विचार

अहिंसा, अहिंसा र अहिंसा

विश्व नै हिंसा, द्वन्द्वबाट आक्रान्त भइरहेको परिवेशमा अहिंसाबाट पनि आमूल परिवर्तन गर्न सकिन्छ भन्ने सिद्धान्तका प्रतिपादक महात्मा गान्धीको जन्म दिनलाई विश्व अहिंसा दिवसका रूपमा मनाउँदै आइएको छ।

सन् २००७ को जुन १५ तारिखमा संयुक्त राष्ट्र संघको महासभाले प्रस्ताव नं. एआरइएस/६१/२७१ पारित गर्दै प्रत्येक वर्ष अक्टोबर २ लाई विश्व अहिंसा दिवसका रूपमा मनाउन थालेको हो। यो दिनलाई विश्वभर अहिंसात्मक तरिकाले विश्वमा सकारात्मक सामाजिक परिवर्तन गर्न सम्भव छ भन्नेबारे बुझाइन्छ, बहस गरिन्छ र गान्धीको योगदानबारे चर्चा गरिन्छ। यो दिवसलाई भारतले चाहिँ आफ्नो ‘नरम कूटनीति’ को साधनका रूपमा पनि प्रयोग गरेको छ। नेपालमा चाहिँ हिंसालाई नै संस्थागत गर्नुपर्छ भनेर सदनदेखि सडकसम्म लडाइँ छ।

अहिंसाको शक्ति

यो सवालमा विश्वमा दुईवटा चिन्तन प्रयोगमा छन् जसले धेरै परिवर्तन गराइरहेको छ। एउटा चिन्तन आमूल परिवर्तनका लागि हिंसा अपरिहार्य छ, हिंसा चाहनाले हैन, बाध्यता र परिस्थितिको उपजका रूपमा आउने हो। राज्य सत्ताको स्वरूप नै हिंसात्मक पक्ष मिसिएको हुँदा रूपान्तरणमा हिंसाको प्रयोग विज्ञानसम्मत छ। शान्तिपूर्ण तरिकाले परिवर्तन नहुने अवस्थामा यसको प्रयोग आवश्यक छ भन्ने मान्यतामा विश्वास राख्छ।

नेपालमा यसको पछिल्लो प्रतिनिधि उदाहरण तत्कालीन नेकपा (माओवादी) हो जसले १० वर्षको सशस्त्र द्वन्द्वमा १७ हजारभन्दा बढी मानिसको ज्यान जाँदा पनि यो आवश्यक थियो, सही थियो भन्ने मान्यता राख्छ। वकालत गर्छ। हजारौँ बेपत्ता भए, हजारौँ महिला विधवा भए। हजारौँ मानिस घाइते र अपाङ्ग भए। हजारौँ बालबालिका टुहुरा भए तर पनि उनीहरूको विश्वासमा यो हिंसात्मक काम आवश्यक थियो र यसलाई हिंसा नै भन्नु हुन्न भनेर सदनमै आक्रामक तरिकाले विरोधमा उत्रिए किनकि उनीहरूयसलाई हिंसा मान्न तयार नै छैनन्।

अर्को चिन्तनधारले हिंसालाई आधुनिक समाजमा समाज रूपान्तरणको वैधानिक माध्यमका रूपमा स्वीकार्दैन। यो चिन्तनधारले अहिंसाको माध्यमबाट नै समाजको आवश्यक परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास राख्छ। अहिंसावादी धारले आदरभाव, सही बुझाइ, स्वीकार्यता, सहकार्य, प्रशंसा, करुणा, दया, प्रेमलार्ई समाज परिवर्तनको आधार मान्छ । गान्धीजीले पनि यिनै आधार प्रयोग गरी विश्व कब्जा गरेर बसेको तत्कालीन बेलायती शासनलाई भारतबाट धपाएका थिए भने दक्षिण अफ्रिकामा पनि गोराहरूको उपनिवेशमा विभिन्न अहिंसात्मक विरोधका कार्यक्रम गरी उनीहरूलाई झुकाएका थिए।

ऐतिहासिक कालमा गौतम बुद्धले नै सबैभन्दा पहिला अहिंसा प्रबद्र्धन गरेका थिए भने पछिल्लो समयमा महात्मा गान्धीले सुरु गरेका अहिंसात्मक आन्दोलनको अमेरिकी अश्वेत मानव अधिकारवादी नेता मार्टिन लुथर किङ्ग, दक्षिण अफ्रिकाका स्वतन्त्र संग्रामका नायक नेल्सन मन्डेला, धर्मगुरु डेसमण्ड तुतुलगायतले राजनीतिक रूपान्तरण र समाज परिवर्तनमा अहिंसाको वकालत र उपयोग गरेका थिए।

अहिंसात्मक मार्गको अपरिहार्यता

अहिले विश्व शान्तिको आवश्यकता र हिंसात्मक लडाइँ र द्वन्द्व भइरहेको परिप्रेक्ष्यमा यो अहिंसात्मक समाज परिवर्तनको अवधारणा थप आवश्यक भएको छ। हिंसालाई शान्तिपूर्ण आधुनिक समाजले सहजै ग्रहण गर्दैन। हिंसाको प्रयोग पनि संसारमा सत्ता कब्जा/प्राप्त गर्न, आफ्नो चाहना पूरा गर्न, स्रोतमाथि पहुँच र नियन्त्रण गर्न, आफ्नो चाहनाअनुसार अरूलाई हिँडाउन नै प्रयोग भएको छ।  

जेनेभा डिक्लियरेसन अनआम्र्ड

भायोलेन्स एन्ड डेभलपमेन्ट संस्थाका अनुसार द्वन्द्व र हिंसाबाट प्रत्येक वर्ष सरदर पाँच लाख २६ हजारभन्दा बढी मानिस मारिन्छन्। ब्राउन विश्वविद्यालयको तथ्यांकअनुसार एक्काइसौँ शताब्दी अर्थात् विगत २४ वर्षमा ४५ देखि ४७ लाखसम्म मानिस द्वन्द्व, युद्धसम्बन्धी हिंसाबाट मात्र मारिएका छन्। घरायसी हिंसाबाट वार्षिक लगभग ४८ हजार आठ सय महिला तथा बालबालिका आफन्त र परिवारका सदस्यबाटै मारिन्छन् भने बन्दुकबाट हुने हिंसा (गन भायोलेन्स) बाट वार्षिक ४२,६०० मानिस मारिन्छन्। यसरी सबै प्रकारका हिंसाबाट वार्षिकरूपमा संसारभर मारिने मानिसको संख्या नै झण्डै १० लाख पुग्ने देखिन्छ।

अहिले संसारका केही देश र राजनीतिक दलले गरेजस्तो हिंसालाई संस्थागत गर्दै लाने हो भने भविष्यमा यसको परिणाम कस्तो होला ? कति मानिस मारिएलान् ? त्यसैले अहिलेको आवश्यकता भनेको हिंसाको नकारात्मक प्रभावबारे जनचेतना जगाउँदै, अहिंसात्मक आन्दोलनबाटै कुनै पनि सामाजिक रूपान्तरण सम्भव छ भन्ने मान्यता समाजमा स्थापित गर्ने हो।

तर हिंसाबाट फाइदा उठाइरहेकाहरू, हिंसाबाहेक अर्को विकल्प नदेख्ने एकांकी मानसिकता भएकाहरू र हिंसाबाट शक्ति, सत्ता, सम्मान (क्षणिक भए पनि) पाएकाहरूले अहिंसात्मक रूपान्तरणलाई स्वीकार्दैनन्। यो नै अहिलेको विश्वको चुनौती हो।

 

– उप्रेती द्वन्द्व व्यवस्थापन, शान्ति राज्य निर्माण तथा सार्वजनिक नीति अध्येता हुन्।

प्रकाशित: २० आश्विन २०८१ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App