विचार

‘मेलमिलाप’देखि ‘राष्ट्रिय मेलमिलाप’सम्म

‘मेलमिलाप’ भन्ने शब्द सामाजिक, सांस्कृतिक एवं राजनीतिक रूपमा प्रयोगमा ल्याइने संयोजनकारी शब्द हो। यस शब्दको अन्तर्य बडो गम्भीर अनि बहुआयामिक छ। पारिवारिक तहदेखि नै मानिस यस शब्दको व्यावहारिक महत्तासँग निकट रहन्छ र उसको सामाजिकीकरण प्रक्रिया ‘मेलमिलाप’कै आधारमा विकसित हुन थाल्छ।

मेलमिलाप भएमा पारिवारिक जीवन शान्त, सहयोगपूर्ण र आनन्ददायी भएर उन्नति, प्रगतितर्फ लाग्न सक्छ। मेलमिलाप नभएमा अशान्त, अवरोधपूर्ण र दुःखदायी भएर अवनतिको भासमा भासिन पुग्छ।

यसर्थ व्यक्तिलाई उन्नतिको मार्गमा अग्रसर हुन पारिवारिक तहमा हुने मेलमिलाप प्रथम खुड्किलो वा आधारशीला हो। पारिवारिक मेलमिलापका विपरीत ‘विग्रह’ भयो भने न व्यक्तिले आत्मोन्नति गर्न सक्छ, न सामाजिक कार्यकलापहरूमा उसले पारिवारिक टेवा पाउन सक्छ।

पारिवारिक तवरमा मेलमिलाप–स्थितिको चरम अभावको परिणाम हिंसा हो। त्यसका उदाहरणहरू पौराणिक ग्रन्थ महाभारतमा वर्णित कौरव–पाण्डव युद्धदेखि लिएर सामान्य जनजीवनसम्म पनि मनग्य पाउन सकिन्छ।

२०५८ जेठ १९ को नारायणहिटी दरबार काण्ड नेपालको इतिहासले कहिल्यै नबिर्सने दुर्घटना हो। पारिवारिक हिंसाका यस्ता काण्ड, जसले मुलुकको इतिहासलाई नै मोडिदिए, अरू अनेकौं फेला पर्छन्। मानिसको नकारात्मक मनोद्वेगको चरमोत्कर्ष आत्मघाती सिवाय अरू केही हुँदैन। यसको आरम्भ मेलमिलापको अभावबाटै सुरु हुन्छ।

सामाजिक हिसाबले मेलमिलापको उत्तिकै आवश्यकता रहने कुरा सबैले महसुस गरेकै विषय हो। जहाँ सामाजिक मेलमिलाप रहन्छ, त्यहाँ सामाजिक उन्नति हुन्छ। लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा झन् बढी सामाजिक मेलमिलापको अपेक्षा रहन्छ।

सामाजिक मेलमिलापको तात्पर्य सामाजिक हितका कार्यहरूमा हुने पारस्परिक सहमति वा स्वीकार्य हो। कसैले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर आफ्नो अडान वा जिद्दी नछोड्ने हो भने हुन लागेको साझा हितको कार्य अधुरो रहन्छ।

कामै भएन वा लक्षित कार्य अधुरो रह्यो भने त्यस कार्यको सम्पन्नतापछि प्राप्त हुने साझा फाइदा वा अवसर गुम्नु स्वाभाविक रहन्छ। ससाना समाज मिलेर ठुलो समाज बन्छ।

कुनै पनि स्तरका सामाजिक जटिलता वा चुनौतीलाई पारस्परिक परामर्श गरी मेलमिलापको वातावरणमा टुंग्याउन सकिन्छ। सामाजिक मेलमिलाप भन्नु सामाजिक सहिष्णुता पनि हो। सामाजिक भावना बडो संवेदनशील रहन्छ। कुनै एउटा पक्षले आफ्नो पक्षको मात्र हित हेरेर सामाजिक कार्य गर्छु भन्छ भने त्यसमा अर्को पक्षको असहमति रहन सक्छ।

सामाजिक मेलमिलाप मुलुक निर्माण र परिवर्तनको सर्वाधिक महत्त्वपूर्ण आयाम हो, जसको स्थायी उपस्थितिले नै राष्ट्रोत्थानको आधार तयार गर्छ। समाजलाई गतिशीलता र आशावादतर्फ डोर्‍याउने मूल सूत्र नै सामाजिक मेलमिलाप हो।नेपालको सन्दर्भमा सामाजिक मेलमिलापको अर्को महत्त्वपूर्ण आयाम पनि छ।

 यहाँ अनेकौं जाति, भाषा, धर्म, संस्कृति, परम्परा भएका समुदाय छन्। यी सबै समुदायबिचको आपसी मेलमिलापकै आधारमा यस मुलुकले आफ्नो अस्तित्वको अविच्छिन्नता पनि प्राप्त गर्न सकेको हो।

अतीतमा यहाँ उत्तरीक्षेत्रबाट मंगोल वर्णीय जातिहरू र दक्षिणतर्फबाट आर्य वर्णीय जातिहरूको आगमन भयो। उनीहरू स्थायी रूपमा बस्न थाले। क्रमशः उनीहरूले आपसी भ्रातृत्व, एकत्वको भावना बढाउँदै ल्याए। उनीहरूले यहाँ खनिखोस्री गरेर जीविका मात्र गरेनन्, पारस्पारिक सहिष्णुता, सहनशीलता, सहभावना र मेलमिलापको संस्कृति पनि विकास गर्दै आए।

यसरी उत्तर र दक्षिणतिरबाट आआफ्नो समुदायको सुरक्षा र अस्तित्वको बचाउका लागि आएका हाम्रा पुर्खाले निर्माण गर्दै, जोगाउँदै ल्याएका विविध सांस्कृतिक रङहरूको इन्द्रेणी नै हामीले अपनाएको संस्कृति हो।

हाम्रो साझा पहिचानको, साझा अस्तित्वको, नेपाली जातीयताको र राष्ट्रिय एकताको सबैभन्दा बलियो आधारशीला नै यही विविध संस्कृतिभित्रको एकता हो।

नेपाली राष्ट्रियताको अविच्छिन्नताको अभेद्य आधारशीला नै यही हो। सामाजिक हिसाबले राष्ट्रिय स्तरमा मेलमिलापको यसभन्दा बलियो आधार अर्को हुन सक्दैन, जुन नेपाली समाजले अतीतदेखिकै नासोका रूपमा आत्मसात् गरिरहेको छ। यसलाई धुमिल पार्ने चेष्टा यदाकदा हुने, देखिने गरेको भए पनि ती दुश्चेष्टा पराजित र विलीन हुँदै आएका छन्।

‘मेलमिलाप’ शब्दका निकटार्थी शब्द निकै छन्। मिलजुल, सहमति, सद्भाव, समन्वय, सहिष्णुता, मित्रता, मैत्रीत्व, सम्झौता, सहअस्तित्व, सहजीवन, समझदारी लगायत अनेकौं भावनात्मक/भाववाची शब्द र ‘मेलमिलाप’ शब्दबिचमा अर्थगत सामीप्यको अनुभव गर्न सकिन्छ।

यस्ता शब्दको प्रत्यक्षतः शब्दगत पयार्यवाची घनिष्ठता र व्याकरणीय निकटता ‘मेलमिलाप’ शब्दसँग नहुने भन्ने केशचिरा तर्क तेर्सिन सक्ने भए पनि यस पञ्चाक्षरी शब्दले ओगट्ने भावगत परिधि भने अत्यन्त व्यापक रहेको प्रतीत हुन्छ।

‘मेलमिलाप’ शब्दसँगको यस निबन्धात्मक विचरणको तात्पर्य यस शब्दले प्राप्त गरेको राजनीतिक–शाब्दिक दर्शनलाई चियाउन र यसको धरातलीय तृणमूल–अर्थसँग निकट रहनका निम्ति रहेको निवेदन गर्छु।

पुस १६ लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलापको दिन भनेर सम्झिने गर्छ। ८ वर्षको प्रवास जीवनपछि २०३३ सालमा बिपी नेपाल फर्केको दिनको स्मृतिमा यस दिनलाई ‘राष्ट्रिय मेलमिलाप दिवस’का रूपमा कांग्रेसले स्मरण गर्न थालेको बुझिन्छ। नेपाल फर्कने सोही दिन ‘देशवासीका नाममा अपिल’ प्रकाशित गरेर बिपीले राष्ट्रिय एकता र मेलमिलापका लागि आह्वान गरेका थिए। तर बिपीकै लागि र समस्त प्रजातन्त्रवादी देशवासीका लागि भने त्यो दिन खुसीयालीकोदिन थिएन।

त्यो विस्मयकारी दिन पुस १६ को स्मृतिलाई बिपीले ‘डायरी’ मा लेखेका छन्, ‘आरएनएसी’को विमान चढेर पटनाबाट काठमाडौं विमानस्थलमा आइपुग्यौं। परिवारका सदस्य र जयप्रकाशजीसहित ठुलो संख्यामा मेरा मित्रहरू विमानस्थलमा हामीलाई बिदाई गर्न आएका थिए। हामीमध्ये धेरैका आँखा रसाएका थिए।

काठमाडौं विमानस्थल आइपुगेपछि हाम्रो विमानलाई धावनमार्गको टाढाको कुनातिर लगिन्छ। त्यहाँ हामी ‘जिएम (गणेशमान सिंह), शैलजा, नीलाम्बर पन्थी, रामबाबु, खुमबहादुर र मलाई ओरालिन्छ। त्यसपछि हामीलाई छुट्याइन्छ। म र जिएमलाई प्रहरीको जिपबाट सुन्दरीजल शिविर ल्याइन्छ।

सुन्दरीजल बन्दीगृहमा फेरि आइपुग्यौं। सैनिक र निजामती अधिकृतहरूका साथ एक अञ्चलाधीश आउँछ र केही प्रश्न गर्छ।... सातौं प्रश्न थियो-के मेरो आगमनले नेपाललाई खतरा पुग्दैन भन्ने।

मैले भनें-हामी देशको हितका निम्ति राजनीतिक समझदारी कायम गर्न राजासमक्ष आफूहरूलाई प्रस्तुत गरेर आएका हौं। अहिले पुरानो कुरा कोट्याउने र एकअर्कालाई आरोप लगाउने बेला होइन।’ (फेरि सुन्दरीजल, पृ. १–३)

विपीको प्रकाशित डायरीबाट उद्धृत गरिएका केही वाक्य हुन् यी। यी वाक्यांशबाट त्यस दिन बिपीले भोगेको बाहिरी दृश्यको एउटा झलक प्राप्त हुन्छ। अञ्चलाधीशले सोधेको सातौं प्रश्न भने बिपीको नेपाल आगमनका सन्दर्भमा सर्वाधिक महत्त्वपूर्ण छ।

अन्य छ प्रश्न (फेरि सुन्दरीजल हेर्नुहोस्) पछि अन्तिममा सोधिएको यही प्रश्नले तत्कालीन शासक र व्यवस्थावादीहरूलाई सबैभन्दा बेचैन बनाइरहेको थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। त्यसको प्रत्युत्तरमा बिपीद्वारा व्यक्त भनाइमा उनी आउनुको उद्देश्य पनि स्पष्ट देखिन्छ। आफू नेपाल आउनुको विस्तृत उद्देश्य पुस १६ मै आएको ‘देशवासीका नाममा अपिल’ मा प्रकाशित भएको थियो।

२०३३ पुस १६ यताका झन्डै ६ वर्ष (अर्थात् बिपीले सार्वजनिक अभिव्यक्ति दिन सकुन्जेल)सम्म दरबार र व्यवस्थावादीहरू बिपीलाई ‘खतरा’ सम्झरहे, बिपी ‘राजनीतिक समझदारी’ भनिरहे।

जनमत संग्रहपछिको समयलाई बिपीले अभिव्यक्ति स्वतन्त्रताका हिसाबले उदार हुन थालेको महसुस गरेका थिए, तर त्यो राजनीतिक समझदारीका हिसाबले हुन थालेको भने थिएन। त्यही समझदारीका निम्ति शान्तिपूर्ण संघर्षको नेतृत्व बिपीले गरिरहे। दरबार कानमा तेल हालेर बसिरह्यो। बरु पञ्चायती संविधानले तेस्रो संशोधनबाट प्रजातन्त्रवादीलाई राजनीतिक समझदारीको ढोका बन्द गरिदियो।

बिपी कोइरालाद्वारा तत्कालीन परिस्थितिमा देशवासीका नाममा राष्ट्रिय एकताका लागि गरिएको आह्वानका मूलभूत उद्देश्यहरू राजालाई आम नेपाली जनताका साझा राजाका हैसियतमा स्थापित गर्ने, प्रजातन्त्रको पुनस्र्थापना गर्ने एवम् वैदेशिक हस्तक्षेपको भयावहताबाट नेपाली राष्ट्रियतालाई जोगाउने नै थिए। उनले सबैभन्दा बढी महत्त्व राष्ट्रियतामाथि दिएका थिए।

राष्ट्रियतामाथि नै सबैभन्दा बढी गम्भीर हुनुपर्ने अन्तर्राष्ट्रिय परिस्थिति सिर्जना भइरहेको थियो। एउटा जिम्मेवार राजनेताको प्रथम कर्तव्य विदेशी हस्तक्षेपबाट आफ्नो मुलुक जोगाउनुतर्फ केन्द्रित हुनु स्वाभाविक रहन्छ। बिपी जीवनकै बाजी थापेर नेपाल आएका थिए।

दरबारको ध्येय बिपीको राजनीतिक जीवनलाई तेजोबध तुल्याउनु थियो, बिपीको ध्येय राष्ट्र र दरबार दुवैलाई चीरकालीन रूपमा तेजोमय बनाउनु थियो। त्यसैले आफू मेलमिलापका लागि हात फैलाउन आएको भने।

दुर्भाग्य, दरबार बिपीको ‘मेलमिलाप’को मर्मभित्र पस्न चाहेन। दरबारले मेलमिलापलाई सत्ता पल्टाउने बहाना देख्यो।

दरबारभित्र र बाहिरको यथास्थितिवादी तत्त्व बिपी र राजाका बिचको दुरी बढाएर नेपालभित्र बढिरहेको विदेशी तत्त्वको घुसपैठलाई मलजल गरिरहेको थियो। राष्ट्रवादी–प्रजातन्त्रवादी शक्तिका लागि तत्काल बढ्दै गइरहेको विदेशी दुष्प्रभावबाट मुलुकको अस्तित्व बचाउने अस्त्र राष्ट्रिय मेलमिलाप थियो। तर राजा विदेशी शक्तिद्वारा सञ्चालित यथास्थितिवादी तत्त्वहरूको अघोषित रणनीतिक चक्रव्यूहमा फसेकाले आफू प्रवासबाट नेपाल फर्किनेबित्तिकै बन्दीगृह पुग्नुपरेको पेचिलो सन्दर्भलाई बिपीले अनेकौंपटक स्मरण गरेका छन्, ‘म थुनिएपछि अनवरत किसिमबाट मलाई आक्रमण भएको छ। पहिले त पञ्चहरूबाट भयो।

पञ्चायतका तीन तह छन् क्यार। प्रत्येक तहका पञ्चायतहरूबाटै यो मान्छेलाई सबभन्दा कडा सजाय दिनुपर्छ, देशद्रोहको नै भनेर प्रस्ताव पास गरे।’ (राजा, राष्ट्रियता र राजनीति, पृ. ३२) 

बिपीले राष्ट्रिय मेलमिलाप नीतिका माध्यमबाट नेपाली राष्ट्रियतामाथि मडारिइरहेको बाह्य हस्तक्षेपको कालो बादललाई परास्त गर्दै लोकतान्त्रिक राज्यव्यवस्थाको पुनस्र्थापना गर्न चाहेका थिए।

प्रजातन्त्रको जगमा मात्र राष्ट्रियता सुरक्षित रहन सक्ने उनको दृष्टिकोण रहेको पाइन्छ। राष्ट्रियता र प्रजातन्त्रलाई जोड्ने नीति भनेको राष्ट्रिय एकताको नीति हो अनि राष्ट्रिय एकताको प्रस्थान बिन्दुमा टेक्न राष्ट्रिय मेलमिलापको विकल्प नरहेको उनको चिन्तन रहेको पाइन्छ।

नेपालमा २०१७ सालमा राजाले प्रजातन्त्रको हत्या गरेका थिए। संसदीय प्रजातन्त्रको अन्त्य गरी राजाले आफू र जनताबिच पर्खाल उभ्याएका थिए। त्यस निरंकुशताको पर्खाल भत्काएर राजा र जनताबिचको दुरी मेट्ने प्रयास नै मेलमिलाप भएको कुरा बिपीले अनेकौं सार्वजनिक सभाहरूमा बताएका छन्, ‘राष्ट्रिय मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र जनताबिच एउटा ठुलो पर्खाल खडा गराइयो, त्यो पर्खाल तोडेर राजालाई जनताबिचमा ल्याउने त्यो प्रयास नै मेलमिलापको प्रयास हो।’

(तेस्रो संशोधनका सम्बन्धमा बिपीका भाषणहरू, २०३८, पृ. १) बिपीले जनतालाई राजाका निकटमा र राजालाई जनताका निकटमा आसीन गराएर दुवै बिचको पारस्परिक आत्मीयतालाई विश्वासिलो र चिरस्थायी बनाउन चाहेका थिए।

 प्रजातान्त्रिक संस्कृति अनुकूल राजसंस्थाको राष्ट्रिय मर्यादा स्थापित गर्न, राष्ट्रिय एकतालाई पुनर्जीवित गर्न र अन्तर्राष्ट्रिय परिस्थितिजन्य कालो छायाबाट नेपालको राष्ट्रियतालाई बचाउन गरिएको ‘मेलमिलाप’को मर्मलाई राजाले उपेक्षा मात्र गरिरहे।

यस पृष्ठभूमिमा बहुचर्चित रहन पुगेको ‘मेलमिलाप’ शब्दले जनबोलीमा सामान्यतः अपनत्व प्राप्त गरिरहेकै थियो र छ। यो शब्द राजनीतिक रूपमा सम्मानित र बहुचर्चित हुन थालेको भने २०३३ पुस १६ मा बिपीद्वारा ‘देशवासीका नाममा अपिल’ प्रकाशित गरी आमजनतामा वितरित भएपछि नै हो भन्ने अनुभव पनि सर्वत्र भएकै हो। त्यस अपिलको केन्द्रीय भाव र मर्म ‘राष्ट्रियता’ बचाउनु रहेको छ। त्यसका निम्ति दुइटा माध्यमहरू त्यसै अपिलभित्र सन्निहित छन्।

एउटा हो– राष्ट्रिय एकता र अर्को हो– प्रजातन्त्र। प्रजातन्त्रबिना राष्ट्रिय एकता हुन सक्दैन र राष्ट्रिय एकताबिना राष्ट्रियता बचाउन सकिँदैन।

बिपीको आह्वानको सार यही नै हो। राष्ट्रिय एकताको आधारशीलामा प्रजातन्त्रको पुनस्र्थापना गरी राष्ट्रियतालाई बचाउन एवं बाह्य प्रभावबाट मुलुककै अस्तित्वको रक्षा गर्न राष्ट्रिय स्तरमा नै मेलमिलाप नीति अपनाइनुपर्ने भन्ने बिपी विचारको राजनीतिक महत्व र सान्दर्भिकतालाई सर्वत्र स्विकारिएपछि ‘मेलमिलाप’ राजनीतिक शब्द बनेको बुझ्न सकिन्छ। त्यसबेला राजतन्त्र थियो र राष्ट्रिय मेलमिलापको सन्दर्भ राजासँग बढी जोडिएको थियो।

यसबेला २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भई २०६४ सालपछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा पनि प्रवेश गरिसकेको छ। २०६४ सालयता राजतन्त्र/राजसंस्था नहुनुको अन्तरबाहेक राष्ट्रिय मेलमिलापको सन्दर्भ विभिन्न राष्ट्रिय राजनीतिक घटनाक्रमहरूमा जोडिएर आइ नै रहेको महसुस हुन्छ।

 संविधानसभाको पहिलो निर्वाचनपछि संविधान निर्माण गर्न राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति, सहकार्य र मेलमिलाप हुनुपर्ने कुरालाई मुलुककै अभिभावकका हैसियतमा रहेका गिरिजाप्रसाद कोइरालाले बारम्बर स्मरण गराइरहे।

गिरिजाप्रसाद कोइरालाले बिपी विचारकै सान्दर्भिकतालाई सम्मान गरेका थिए। यसबेला पनि राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्त्व बढिरहेकै छ।

 ‘मेलमिलाप’ले राजनीतिक उद्विकासको क्रममा ‘राष्ट्रिय मेलमिलाप’ संज्ञानित विचारको स्वरूप प्राप्त गरेको हो भन्न सकिन्छ।

नेपालको लोकतान्त्रिक गणतन्त्रोत्तर राष्ट्रिय राजनीतिको सुदृढता र संवर्धनका लागि, राष्ट्रियताको चिरकालीन संशयरहितता र संरक्षणका लागि अनि नेपाली–नेपालीबिच साझा नेपालीत्वको द्वेषरहित, आत्मीयताको सुदृढीकरणका लागि राष्ट्रिय मेलमिलापको सान्दर्भिकतामा कमी आएको छैन। बरु यसको सान्दर्भिकता बढेर गएको छ।

वर्तमानको सापेक्षतामा ‘राष्ट्रिय मेलमिलाप’को अर्को आयाम मुलुकको आर्थिक विकासको आयाम हो। बिपीले राजनीतिक तवरमा राष्ट्रिय मेलमिलापका माध्यमबाट लोकतन्त्रको स्थापना भएपछि आर्थिक सामाजिक उन्नतिका लागि साझा मार्गचित्र बनाउन ढोका खुल्छ भनेका छन्।

आज लोकतन्त्र छ। राष्ट्रिय मेलमिलापका लागि त्यतिबेला तगाराहरू थिए, आज छैनन्। मुलुकको दीर्घकालीन उन्नति र समृद्धिका निम्ति सबै जिम्मेवार राजनीतिक पार्टीहरू मिलेर स्पष्ट मार्गचित्र कोर्न सक्छन्। त्यसतर्फको प्रयास भएको पाइँदैन।

 प्रत्येक पार्टीले आआफ्नै मात्र स्वार्थको राजनीति गरेका देखिन्छन्। लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने संकीर्ण र अल्पदृष्टि प्रवाहित भइरहेको मात्र अनुभव हुन्छ। चुनाव आउन चार वर्ष बाँकी छ, कोही अर्को चुनावको रणनीति बनाउँदैछन्।

मुलुक निर्माणको दिगो रणनीति ‘राष्ट्रिय मेलमिलाप’बाटै सम्भव हुने स्पष्ट छ। राष्ट्रलाई केन्द्रमा राखेर ‘१५ वर्षमा सम्पूर्ण नेपाली जनताको परिवारलाई आफ्नो परिवारको हैसियतमा म पुर्‍याउन सक्छु’ (बिपी) भन्ने उद्घोष कसैले गर्न सक्छ? कसैले सक्छ भने उसले बिपीको सच्चा अनुयायी राजनेताको सम्मान पाउँछ। कसैले हिम्मत देखाउँछ भने उसले बिपी विचारको ‘राष्ट्रिय मेलमिलाप’लाई पछ्याउनै पर्छ।

२०३३ पुस १६ भन्दा पहिलाको देशको राष्ट्रिय राजनीतिको समग्र मूल्यांकन गर्दै बिपीले अपिलमा उल्लेख गरेका राष्ट्रियता केन्द्रित तत्कालीन कटु यथार्थ आज पनि उही स्थितिमा रहिरहेकोतर्फ मुलुकको वर्तमान राजनीतिक नेतृत्व वर्ग सचेत नरहेको बुझ्न सकिन्छ।

बिपीले अपिलमा भनेका थिए, ‘आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुनेछ।’ (देशवासीका नाममा अपिल) 

बिपीको यो सन्देशको सान्दर्भिकता मुलुकमा अझै बढेर गएको छ। बिपी विचारले कुनै एउटा दल विशेषलाई मात्र मार्गदर्शन गर्ने नभई यसले सबैलाई राष्ट्रिय एकताका लागि निर्देश गर्छ। राष्ट्रिय मेलमिलापको सापेक्षिकताका सन्दर्भमा राष्ट्रिय स्तरमा नै सर्वपक्षीय चिन्तन भइरहनु वर्तमानको अपरिहार्य हो।

प्रकाशित: २१ पुस २०८० ०४:०६ शनिबार

पारिवारिक तह सामाजिकीकरण प्रक्रिया