विचार

बाढी/पहिरोले भत्किएको मन

हरेक वर्ष नेपालमा बाढी/पहिरोले ठूलो जनधनको क्षति गर्छ। जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ। यस किसिमको जबर्जस्त भय, डर, त्रास र आतंकले यस्ता विपत्तिमा परी बल्लबल्ल बचेका, घाइते तथा अंगभंग भएका मानिसमा मात्र होइन, सकुशल जोगिएकाहरूमा समेत अनेक मानसिक समस्या देखिन सक्छ। बाढी/पहिरो, भूकम्प तथा युद्ध आदिको चपेटामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट् ट्रमाटिक स्ट्रेस स डिसअर्डर (पिटिएसडी) हो।

साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्नेभन्दा बढी मानसिक आघात (ट्रमा) का कारण व्यक्तिमा एक्कासि कहालीलाग्दो स्मृति, निरन्तर भय, छटपटि, आतंक तथा तनाव देखा पर्छ भने त्यसलाई पिटिएसडी भनिन्छ। सजिलोका लागि ट्रमाटिक स्ट्रेस डिसअर्डरलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ। ती हुन्– एक्युट स्टे«स डिसअर्डर। पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)।

एक्कासि र बारम्बार आघातपूर्ण घटनाका दृश्यहरू मानसपटलमा आउने (फ्ल्यासब्याक), अनि उत्तेजना र छटपटी एकदम बढ्ने (हाइपरअराउजल) र मुटुको धड्कन तथा श्वासप्रश्वासको गति बढ्ने, शरीर काप्ने तथा घबराहट बढ्ने तथा त्यो स्मृतिलाई हटाउन खोज्ने तर हटाउन पूर्ण रूपमा सफल नहुने जस्ता लक्षण घटना भएको तुरुन्त वा एक महिनाभित्र देखाप¥यो भने त्यसलाई एक्युट स्ट्रेस डिसअर्डर भनिन्छ भने तीन महिनापछि यस्ता लक्षण देखिए भने त्यसलाई पिटिएसडी भनिन्छ। एक्युट स्टे«स डिसअर्डरको समय अवधि एक महिनाको हुन्छ। एक महिनापछि पनि यस्ता लक्षण देखिएमा त्यसलाई पिटिएसडी मानिन्छ।  

पिटिएसडीमा उपर्युक्त लक्षणहरूका साथै एक्लै बस्ने, सामाजिक कार्यमा अभिरुचि नदेखाउने, चिन्ता बढ्ने, निद्रा नलाग्ने, घटनासँग सम्बन्धित डरलाग्दो सपना देख्ने, ध्यान एकाग्र नहुने, चिडचिडापना तथा क्रोध बढ्ने आदि लक्षण पनि देखा पर्न सक्छन्।

दैनिक जीवनमा देखा पर्ने घटनासँग सम्बन्धित कुराहरूले स्थितिलाई झन् जटिल बनाउन सक्छन्। जस्तो कि बाढीबाट संयोगवश बाँचेका व्यक्तिमा बाढी/पहिरो शब्दको नाम मात्रले पनि तीव्र भय र आतंकको संवेग देखा पर्न सक्छ र ऊ एक्कासि उत्तेजित भएको देखिन्छ।

मानिसले थेग्नेभन्दा बढी मानसिक आघात (ट्रमा) का कारण नै पिटिएसडी पैदा हुन सक्छ। युद्ध, यातना, भयंकर प्राकृतिक आपत्विपत्, महाविनाशकारी भूकम्प, सुनामी, भयानक तुफान, बाढी/पहिरो, बलात्कार, बिभत्स दुर्घटना, टाउकाको चोट तथा अन्य हिंसात्मक आक्रमण आदिमा परेका, अंगभंग भएका तथा यस्ता घटना देखेका मानिस यसबाट पीडित हुन सक्छन्। त्यसैले अहिले नेपालमा आएको विनाशकारी बाढी/पहिरोको चपेटामा परेका, त्यसलाई नजिकबाट देखका व्यक्तिमा पनि पिटिएसडीलगायतका मानसिक समस्या देखिनु स्वाभाविकै हो।

पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ। यो रोगबाट सानासाना बालबालिकासमेत पीडित हुन सक्छन्। एक अध्ययनअनुसार विश्वका आठ प्रतिशत मानिस यस मानसिक समस्याबाट पीडित छन्। तर द्वन्द्व प्रभावित ठाउँहरूमा पीडितको संख्या निकै धेरै छ।

नेपालमा बाढी/पहिरोका कारण ठूलो जनधनको क्षति हुन्छ। मानिस बेघरवार हुन्छन्, आफन्त गुमाउँछन्। पशुचौपाया तथा खेतबारी नै बाढी/पहिरोले बगाएर लग्छ। बाढीपीडितहरू बस्ने ठाउँ हुन्न। खाने कुरा हुन्न। बाढी/पहिरोपीडितको पीडामाथि पीडा थपिन्छ, दुःखमाथि दुःख थपिन्छ। यस किसिमको आपत्विपत्ले थुप्रै बाढीपीडितको मन भत्किन्छ। उद्धारमा सरकारको ढिलासुस्तीले गर्दा मनको चोट झन गहिरो हुँदै जान्छ। त्यसैले बाढीपीडितहरूमा डिप्रेसन (उदासीनता) तथा मनोत्रास जस्ता मानसिक समस्या पनि देखिने गर्छ।

डिप्रेसनको मूल लक्षण भनेको उदासी तथा खिन्नता हो। डिप्रेसनबाट पीडित व्यक्तिको मन सधैं उदासी र निराशाले घेरिएको हुन्छ। कुनै पनि आन्नददायक घटनाले उसलाई खुसी पार्दैन। डिप्रेसनको मनस्थिति आम रूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ। हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन् तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ तर डिप्रेसनमा चाहिँ यस्तो हँुदैन। कडाखालको डिप्रेसनमा परेका व्यक्ति कहिल्यै खुसी देखिँदैनन्।

अतः उदासीसँगै अरूचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षण तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, कब्ज रहनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हुँदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणमध्ये तीन–चार लक्षण देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ। यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीर स्थिति दर्शाउँछ।

प्रायः बाढी/पहिरोमा परि घाइते भएकाहरूको उपचारमा केवल शारीरिक चोटपटकलाई ध्यान दिइन्छ। तर बाढीपीडितहरूको मनमा परेको चोटलाई ध्यान दिइएको देखिँदैन। यसप्रति नेपाल सरकार तथा उपचारमा संलग्न चिकित्सकहरूको ध्यानाकर्षण हुन जरुरी छ। समयमै मनको चोटमा मलम लगाउने कार्य भएन भने थुप्रै नागरिक पिटिएसडी, डिप्रेसन तथा मनोत्रास जस्ता मानसिक समस्याको शिकार बन्न सक्छन्।  

प्रकाशित: ३० असार २०८१ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App