विचार

होचो कदको ‘अग्लो लाभ’

कोही अग्ला कदका अनि कोही किन होचा हुन्छन् भन्ने प्रश्नको उत्तर खोज्न आनुवंशिक अध्ययनको सहारा लिनुपर्छ। त्यसो त खानाले व्यक्तिको उचाइलाई निर्देशित नगर्ने होइन। तर अध्ययनले सन्तुलित आहारभन्दा आनुवंशिक पदार्थले अधिक भूमिका खेलेको देख्छ। अग्ला बाबुआमाका सन्तति प्रायःजसो अग्लो नै हुन्छन्। त्यस्तै माता पिता दुवै होचा छन् भने सन्तान पनि पुड्का देखिन्छन्।

बाबुआमाको बनोट किन सन्तानमा सर्छ त भन्ने प्रश्नको सरलीकृत जवाफ अस्ट्रियन वैज्ञानिक ग्रेगर जोन मेन्डलले झण्डै एक सय ५० वर्षअघि संसारसामु ल्याए। जीवनभर झण्डै ३० हजार केराउका बिरुवाको बनोट र चरित्र अध्ययन गरी आनुवंशिक पदार्थको पुस्तान्तरण सिद्धान्त प्रतिपादन गरे मेन्डलले। त्यसै कारण उनलाई फादर अफ जेनेटिक्स अथवा आनुवंशिकताका पिता भनिन्छ।

आनुवंशिक अध्ययनले पछिल्लो समय ठूलो फड्को मार्‍यो। मानिसका चरित्रलाई निर्देशित गर्ने धेरै जिन (डिएनए) मात्र पत्ता लागेनन् बरु आनुवंशिक पदार्थलाई परिमार्जन गरी कसरी अझ बढी स्वस्थ, लामो आयु भएका मानिस बनाउन सकिन्छ भन्ने अवस्थामा पुगिसक्यो आयुर्विज्ञान। बच्चाको जिन परीक्षण गर्दा कुनै खराबी देखिए आनुवंशिक सुधारमार्पmत पृथक् चरित्रको मानिस बनाउन सक्ने हैसियतमा पुग्यो मेडिकल साइन्स।

वयस्कावस्थामा साढे चार फिटभन्दा कम उचाइ भएका समूहलाई वामन (डर्फ) भन्ने चलन छ। आनुवंशिक खराबी अथवा कुनै रोगका कारण व्यक्ति पुड्को हुन्छ । आफ्ना उचाइका कारण बच्चाहरू कक्षाकोठादेखि समाजका विविध पाटोमा विभेद अनुभव गर्छन्। त्यस्तै छोराछोरीका कदकै कारण तनावमा हुने अभिभावकको कथा कम दयनीय छैन। आखिरमा बच्चाहरू किन पुड्का हुन्छन् त ? के विज्ञानसँग पुड्कालाई सामान्य हाइट भएको मानिस बनाउन सकिन्छ ? अनि विकासवादी सिद्धान्त हेर्ने हो भने होचोपन प्रकृतिको अनुपम उपहार हो अथवा अभिषाप हो त ? वामन स्वरूपको कारक अनि त्यसको विविध आयामलाई केन्द्रमा राखी भएका अनुसन्धानको निष्कर्ष पस्कनु यो आलेखको लक्ष्य हो।

सानो बच्चालाई वयस्क आकार दिन मस्तिष्कमा उत्पादन हुने ह्युमनग्रोथ हर्मोनले भूमिका खेल्छ। उत्पादित हर्मोन ग्रोथ हर्मोन रिसेप्टरमा टाँसिएपछि नवीन रासायनिक पदार्थ इन्सुलिनलाइकग्रोथ फ्याक्टर वान (आइजिएफ १) उत्पादन हुन्छ।

आइजिएफ १ ले कोस (सेल) को विभाजनलाई रफ्तारी दिन्छ। यसले कोष अभिवृद्धि गरेपछि हड्डी र मांसपेशी बढ्छन्, शरीरको आकार ठूलो हुन्छ। बच्चा पट्ठो जवान बन्छ। शारीरिक वृद्धिका लागि ग्रोथ हर्मोन, रिसेप्टर र आइजिएफको मात्रा र चरित्र दुवै दुरुस्त हुन जरुरत छ। कुनै पनि एक पक्षमा कैफियत देखिए उचाइलाई असर पार्छ नै।

मस्तिष्कमा उत्पादन हुने ग्रोथ हर्मोनले के व्यक्तिको उचाइ निरन्तर बढाइरहन्छ त भन्ने प्रश्न उठ्छ नै। बच्चामा ग्रोथ हर्मोनको मात्रा अत्यधिक हुने भएकाले सानोमा मानिसको उचाइ निरन्तर बढ्छ। उमेर पुगेपछि यसको उत्पादन घट्छ। परिणामस्वरूप बच्चामा तन्कँदै गएका शरीरका हड्डीहरू बढोत्तरीको उत्तरार्धमा पुग्छन्, मानिसको उचाइ स्थिर हुन्छ। यसरी व्यक्तिले अधिकतम उचाइ हासिल गरेपछि हर्मोनको उत्पादन मात्र घट्दैन बरु यसको दायित्व फेरिन्छ। बाल्यावस्थामा उचाइ बढाउने मुख्य दायित्व भएको यो हर्मोन वयस्ककालमा शरीरको आकृति स्थिर राख्न अनि खाएको भोजनबाट ऊर्जा उत्पादन गरी शरीरलाई चलायमान राख्न सहयोग गर्छ।

आनुवंशिक खराबीलगायतका कुनै पनि बायोलोजिकल कारणले ग्रोथ हर्मोनको उत्पादन न्यून भएको खण्डमा बच्चाले उचाइमा सम्झौता गर्न पुग्छ। व्यक्तिको कद छोटो हुन्छ। ग्रोथ हर्मोनले उचाइका अतिरिक्त शारीरिक मेटाबोलिज्मलाई असर पार्ने भएकाले व्यक्ति बामपुड्के मात्र हुँदैन बरु शरीरको ऊर्जा उत्पादनमा समेत असर पर्छ। ग्रोथ हर्मोनको मात्रा कम उत्पादन भएका कारण बढ्न नसकेका बच्चालाई ल्याबनिर्मित हर्मोन दिएर अग्लो बनाउने उपचार विधि प्रयोगमा आएको लामो समय भयो। मेटाबोलिज्ममा समेत भूमिका खेल्ने भएकाले स्वास्थ्यवस्थाका कारण सहजै उत्पादन हुन नसकेका रोगीलाई पाका अवस्थामा समेत यो हर्मोन दिने अभ्यास छ। अब ग्रोथ हर्मोनको बहुआयामिक आयतन हेरौँ।

यसै हप्ता अमेरिकाको युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (युएससी) अनुसन्धान समूहले वामन कद भएका समूहको बायोलोजिकल अवस्थालाई समेटेर जर्नल मेडमा रिसर्च आर्टिकल प्रकाशित गरे। होचा मानिसहरू संसारभर छरिएर रहे पनि इक्वेडरको एन्डिज पहाडमा वामन समूहको एउटा ठूलो झुन्ड छ। उनीहरू किन पुड्का भए भनी कारण खोज्दा आइजिएफ १ अल्पता कारक देखियो। यो आनुवंशिक शिथिलतालाई आयुर्विज्ञानको भाषामा लारान सिन्ड्रोम भनिन्छ।

यसरी सानो भूगोलमा ठूलो वामन समूह पाइँदा अन्वेषणकर्ताको आकर्षण दक्षिण अमेरिका हुनु अस्वाभाविक भएन। लारान लक्षणका कारण होचा भएका समूहलाई अनुसन्धानकर्ताहरूले तीन दशकदेखि नियालिरहेका छन्। खान्की ढाँचा, परिश्रम शैली अनि आवधिक स्वास्थ्य परीक्षणमार्फत् उनीहरूको मुटु, फोक्सोलगायतका भाइटल अर्गेन्सहरूको अवस्था परीक्षण गर्दा केही उपयोगी नतिजा आए।

सवारी साधन थोत्रो भएझैँ पाको अवस्थामा आनुवंशिक पदार्थमा खराबी आउनु स्वाभाविक हो। अनि कैफियतपूर्ण जिनले क्यान्सर निम्त्याउने भएकाले वृद्धावस्थामा मृत्युको मुख्य कारण अर्बुद रोग बन्छ। तर उक्त इक्वेडोरियन समूहमा क्यान्सरका कारण मर्नेको संख्या नगन्य देखियो। के वामन समूहमा क्यान्सरको सम्भावना कम हुन्छ त ?

अनियन्त्रित कोष वृद्धि नै क्यान्सर हो। कोष विभाजनमा आइजिएफ १ को भूमिका हुन्छ। तर एन्डिजका लारान समूहमा आइजिएफ १ को उत्पादन नै हुँदैन। यसरी क्यान्सरको कारक सावित भएको इन्जाइम नै शरीरमा नबनेपछि क्यान्सर हुने सम्भाव्यता रहेन। पुड्कोपन र क्यान्सरबीच विपरीत धारको सम्बन्ध देखियो।

नेपाली जस्तै इक्वेडरको मुख्य खान्की हो भात। धेरै खानाले मोटाएका उनीहरूमा परिश्रम गर्ने आदत पनि देखिएन। मोटोपन परीक्षण गर्ने विधि बिएमआइ निकै उच्च छ उनीहरूको। अत्यधिक भात खाने, परिश्रम नगर्ने अनि मोटा मानिसलाई मधुमेह, मुटु रोग, उच्च कोलेस्ट्रोललगायतका शारीरिक समस्या हुनु अस्वाभाविक होइन। तर स्वास्थ्य परीक्षणका क्रममा होचा तर मोटो कद भएका समूहमा सोचेभन्दा फरक नतिजा देखियो। उनीहरूको रक्त परीक्षण नतिजा सामान्य देखियो भने चिनी रोग तथा कार्डियो भास्कुलर समस्याको कुनै लक्षण नै देखिएन। स्वस्थ शरीर भएकाले मुख्य तन्तु खराब भइ मृत्यु हुनेभन्दा दुर्घटनाबाट ज्यान गुमाउने संख्या अधिक देखियो उक्त समूहमा।

के सानो आकृतिकै कारण लारान सिन्ड्रोम भएका मानिस बढी स्वस्थ भएका हुन त भन्ने परीक्षण गर्न युएससीका प्राध्यापक भाल्टर लोंगोले ल्याबएनिमल मुसामा परीक्षण गरे। अनुसन्धानका क्रममा मुसाको जिनलाई परिवर्तन गरी आइजिएफको उत्पादन नहुने अवस्था सिर्जना गरियो। यसरी कद बढाउने हर्मोन न्यून भएपछि उत्पादिन मुसा साना भए। ल्याबमा बनाइएका बन्ठा मुसाहरू अर्को समूहभन्दा ४० प्रतिशत बढी बाँचेको पाइयो। माइस मोडल लेइक्बेडोरका पुड्का बासिन्दा धेरै किसिमका रोगबाट मुक्त हुनुमा जिनको भूमिका रहेको पुष्टि भयो।

उल्लिखित अध्ययनले वामन समूह सामान्य मानिसभन्दा बढी स्वस्थ हुन्छन् भन्ने देखायो। साना आकृतिका मानिस र ल्याब निर्मित मुसामा गरिएको अध्ययनले पछिल्ला दिनमा ग्रोथ फ्याक्टरमा चलखेल गरी लामो समय स्वस्थ जीवन व्यतित गर्न सकिने उपचार विधि भित्रने सम्भाव्यता देखियो। तसर्थ, आफू तथा सन्तान पुड्को भएकामा ग्लानि मान्नुको बदला प्रकृतिको वरदान ठान्नुपर्ने हुन्छ। आखिर ठूलो आकृतिभन्दा स्वस्थ जीवन नै महत्त्वपूर्ण हो नि।  

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्। 

प्रकाशित: १८ वैशाख २०८१ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App