विचार

महिला भलिबलको व्यावसायिक विकास

केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे। ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।

विज्ञानको विकाससँगै विश्वनै एउटा गाउँको रुपमा परिणत भइरहेको वर्तमान अवस्थामा नेपाली खेल प्रशिक्षकहरु अमेरिका, बेलायत, जापानलगायतका मुलुकमा गएर विदेशी खेलाडीहरुलाई खेल सिकाउने गरेका छन्। नेपालमा पनि बेलाबखत विदेशी खेलाडीहरु आई नेपाली टिममा आबद्ध भएर खेल्ने गरेका छन्। यस्तो अभ्यास भएको लामो समय भैसकेको छ। विशेषगरी विभिन्न अफ्रिकी मुलुकबाट आएका खेलाडी नेपालका स्थानीय क्लबका तर्फबाट सहिद स्मारक लिग फुटबल प्रतियोगितामा खेल्दै आइरहेका छन्। यसरी खेल्ने प्रयोजनका लागि नेपाल आउने विदेशी खेलाडीहरुले श्रम स्वीकृति लिनुपर्ने नियमसमेत रहेको छ।

यसरी विदेशी खेलाडीहरुको नेपाली टिममा संलग्नता हुँदा नेपाली खेलाडीहरुले समेत अनुभव हासिल गर्ने अवसर पाउने भएकाले समग्र टिमकै गुणस्तर बढ्न जाने गरेको सम्बन्धित खेल पदाधिकारीहरुले अनुभव गर्दै आएका छन्। फुटबलमा मात्र सीमित रहेको विदेशी खेलाडीको नेपाली क्लबसँगको आबद्धता अब अन्य खेलमा पनि विस्तार हुँदै गएको छ। नेपालमा पहिलोपटक महिला भलिबलमा पनि विदेशी खेलाडीहरु नेपाल आएर नेपाली टिमका तर्फबाट खेलेका छन्।

नेपालको जुनसुकै भूभागमा पनि खेल्न सकिने भलिबल खेल अब व्यावसायिक रुपबाट पनि स्थापित हुन पुगेको छ। नेपाली टिमहरुमा पहिलो विभिन्न मुलुकका खेलाडीहरुलाई समेत आवद्ध गराई सञ्चालन गरिएको महिला खेलाडीहरुको एभरेष्ट फ्रेन्चाइज लिगमा कर्णाली यश्विस टिमले ललितपुर क्विन्स टिमलाई पराजित गर्दै उपाधि जितेपछि भलिबल खेललाई अझ व्यावसायिक बनाएर विकास तथा विस्तार गर्न सकिने सम्भावना बढेको हो।

खेलाडीहरुलाई आफ्नो स्तरअनुसार प्रायोजकहरुद्वारा आकर्षक पारिश्रमिक उपलब्ध गराइएको यो प्रतियोगितामा कर्णाली टिमले अपराजित यात्रा जारी राख्दै उपाधिमाथि कब्जा जमाएको थियो । कर्णाली टिममा अमेरिका, ग्रिस र टर्कीका खेलाडी सम्मिलित थिए भने ललितपुर टिममा थाइल्याण्डका खेलाडीहरु सहभागी भएका थिए। यसपालिको प्रतियोगितामा काभा नेसन्स लिग भलिबल खेलेर अनुभव हासिल गरेका नेपाली महिला खेलाडीहरुले विभिन्न छ वटा टिमका तर्फबाट आफ्नो खेल प्रदर्शन गरेका थिए।  

यसअघि नेपाली महिला भलिबल खेलाडीहरु भारत, माल्दिभ्सलगायतका टिमबाट लिग भलिबल खेलेर व्यावसायिकताको अनुभव हासिल गरिसकेका थिए। नेपालमा अहिले नेपाल भलिबल सङ्घले महिला भलिबल खेलाडीहरुलाई समेत मासिक तलब उपलब्ध गराएर व्यावसायिक खेलतर्फ आफूलाई समाहित गरेको छ।

प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालमा भलिबल खेललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरिएको लामो समय भइसकेको भए तापनि हालसम्म मुलुकभित्र छुट्टै भलिबलसम्बन्धी कभर्ड हल बन्न सकेको छैन। काठमाडौंँको त्रिपुरेश्वरस्थित कभर्ड हलमा अन्य विभिन्न खेलहरुसँंग पालो मिलाएर भलिबलका खेलको अभ्यास तथा प्रतियोगिताहरु हुने गरेका छन्। २०७२ सालको भूकम्पले क्षति गरेपछि पुनःनिर्माण गरिएको कभर्ड हलमा पनि भलिबल खेलाडीहरुले पालो पर्खनु पर्ने अवस्था रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि भलिबल कभर्ड हलसम्बन्धी खेलाडीहरुको मागप्रति सकारात्मक छन्।

केही समयअघि नेपाली महिला भलिबल खेलाडीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सरकारको खर्च गर्ने क्षमता धेरै वर्षयता न्यून भएको तथा भलिबलका लागि कभर्ड हल चाहियो भन्ने अहिलेको खास माग कतिखेर पूरा गर्न सकिन्छ भनेर आफूले हिसाब गरिरहेको जानकारी दिएका थिए। प्रधानमन्त्री ओली नेपाली महिला भलिबल खेलाडीहरुको व्यक्तिगत प्रदर्शनतर्फ पनि चासो राख्ने गर्छन्।

उनले नेपालमा खेल्न आएका रसियन भलिबल खेलाडीहरुसँग कुराकानी गर्नेक्रममा पनि नेपालको केही खेलाडीको राम्रो सम्भावना भएको तथा उनीहरुलाई मद्दत गर्न सकिने बताएको कुरा उल्लेख गरेका थिए।

उनले पाँचपटक विश्वकप जितेका खेलाडीहरुले नेपालकी भलिबल खेलाडी सरस्वती चौधरीको नाम नै लिएर अत्यन्त उज्वल भविष्य भएको खेलाडी भनेकाले हाम्रो टिम राम्रो छ भनेर विश्वका उत्कृष्ठ टिमहरुले प्रशंसा गर्ने ठाउँमा त पुगेकामा खुसी व्यक्त गरेका थिए।

प्राथमिक तहदेखि नै सिकाइने

युवातथा खेलकुद मन्त्रालयले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै प्राथमिकतापूर्वक राख्ने लक्ष्य राखेको छ। राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही समयअघि काठमाडौंँमा काभा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो जानकारी दिएका थिए। उनका अनुसार भलिबल नेपालको राष्ट्रिय खेल भएकाले सङ्घ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाई खेलाडी उत्पादन गरिने योजना गरिएको छ।

राष्ट्रिय खेल घोषणापछिको सफलता

नेपालको राष्ट्रिय खेल के हो भन्ने सम्बन्धमा लामो समयदेखि अन्यौल रहेको थियो। डण्डीबियो, कबर्दी जस्ता खेललाई राष्ट्रिय खेलका रुपमा चर्चा गर्ने गरिएको भएता पनि आधिकारीक घोषणा गरिएको थिएन।

सन् १९८६ मा नेपालले पहिलो पटक एशियाली खेलकुदमा ताइक्वाण्डो र बक्सिङमा गरी कूल आठ वटा कास्य पदक प्राप्त गरेपछि ती खेलको चर्चा चुलिएको थियो। राष्ट्रिय खेलकुद परिषदले विशेषगरी ताइक्वाण्डो, जुडो र कराँते जस्ता खेललाई आधिकारिक मान्यता प्रदान गरी खुल्ला रुपमा प्रशिक्षण सुरु गरेपछि त्यस्ता खेलमा लाग्नेहरुको संख्या बढ्दै जानुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्ति पनि बढेपछि मार्सल आर्टस्का खेललाई राष्ट्रिय खेलकुद घोषणा गरिनु पर्ने माग नभएका होइनन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा गत २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेलका रुपमा घोषणा गरिएको थियो। नेपालका जुनसुकै भूभागमा खेलिदै आएको तथा मुलुकभित्र लोकप्रिय तथा जनजीवनमा भिजेको खेलका हिसाबले पनि भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरिएको थियो।

कम लगानीमा आपसमा जम्मा भएर खेल्न सकिने पुरुष तथा भलिबल खेल विभिन्न मेला पर्वहरु हुँदै अब राष्ट्रिय खेलका रुपमा स्थापित हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन अग्रसर रहेको छ।

महिला भलिबलमा पछिल्लो सफलता

गत २०८१ असोज ५ गते माल्दिभ्सको राजधानी मालेमा सम्पन्न पहिलो काभा–सेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला भलिबल क्लब च्याम्पियनसिप २०२४ मा नेपाल पुलिस क्लब अपराजित च्याम्पियन बन्न सफल भएको थियो। उक्त क्लबले प्रतियोगिताको फाइनलसम्म कुनै पनि खेल नहारी उत्कृष्ट खेल खेलेको थियो। काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक थियो।

भारतलाई चुनौती

केही समयअघि काठमाडौँमा सम्पन्न काभा नेशन्स महिला भलिबल प्रतियोगितामा नेपालले लिग चरणमा भारतलाई पराजित गरेर नेपाली दर्शकहरुको स्याबासी बटुलेको थियो । नेपाली टिम यसअघि भारतीय टिमसँग पराजित हुँदै आइरहेको थियो। लिग चरणमा भारतलाई हराउन सफल नेपाली टिम फाइनलमा भने प्रतिद्वन्दी टिमसंँग पराजित हुन पुगेको थियो। तर नेपाली टिमले खेलमा विकास गर्दै गईरहेको सन्देश दिन भने काभा नेशन्स महिला भलिबल प्रतियोगिताको फाइनलले दिएको थियो।

नेपालमा भलिबलका दर्शकहरु बढाउन पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको थियो। फाइनल खेल हेर्न कभर्ड हल पुगेका दर्शकहरुले टिकट नपाएर निरास भई फर्कनु परेको स्थितिसमेत उत्पन्न भएको थियो।

प्रतियोगितामा नेपाली महिला टिमले भारतका साथै श्रीलङ्का, माल्दिभ्स र इरानलाई समेत हराउन सफल हुनु नेपाली खेलकुद जगतका लागि सानो उपलब्धि होइन। नेपालमा खेलिने खेलहरुमध्ये पुरानो खेल मानिएको भलिबल खेलमा महिलाहरुको सहभागिता भने निकैपछि मात्र भएको थियो। २०३७ सालमा पहिलो राष्ट्रिय महिला भलिबल आयोजनापछि मात्र महिला भलिबल प्रतियोगिताले मुलुकभित्र औपचारिक मान्यता पाएको थियो।

सन् २०२२ मा चीनमा सम्पन्न एशियाली खेलकुदमा नेपाली महिला भलिबलको स्थान ११ औं रहेको थियो। नेपाली महिला भलिबल टिमले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा दुई पटक रजत तथा तीन पटक कास्य पदक जितिसकेको छ। सन् २०१९ र सन् २०२१ मा नेपालले काभा च्यालेन्ज कप प्रतियोगिता जितेको थियो।

(लेखक खेलकूद पत्रकारिताका जानकार हुन्।)

प्रकाशित: २४ आश्विन २०८१ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App