विचार

असुरक्षित खाद्यान्न

विश्वविद्यालय क्याम्पसको क्यान्टिनमा टेबल सफा गर्न फेनोल भन्ने घातक रसायन प्रयोग हुने जानकारी हालै एक प्राध्यापकले यस पंङ्तिकारलाइ दिएका छन् । देशको सबैभन्दा उच्च प्राज्ञिक थलोमा समेत यसरी खुलमखुला भोजनालयमा विषादीको प्रयोग हुन्छ भने अन्यत्रको के कुरा गर्नु ? बजारभरि देखिने रंगीचंगी मिठाइमा मानव स्वास्थ्यका लागि हानिकारक अखाद्य रसायन (डाइ)को अत्याधिक प्रयोग गरिएको जगजाहेरै छ । यस्ता अखाद्य रसायन क्यान्सरलगायत विभिन्न रोगको कारक बनिरहे पनि सरकारी निकायले यसमाथि कडा नियन्त्रण गर्न सकेको छैन ।

नेपालले खाद्यान्न र तरकारी खेतीमा प्रयोग गर्न वार्षिक करिब ७० करोड रुपियाँको विषादी आयात गर्छ । र, प्रस्टै छ– ती विषादी खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरिरहेका छन् ।


आधुनिकताले पछ्याएको नेपाली समाजमा व्यक्तिको जीवनशैलीमात्र बदलिएको छैन, खानामा पनि व्यापक परिवर्तन आएको छ । आफ्नै घरबारीमा उब्जेको परम्परागत कृषिजन्य खानालाई प्रशोधित खानाले विस्थापित गरिरहेको छ । प्रशोधित खाद्यान्न वा बजारिया खानामा चिल्लोपन, सुगर र प्रिजरभेटिभ (खाद्यान्नलाई संरक्षण गर्न प्रयोग गरिने रसायन) को प्रयोग प्रचुरमात्रमा हुने गरेको छ । फलस्वरूप मधुमेह, मुटुरोग र क्यान्सरपीडितको संख्या पनि दिन÷प्रतिदिन बढ्दो छ सहरी क्षेत्रमा । तर उता ग्रामीण क्षेत्रको कथा÷व्यथा भने अर्कै छ । मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा हाल पनि करिब ३६ प्रतिशत बच्चा कुपोषणबाट ग्रसित छन् । जसका कारण उनीहरूको मानसिक र शारीरिक विकासमा गम्भीर आघात पुगेको देखिन्छ । र, कुपोषणका कारण उनीहरूमा रोग प्रतिरोधक क्षमता कम हुने भएकाले विभिन्नखाले संक्रमित रोग देखा पर्ने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वार्षिक करिब ७० हजार मानिसको मुत्यु खाद्यान्नमा प्रयोग गरिने रासायनिक पदार्थ वा विषादीका कारण हुने गरेको अनुमान छ । विश्वमा नै कृषि क्षेत्रमा विषादीको प्रयोगले महामारीकै रूप लिएको छ । नेपालले खाद्यान्न र तरकारी खेतीमा प्रयोग गर्न वार्षिक करिब ७० करोड रुपियाँको विषादी आयात गर्छ । र, प्रस्टै छ– ती विषादी खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरिरहेका छन् ।
 

खाद्यान्नमा विषादी
खाद्यान्नमा विषादी मिसिने विविध वैज्ञानिक कारण छन् । कुनै प्राकृतिक त कुनै अप्राकृतिक । प्राकृतिक किसिमले प्रोटिनजन्य खानामा पाइने ‘हिस्टामिन’ नामक एमिनोएसिडले फुड पोइजनिङ र एलर्जी हुन सक्छ । तेलमा तारेको तरकारीमा हिस्टामिनको लेभल बढी हुन्छ । त्यसैगरी आगोमा पोलेको मासुमा पनि पानीमा उसिनेकोमा भन्दा बढी मात्रामा ‘हिस्टामिन’ भेटिएको छ । युरोपनियन कमिसनले माछाजन्य खाद्य पदार्थमा हिस्टामिनको सीमा तोकेको छ किनकि यसको कारण मानिसको मृत्युसमेत हुन सक्छ । अन्तर्राष्ट्रियस्तरमा गरिएका विभिन्न अनुसन्धानअनुसार हिस्टामिन डिकाबिसिलेज भन्ने इन्जाइम फुड प्रोसेसिङको क्रममा प्रयोग गरेको खण्डमा हिस्टामिनको लेभल खानामा घटाउन सकिन्छ ।
प्रदूषित वातावरणमा भएको ‘मर्करी’ भन्ने तत्व नदी, ताल वा पोखरीमा पुगेपछि पानीमा भएको ब्याक्टेरियाले मर्करीलाई ‘मेथाएलमर्करी’ भन्ने पदार्थमा परिवर्तन गरिदिन्छ । र, त्यसलाई माछाले खाएपछि जीवभित्र मर्करी सर्छ । अनि मानिसले त्यस्ता माछा खाएपछि मर्करी अब मानव शरीरमा भित्रन्छ । स्मरण रहोस्, मर्करीका कारण विभिन्न स्वास्थ्य समस्या हुन्छ, जस्तै– मुटु, मस्तिष्क, फोक्सो, किड्नी रोग आदि । र, कतिपय अवस्थामा मुत्युसमेत हुन सक्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार शून्य दशमलव पाँच पिपिएम मेथाएल मर्करी भएको खाद्यान्नलाई विषाक्त मानिन्छ । इन्टरनेसनल जर्नल अफ इन्भार्मेन्टल रिसर्च एन्ड पब्लिक हेल्थमा सन् २०१४ मा प्रकाशित शोधका अनुसार पोखराको फेवातालमा मेथाएल मर्करी भएको माछा पाइएका छन् । र अन्य क्षेत्रमा यस्तो अनुसन्धान हुन सकेको छैन ।
प्राकृतिक क्रियामा गडबडी भएका कारण पनि खाद्यान्नमा विषादी फैलन्छ । जस्तै– सामान्य प्रजातिको ‘इस्टालोफोकस अरियस’ नामक ब्याक्टेरिया जब स्ट्रेस (तनाव) अवस्थामा पुग्छ त्यसले ‘इन्टेरोटक्सिन’ भन्ने विषादी पैदा गर्छ र खाद्य पदार्थलाई विषाक्त बनाउँछ । यस इन्टेरोटक्सिनका कारण रिंगटा लाग्ने, वान्ता हुने, पेट दुख्ने आदि हुन्छ । अध्ययनका अनुसार साना बच्चामा यसको असर थप जोखिम पूर्ण भेटिएको छ । त्यसैगरी ‘क्लोस्ट्रिडियम बोटुलिनम’ नामक अर्को ब्याक्टेरियाले पनि विषालु टक्सिन पैदा गर्छ जसले मस्तिष्कमा असर गर्छ । र, यस्ता क्लोस्ट्रिडियम प्रजातिका ब्याक्टेरिया हावा नछिर्ने भाडामा राखेको खाद्यान्नमा हुर्कन्छन् । त्यसैले लामो समय हावा नछिर्ने किसिमले बन्द गरेर राखेको खाद्य वस्तु खानु हुँदैन । त्यसैगरी फुड पोइजनिङ गर्ने अर्को ब्याक्टेरीया हो ‘क्लोस्ट्रिडियम परफ्रिन्जेन्स ।’ यो ब्याक्टेरिया राम्रोसँग नपकाएको मासु अथवा एकचोटि पकाएर २४ घण्टाभन्दा बढी फ्रिजमा राखेर फेरि राम्रोसँग नपकाएको मासुजन्य परिकारमा भेटिएको छ ।
अप्राकृतिक वा मानव सृर्जित कारणले पनि खाद्यान्नमा विषादीको अवशेष भेटिएका छन् । उदाहरणका लागि मासु र दूधमा एन्टिबायोटिक्सको अवशेष भेटिएको विषय धेरैपटक छापाहरूमा चर्चा भएकै छ । नेपालमा हाल करिब ९१ अर्बको दूधको कारोबार हुने अनुमान छ । बजारको माग थेग्न विदेशबाट पनि नेपालमा दूध आयात हुने गरेको छ । भारतलगायतका देशमा अप्राकृतिक (सेन्थेटिक) दूध बजारमा भेटिएको समाचार आएको छ । तर नेपालमा यस विषयमा चासो दिएर सरकारी निकायले बजारमा अनुसन्धान गरेको सुनिएको छैन । त्यसैगरी दूध फाट्ने समस्या न्युनीकरणका लागि केही स्थानीय डेरीले सोडा (डिटरजेन्ट) हाल्ने गरेको पनि सुनिएको छ । दूधलाई पाच्चराइजेसन गरेर बजारमा बिक्री वितरण गर्नुपर्ने हो तर छिटो नाफा कमाउन व्यापारीले सोडा प्रयोग गर्ने समस्या बढ्दो देखिन्छ ।
नेपालमा ११ वटा विभिन्न सेन्थेटिक डाइ (खाद्यान्न रंग्याउने रसायन) खाद्य वस्तुमा प्रयोग गर्न कानुनी मान्यता छ तर तिनीहरूको परिणाम ऐन वा नियमावलीमा उल्लेख छैन । भारतमा ८ वटामात्र त्यस्ता डाइ प्रयोग गर्न पाइन्छ । भारतमा समेत प्रतिबन्धित अमरेन्थ (रातो रंग), फास्टरेड इ (रातो रंग), उलग्रिन बिएस (हरियो रंग) नेपालमा खाद्यवस्तुमा प्रयोग गरिन्छ । त्यस्ता डाइको मात्रा खाद्यान्नमा बढी भएमा त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुराउँछ र क्यान्सर हुन सक्छ । तर नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस विषयलाई गम्भीररूपमा लिएर बजारको निगरानी गरेको पाइँदैन ।
खाना पकाउने तरिका नबुझेर पनि त्यसबाट हानिकारक विषालु पदार्थ पैदा हुन्छ । जस्तै स्टार्च बढी भएको खाद्य वस्तु (कार्बोहाइड्रेट) लाई १२० डिग्रीभन्दा बढीमा पकाएमा त्यसबाट एक्रिलामाइड भन्ने रासायनिक पदार्थ पैदा हुन सक्छ । र, यसले पनि क्यान्सर गराउन सक्छ । वैज्ञानिक अनुसन्धानका अनुसार आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च सुगरमा परिवर्तन हुन्छ जब यसलाई पकाइन्छ । यसबाट पनि विषालु एक्रिलामाइड पैदा हुन सक्छ ।
हाम्रा होटेल र रेस्टुरेन्टमा एकचोटि पकाएको तेल पुन प्रयोग गर्ने चलन व्यापक छ । यसरी तेल पुनः प्रयोग गर्दा यसमा ट्रान्सफ्याट भन्ने रसायनको मात्रा बढ्छ । जसले शरीरमा ट्राइक्रिसराइड (रगतमा चिल्लो पदार्थ) को मात्रा बढाउँछ । फलस्वरूप मुटुसम्बन्धी रोग देखिने सम्भावना रहन्छ ।
वैज्ञानिक अन्य तथ्य पनि छन् जसका कारण हाम्रो खाना स्वस्थ नहुन सक्छ । रोगी जीवजन्तुको मासु स्वस्थ नहुने त सबैलाई थाहा नै छ । संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संस्था (एफएओ) का अनुसार तनावमा रहेको जनावरको मासुमा ग्लाइकोजेन भन्ने रसायनको मात्रा घट्छ । जसको कारण ग्लाइकोजन परिवर्तन भएर ल्याक्टोज बन्ने दर पनि घट्छ । ल्याक्टोजको मात्रा कम भएको मासुलाई स्वस्थ मानिँदैन । त्यसैगरी काठमाडौँमै पनि मासुमा स्वास्थ्यका लागि घातक रसायन सोडियम नाइट्रेट वा नाइट्राइड प्रयोग हुने समाचार आउने गरेको छ । तर यी जनसरोकारका विषयमा सरकारी अधिकारीले चासो दिएको पाइँदैन ।
 

नीतिगत कमजोरी
सुन्दा पनि अच्चम लाग्छ, मानव स्वास्थ्यसँग जोडिएको खाद्य ऐन २०४९ संशोधन हुन नसकेको २५ वर्ष भयो । खाद्य नियमावली २०६४ संशोधन हुन नसकेको एक दशक भयो । ऐनको दफा ५ अनुसार ‘न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक एक हजारदेखि दुई हजार रुपियाँसम्म जरिवाना हुन्छ । त्यसैगरी सडक फुटपाथका पसलेले अखाद्य वस्तुको कारोबार गरेमा उसलाई पहिलो पटक पचासदेखि दुई सय रुपियाँसम्म जरिवाना हुन्छ । यसबाट प्रस्ट बुझिन्छ, यस्तो अत्यन्त कमजोर कानुनी आधारमा खाद्य गुणस्तर कसरी सम्भव छ देशमा ?
खाद्य ऐनको दफा ११ अनुसार त्यस्ता मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन् र खाद्य नियमावलीको दफा १५ अनुसार अभियुक्तले खाद्य पदार्थको पुनःविश्लेषण परीक्षण गराइपाउँ भनी निवेदन दिएमा मुद्दा हेर्ने अधिकारीले सोको पुनः परीक्षणका लागि आदेश दिन सक्ने रहेछन् । कानुनमा भएको यही कमजोर पक्ष (छिद्र) का कारण व्यापारीहरू सजिलै उम्कने गरेको सुनियो । त्यस्तै कमजोर कानुनी जगका कारण हालै दुगड ग्रुप संलग्न फ्रुटीको २३ करोड बिगोको मुद्दामा सबै अभियुक्त धरौटीमा छुटेको समाचार आएको छ ।
हुन त नेपालमा जेनेटिकल्ली मोडिफाइड ओर्गानिज्म (जिएमओ) उत्पादन र बिक्री वितरण गर्न पाइँदैन तर भारतसँगको खुला सिमानाका कारण विदेशबाट आयातीत कतिपय खाद्य वस्तु ‘जिएमओ फुड’ हुन सक्ने अनुमान गरिएको छ । त्यससम्बन्धी परीक्षण गर्न खाद्य विभागमा हाल साधन स्रोत र जनशक्ति छैन । जुन कुरा स्वयम् प्रवक्ता पूर्णचन्द्र वस्ती स्वीकार छन् । उनी थप भन्छन्– ‘पार्टी प्यालेसमा हुने भोज, पानीको गुणस्तर, सडकमा खुला बेचिने खानाको नियमनका लागि विभागले हालसम्म ‘कार्यविधि र निर्देशिका’ बनाउन सकेको छैन ।’ यसवाट प्रस्टिन्छ कि खाद्य ऐन संशोधन गरेर देशमा गुणस्तरीय खाद्यान्नको सुनिश्चितता गर्न ढिला भइसकेको छ ।

प्रकाशित: २४ पुस २०७४ ०३:५३ सोमबार

असुरक्षित खाद्यान्न