथि हम जतरा क’ क’, दितिया गमन कराएब ।।

 तृतीया क’ हम पथहि बिताएब, चौठमे काजर लगायब ।

 पचमी चंदन अंग लगाएब, षष्ठी बेलतर जाएब ।।

 नवपत्रीसँग सप्तमीप्रातमे, भक्तक घर हम आएब ।

 अष्ठमी दिन महापूजा निशि बलि, लय लय भक्त जगाएब ।

 नवमीमे त्रिरसूलक पूजा, बहुविधि बलि चढाएब ।।

 नौवो निधि सेवकके दयके, दशमी कलश उठाएब ।

 भनहि विद्यापति, जननी कहल शिव ।

 फिरी अपन गृह आएब ।।

 गीतमा गौरी १० दिनका लागि माइत जान लागेकी सूचना दिन्छिन्। आशिवन शुक्लपक्षको परेवा तिथिका दिन कैलाशबाट यात्रा गरेर द्वितीया तिथिमा मिथिला आउने अनि नौ दिनसम्म श्रद्धालुहरूको पूजापाठ र बलि स्वीकार गरेर दशमी (जतरा) को दिन पुनःकैलाश फर्किने जानकारी भगवान् शिवलाई गराउँछिन्।  

यहाँका प्रायः आस्तिक हिन्दूहरूको घरमा गृहदेवी हुन्छ। जसलाई ‘घर’ ‘गोसाञी’ भनिन्छ । घरको एक कुनामा माटोको डिस्को बनाएर घर गोसाञीको प्रतीक बनाइन्छ। जनकपुरको राजदेवी मन्दिर, बौधीमाई, अमरखनामाई, पियरियामाई आदि शक्तिपीठहरूमा माटोको डिस्कोलाई नै भगवतीको रूपमा पूजा गरिन्छ। घर, समाजमा हुने जुनसुकै शुभ कार्यको आरम्भ घर ‘गोसाञी’को पूजाबाटै सुरु हुन्छ। शास्त्रीय रूपमा जहाँ शक्ति पूजन हुन्छ, त्यहाँ बलि प्रदान गर्ने परम्परा पनि हुन्छ। शक्ति पूजामा बलि प्रदान गर्नु आदि परम्परा हो। महाकवि विद्यापतिले कालीको रूप वर्णन गर्दै लेख्नुभएको छः  

  ‘वासन रैनि सवासन सोभित, चरण चन्द्रमणि चूँडा ।

 कतओक दैत्य मारि मुँह मेलल, कतओ उगिलि करु कूडा ।।’

 अर्थात् भगवती (काली) दिनरात मुर्दाको आसनमा विराजमान हुन्छिन्। दैत्य (दुष्ट) लाई भक्षण गर्छिन् । दानव–दैत्यको भञ्जन गर्छन्। त्यस्ती देवीलाई बलि प्रदानबाटै प्रसन्न पार्न सकिने लोकमान्यता छ। ऋग्वेदमासमेत पशुबलिको विधान छ तर पशुपक्षी बलि अनिवार्य भने छैन। यो ऐच्छिक विषय हो। महोत्तरीको मठिहानी, जलेश्वर तथा धनुषाको इटहर्वास्थित दुर्गापीठहरूमा भगवतीको वैष्णवी स्वरूपको पूजा हुन्छ। वैष्णवी पूजा हुने शक्तिपीठहरूमा पशुबलि निषेधित हुन्छ। यस्ता शक्तिपीठहरूमा कुष्माण्डाको बलि दिइन्छ । ‘ब्राम्हणो पायसः बलि’ अर्थात् ब्राह्मणले खीर बलि दिनुपर्दछ भनेर शास्त्रमा पनि वर्णन छ।

 बडादसैँ मिथिलाञ्चलको घरघरमा मनाउने पर्व हो। यहाँ शक्तिपीठ र दुर्गा भगवतीको प्रतिमास्थलमा भव्यताका साथ पूजापाठ र बलि प्रदान गरिन्छ। घरघरमा जमरा राखेर सविधिक पूजापाठ गर्ने चलन पनि छ। प्रायः सम्पूर्ण हिन्दू आआफ्ना गोसाञी घरमा जमरा राख्छन् र नित्य पूजापाठ गर्छन्। हुने खानेहरूले घरमै पण्डित पुरोहित बोलाएर दुर्गासप्तसती पाठ गराउँछन्।

यस पर्वको अर्को विशेषता लोकगीत हो। पूजा अवधिभरि बिहान बेलुका शक्तिपीठ तथा दुर्गा प्रतिमास्थलमा आरती, गोसाञुनिक गीत गायन गरिन्छ। बाटामा बटगमनी, सोहर गाएर हर्ष बढाइँ गरिन्छ अनि बिदाइ गर्ने बेला भावुक महिलाहरूले छोरी बिदाइ गर्ने बेलाको समदाउन गाएर बिदा गर्छन्।

सीता जन्मभूमि जनकपुरधाम हिन्दूहरूको पवित्रस्थल हो। यो नगरी वैदिक र लौकिक पर्व–त्यौहारको सङ्गम पनि हो। सीताको प्राकट्यस्थली यस सांस्कृतिक नगरीमा वर्षभरि नै पर्व–त्यौहार र उत्सवहरूको आयोजना भइरहन्छ। बाह्रै महिनाको पूर्णिमा र अमावश्या, एकादशी, शनि–रविजस्ता ससाना पर्वदेखि रामजानकी विवाह महोत्सव, बडादसैँ र छठीजस्ता पर्व हजारौँको सहभागितामा मनाइने गरिएको छ।  

मिथिलासमाजमा दुई प्रकारका पर्व त्यौहारहरूको आयोजन हुन्छ, शास्त्रीय पर्व र लोकपर्व । शास्त्रीय विधि विधानअनुसार पण्डित–पुरोहितको सहयोगमा पवित्रमन्त्र उच्चारण गरेर आयोजना गरिने पर्व वैदिक हो भने लोकमान्यता र लोक परम्पराअनुसार लोकगीतको आवरणमा आयोजित हुने पर्व–त्यौहार लौकिक पर्व हो। मिथिलावासी वैदिक पर्वमा लोकआस्था र लोकपर्वमा वैदिकछनक दिन पनि खप्पिस छन्। यहाँ आयोजना हुने अधिकांश पर्व–त्यौहार र उत्सवहरू लौकिक र वैदिक पर्वको फ्युजन (सङ्गम) हो भन्दा अत्युक्ति नहोला।

बडादसैँ, कृष्णाष्टमी र राम नवमीजस्ता शास्त्रीय पर्वहरूमा लोकपर्वको प्रभाव छठी र जितियाजस्ता लोकपर्वहरूमा शास्त्रीय पर्वको प्रभाव प्रष्ट देख्न सकिन्छ। मिथिलावासी शास्त्रीय पर्वहरूलाई पनि आफ्नो मौलिक रङ्गमा रङ्गेर आयोजना गर्छन्। दसैँमा दुर्गा भवानीलाई छोरी झै निम्तो गरेर माइती ल्याउँनु अनि जतरा (विजयादशमी) को दिन मिथिला विधि–विधानअनुसार छोरी बिदा गरे झँ गहभरि आँसु झार्दै समदाओन गाएर बिदा गर्नु वैदिक पर्वमाथि लौकिक आस्थाको प्रभाव हो। यसैगरी जितिया, छठि र बर्साइतजस्ता पर्वहरूमा पण्डित बोलाएर कथा श्रवण गर्नु लौकिक पर्वमाथि वैदिक आस्थाको प्रभाव हो। केही वर्षअघिसम्म छठि वा जितिया पर्वमा कथा सुन्ने चलन थिएन । अचेल पण्डित पुरोहितले कथावाचन नगरेसम्म यी पर्वहरू सम्पन्न हुँदैनन्।  

 मिथिलामा शक्ति पूजा र बलि प्रथा

 आदि मानवले फल–फूलसँगै पशुपक्षीसमेतको मासु भक्षण गरेको उल्लेख गरिएको पाइन्छ। अराध्य देवी देवतालाई स्थानीय उत्पादन चढाउनु वा आफैँ खाने भोज्य पदार्थ प्रसादका रूपमा अर्पण गर्नु सामाजिक दर्शन हो। यसै कारणले होला मिथिलामा आदि देव गणेशलाई मोदक र लड्डु चढाइन्छ र काठमाडौँका केही स्थानमा ‘मुर्गी’को अण्डा पनि चढाइएको देखिन्छ। डा विजयकुमार सिंह मानिसको दाँतको आकारप्रकार शाहाकारी जीवजस्तो भए पनि मानवजाति आदिकालदेखि नै मांसाहारी रहेको बताउनुहुन्छ। आदिकालदेखि नै जनावर र पशुपक्षीको मासु खाने परम्परा भएकै कारण पशुपक्षी बलिको परम्परा पनि आदिकालदेखि नै रहँदै आएको डा सिंहको तर्क छ। आदि सभ्यतामध्येको एक मिथिलामा पनि आदिकालदेखि माछा र मासु खाने चलन छ। झन् मिथिला भूमि ‘माछ, मखान र पान’ का लागि प्रसिद्ध छ। यद्यपि पशुपक्षीमा पनि जीव भएको तथा सामूहिक बलि प्रदानबाट पर्यावरणमा नकारात्मक प्रभाव पर्ने हुँदा यसप्रथाको विरोध नभएको होइन।रासस

प्रकाशित: २५ आश्विन २०८१ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App