विचार

नेताले स्यावासी पाउने उपाय

सबैले भनेको सुनिन्छ–नेपाल खत्तम भयो। विद्वत्वर्गहरू सबै पलायन भइसके राजनीति अवस्था खत्तम छ। सामाजिक अवस्था झन् झन् बिग्रँदै गइरहेको छ । न्याय क्षेत्र सबै राजनीतिकरण भयो। कुनै आ अदालतमा नागरिकका काम हुँदैनन्। भ्रष्टाचार व्यापक भइरहेको छ। आफ्नो दायित्व उत्तरदायित्व कतै छैन। नीति नियममा बसेर कतै काम हुँदैनन्। जताततै मनोमानी छ। जसको शक्ति उसैको भक्ति भइरहेको छ। जसको लाठी उसैको भैँसी भने जस्तो प्रवृत्ति व्याप्त छ। यस्ता गुनासा यत्रतत्र सुनिन्छ। ओहदामा बस्नेहरू आआफ्नोे वकालत गरिरहेका हुन्छन्। मान्छु भन्छ।

अपराध गर्नेका पक्ष/विपक्ष उत्तिकै हुन्छन्। त्यो अपराध गर्न हुँदैनथ्यो कसैले भनिरहेको हुन्छ। त्यसैलाई कसैले फेरि एकदम ठीक गरिरहेको छ भन्ने पनि हुन्छ। यो प्रवृत्तिले नेपालमा व्यापकरूपमा गाँजिरहेको छ। के यो प्रवृत्ति ठीक हो त? कसैले ठीक हो भन्नुहुन्छ भने यो मुलुक विकासको गतिमा कसरी अगाडि बढ्न सक्छ त ? यो होइन भन्नुहुन्छ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि! भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

भन्ने बेलामा यो भएन त्यो भएन भन्ने। काम गर्ने बेलामा जसलाई नाइके बनायो, त्यसैले उदरस्थ गर्ने। न तिनलाई देशको मतलब छ न त जनताको। अहिले हाम्रा पार्टीकै कुरा गरौँ न, चुनाव आयो कि हामी वा हाम्रो पार्टीले यो गर्छ त्यो गर्छ भनेर गुथी हाँक्ने गर्छन्। प्रत्येकका घोषणापत्र हेर्नोस् त, कुनैका भन्दा कुनैका कम छैनन्। काम गर्ने बेलामा आमनागरिकलाई आफ्नो घरका दैनिकी चलाउन हम्मेहम्मे परिसक्यो। कतिले आफ्नो बालबच्चा पढाउनसमेत असमर्थ भइसके। न्यून आय भएका मानिस बिहान–बेलुकाको समस्या नै टार्न मुस्किल भइसक्यो। ओहदामा बस्नेहरू भ्रष्टचारको दलदलमा फसेका छन्। राजनीतिकर्मीहरू मानव बेचबिखन र तस्करी गर्न थालेका छन।

न्याय के हो, अन्याय के हो, कसैलाई मतलव छैन। सबैजना आ–आफ्नो व्याख्यामा लागेका छन्। अघि नै भनियो नि जत्रै जघन्य अपराध गरोस्, त्यसले पनि मैले ठीक गरेको छु भन्छ। तिनका पछि लाग्ने त्यत्तिकै छन्। सानो–सानो कुरामा पनि राजनीति छ, आ–आफूभित्र खिचातानी छन्। मै गर्छु, मैलेजस्तो अरूले गर्न सक्दैन, मैले नै गरेको राम्रो, अरूले केही गर्न सकेन, अरूले गरेको खत्तम। कसैले घमण्ड नगरे हुन्छ, यसरी देश किमार्थ चल्न सक्दैन। तपाईँहरूलाई भर्‍याङ चढाएर जनताले माथि पुर्‍याएका आराम र मोज गर्नलाई मात्र त होइन नि। तपाईँहरू नितान्त व्यक्तिगत स्वार्थका निम्ति देश र जनताका थाप्लोमा टेकेर अगाडि बढिरहनुभएको छ भन्ने देखिसकियो।

अहिले प्रत्येकको हातमा मोबाइल हुन्छ। मोबाइलबाट नै भोट खसाले पनि हुन्छ।

उम्मेदवारका कुरा सञ्चार माध्यमबाट सुनाइदिए हुन्छ। ताकि चुनावका लागि सभा/जुलुस आदि गर्न नपरोस्। यसो गर्नु नपर्दासाथ चुनाव जित्न पैसा चाहिन्न। पैसा नचाहिएपछि खर्च हुन्न। खर्च नभएपछि त्यो उठाउन भ्रष्टाचार गर्न परेन। यस्तो गर्न सके पो बल्ल दुनियाले नेतालाई स्यावासी दिन्छन्।

प्रकाशित: १७ फाल्गुन २०८० ०६:३६ बिहीबार

नेपाल राजनीति सामाजिक अवस्था राजनीतिकरण नागरिक अदालत अपराध उम्मेदवार