विचार

जैविक खान्कीयुक्त जीवन

अर्गानिक खानाले रोगव्याधि नलाग्ने सोचका कारण संसारभर प्रांगारिक भोजनप्रतिको आकर्षण बढ्दो छ। पैसा धेरै हुनेले जैविक उत्पादनमा खर्चिनु ठूलो कुरा भएन। तर घरखर्च धान्न नै कठिन भएका परिवारले समेत अस्पताल जानु पर्दैन भने भान्साको बजेट उकासिने चिन्ता नगरी जैविक तरकारी किनेको देखिन्छ। हुन पनि क्यान्सर लाग्दैन भन्ने पक्का हो भने प्रांगारिक उत्पादनमा जोड दिनु अन्यथा होइन। तर के मानिसले सोचेजस्तै अर्गानिक तरकारी  फलफूल खाँदा रोगले सताउँदैन त ?

विज्ञानको विकासबाट सबै क्षेत्रले प्रतिफल पायो। कृषिक्षेत्र वैज्ञानिक आविष्कारभन्दा पृथक् हुने प्रश्न भएन। ल्याब निर्मित रासायनिक मल तथा कीटनाशक ओखतीका कारण कृषिको उत्पादकत्व ह्वात्तै बढ्यो। भोकमरीबाट संसारले मुक्ति पायो। खान नपाउने जनसंख्या घट्यो। भात तथा रोटीको भरमा मात्र बाँच्दा हुने कुपोषणको सिकारमा परेकालाई प्रोटिन र भिटामिनको आवश्यकता पुर्‍याउन आधुनिक पशुपालन र खेतीपातीको सुरुवात भयो। उत्पादनको रफ्तारी बढोत्तरीका लागि बालीनाली छिटो बढाउने ग्रोथ हर्मोनको प्रयोग भयो। सन्तुलित खाना पाउने जनसंख्या उकासियो। नेपालजस्ता विपन्न देशका कुनाकन्दराका बासिन्दाले समेत पौष्टिक भोजन पाउने अवस्था ल्यायो विज्ञानले।

अर्गानिक खान्की भनेको के हो भन्ने प्रश्नको जवाफ सहज छैन। यद्यपि विभिन्न देशका अनुगमन निकायले गरेका व्याख्या नियाल्दा पछिल्लो शताब्दीमा आविष्कार भएका रासायनिक पदार्थहरू प्रयोग नगरी उत्पादन गरिएका आहारलाई जैविक खानाभन्दा खासै फरक पर्दैन। तसर्थ, संसारका सबै मानिसले प्रांगारिक उत्पादन मात्र खान खोज्ने हो भने विश्व ५/६ दशकअघिको अवस्थामा पुग्छ। पृथ्वीका आधाभन्दा बढी जनसंख्या कुपोषण तथा भोकमरीको चपेटामा पर्छन्। जैविक भोजन र भोकमरीको विपरित धारको सम्बन्ध कायम देखिएको अवस्थामा अर्गानिक भोजनको औचित्यको चर्चा अझ सान्दर्भिक देखियो।

प्रांगारिक र गैरजैविक भोजन गर्ने फ्रान्सका ७० हजार वयस्कमा गरिएको अध्ययन सन् २०१८ मा जामा इन्टर्नल मेडिसिन जर्नलमा प्रकाशित भयो । सात वर्ष लामो उक्त अनुसन्धानले मूलतः जैविक खानामा आश्रित समूहमा क्यान्सरको सम्भाव्यता अर्को पक्षका दाँजोमा झन्डै २५ प्रतिशत कम हुने उक्त अध्ययनको निचोड थियो। यो आलेख प्रकाशित भएपछि उक्त सन्देश सांसारिक बन्यो। विषयको यथार्थ नबुझी जैविक भोजनले क्यान्सरको संभाव्यता कम हुने बुझाइ रह्यो धेरैमा।

यसरी संसारभर चर्चा पाएको उक्त अन्वेषणको ढाँचा नै त्रुटिपूर्ण थियो। अध्ययनमा सहभागीहरूमध्ये अर्गानिक भोजनमा आश्रितको खान्की शैली के थियो अनि अर्को समूहका धेरै शाकाहारी वा माछा/मासु बढी खान्थे त भन्ने पक्ष नै उक्त अध्ययनमा समेटिएको थिएन। शाकाहारी र मांसाहारी भोजनले अर्बुद रोगलाई निर्देशित गर्ने यथार्थ बाहिरिएपछि फ्रेन्च अध्ययन असान्दर्भिक बन्यो तर उक्त अनुसन्धानको प्रभाव भने दीर्घजीवी भयो। पछिल्ला दिनमा भएका अध्ययनहरूले समेत प्रांगारिक भोजनले मानिसमा क्यान्सरको संभाव्यता कम गर्छ त भन्ने प्रश्नको ठोस उत्तर दिन सकेको छैन। यद्यपि बालिनालीमा प्रयोगहुने कीटनाशक ओखतीमध्ये केही तहका विषादीको अत्यधिक प्रयोग भएको खान्कीले आणुवांशिक पदार्थमा कैफियत दिने गरेको पाइयो। अनि अणुवांशिक खराबीले क्यान्सरलगायतका विभिन्न रोग लाग्ने भएपछि कीटनाशक विषादीसँग जोडेर जैविक उत्पादन प्रयोगको वकालत हुनु अन्यथा होइन। अब के विषादी प्रयोग भएको तरकारी खाने बित्तिकै क्यान्सर हुन्छ त ?

खराब तत्त्व निश्चित मात्रामा शरीरभित्र प्रवेश गरेको खण्डमा समेतव्यक्तिको स्वास्थमा प्रतिकूल असर पार्दैन। शरीर आफैँमा भगवानको औषधि कारखाना भएकाले भित्रिएका धेरै तत्वलाई केही मात्रासम्म शारीरिक प्रक्रियाले निस्तेज पार्छ, व्यक्ति रोगी बन्दैन। व्यक्तिलाई रोगी नबनाउने तहको खराब तŒवलाई आयुर्विज्ञानको भाषामा थ्रेसहोल्ड लिमिट भनिन्छ। कुनै पनि रासायनिक तत्त्वले शरीरमा थ्रेसहोल्ड लिमिट ननाघेको खण्डमा व्यक्तिलाई कुनै पनि शारीरिक प्रतिकूलता दिँदैन। तसर्थ, किसानले कीरा फट्यांग्रा मार्न प्रयोग गरेको विषादीको झिनो मात्राको असर सामान्यतः उपभोक्तामा पर्दैन। यद्यपि अज्ञानताका कारण अनुगमन निकायले निर्देशित गरेको परिणामभन्दा अधिक विषादी प्रयोग भएको खण्डमा भने रासायनिक विषादीले रोग भित्र्याउँछ भन्ने बिर्सनु हुँदैन। किसानलाई कीटनाशक ओखतीबारे जानकारी गराएर अनि आवधिक अनुगमन संयन्त्रमार्फत् सरकारले जनताको स्वास्थ्यको हेरचाह गर्न सक्छ।

नेपालको सन्दर्भमा कीटनाशक ओखतीले स्वास्थ्यलाई खराब गर्छ भन्ने सन्देश जनतासम्म पुग्यो तर थ्रेसोल्ड लिमिटको जानकारी भएन। तसर्थ, यथार्थवादी सन्देश प्रवाह आवश्यक देखियो। कालीमाटी थोक बजारमा संकलन भएका तरकारीमा विषादीको मात्रा परीक्षण गर्ने विगतको प्रस्तावलाई सरकारले ढाड फर्काएपछि जनताको स्वास्थ्यमा खेलवाड गरेको सूचना गयो। विगतको गल्ती सच्याउन अपयुक्त कदम चालेको खण्डमा जनता र सरकारबीचको अविश्वास चिर्न नसकिने होइन।

सूर्यको किरणमा पाइने अल्र्टा भायलेट (युभी)ले छालाको क्यान्सर हुन्छ। तर अर्बुद रोग हुन युभी किरण शरीरमा दिन/रात अनवरतरूपले पर्नुपर्छ। दिनको दुई/चार घण्टा घाममा काम गर्दा सिँचित हुने प्रकाश थ्रेसहोल्ड लिमिटमै पर्ने भएकाले हामी रोगको सिकार हुँदैनौँ। तर सनस्क्रिन उत्पादक कम्पनीले आफ्नो व्यापारिक मुनाफाका लागि सूर्यको प्रकाश शरीरमा पुग्ने बित्तिकै क्यान्सर लाग्ने प्रचार गरे। अनि समाजले आंशिक सत्यलाई पूर्णता ठाने। प्रकाशबाट बच्न सनस्क्रिन प्रयोग गर्न थाले। शरीरमा प्रकाश पर्ला कि भनेर करेसाबारीमा काम गर्न पनि छाडे। घाम शरीरमा नपर्दा भिटामिन डिको न्यूनता देखियो। सूर्यको किरणले शरीरमा रहेको कोलेस्ट्रोललाई भिटामिन डीमा परिणत गर्ने भएकाले व्यक्तिको स्वास्थ्यमा दोहोरो मार पर्‍यो। हाइकोलेस्ट्रोल र भिटामिन डी अल्पताको दोहोरो मारमा पर्‍यो समाज।

उकासिँदो कोलेस्ट्रोलले मुटुरोगको सम्भाव्यता उकास्यो भने प्रतिरक्षा प्रणालीका लागि आवश्यक भएकाले भिटामिन डीको अल्पताले इम्युन सिस्टम कमजोर बन्यो। रोग संक्रमणको सम्भाव्यता बढ्यो। भिन्न भौगोलिक इलाका र पृथक् समूहमा गरिएका दर्जनौँ अध्ययनले सूर्यको प्रकाशले भित्र्याउने खराबीको दाँजोमा सद्गुण अत्यधिक भएकाले घामसँग डराउनुको बदला शरीरमा प्रकास सिँचनमा जोड दिनुपर्ने देखियो।

कुनै पनि रासायनिक पदार्थ कति खराबभन्दा पनि उक्त केमिकल हाम्रो शरीरमा कुन मात्रामा भित्रन्छ अनि उक्त परिणामलाई कसरी कम गर्ने भन्ने विषयले सर्वाधिक महŒव राख्छ। बजारमा पाइने तरकारीमा विषादी नहोला भन्ने हँुदैन अनि सरकारले अनुगमन नगरेको वर्तमान अवस्थामा व्यक्ति स्वयंले ध्यान दिन आवश्यक देखियो। खेतीमा प्रयोग हुने झन्डै सबैजसो रासायनिक पदार्थ तथा विषादीहरू पानीमा घुलनशील हुन्छन्। तसर्थ, किनेर ल्याएका फलफूललाई केही समय पानीमा डुबाएर राख्ने हो भने तरकारीमा रहेका अधिकांश रासायनिक पदार्थ सजिलै हटाउन सकिन्छ। एक दुई पटक पानीको प्रशोधनपछि फलफूलमा रहेको रासायनिक तत्त्व पूर्णरूपले शून्यमा झार्न नसकिए पनि केमिकलको मात्रा शरीरले पचाउन सक्ने तहमा पुग्ने भएकाले धेरै चिन्ता गर्न आवश्यक देखिएन। साथै अधिकांश रासायनिक पदार्थहरू उच्च तापक्रमले विखण्डन गर्ने भएकाले पकाएर खानमिल्ने सागसब्जीबारे पनि धेरै सोच्न आवश्यक रहेन।

पानीको सामान्य उपचारपछि तरकारीलाई केमिकलरहित बनाउन सकिने भए पनि स्वास्थ्यका कारण कसैलाई अर्गानिक नै खानुपर्ने बाध्यता छ भने सबै खाना अर्गानिक किन्न आवश्यक रहेन। भुइँकटहर, मेवा, मकै जस्ता खाद्यपदार्थ बोक्रा फालेपछि विषादीरहित बन्ने भएकाले त्यस्ता तरकारी जैविक खरिद गर्न आवश्यक छैन। अनि सम्बन्धित क्षेत्रका विज्ञहरूको रायलाई आत्मसात गर्ने हो भने अर्गानिक खान्कीबारे धेरै माथापच्ची गर्नुपरेन। बरु आफ्नो बजेटले भ्याएसम्म तरकारी तथा फलफूललाई खानाको हिस्सा बनाए पुग्नेदेखियो। जैविक खानाले होइन, बरु तरकारी तथा फलफूलले रोगबाट जोगाउने अनुसन्धानहरूले पुष्टि गरेकाले उक्त यथार्थ आफू बुझौँ, अनि सबैलाई बताऔँ।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: ४ भाद्र २०८१ ११:१५ मंगलबार

#अर्गानिक खाना #Cancer #organic food #sicence