विचार

नवदुर्गा र सामाजिक न्याय

नवदुर्गाका मिथकहरू प्राचीन समयदेखि आजसम्म महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताका रूपमा छन्। हिन्दु धर्ममा नवदुर्गाका नौ रूपलाई शक्ति, साहस, न्याय र धैर्यको प्रतीक मानिन्छ। प्रत्येक रूपले एक विशिष्ट सन्देश दिन्छ जसले व्यक्तिगत र सामाजिक जीवनमा नैतिकता र कर्तव्यपरायणताको मार्गदर्शन गर्छ। तर यस पुरातन कथालाई समयसापेक्ष बनाउन र आधुनिक समाजमा लागु गर्न हामीले यसलाई नयाँ दृष्टिकोणले हेर्नुपर्ने आवश्यकता छ।

चाडपर्वले आफ्नो महत्त्व गुमाउनुको एउटा प्रमुख कारण हठधर्मिता हो भने अर्को परम्परागत चाडपर्वहरू केवल सांस्कृतिक कर्मकाण्डमा सीमित हुँदै गएकाले तिनमा निहित गहिरो सामाजिक सन्देश लोप भएको छ।

धार्मिक मिथकहरूलाई समाजका मौलिक समस्याहरूसँग जोडेर व्याख्या गर्दा तिनीहरूको प्रभाव व्यावहारिकरूपमा कसरी उतार्न सकिन्छ भनेर पुनः विचार एवं व्याख्या आवश्यक देखिन्छ। चाडपर्वलाई केवल कर्मकाण्डीयरूपमा नबुझी त्यसको सन्देशलाई दैनिक जीवन र समाजको हितका लागि कर्म–चिन्तन हाम्रो भूमिका हुनुपर्छ।

विविधताले भरिएको परम्परा र संस्कृतिबीच सहिष्णुता, समभाव र पारस्परिक निर्भरता जोगाउन हामी र हाम्रा आउने पुस्तालाई कसरी शिक्षित र जागरुक बनाउन चाडपर्वलाई माध्यम बनाउन सकिन्छ।

प्रत्येक वर्ष नवदुर्गा पूजा हामीले शक्तिको प्रतीकका रूपमा मनाउँछौँ तर समाजको वास्तविक सुधार र रूपान्तरणका सन्दर्भमा धर्मले दिन सक्ने शिक्षा र प्रेरणालाई कति हामीले ग्रहण गरिरहेका छौँ ? शक्तिका नौ रूप, नवदुर्गाले हामीलाई साहस, निष्ठा र आत्मनिर्भरताको मार्गदर्शन दिन्छिन्। तर यो मार्गदर्शन केवल कर्मकाण्डीय पूजामा सीमित रहनु हुँदैन।

आजको समयमा धर्मलाई सामाजिक न्याय, शान्ति र सद्भावका लागि पुनः विचार गर्न आवश्यक छ। विश्वभरि नै अशान्ति र शक्ति प्रदर्शन, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोपहरू, शिक्षामा असमानता र सामाजिक–सांस्कृतिक विभेद गहिरिँदै गइरहेका छन्। यस्तो अवस्थामा ’सुरुवात आफैंँबाट गरौँ, सिद्धान्त र कर्मको अन्योन्याश्रित सम्बन्धको उदाहरणस्वरूप नवदुर्गाका रूपहरूको सन्देशलाई समय–सान्दर्भिक बनाएर हेरौँ।

सिद्धान्त र कर्मको एकता

धार्मिक ग्रन्थहरूले ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त छैन भन्ने कुरा स्पष्टरूपमा उल्लेख गरेका छन्। ज्ञानले सही दिशा दिन्छ तर त्यसलाई व्यवहारमा उतार्न कर्मको महत्त्व उत्तिकै आवश्यक छ। नवदुर्गालाई केवल शक्तिका रूपमा मात्र नहेरौँ। सदाचार, न्याय र धर्मको मार्गदर्शकका रूपमा पनि प्रस्तुत हुन्छिन्। शक्ति (सिद्धान्त) बिना कर्मले अनिश्चितता र अराजकता निम्त्याउँछ भने कर्मबिना शक्ति दिशाहीन हुन सक्छ। शक्ति प्राप्त गरेपछि त्यसलाई न्यायसंगत कर्ममा लगाउनु वा व्यवहारमा उतार्नु नै जुनसुकै धर्मको सार हो।

नवदुर्गाका रूप र रूपान्तरण

परम्पराहरूलाई केवल धार्मिक कर्मकाण्डका रूपमा हेर्ने हो भने समाजमा न्याय र समभावसहितको समावेशिताको प्रयास सधैँ अपूर्ण रहन्छ। धर्मले मानिसलाई नैतिकता, आदर्श र सहअस्तित्वको मार्गमा डो¥याउनुपर्छ तर व्यवहारमा उतार्नुपर्ने नैतिकताको पाटो भने अझै धराशायी बन्दै गएको छ।

नेपालको वर्तमान अवस्था हेर्दा धर्मको परम्परागत भूमिकालाई आधुनिक न्यायको दृष्टिकोणबाट हेरिनु जरुरी छ। हरेक वर्ष हामी नवदुर्गाका नौ रूपलाई पूजा गरेर साहस, निष्ठा र आत्मनिर्भरताको सन्देश ग्रहण गर्छौँ। तर यी सन्देशलाई खै त कर्ममा उतार्न सिकेको ?

शैलपुत्री र प्रकृतिको सम्मान

शैलपुत्रीलाई प्रकृतिसँग प्रत्यक्ष जोडिन्छ। वर्तमानमा जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण र वन विनाशका कारण वातावरणीय असन्तुलन सामना गर्नुपरेको छ। जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो र हिमनदी पग्लिने समस्या बढिरहेका छन्। तथ्यांकअनुसार, सन् २००० देखि २०२० सम्म नेपालमा ५३ वटा ठूला बाढी र पहिरोका घटना भए जसले हजारौँ मानिसलाई विस्थापित ग¥यो। शैलपुत्रीको सन्देशले हामीलाई प्रकृति संरक्षणमा जोड दिन्छ र जलवायु अनुकूलन नीतिहरूलाई प्राथमिकतामा राख्न प्रेरित गर्छ।

ब्रह्मचारिणी, शिक्षा सुधार एवं आत्मसंयम

नेपालको शिक्षामा समावेशिता अझै एक चुनौतीपूर्ण मुद्दा हो। देशका दुर्गम क्षेत्रहरूमा पाँच देखि १६ वर्षका करिब ३५ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित छन् र अल्पसंख्यक समुदायका विद्यार्थीले उचित अवसरहरू पाउन कठिनाइ झेलिरहेका छन्।

ब्रह्मचारिणीले ध्यान, आत्मसंयम र मानसिक शान्तिको महत्त्व सिकाउँछिन्। नेपालमा शिक्षा क्षेत्रले हालसालै समावेशितालाई प्राथमिकता दिएर केही सुधार गरिरहेको भए पनि अझै धेरै गर्न बाँकी छ। विशेषगरी ग्रामीण क्षेत्रहरूमा शिक्षा पहुँच, गुणस्तरीय पाठ्यक्रम र प्रविधिको प्रयोगमा ठूलो खाडल देखिन्छ।

शिक्षा क्षेत्रमा नवदुर्गाको सिद्धान्तलाई आत्मसात गर्दा हाम्रो पाठ्यक्रमलाई समावेशी बनाउँदै सबै जातीय, लैंगिक र आर्थिक वर्गका विद्यार्थीलाई समान अवसर प्रदान गर्ने दिशामा ध्यान दिनुपर्छ। शिक्षामा समान पहुँचका लागि सरकारी नीतिहरूको पुनरवलोकन र सुधार अपरिहार्य छ।

चन्द्रघण्टा र राजनीतिक स्थिरता

चन्द्रघण्टा युद्धकी देवी हुन् जो अन्याय र असमानताविरुद्ध लड्ने प्रतीक हुन्। नेपालमा दशकौँदेखि राजनीतिक अस्थिरता कायम छ जसले विकासका महत्त्वपूर्ण पक्षहरूलाई पछि धकेलिरहेको छ। राजनीतिक नेतृत्वमा इमानदारी, पारदर्शिता र नागरिकका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने प्रवृत्तिको कमीले समाजमा असन्तोष र असमानता बढेको छ।

नेपालको संविधानले समावेशी लोकतन्त्रको आश्वासन दिएको भए पनि व्यवहारमा धेरै चुनौती देखिएका छन्। चन्द्रघण्टाले हामीलाई राजनीतिक स्थिरता र सशक्त नेतृत्वको महत्त्व सिकाउँछिन्। नयाँ पुस्ताका नेताहरूले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै शान्तिपूर्ण र न्यायपूर्ण समाज निर्माणमा अग्रसर हुनुपर्छ।

कुष्माण्ड र सिर्जनशीलता एवं आर्थिकोपार्जन

कुष्माण्ड सृष्टिकर्ता र समृद्धिको प्रतीक हुन्। नेपालमा हाल गरिबीको दर  १७.४ प्रतिशत छ र ग्रामीण क्षेत्रहरूमा आर्थिक असमानता झन् गहिरो छ। कुष्माण्डले सिर्जनशीलताका माध्यमबाट आर्थिक समृद्धिका लागि प्रेरणा दिन्छिन्। कृषि, पर्यटन र उद्यमशीलताका अवसरहरूलाई प्रवद्र्धन गर्दै आर्थिक समानताका लागि काम गर्नुपर्छ।

नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान पु¥याउँछ तर कृषकहरू आर्थिकरूपमा पछाडि छन्। कुष्माण्डको सन्देशले विशेषगरी ग्रामीण क्षेत्रका महिलाको आर्थिक सशक्तीकरणका लागि वित्तीय पहुँच, स्थानीय उद्यमशीलतालाई प्रेरित गर्न सक्छ।

स्कन्दमाता र सांस्कृतिक विविधताबीचको सहिष्णुता

स्कन्दमाता मातृत्व र सहिष्णुताको प्रतीक हुन्। नेपालमा १२५ भन्दा बढी जातीय समूह र १२३ भाषा छन् जसले सांस्कृतिक विविधताको महत्त्वलाई देखाउँछ। स्कन्दमाताको सन्देशले विविधता र सहिष्णुता प्रवद्र्धन गर्दै सबै जातीय, सांस्कृतिक समूहबीच सहकार्यका लागि प्रेरित गर्छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न स्कन्दमाताको शिक्षाले सामाजिक एकतामा जोड दिन्छ।

कात्यायनी र महिला सशक्तीकरण

कात्यायनी शक्ति र साहसको प्रतीक हुन्। महिला सशक्तीकरणका लागि केही महत्त्वपूर्ण कदमहरू चालिएको भए पनि अझै पनि महिला हिंसा, असमानता र विभेद कायम छ। ग्रामीण क्षेत्रमा महिलाले शिक्षा, स्वास्थ्य, र रोजगारको क्षेत्रमा ठूलो चुनौतीहरू सामना गरिरहेका छन्।

राष्ट्रिय महिला आयोगको २०२० को रिपोर्टअनुसार, हरेक वर्ष करिब पाँच हजार घरेलु हिंसाका घटना दर्ता हुन्छन्। महिलाले औसत आयको २५ प्रतिशत कम मात्र कमाउँछन्। कात्यायनीको साहसलाई आत्मसात गर्दै महिला सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य सेवा र रोजगारीका अवसरहरूलाई विस्तार गर्न आवश्यक छ। ग्रामीण क्षेत्रका महिलालाई उद्यमशीलता र वित्तीय पहुँचमा विशेष प्राथमिकता दिनुपर्छ।

कालरात्रि र अन्यायविरुद्ध लडाइँ

कालरात्रि अन्धकार र अन्यायको अन्त्य गर्न उभिने शक्तिशाली देवी हुन्। विद्यमान सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायहरूलाई अन्त्य गर्न कालरात्रिको साहस आवश्यक छ। जातीय विभेद, महिला हिंसा, बालविवाह र मानव तस्करी जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न कानुनी संरचनालाई बलियो पार्नु अत्यावश्यक छ।

 कालरात्रिको सन्देशले हामीलाई अन्यायविरुद्ध लड्न र न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा दिन्छ। न्याय र अधिकारका सामाजिक आन्दोलनहरूलाई सशक्त बनाउँदै जिम्मेवार नागरिकको आधुनिक उदाहरण बन्न सकिन्छ।

महागौरी र सामाजिक न्याय

महागौरी शुद्धता र न्यायको प्रतीक हुन्। जातीय, वर्गीय र लैंगिक आधारमा हुने विभेदले गर्दा सामाजिक समानताका लागि संघर्ष जारी छ। महागौरीले हामीलाई सामाजिक न्यायको महत्त्व सिकाउँछिन्। सबै नागरिकका लागि समान अवसर र अधिकार सुनिश्चित गर्न आवश्यक छ। शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायिक प्रणालीमा समावेशिताका लागि सशक्त नीति निर्माण र यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ।

सिद्धिदात्री र दिगो समाधान

सिद्धिदात्री सिद्धिको देवी हुन् जसले समाजमा दिगो समाधानका लागि प्रेरित गर्छिन्। दीर्घकालीन विकासका योजना र नेतृत्वको कमीले गर्दा समाजको रूपान्तरणमा ढिलाइ भइरहेको छ। नवदुर्गाका सिद्धान्तहरूलाई आत्मसात गर्दै दीर्घकालीन दृष्टिकोणमा आधारित नीतिहरू निर्माण गर्न आवश्यक छ। विशेषगरी, शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा दीर्घकालीन रणनीतिहरू लागु गर्दा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ।

नवदुर्गाको नयाँ दृष्टिकोण र अभ्यास

नवदुर्गाका मिथकहरू केवल धार्मिक कर्मकाण्डमा सीमित छैनन्। बरु समाजलाई न्याय, समानता र परोपकारको मार्गमा प्रेरित गर्छन्। हाम्रो जस्तो देश, जहाँ सामाजिक असमानता र विभेद अझै पनि चुनौती बनेका छन्, यी सन्देशलाई व्यवहारमा लागु गर्नु आवश्यक छ। नवदुर्गाका रूपहरूलाई आधुनिक समाजसँग जोडेर व्याख्या गर्दा, तिनीहरूले समाज रूपान्तरणका लागि मार्गदर्शन दिन्छन्।

शक्ति र न्यायको सही प्रयोग गर्दा मात्र धर्मले आफ्नो सार्थकता प्राप्त गर्छ र समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। धर्मले हामीलाई निष्ठा, समता र न्यायको मार्गदर्शन दिन्छ। नवदुर्गाका नौ रूपलाई आधुनिक सन्दर्भमा पुनः व्याख्या गर्दै हामीले समाजमा न्याय, समानता र सामाजिक सद्भावका लागि काम गर्नुपर्ने आवश्यकता छ। शक्तिको प्रतीक नवदुर्गालाई केवल पूजा गरेर होइन, उनको शिक्षालाई व्यवहारमा उतारेर नै समाजमा दिगो सुधार र रूपान्तरण सम्भव छ।

(कुइँकेल आजीवन सिकाइ मण्डलसँग आबद्ध छिन्।)

प्रकाशित: २४ आश्विन २०८१ ०८:५४ बिहीबार