विचार

सेवाको शक्ति र सामर्थ्य

आठ वर्षको छोरोले ज्यादै जिद्दी गर्‍यो। त्यो बालहठदेखि दिक्क आमाले छोरालाई जोडले एक थप्पड दिइन्। छोरो खुब रोयो। अनि रन्थनिएर घरबाट निस्कियो। घुम्दाघुम्दै जंगलमा पुग्यो। सुनसान त्यो जंगल देखेर ऊ निकै डरायो र रुन थाल्यो। रुँदै आमालाई सम्झिदै जोडले करायो– आइ हेट यु...। जंगलले प्रतिध्वनि गर्‍यो–आइ हेट यु....आइ हेट यु...। जंगलबाट निस्केको त्यो चर्को आवाज सुनेर बालक आत्तियो र घरतिर दौडियो।

आमाको काखमा गएर जंगलको सारा वृत्तान्त सुनायो। छोराको कुरा सुनेर आमाले भनिन्– “बाबु, तिमीले एउटा काम फेरि गर। फेरि त्यही जंगलमा जाऊ र त्यही ठाउँमा उभिएर भन– आइ लभ यु ।” आमाको सल्लाहमुताबिक बालक डराइ–डराइ जंगल गयो र त्यही ठाउँमा उभिएर जोडले भन्यो– “आइ लभ यु...।” जंगलले प्रतिध्वनि गर्‍यो– आइ लभ यु...आइ लभ यु...। ऊ निकै खुसी भयो। अनि बाख्राको पाठोझैँ बुर्कुसी मार्दै घरतिर फर्कियो।

यसरी नै समाजले सधैं प्रतिध्वनि गर्छ। यदि हामीले समाजलाई घृणा दियौँ भने समाजले हामीलाई घृणा नै दिन्छ। यदि हामीले प्रेम दियौँ भने प्रेम नै दिन्छ। त्यसैले त जेनेट कोलले लेखेका नै छन्–

अरूको सहयोग नगरिकन,  

हामीले आफ्नो सहयोग गर्न सक्दैनौँ।  

अरूलाई फाइदा नदिइकन,  

हामीले आफूलाई फाइदा पुर्‍याउन सक्दैनौँ।  

अरूलाई खुसी नदिइकन,  

हामी आफू खुसी हुन सक्दैनौँ।

तर यो सामाजिक मनोविज्ञानलाई धेरै कमले बुझ्ने गर्छन्। त्यसैले त अहिलेको जमानामा निस्वार्थ भावले सामाजिक सेवा लाग्ने मानिस बिरलै भेटिने गर्छन्। धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन्। यस्ता कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छन्।

हो, हरेक समाजमा असल मानिस पनि हुन्छन्, खराब मानिस पनि हुन्छन्। आँखामा राखे पनि नबिझाउने महान् समाजसेवी पनि हुने गर्छन्। यस्ता समाजसेवीको सामाजिक जोसलाई हरेक सामाजिक मानिसले सलाम गर्नुपर्छ र उनीहरूलाई साथ दिएर उनीहरूको उत्साह बढाउनुपर्छ भने समाजिक संघ/संस्थाहरूलाई मागी खाने भाँडो बनाउने असामाजिक कुतत्वहरूलाई निरुत्साहित पार्नुपर्छ, नंगाउनुपर्छ। जेसुकै होस् भनेर चूपचाप बस्नुहुँदैन। यदि समाजले चूपचाप बसेर रमिता हेर्‍यो भने समाजका लागि केही राम्रो काम गरौँ भन्ने स्वःउत्प्रेरित युवाहरूको पनि जोश घट्न सक्छ।

मानिस एक सामाजिक प्राणी हो। मानिस समाजबाट कदापि अलग रहन सक्दैन। त्यसैले मानिसले आफ्नो पारिवारिक कर्तव्यका साथै सामाजिक सेवालाई जीवनको अभिन्न अंग मान्नुपर्छ। र, हरेक सामाजिक कार्य तथा विकास निर्माणको यज्ञमा आफ्नो क्षेत्रबाट यथासक्य सेवा र आर्थिक दान गर्नुपर्छ। सेवाबाट कहिल्यै अलग रहनुहुँदैन। एउटा भनाइ नै छ– सेवा गरे मेवा पाइन्छ।

तर गैरकानुनी काम गरेर अकुत सम्पत्ति लुट्ने र सेवाको नाममा अस्पताललाई चन्दा दिने वा मिसावट गरेर खाद्यन्नहरू बेच्ने र गाउँमा मन्दिर बनाएर समाजसेवीको खोल ओड्ने जस्ता काम गर्नुहुँदैन। वास्तवमा यो सेवा होइन, बेइमानी हो। यो त एक प्रकारले अर्काको घरमा आगो लगाएर घर सखाप भएपछि एक बाल्टी पानी लिएर अघि सर्नु जस्तै हो। त्यसैले यस्तो सेवाको कुनै अर्थ छैन। त्यो किनभने मानिसको पहिलो कर्तव्य भनेको नै आफ्नो पेसा वा व्यवसायप्रतिको इमानदारिता हो।

त्यसैले यदि तपाईँ गल्ला व्यापारी हुनुहुन्छ भने तपाईँको कर्तव्य हो कि ग्राहकलाई उचित मूल्यमा शुद्ध खाद्यान्न बेच्ने, यसको साथै बेलाबेलामा सामाजिक कार्यहरूमा होस्टेमा हैँसे मिलाउने तथा आफ्नो आम्दानीको केही रकम बिनास्वार्थ सामाजिक सेवामा खर्च गर्ने। तर अधिकांश मानिसले यस्तो शुभकर्मलाई घाटाको व्यापार मान्छन्, अवनतिको बाटो ठान्छन्। तर सारमा यस्ता व्यक्ति सोह्रै आना गलत छन्। त्यो किनभने यो घाटाको व्यापार होइन, यो त नाफै नाफाको सागर हो। एक पटक यो बाटोमा हिँडेर त हेर्नुहोस्, तपाईँको प्रतिष्ठा मात्र होइन कि आर्थिक उन्नति पनि रातरात चौगुना हुनेछ।

यदि तपाईँ चिकित्सक हुनुहुन्छ भने मीठो बोली र प्रेमका हातहरूले रोगीहरूको ठीक उपचार गर्नुहोस्। गरिब, दुःखी, अनाथ र दीनहीनलाई आफूले सक्दो सहयोग गर्नुहोस्। यदि तपाईं नर्स हुनुहुन्छ भने फ्लोरेन्स नाइटिङ्गेलको आदर्शलाई कहिल्यै नछाड्नुहोस्। दिनरात रोगी बिरामीको सेवामा खटिनुहोस्। यदि तपाईँ कर्मचारी हुनुहुन्छ भने आफ्नो काम गराउन जाँदा अन्य कर्मचारीबाट जस्तो व्यवहार चाहनुहुन्छ, तपाईँ पनि सेवाग्राहीसँग त्यस्तै व्यवहार गर्नुहोस्। यो नै पेसाकर्मी तथा कर्मचारीको पहिलो कर्तव्य हो। एक पटक सेवाग्राहीलाई यस्तो सेवा दिएर त हेर्नुहोस्, तपाईँको प्रतिष्ठा कसरी बढ्दो रहेछ ?

कक्षामा शिक्षकले सेवाको महŒवबारे प्रकाश पार्दै विद्यार्थीलाई भने–सेवाको महत्त्व ठूलो छ, सेवा गरेर नै मेवा पाइन्छ। त्यसैले आजदेखि तिमीहरू सबैले सेवा गर्नु, सेवाको अवसर फुत्कन नदिनू।

केही दिनपछि शिक्षकले विद्यार्थीलाई सोधे कि गएका दिनहरूमा उनीहरूले के/कस्तो सेवा गरे। एकजना विद्यार्थी खडा भएर भन्यो– सर, मैले एकजना वृद्धालाई सडक पार गराएँ। अर्को विद्यार्थीले भन्यो– मैले पनि वृद्धालाई सडक पार गराएँ। तेस्रो विद्यार्थीले पनि त्यही कुरा गरेपछि शिक्षक अचम्म पर्दै भने– यो त अचम्मै भयो, तिमीहरू तीनैजनालाई उस्तै–उस्तै सेवा गर्ने मौका पो मिलेछ।

तब एक विद्यार्थी बोल्यो– यो अचम्म होइन सर, संयोग हो। वास्तवमा संयोगवस त्यसबेला हामी तीनैजना एकसाथ थियौँ र यो सेवा कार्य हामी तीनैजना मिलेर बढो मुस्किलले गरेका थियौँ। शिक्षक अचम्म परे, किन ? अर्को विद्यार्थी बोल्यो– कहाँ सर, ती वृद्धा त सडक पार गर्नै मानेकी थिइनन् तर हामी तीनजना मिलेर बडो मुस्किलले लतार्दै सडक पार गराएका थियौँ।

–बानियाँ साइकोथेरापिस्ट हुन्।

प्रकाशित: १६ भाद्र २०८१ ११:१८ आइतबार

#forest