दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ । २०१५ सेप्टेम्बरमा राष्ट्रसंघीय महासभाबाट १९३ सदस्य मुलुकहरूले पारित गरी १ जनवरी २०१६ देखि लागू भएको यो लक्ष्य नेपालको सन्दर्भमा पनि महत्वपूर्ण रूपमा लिइएको छ।
नेपालको सन्दर्भमा, यी लक्ष्य प्राप्तिका लागि आवश्यक विभिन्न कदमहरू र अभियानहरूमध्ये लैङ्गिक हिंसा र विभेदको अन्त्य गर्ने, व्यावसायिक र प्राविधिक काममा महिलाको दरलाई २४ प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाउने र मातृ मृत्युदरलाई २५८ प्रतिलाखबाट ६९ मा सीमित गर्ने उद्देश्य महत्वपूर्ण रहेका छन् । त्यसो हो भने अब मनाइने महिला दिवसमा सधैँझैँ परम्परागत मुद्दा र नारामा मात्र सीमित नरहेर माथि उल्लिखित लक्ष्य प्राप्तिका लागि महिलाहरूको स्वास्थ्य, शिक्षा, क्षमता विकास र सबै क्षेत्रमा निर्भीक भएर सहभागिता जनाउन सक्ने खुबीको विकास हुने खालका कार्यक्रमहरूलाई प्राथमिकतामा राखी कार्यान्वयनको स्तरमा पुग्नु जरुरी देखिन्छ । यसको लागि सरकारी स्तरबाट एवं महिला उत्थानमा लागेका संघसंस्थाहरू, महिला विकासका लागि संगठित स्वदेशी तथा विदेशी आयोजना साथै महिला अधिकारकर्मीहरूको पनि त्यत्ति नै भूमिका रहन्छ।
त्यसो त नेपालको संविधानमै सबै नागरिक कानुनको अगाडि समान हुने, लिंगको आधारमा भेदभाव नगरिने, महिला पुरुषबीच समान श्रममा समान पारिश्रमिक दिइने, महिला वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याइने, महिला वर्गको स्वास्थ्य, शिक्षा र रोजगारको विशेष व्यवस्था गर्ने र महिलाको उत्थानका लागि सकारात्मक विभेदको नीति अपनाउने भनेर प्रस्ट उल्लेख गरेको छ । यसको व्यावहारिकता र सकारात्मक परिणाम छिट्टै आउनुपर्नेछ । अब संविधान र नारामा मात्र यो विकासलाई हेरेर र सुनेर बस्ने समय छैन । हरेक क्षेत्रमा महिलाको नेतृत्व विकासको दर वृद्धि नहुँदासम्म नारा र उद्देश्यमा समेटिएका लक्ष्यहरूले अपेक्षित परिणाम हात लाग्दैन । घर व्यवहार कुशल रूपमा चलाउन सक्ने आमा, छोरी, बुहारीको प्रशंसा र प्रोत्साहनबाट सुरु गर्न सकेमात्र सामाजिक, आर्थिक, राजनीतिक, आध्यात्मिक हरेक क्षेत्रमा महिलाहरूलाई नेतृत्व र क्षमता विकासका लागि हौसला मिल्छ।
मातृ मृत्युदर कम गर्नका लागि होस् या लैङ्गिक हिंसा र विभेदको अन्त्यका लागि घरदेखि नै छोरी भएको कारणले विभेद नगरी स्वास्थ्यमा ख्याल र शिक्षामा जोड दिनुपर्छ । जसरी एकै घरमा छोरा शिक्षित र छोरी अनपढ बनाएर घरको इज्जत देखिँदैन त्यसैगरी समाज र राष्ट्रको विकासमा पनि सबै वर्ग, लिङ्ग र जातिलाई समावेश नगरिन्जेल विकासको अनुभूति गर्न सकिन्न । इतिहासदेखि नै विकास प्रक्रियामा महिला सहभागिता समान रूपमा हुन नपाएको कारण अपेक्षित विकास हासिल हुन सकेको छैन । व्यावसायिक र प्राविधिक काममा महिलाको दर बढाउनका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा महिला सहभागिता बढाउने खालका शैक्षिक कार्यक्रम र तालिमहरू आवश्यक पर्छन् । महिला साक्षरता प्रतिशत वृद्धि गर्न आवश्यक सबै कुराहरूमा जोड दिइनुपर्छ । व्यावसायिकतालाई अगाडि बढाएर आर्थिक उन्नतिमा महिला सहभागिता गराउनु त्यत्तिकै महत्वपूर्ण छ।
विश्वको अर्थतन्त्रसँग प्रतिस्पर्धामा उत्रिनका लागि पनि महिला उद्यमीहरू बढ्नु जरुरी छ । विश्वका विकसित मुलुकलाई हेर्ने हो भने आज विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा महिलाले ओगेटका छन् । राजनीतिक शक्ति होस् या पारिवारिक निर्णयमा पनि महिला सहभागिता बढी देखिन्छ । तर नेपालको इतिहासलाई हेर्ने हो भने हाम्रा महिला यदाकदाबाहेक मूकदर्शक बनेका छन् । सम्मानजनक प्रतिनिधित्व गर्ने अवसर अझै पाएका छैनन् । अब आधा हिस्सा ओगटेका महिलाहरूले आफैँबाट सुरुवात गर्नु आवश्यक छ। महिलाहरूले आफूले सक्छु भन्ने आत्मविश्वास बढाउनु जरुरी छ । व्यक्तिपिच्छे आफ्नो क्षमता र रुचि फरक हुन्छन् । तर आफ्नो डाक्टर आफैँ भनेझैँ आफूसँग जे खुबी छ, आफ्नो जे क्षमता छ, त्यसलाई अभिवृद्धि र क्षमता प्रदर्शनमा महिलाहरू आफैँ सरिक र सजग हुनु जरुरी छ।
ओशो महिलाको सम्मान गर्दै भन्नुहुन्छ, जब महिला पुरुषको प्रेममा पर्छिन् उनले पुरुषको शरणमा आफूलाई छोडिदिन्छिन् तर पुरुष ठान्छन् मेरो चरणमा आइन्। वास्तवमा महिला पुरुषको चरणमा होइन, प्रेमको शरणमा परेकी हुन्छिन् । तर यो कला बुझ्ने सामथ्र्य नभएकाले महिलालाई दासी बनाइयो। संसारमा कहीँ पनि पुरुष दासी भनेको सुनिएको छैन । किनकि दासी हुन, शरणमा पर्न त कला चाहिन्छ नि !
जहाँ जस्तोसुकै परिस्थितिमा पनि पुरुष प्रवृत्तिको निर्णय हुनुपर्ने र महिलालाई पुरुषले छुट्टयाइदिएको अधिकार, कानुन र आरक्षणमा सीमित हुनुपर्ने बाध्यताले गर्दा क्षमता हुने महिलाहरूले पनि आफ्नो प्रतिभालाई उजागर गर्न नसकेका उदाहरण नेपालमा भर्खरै सम्पन्न चार किसिममा निर्वाचन, निर्वाचन प्रक्रिया, उम्मेदवारी र परिणामले खुलस्त पारिदिएका छन् । जति महिला समानता र सहभागिताको बहस चले पनि व्यवहारमा उतार्न सकिएको छैन । घर, परिवार, समाज र राष्ट्रले नै महिलालाई परिवर्तनका संवाहकका रूपमा लिनुपर्छ । सामाजिक न्याय, सिर्जनशीलता, सबलीकरण र सशक्तीकरण तब मानिन्छ जब महिलालाई नेतृत्व दिइन्छ र उनीहरूको क्षमताको कदर गरिन्छ।
महिला शान्त, धैर्य र आध्यात्मिक गुणले सम्पन्न स्वभावका हुने हुँदा हरेक विकासका कार्यमा उनीहरूलाई सहभागी गराउन सके सबैले खोजेको दिगो विकास अवश्य प्राप्त हुनेछ । यसका लागि पुरातनवादी सोचाइ र दृष्टिकोण हटाई नयाँ परिपाटी र सकारात्मक सोच आवश्यक छ । सोचाइमा पनि विकासोन्मुख धारणा राख्ने हो भने विकासको सूचीमा कहिल्यै पुगिन्न । हालका दिनहरूमा विकासमा महिला सहभागिता धेरै बढेको भान हुन्छ, तर यो संख्या अझै न्यून छ। संख्याभन्दा पनि गुणस्तरीयता, निर्णय क्षमता अनि नेतृत्व लिन सक्ने सबल महिलाहरूको खाँचो छ।
प्रकाशित: १८ फाल्गुन २०७४ ०२:५२ शुक्रबार