विचार

सवाल महिलामाथि लगानीको

छोरा पाए खसी, छोरी पाए फर्सी यो नेपाली समाजमा व्याप्त उखान मात्र होइन, वास्तविकता पनि हो। अझ पछिल्लो समय नेपाली समाजमा देखिएको ‘छोरी भए भु्रणमा सिध्याइदिने’ खतरनाक आपराधिक प्रवृत्ति हामी छोरीप्रति कति निर्दयी छौँ भन्ने मनोविज्ञान दर्शाउन काफी छ। आज हामी यही सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने चटारोमा छौँ। अर्थात प्रतिकूल अवस्थालाई अनुकूल बनाउने प्रण गर्ने दिनका रूपमा कठोर हृदयसाथ डटिरहेका छौँ।

हानिकारक प्रथा, चाहे ती सांस्कृतिक हुन् या सनातनी, चाहे ती धर्मसँग जोडिएका हुन् वा वर्ण र लिंग, महिलालाई सताउन छाडेका छैनन्। दाइजो, बालविवाह जस्ता भूतले धेरै भयो महिलालाई सताउन थालेका तर पनि यसमा उल्लेख्य सुधार हुन सकेको छैन।

महिला भएका कारण भोग्नुपर्ने विभेदका भारीले थिचिएका तिनै महिलामाथि हिंसा प्रहार भइरहेका छन् लगातार। उनीहरू एकातिर चुलोचौकोमै सीमित छन् भने अर्कोतिर पारिश्रमिकबिनाको सेवामूलक कार्यको मूल्यांकन नगरिँदा थप अन्यायमा पर्न बाध्य छन्।

एकातिर यस्तो अवस्थाबाट महिलालाई उतार्नु आवश्यक छ भने अर्कोतर्फ उतारिसकेपछि पनि चूप लागेर बस्ने सुविधा हामीलाई छैन। उनीहरूलाई समताको अवस्थामा ल्याउने र त्यसपछि समानताको यात्रामा डोर्‍याएपछि मात्र बल्ल ढुक्क हुनुपर्ने अवस्था छ।

प्राचीनकालदेखि नै हेपिएका, शोषित बनाइएका कारण महिलालाई राज्यले, समाजले तिर्नुपर्ने ऋणको आकार निकै ठूलो छ। त्यसैले यो न एकाध महिनामा तिर्न सम्भव छ न त एकाध वर्ग, समुदाय वा तप्काले मात्र तिरेर पुग्छ।

भनाइको मतलव झारा तिर्ने नीति र खुद्रे कार्यक्रम तथा घोषणाहरूले मात्र महिलामाथि थोपरिएको विभेदको घाउ निको हुने सम्भावना छैन।

हामी पनि विश्व समुदायसँगै सधैँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौँ। यो दिवसको हरेक वर्ष विश्वव्यापी नारा पनि तय हुने गर्छ तर विडम्बना त्यस्ता नारा दिवसकै दिनवरपर भट्याइन्छ अनि त्यत्तिकै विलुप्त हुन्छ।

पछिल्ला वर्षहरूमा यस्तै दिवस मनाइँदा अघिल्ला वर्षका नारा लागु भए वा भएनन् भन्नेबारे कुनै मूल्यांकन हुँदैन। त्यसैले अहिलेसम्म जति नारा बनाइएका छन् नारी दिवसका, ती सबै नाराकै लागि मात्र बनाइएका सावित भएका छन्।

यो वर्षको अर्थात ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ तय भएको छ। जुन सुन्दा र पढ्दा निकै आकर्षक पनि छ। आकर्षक यस अर्थमा कि वर्तमान युगमा कुनै पनि क्षेत्रबाट राम्रो प्रतिफल हासिल गर्नका लागि त्यसमा लगानी गर्नैपर्छ।

अझ महिला त कुनै पनि घरपरिवारको मात्र नभई सिंगो राष्ट्रकै लागि सुन्दर उपहार हुन्। सृष्टि मात्र हैन, दया र ममताकी समेत खानी हुन्। सबैलाई खुवाएर बाँकी रहे मात्र आफ्नो मुख जुठो तुल्याउन सक्ने महान् छातीधारी हुन्। रहर, शहर, थर र घरसमेत परिवर्तन गरेर पनि रमाउन सक्ने खुबीयुुक्त प्राणी हुन्। अनि हरेक प्रतिकूलतासँग जुध्धै त्यसलाई अनुकूलतामा परिणत गर्न सक्ने क्षमताकी साहसी हुन्। यस्तो क्षमता भएकी महिलालाई अझै खार्न, अझै तिखार्न र विसंगति निखार्न उनीमाथि लगानी गर्नैपर्छ। तब मात्र समाज हामीले खोजेजस्तो सभ्य बन्न सक्छ।

समाजरूपी रथका दुईमध्ये एक पांग्रो मात्र तगडा भएर रथ अघि बढ्न सक्दैन। यस्तो एकपाखे रथ अघि बढाउन खोजियो भने त्यसले दिने परिणाम भनेको मात्र दुर्घटना हो। त्यसैले दुवै पांग्रा सद्धे हुनैपर्छ बाहन गन्तव्यमा पुग्न। यसका लागि जानी जानी पङ्चर पारिएको अर्थात जानिबुझीकन कमजोर तुल्याइएको महिलाको अवस्थामा सुधार ल्याउनैपर्छ। जसका लागि परिवार, समाज र राज्यले आवश्यक लगानी गर्नैपर्छ। किनकि यसो गर्नु लोकतान्त्रिक राज्यको कर्तव्य नै हो भने न्यायिक हिसाबले पनि अत्यावश्यक उत्तरदायित्व हो।

नेपाली महिला आर्थिक मात्र हैन, सामाजिक र राजनीतिकरूपले पनि पछाडि पारिएका छन्। निर्णय प्रक्रियामा उनीहरूको सहभागिता करिब करिब शून्य छ।

 जग्गा, घरलगायत सम्पत्तिको स्वामित्व दयनीय छ। राज्यका सार्वजनिक निकायहरूमा उपस्थिति सार्थक छैन र सीमित सहभागिता पनि कमजोर छ। अझै पनि कतिपय नेपाली महिला घुम्टोको पर्दाभित्रै रुमिलिन बाध्य छन्। कतिपयको परिचय भान्सेभन्दा माथि उठ्न सकेको छैन।

अधिकार र परिवर्तनका कुरा गर्नेलाई ‘पोथी बासेको’ वात लाग्ने गरेको छ। यस्तो अवस्था हैन, दुरावस्थाको आहालबाट उनीहरूलाई बाहिर निकाल्न प्रशिक्षण जरुरी छ। शिक्षा आवश्यक छ। आत्मनिर्भरताका योजनाहरू चाहिएको छ। जसका लागि मन फुकाएर गर्नुपर्ने लगानी चाहिएको छ।

ज्ञान बाँड्ने शिक्षण पेसामा किन महिला कम छन्? मानवको जीवन बचाउने चिकित्सा पेसामा किन उनीहरूको उपस्थिति कम छ? नीति निर्माण गर्ने राजनीतिक तहमा किन महिला पुग्न सक्दैनन्? रोग र भोक पालेरै बस्नुपर्ने अवस्थामा किन महिला पुर्‍याइएका छन्? सामान्य गुजारा टार्नका लागि पनि श्रीमान् र परिवारका पुरुष सदस्यसँग भिख माग्नुपर्ने अवस्थामा किन छन् उनीहरू?

यी सबै प्रश्नको उत्तर एउटै हुन्छ–उनीहरू अक्षम बनाइएका छन्। उनीहरूलाई शिक्षा हासिल गर्नबाट रोकिएको छ। उनीलाई अर्थोपार्जनका गतिविधिबाट अलग राखिएको छ।

उनीहरूलाई सहभागी हुनबाट रोक्नकै लागि चुनावलाई खर्चिलो बनाइएको छ। अनि प्रसूति, प्रजनन, पाठेघर जस्ता महिलासँग बढी सम्बन्ध राख्ने रोगहरूका उपचार महँगो तुल्याइएको छ। यस्ता पक्षमा लगानी नै गरिएको छैन त, उनीहरू कसरी पुग्न सक्छन् त्यहाँ?

हो, यिनै चक्रब्यूहहरूबाट बाहिर निकाल्नका लागि महिलामाथि लगानी गरिनु आवश्यक छ। उनीहरूमाथि भइरहेको पक्षपाती व्यवहारप्रति पश्चाताप गर्दै माफी माग्नका लागि पनि लगानी जरुरी छ। ताकि उनीहरू हरकुरामा सक्षम होउन्। तब मात्र परिवार, समाज र सिंगो राष्ट्र हुँदै पूरै विश्व लैंगिक हिसाबले सन्तुलित हुन सक्छ। अनि यस्तो सन्तुलित विश्वले मात्र हामीले परिकल्पना गरेको सभ्य समाज दिन सक्छ।

विश्वको आधाभन्दा बढी संख्याका महिलालाई पछाडि छाडेर न समुन्नत समाज निर्माण हुन्छ न त शान्त र सभ्य नै। किनकि हामी कुनै कुरा चाहन्छौँ भने त्यहीअनुसार व्यवहार पनि गरिनुपर्छ।

खासमा परिणाम नारा र व्यवहारको संयोजनबाट प्राप्त हुन्छ। यस अर्थमा हेर्दा अहिलेको अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई सफलीभूत बनाउने हो भने नेपाली महिलाका वर्षौँदेखिका धेरै घाउ स्वतः निको भएर जानेमा शंका छैन।

घरमै बसेर कुनै पनि गन्तव्य चुम्न सकिन्न। यसको अर्थ यो पनि होइन कि पाइला चाल्दासाथ गन्तव्य पुगिहालिन्छ।

भनाइको मतलव महिलालाई पुरुषसरह तुल्याउन अर्थात सशक्त पार्नका लागि उनीहरूका आवश्यकतामा आधारित भएर आजैदेखि उचित र पर्याप्त लगानी गर्न थालिनुपर्छ। देखिने/गनिने परिणामका लागि केही समय कुनुपर्ने हुन सक्छ तर सुरुवातचाहिँ आजैबाट गरिहाल्नुपर्छ। पुगिने सम्भावना सुरु गरेपछि हुने न हो, सुरु नै नगरेपछि त सम्भावनै पो कहाँ बाँकी रहन्छ र?

सबैलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना!

प्रकाशित: २५ फाल्गुन २०८० ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App