विचार

मानसिक स्वास्थ्य सुधारका सोपान

१९ औं शताब्दीमा बायोलोजिकल रंग (डाइ) रक्त सञ्चारमा पठाइ शरीरका विभिन्न अंगबीचका अन्तरसम्बन्ध स्थापित गरियो। रगतमार्फत सञ्चारित डाइले शरीरका अन्य अंगलाई रंगिनता दिए पनि मस्तिष्कमा भने त्यसको कुनै असर देखिएन।

 दिमाग र शरीरका अन्य भागबीच ब्लड ब्रेन बेरियर अनौठो पर्खाल रहेको मान्यता स्थापित भयो। मुटुले पम्प गरेको रगत शरीरका सबै भागमा यथास्थितिमा पुगे पनि मस्तिष्कमा जाने झोल भने सूक्ष्म प्रशोधनपछि मात्र स्नायु प्रणाली जाने भएकाले ब्लडमा मिसिएको रंगले दिमागमा कुनै प्रभाव देखिएन।

लवण तथा पोषणको सन्तुलन बिग्रिए अथवा कुनै विषादी मस्तिष्कमा पुगे दिमाग स्थायी रूपमा क्षतिग्रस्त हुने भएकाले प्रकृतिले ब्रेनलाई थप सुरक्षा दिएको देखियो। प्राकृतिक सुरक्षा संयन्त्रका कारण ओखतीमार्फत मानसिक रोगको इलाज जटिल बन्यो।

ओखती दिमागमा पुग्नै कठिन भएपछि मस्तिष्कका रोगीको इलाज गाह्राे भयो। औषधि इलाज जटिल भएकाले दिमागी स्वास्थ्यका लागि आयुर्विज्ञानले पहिल्याएको संहिताको पालना अपरिहार्य बन्यो। के/कस्तो परेज विधिले दिमागलाई स्वस्थ राख्ने त? भन्ने सम्बन्धमा भएका अध्ययन र अन्वेषणको चर्चा सान्दर्भिक देखियो।

१० देखि १९ वर्ष उमेर समूहका प्रत्येक ७ जनामध्ये एक व्यक्तिमा मानसिक समस्या देखिएको भन्छ विश्व स्वास्थ्य संगठन। त्यस्तै ग्लोबल तथ्यांकले १५ देखि २९ वर्षे उमेर समूहको कुल मृत्युमा आत्महत्या चौथो स्थानमा देखियो।

बढ्दो मानसिक रोगीको संख्या अनि आत्महत्याको उकालिँदो ग्राफ विश्वका लागि ठूलो चुनौती देखियो। खिन्नता र चिन्ता (डिप्रेसन र एन्जायटी) का कारण पैदा भएको दिमागी खल्बलाहटका कारण विश्वलाई झण्डै दश खरब अमेरिकी डलरको आर्थिक हानि पुगेको ठान्छ संयुक्त राष्ट्रसंघ।

संसारमा देखिएको दिमागी समस्या अनि आत्महत्याको आकडाभन्दा पृथक अवस्था नेपालका मनोरोगीको छैन नै। त्यसैले नेपालीको मनोरोगको व्यवस्थापन केबल चिकित्सकीय कर्तव्य मात्र भएन, बरु सबैको दायित्व बन्यो।

दिमागी समस्याको एक मात्र कारण ब्रेनमा आउने खराबी नै हो तर अति नै कडा र सुरक्षित कवचमा रहेको दिमागमा कसरी समस्या आउँछ त? टाउकोमा चोट लाग्दा दिमागमा समस्या आउनु स्वाभाविक भए पनि कुनै बाह्य ठक्करबिनै किन व्यक्तिको मस्तिस्कमा समस्या आउँछ?

मानसिक स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण ब्रेनको आराम रहेको ठान्छन् युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक भिक्टोरिया गार्फिल्ड। दैनिक ७ देखि ९ घण्टा सुत्ने हो भने दिमागका आधा समस्या समाधान हुने ठान्छिन् गार्फिल्ड। गहिरो निन्द्रा लागेको खण्डमा ८ घण्टा नै सुत्नुपर्छ भन्ने छैन भन्छन् उनी। राम्रो निन्द्राका लागि एकै समयमा ओछ्यानमा जाने बानी राख्ने, सुत्ने बेलामा चिया कफी जस्ता क्याफिनजन्य पेय पदार्थ नपिउने अनि बेड टाइममा टेलिभिजन, फोन जस्ता सामग्री प्रयोग नगर्ने जस्ता क्रियाकलाप लाभप्रद हुने देखियो।

जागा भएका बखत आँखाले देखेका, भोगेका र पढेका कुरा दिमागमा बस्छन। दिउँसो जम्मा भएका सन्देशमध्ये थोरै सूचना महत्त्वपूर्ण हुन्छन् भने धेरै सन्देश निष्कामका हुन्छन्।

अनावश्यक सूचनाहरू दिमागमा फोहरका रूपमा रहने भएकाले त्यस्ता सन्देशलाई अविलम्ब हटाउनुपर्ने हुन्छ। तर गहन निन्द्राका बखत मात्र अनावश्यक सूचना दिमागबाट डिलिट गर्न सकिने बायोलोजिकल पद्धति स्थापित छ। पर्याप्त निन्द्रा नलागेका बखत दिमागमा जम्मा भएको गार्बेज हटाउन मस्तिष्क असफल हुन्छ। जसरी घरायसी फोहर लामो समयसम्म नफाल्दा विभिन्न किसिमका रोग लाग्छ त्यसैगरी धेरै दिनसम्म निन्द्रा नलागेमा दिमागमा धेरै विषाक्त सन्देश सञ्चित भइ व्यक्तिमा मानसिक रोग लाग्न सक्छ।

संयुक्त राज्य अमेरिकाको सिकागोस्थित नर्थ वेस्टर्न युनिभर्सिटीमा स्लिप मेडिसिन प्रमुख फिलिसजीले निस्पट्ट अँध्यारोमा सुत्ने समूह मधुरो बत्तीमा सुत्ने भन्दा मानसिकरूपमा बढी सबल देखिएको मात्र पाइनन् बरु उनीहरूमा मुटु रोग तथा चिनी रोगको संभाव्यता पनि कम हुने निचोडसहितको अन्वेषण सन् २०२२ मा प्रकाशित गरिन।

त्यस्तै २०२३ अक्टोबरमा जर्नल स्लिप हेल्थमा प्रकाशित एक फरक अध्ययनले दिउँसो छोटो समय सुत्ने व्यक्तिहरूको दिमागको आकार अर्को समूह भन्दा ठूलो पायो। मस्तिष्कको आकार र दिमागी स्वास्थ्यका बीच प्रत्यक्ष संबन्ध स्थापित गर्ने अन्वेषणको मुख्य अनुसन्धानकर्ताको विचारमा अहिलेको व्यस्त समयमा दिउँसो सुत्नु सम्भव नहुने भएकाको डे न्यापको विकल्प कामको बीचमा एकछिन हिँड्नु अथवा साथीसँगको रमाइलो छोटो कुराकारी पनि हुन सक्छ।

चिया र कफीमा पाइने क्याफिन संसारमा सबैभन्दा धेरै प्रयोग गरिएको साइकिएक्टिभ ड्रग्स हो भन्दा अन्यथा हुँदैन।

करोडौँ मानिसले दैनिकरूपले सेवन गर्ने चियाका धेरै फाइदा देखिन्छन्। कफी पिउने मानिसमा मस्तिष्कको रोग पार्किन्सन्स डिजिजको संभाव्यता कम देखियो अनि व्यक्तिको दिमागलाई ताजापन दिइ सोच्न सक्ने क्षमतालाई पनि उकासेको पाइयो। दिमागी शक्तिलाई उकास्न मद्दत गर्ने चियाका कारण मानिसमा राति सुत्नसमेत समस्या आउने भएकाले कति कप चिया पिउने त्यसमा समुचित सन्तुलन आवश्यक देखियो।

खाना व्यक्तिको दिमागी स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने ठान्छिन् मासाचुुसेट्स जनरल हस्पिटलकी न्युट्रिसनल साइकोलोजिस्ट डा. उमा नायडु। लामो समयदेखि खाना र दिमागी स्वास्थ्यको अन्तरसम्बन्ध स्थापनाका खातिर अनुसन्धानरत नायडुको विचारमा प्रकृतिले दिएको खाद्यान्नलाई बिनाप्रशोधन सेवन गर्नु मेन्टल हेल्थका लागि लाभप्रद् हुन्छ।

खैरो चामल, बोक्रा नफालेको सग्लो दाल, अनि खानामा थोरै मासु र धेरै तरकारी, फलफूल र सागपात खाने बानीले दिमागलाई दीर्घकालीन लाभ दिने ठान्छिन् उनी। फरक अनुसन्धानहरूले खान्कीको ढाँचाले पाचन प्रणालीमा रहने गट माइक्रोबायोमको सन्तुलनलाई हेरफेर गर्ने देखायो।

असल बनोट भएको माइक्रोबायोमले व्यक्तिको मेटाबोलिज्ममा सकारात्मक प्रभाव पारी मुटु रोग, ब्लड प्रेसर, मोटोपन तथा चिनी रोगको संभाव्यतालाई न्यून गर्छ भन्ने कुरा पहिले नै पत्ता लागेको थियो। तर, हालैको अन्वेषणले सुबानी गट माइक्रोबायोमले मानिसको मेन्टल हेल्थ सुधारमा समेत मद्दत गर्छ भन्ने यथार्थ बाहिरियो। एउटा चिनिया अध्ययनले गुन्द्रुक, सिन्की जस्ता फर्मन्टेड खान्कीले मानिसको गट ब्याक्टेरियाको अनुपातलाई सुधार्छ भन्ने देखाएकाले हाम्रो परम्परागत खान्कीले दिमागी स्वास्थ्यलाई मद्दत गर्ने देखियो।

नैतिक मूल्य÷मान्यतामा आएको क्रमिक ह«ासका कारण मानसिक रोग बढेको हुन सक्ने ठान्छन् धेरै अन्वेषणकर्ता। युनिभर्सिटी अफ बिस्कान्सन मेडिसिनका साइकोलोजीका प्राध्यापक रोबर्ट इन्राइट क्षमाको संस्कारले मानसिक समस्या कम गर्न सकिने ठान्छन्।

स्कुले विद्यार्थीलाई बदलाको भावना भन्दा माफ गर्ने बानी लगाउन सके दिमागी रोग कम हुने ठान्छन् उनी। इन्टरन्यासनल फरगिभनेस इन्स्टिच्युटका संस्थापकसमेत रहेका डा. इन्राइटको विचारमा माफीको संस्कार स्थापनामार्फत मेन्टल डिजिजको ग्राफ तल झार्न सकिन्छ।

बच्चामा ससाना घटनालाई माफी गर्ने बानी विकास भए युवावस्थामा क्षमाको संस्कृति विकास हुन्छ। उक्त क्रियाकलापले मस्तिष्कलाई अनावश्यक थकानबाट बचाइ दिमागी रोगबाट बचाउन सक्छ भन्छन् डा. इन्राइट।

योर्क युनिभर्सिटी क्यानडामा साइकोलोजीका प्राध्यापक जेनिफर मिल्स स्मार्टफोनको विकासपछि सेल्फी इफेक्टले युवतीहरूमा मानसिक थकान ल्याएको ठान्छिन्।

सेल्फी अन्यको फोटोसँग तुलना गरी तथा सामाजिक सञ्जालमा अनावश्यक लागु भइ आफू पछि परेको ठानी मानसिक थकानमा पर्ने समूहलाई सेल्फी इफेक्टबाट जोगाउन सेल फोनको प्रयोग न्यून गर्नुपर्ने देखियो।

दिमागी रोगको इलाज ओखती सेवनबाट गर्न कठिन हुने भएकाले बानी व्यवहारमा हेरफेर आवश्यक देखियो। नियमित सुताइको तालिका, स्वस्थबद्र्धक भोजन गर्ने बानी, नैतिक शिक्षा प्रवर्द्धन गरी क्षमा संस्कारको प्रत्याभूति अनि सेलफोनको नियन्त्रित प्रयोगलाई व्यवहारमा उतार्न सक्ने हो भने मनोरोगीको संख्या घट्न सक्ने देखिन्छ।

प्रकाशित: २४ पुस २०८० ००:२३ मंगलबार

मानसिक स्वास्थ्य सुधारका सोपान नैतिक शिक्षा प्रवर्द्धन लवण तथा पोषणको सन्तुलन योर्क युनिभर्सिटी क्यानडामा साइकोलोजी