विचार

स्वस्थ जीवन–सूत्र

हुर्कने क्रममा मानिसले विभिन्न परिवेश भोग्छ। बढ्ने क्रममा समाजसँग जुध्दा व्यक्ति परिमार्जित हुन्छ, सामाजिक कौशल सिक्छ। समाजमा आफ्नो स्थान उचो बनाउन सक्ने व्यक्तिसफल मानिन्छ। तर समाजले कुन व्यक्तिकति लामो स्वस्थ जीवन व्यतीत गरी महाप्रस्थान गर्‍यो भन्ने कुराको लेखाजोखा राख्दैन। यद्यपि व्यक्तिस्वयंका लागि भने दीर्घकालसम्म स्वस्थ जीवन व्यतीत गर्न पाउनु महायुद्ध जितेसरह नै हो। उपचार खर्चको हिसाब गर्दा रोग नलाग्नु आफैँमा लाखौँको सम्पत्ति आर्जन गर्नुभन्दा कम होइन।

जन्मँदै आमाबाबुको उपहारका रूपमा आउने आनुवांशिक पदार्थले व्यक्तिको स्वास्थ्यवस्थालाई केही हदसम्म प्रक्षेपण गर्न नसक्ने होइन। आनुवांशिक पदार्थ, डिएनएले खान्दानी रोगलाई हौस्याउँछ। तर खानपिन, आहारबिहार अनि शारीरिक परिश्रममार्फत् बाबुआमालाई थल्याएको व्यथाबाट बच्न नसकिने होइन। डाक्टरसँग जँचाउने, क्लिनिकल परीक्षणका लागि प्रयोगशाला जाने अनि ओखती खाएपछि स्वस्थ बनिन्छ भन्ने आमधारणा छ। एउटा सानो ट्याब्लेटले रोग निको हुन्छ भने हामीले ठूलो परिमाणमा खाने खान्की दूषित भयो भने त्यसले कस्तो भयानक समस्या ल्याउला भन्ने धेरै मानिसले सोच्दैनन्। तसर्थ, डाक्टरकहाँ नधाइकन कसरी लामो समय स्वस्थ जीवन बिताउने भन्ने कुरामा घोत्लनुअघि खाना नै ओखती हो भन्ने मन्त्रमा ध्यान दिन जरुरी छ।

कस्तो भोजन स्वस्थकर हुन्छ भन्ने कुराको उत्तर सहज छ। टोलछिमेकमा उत्पादन हुने तरकारी, फलफूल, अन्नबाली, दूध दही तथा माछा मासुको मात्रा मिलाएर खाए पर्याप्त छ भन्ने बुझ्दा हुन्छ। त्यस्तै सहरका बासिन्दाले कोल्ड स्टोरमा भण्डारण गरिएको बेमौसमी फलफूलभन्दा ताजा उत्पादन आर्थिक हिसाबले किफायती मात्र छैन स्वस्थकर पनि छ भन्ने सम्झँदा पुग्छ । सोमरसभन्दा गोरस अनि पसलको चलानी खान्कीभन्दा भन्साको परिकारले रोगलाई पछि धकेल्छ भन्ने यथार्थ सबैले स्मरण गर्न आवश्यक छ।

बाटोघाटोको विकास अनि वैदेशिक रोजगारीको अवसरका कारण देशका अधिकांश मानिस दैनिक गुजारा चलाउन सक्ने अवस्थामा पुग्दैछन्। तर पसिना काडेर कमाएको पैसा कोक, पेप्सी, चाउचाउ, चिप्स जस्ता अस्वस्थकर खानामा खर्चने प्रवृत्ति बढ्दो छ। स्थानीय फलफूल बेसाउनुको बदला महिनौँ पुरानो बेमौसमी तरकारी किन्ने प्रवृत्ति अनि पकाएर खानुको बदला चलानी खान्की खाने आदतलाई दुरुत्सहित गर्न सक्ने हो भने नेपालको स्वास्थ्य अवस्था त्यति कमसल छैन।

खानाकै कारण धनी र गरिब दुवै तप्काका देशहरूका हजारौँ नागरिक मर्छन्। यद्यपि मरणको प्रकृति दुवै समूहमा फरक छ। सम्भ्रान्त देशका जनता धेरै खान्की खाँदा लाग्ने रोगका कारण थलिएर मरेका देखिन्छ भने गरिब राष्ट्रका जनता थालमा हाल्ने अन्न नपाएर घाट पुग्छन्। ४–५ दशकसम्म नेपालमा भोकमरीको चपेटामा मर्नेको संख्या धेरै थियो। तर कृषिको आधुनिकीकरण अनि वैदेशिक रोजगारीका कारण पछिल्लो समय खान नपाएर नेपाली मरेको खबर शायदै सुनिन्छ/पढिन्छ।

पछिल्लो समय नेपालमा समेत खानासिर्जित रोगको ढाँचा फेरिँदै गएको देखिन्छ। खानाको अभावले जीर्ण भएका जनताभन्दा धेरै खाना खाएर रोगले सताएको जनसंख्या उकासिँदो छ। कसरी र कति खाना खाने भन्ने शिक्षा दिन सकिएन भने अधिक भोजनले निम्त्याउने रोगीको ग्राफ उकासिन्छ। पछिल्लो समय विभिन्न किसिमका क्यान्सर अनि प्रतिरक्षा प्रणालीमा घात गर्ने नयाँ रोग भित्रिए। रोग लाग्नै नपाए हुन्थ्यो अथवा पहिलो चरणमै लक्षण पत्ता लगाउन सके बढी बाँचिन्थ्यो भन्ने सोच्नु अन्यथा होइन। त्यसैले पनि स्वास्थ्य क्षेत्रमा ‘होल बडी चेकअप’ भन्ने नयाँ शब्द आयो। यो जाँचबुझमा शरीरका सबै अंग प्रत्यंगको अवस्था थाहा हुन्छ अनि रोग लाग्छ/लाग्दैनलगायतका सबै जवाफ मिल्छ भन्ने धेरैले सोच्छन्। तर यथार्थमा त्यसो हुँदैन। आयुर्विज्ञान भगवान होइन। यसले तथ्यांकका आधारमा प्रक्षेपणसम्म गर्ने हो।

स्वास्थ्य जाँचका क्रममा नागरिकको अज्ञानता र मजबुरीको फाइदा उठाएर चिकित्सकले चाहिँदा नचाहिँदा परीक्षण सिफारिस गरेका देखिन्छ। आफ्नो स्वास्थ्यबारे जानकारी हुनु असल कुरा हो। तर उपचारको गुन्जायस नभएको अनि अनावश्यक तथ्यांक बटुलेर फाइदा हुन्छ कि तनाव त्यता पनि सोच्न आवश्यक छ। मेडिकल फिल्डमा ‘ओभर डायग्नोसिस’ले प्रतिकूल परिणाम पनि दिन्छ भन्ने बुझ्न स्तन क्यान्सर पत्ता लगाउने विधि ‘मेमोग्राम’को तथ्यांक पठनयोग्य छ। यो विधिले स्तन क्यान्सर पत्ता लगाउने भएकाले निश्चित उमेरका महिलालाई मेमोग्राम गर्ने संहिता बन्यो, इलाज सुरु भयो। मेमोग्राममा क्यान्सर देखिएर अर्बुद रोगको इलाज गरेका अधिकांश महिलाले फाइदाभन्दा हानि बेहोरेको बतायो सन् २०२१ मा ब्रिटिस जर्नल अफ क्यान्सरमा प्रकाशित एक बृहत् अध्ययनले। तसर्थ, आवश्यकभन्दा अधिक परीक्षणका लागि चिकित्सकलाई आग्रह नगरौँ। अनि डाक्टरले पनि आफ्नो पेसागत मर्यादालाई ख्याल गरेर बिरामीलाई नचाहिँदो जाँचको सल्लाह दिनुहुँदैन।

एउटै सूत्र सबैका लागि लागु नहुने भए पनि स्वस्थ जीवन व्यतीत गर्न आफ्नो स्वास्थ्यसम्बन्धी केही आकडाको जानकारी लाभप्रद् हुन्छ। धेरै तथ्यांकले पेटमा जम्मा भएको बोसोको परिमाण प्रत्यक्षरूपले मुटु रोग, मधुमेह तथा मेटाबोलिक समस्याको कारक देखाएको छ। तसर्थ, व्यक्तिले आफ्नो कम्मरको मोटाइको जानकारी राख्नु लाभप्रद् देखिन्छ। कम्मरको साइज महिलामा ३५ इन्च अनि पुरुषमा ४० इन्चभन्दा बढी छ भने धेरै किसिमको रोगले चिहाउने सम्भावना छ भन्ने बुझौँ। उच्च रक्तचाप उकासिनु भनेको मुटुले अत्यधिक परिश्रम गर्नु हो। उच्च रक्तचाप विभिन्न किसिमका मुटु रोगको प्रमुख कारक मात्र नभएर मस्तिष्क तथा मिर्गौलाको स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्ने देखाएका कारण रक्तचापको जानकारी महत्त्वपूर्ण हुन्छ।

मुटुले पम्प गर्ने रगतमा कोलेस्ट्रोलको मात्रा उकासिएको खण्डमा रक्तनलीहरूमा उक्तरासायनिक पदार्थ जम्न गई रगतका पाइपहरू संकुचित हुन्छन्। रक्तनली खुम्चँदा दिमागलगायत शरीरका महत्त्वपूर्ण अंगहरूले पर्याप्त मात्रामा ग्लुकोज तथा अक्सिजन पाउँदैनन्। पिउने पानीको पाइपमा लेदो पदार्थ जम्दा चुहिएझैँ कोलेस्ट्रोलले ब्लक भएका रक्तनली फुट्न सक्छ। महत्त्वपूर्ण तन्तुमा रक्तसञ्चार गर्ने नली फुटेमा व्यक्तिको मृत्यु हुन सक्छ। रगतमा चिनीको मात्रा अत्यधिक उकासिँदा मधुमेह लाग्छ भने ब्लडसुगरको परिणाम न्युन हुँदा शारीरिक जटिलता पैदा हुन्छ। मुटु तथा मस्तिष्क जस्ता महत्त्वपूर्ण अंगका लागि अनवरतरूपले ग्लुकोजको आपूर्ति आवश्यक हुने भएकाले ‘ब्लड सुगर’को सन्तुलन आवश्यक हुन्छ।

कुनै पनि काम नगरेको अवस्थामा शरीरका सबै अंग/प्रत्यंग सञ्चालनका लागि व्यक्तिलाई दैनिकरूपले चाहिने न्यूनतम ऊर्जालाई ‘बेसल मेटाबोलिक रेट’ भनिन्छ। बढ्दो उमेर समूहको मेटाबोलिक रेट उच्च हुन्छ भने पूर्ण उचाइ हासिल गरेपछि व्यक्तिको मेटाबोलिज्म घट्छ। उदाहरणका लागि ५० वर्ष पुगेको अधबैंसेलाई दैनिक कार्य सञ्चालनका लागि एक हजार क्यालोरी ऊर्जा आवश्यक पर्छ भने समान अवस्थामा १० वर्षपछि त्यही कामका लागि केबल ९५० क्यालोरी भए पुग्छ। अर्को १० वर्षपछि दैनिकरूपले केबल ९०० क्यालोरी उसका लागि पर्याप्त हुन्छ। उमेर बढ्दै जाँदा खान्कीको आवश्यकता भने घट्छ। हजुरबा/आमाले थोरै खाना खानुको कारण अंगहरूको ऊर्जा खपत घटेर नै हो।

मेटाबोलिक शिथिलताका कारण उचाइ हासिल गरिसकेपछि व्यक्तिले आफ्नो जिउडाललाई सन्तुलनमा राख्न खानामा कटौती गर्दै जानुपर्छ। त्यसो नगर्दा व्यक्तिको तौल बढ्दै जान्छ। कम्मरको साइज बढ्दा रोगको संभाव्यता आकासिन्छ। भान्सामा पाकेको दाल, भात, तरकारी, दही, दूध अनि मौसमअनुरूपको फलफूल खाने बानी बसाल्ने, आवश्यकताभन्दा अधिक नखाइ शरीरको वजन व्यवस्थापन गर्ने, आफ्नो कम्मरको साइज, ब्लड सुगर, रक्तचाप, अनि कोलेस्ट्रोल परीक्षण गर्ने सचेत व्यक्तिलामो समयसम्म स्वस्थ जीवन बाँच्न सक्ने आवधिक अन्वेषणहरूको निचोड हो।

 

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्। 

प्रकाशित: १५ आश्विन २०८१ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App