विचार

एसइई सुधारका सुझाव

परीक्षा भन्नासाथ पास र फेल हुनु स्वाभाविक हो। तर कति भन्ने ठूलो प्रश्न उठ्नुपर्छ। २१औँ शताब्दीको शिक्षा ‘चार सी’ अर्थात् क्रिटिकल थिंकिङ, कम्युनिकेसन, कोलाब्रेसन र क्रिएटिभिटीका आधारमा हुनपर्छ भन्ने नारा घन्किरहेको बेला एसइई परीक्षाको परीक्षाफल ओरालो लागेको छ जुन नागरिक, परिवार, समाज र राष्ट्र सबैका लागि घाटा हो। यसमा हामी सबै नेपालीले चिन्तनमनन गर्नु सकारात्मक सुधारको पहिलो कदम हो।

म एउटी अभिभावक, शिक्षक, व्यवस्थापकका साथै नागरिकका नाताले  यस वर्षको एसइईमा ५२.१३ प्रतिशत असफल हुनुका कारण २१ बुँदामा प्रष्ट पार्न चाहन्छुः

१. एसइईप्रति अभिभावक, समाज तथा विद्यार्थीमा मनोसामाजिक डर/आतङ्कको वातावरण हुनु।

२. स्कुलिङ/फाउन्डेसनदेखि नै अवधारणामूलक शिक्षण सिकाइको अभ्यासमा कमी हुनु।

३. शिक्षा प्रणाली समय सापेक्षिक बहुपक्षीय नहुनु।

४. पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइ क्रियाकलापमा एकीकृत सन्तुलित गर्न नसक्नु।

५. विद्यालय वातावरण, प्रदेश, संघीय र केन्द्र तहमा क्षमतामैत्री, बालमैत्री नहुनु। बालमैत्री सूचक कागजमा मात्र उल्लेख हुनु।

६. फितलो तथा मनोमानी एकपक्षीय विद्यालय व्यवस्थापन हुनु। प्रदेश, संघीय केन्द्रबीच अन्तरनिहित सम्बन्ध नहुनु।

७. शिक्षाको राष्ट्रिय उद्देश्य, शिक्षाको परिभाषा स्पष्ट नहुनु र विद्यार्थी र अभिभावकहरूलाई स्पष्ट पार्न नसक्नु।

८. विषयगत, पेसागतका साथै उद्देश्यमूलक सेवामुखी शिक्षकको अभाव हुनु।

९. विद्यालयमा निरन्तर सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गरी निगरानी नहुनु।

१०. अभैm पनि शिक्षण विधि घोकन्तीका साथै गेस पेपरमा निर्भर गराउनु।

११. ‘चार सी’को आधारमा सिकाइ वातावरण नहुनु।

१२. धेरैजसो सामुदायिक विद्यालयप्रति  अभिभावकको आस्था घट्नु र समुदायले पनि उत्तरदायित्वपूर्ण अपनत्वको बोझ नलिनु।

१३. अभिभावकहरूले अभिभावकीय दायित्य पूरा नगर्नु। परिवार विखण्डन र अभिभावक बिदेसिने क्रम बढ्नु।  

१४.विद्यालयमा राजनीतिक प्रदूषण बढ्नु। व्यावसायिक नैतिकता हराउँदै जानु। देशमा राजनीतिक अस्थिरता, हावाहुरी जस्तो नीति नियम परिवर्तन हुनु।

१५. टेस्ट परीक्षा खारेज गर्नु, निरन्तर मूल्याङ्कन प्रणाली अपनाउन नसक्नु।

१६. विभिन्न क्षमता र फरक बुद्धि भएका विद्यार्थीका लागि समान प्रश्नपत्र हुनु। प्रश्नपत्र गतिशील नभई आइक्युलाई मात्र प्राथमिकता दिनु।

१७. सन्तान हुर्काउने प्रक्रिया, प्रवृत्ति र प्रचलन बिल्कुल फरक हुनु। सभ्यता, संस्कार र सुरक्षा मलजल तीन आर शिक्षालाई मात्र प्राथमिकता दिनु।  

१८. शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर बुझाउन, सिकाउन नसक्नु। २१औँ शताब्दीमा पनि ‘चक र टक’ विधिलाई नै बढी मान्यता दिनु।

१९. शिक्षा/शिक्षण परीक्षा-शैक्षणिक विश्लेषकहरूको  पर्याप्त भूमिका र समीक्षामा जिम्मेवारीको कमी हुनु।

२०. घर, विद्यालय र कक्षा कोठाबीच शैक्षिक वातावरण, शिक्षण सिकाइमा समायोजन नहुनु।

२१. आइसिटी आधारित शिक्षालाई विद्यार्थीले गलत प्रयोजन गर्नु।

आदरणीय अभिभावक, जनसमुदाय, विद्यार्थी, पत्रकार, स्थानीय निकाय, सरोकारवालाका साथ सरकार सबैसँग अनुरोध:

–  एसइईलाई फलामे ढोका भनेर विद्यार्थीको मनोसामाजिक बल घटाउने र डर देखाउने वातावरणका साथ शब्दावली पनि परिवर्तनको खाँचो छ।

–  शिक्षा सभ्यता, संस्कार, सिप विकासका लागि हो, आत्महत्याको लागि होइन। त्यसकारण हत्यामुक्त शिक्षाका लागि उचित परामर्शको वातावरण आधारभूत तहदेखि नै सिर्जना गर्नुपर्छ।

–  शिक्षाको सिद्धान्त, पाठ्यक्रम, अभिभावकको चाहना, दायित्व, विद्यार्थीको क्षमता, विद्यालयको वातावरण र व्यवस्थापनमा समायोजन हुनुपर्छ।

–  शिक्षा पोलियोविरुद्धको खोपको थोपा जस्तै सबैलाई एउटै नभई बालकको रुचि, खुबी र क्षमताका आधारमा हुनुपर्छ।

– अभिभावक, शिक्षक, शिक्षिकाहरूले विद्यार्थीलाई मेसिन बनाई रोबोट बनाउने र एसइई शिक्षाले गोबर गणेश बनाउने होइन, पूर्ण मानव बनाउन अर्थपूर्ण, मानवीय, व्यावहारिक सिपमूलक शान्ति शिक्षा लागु गर्नुपर्छ।

–  शिक्षामा पुनः संरचना हुन आवश्यक छ। अब देशमा राजनीतिक क्रान्ति होइन, शैक्षिक क्रान्तिको खाँचो छ। समय सापेक्षिक शिक्षा प्रणालीमा परिवर्तन हुनु जरुरी छ। शिक्षाभित्र राजनीतीकरण होइन, रणनीति बदल्नुपर्छ।

–  शिक्षा सिद्धान्त र शिक्षाविद्हरूको समूहद्वारा सञ्चालन हुनपर्छ नकि राजनीतिक र कोटा प्रक्रियाबाट होइन।

– अधिकारमा आधारित बालमैत्री शिक्षा व्यवहारमा लागु गर्न नितान्त आवश्यक छ। ‘विद्यालय शान्ति क्षेत्र’ कागजी दस्ताबेजमा मात्र नभई व्यवहारमा लागु हुनुपर्छ।

–  अभिभावक सचेतीकरण तथा अभिमुखीकरण कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।

–  शिक्षा प्रणाली अर्थपूर्ण बनाउन ‘सात स’ कम्पोनेन्ट लागु गर्नुपर्छ।

एसइई परीक्षामा सफल भएका सम्पूर्ण ४७.८६ प्रतिशत विद्यार्थी, अभिभावक विद्यालय सबै सरोकारवाला निकायहरूलाई हार्दिक बधाई अनि ५२.१३ प्रतिशतलाई  संयम र धैर्यका साथ अन्तिम खुड्किला पार गर्न सकून् भन्ने कामना गर्न चाहन्छु।

प्रकाशित: २५ असार २०८१ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App