विचार

जाडोबाट जोगाऔं

पूर्वी तराईमा शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताभित्रै नौ जनाको ज्यान गएको जुन तथ्य बाहिर आएको छ, त्यसले सर्वसाधारणमा आधारभूत स्तरको न्यूनतम तहमा समेत जीवन जिउने अवस्था नभएको देखाएको छ । चिसोले कठ्यांग्रिएर मृत्यु भए पनि एक हिसाबले भन्ने हो भने यो विपन्नताकै परिणाम हो । गरिबीका कारण सर्वसाधारणले न्यूनतम स्तरको समेत बसोबासको प्रबन्ध गर्न नसकेकै कारण उनीहरु चिसोले मृत्युवरण गर्न बाध्य छन् ।

पछिल्लो समय चिसोले कठ्यांग्रिएर ज्यान गुमाउनेमा सप्तरीका ६ जना र रौतहटका तीन जना छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । हरेक वर्ष चिसोका कारण तराई–मधेसलगायत देशका विभिन्न क्षेत्रमा सर्वसाधारणको मृत्यु हुँदासमेत राज्य त्यसप्रति बेखबरजस्तो देखिनु आफैंमा विडम्बनापूर्ण अवस्था हो । मौसमअनुसारका प्रकृतिक प्रतिकूलता मानवजीवनमा देखिन्छन्, तर तिनलाई सामना गर्ने क्षमताको विकास भने राज्य तहबाटै हुनुपर्छ । जाडो प्रत्येक वर्ष आए पनि त्यसले जनजीवनमा सिर्जना गर्ने कष्टकर अवस्था पुनरावृत्ति भइरहन्छ । जाडोबाट जोगाउन निर्माण गर्नुपर्ने आवास, तापक्रम र अन्य आवश्यक व्यवस्थाको जोहो गर्न राज्यले बाटो देखाउनुपर्छ । समस्या आउँछन्, दुईचार दिन त्यसमा छलफल ग¥यो र बिस्र्यो गरेर मात्र हुँदैन ।

विशेष गरी गरिब बस्तीमा न बस्नका लागि न्यानो घर नै हुन्छ, न लगाउनका लागि पर्याप्त कपडा । त्यति मात्र होइन, पर्याप्त खाद्यान्नसमेत हुँदैन । कतिपय आगो तापेर नै चिसो छल्ने गर्छन् भने कतिपयले  काठदाउरा अभावमा आगो ताप्नसमेत पाउँदैनन् । गरिब बस्तीको यस्तो दर्दनाक परिस्थितिप्रति सरकार जानकार नभएको होइन । तर, चिसो बढ्नुअगावै त्यस्तो बस्तीका बासिन्दाका लागि सरकारका तर्फबाट खासै ध्यान जाने गरेको देखिँदैन । चिसोले सर्वसाधारणको मृत्यु हुन थालेपछि न्यानो कपडा बाँड्ने भनेर केही कार्यक्रम सञ्चालन गरे पनि त्यतिखेरसम्म धेरै ढिला भइसकेको हुन्छ ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने पनि कम पनि निकै कम भएको छ । चिसो बढेपछि व्यवसाय पनि प्रभावित भएको छ । मधेसमा शीतलहर बर्सेनि आउने गरेको छ । त्यसको कारण प्रदूषण पनि एक हो । जाडोमा असाध्यै जाडो र गर्मीमा असाध्यै गर्मी हुने मुलुक संसारभरि छन् । तर, हामीकहाँ मौसमी प्रतिकूलता धेरै नहुँदा पनि सामान्य अवस्थालाई पनि सुधार गरेको देखिएन ।

शीतलहरले जनजीवन प्रभावित भएकाले रौतहटका विद्यालयमा बिदा दिइएको छ । बालबालिकाका लागि मौसम प्रतिकूल देखिएकाले जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीमा पनि शीतलहरसँगै बढेको चिसोले बालबालिकामा असर पर्ने भन्दै जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै ४ सय १२ वटा सामुदायिक विद्यालय केही दिनका लागि बन्द गराएको छ । एक हिसाबले भन्ने हो भने शीतलहरका कारण जिल्लाको जनजीवन अस्तव्यस्त छ । चिसोबाट खासगरी विपन्न परिवार जोखिममा परेका छन् । चिसोका कारण सर्वसाधारण बिरामी पर्न थालेका छन् ।

अत्यधिक चिसोका कारण हाइपोथर्मियाको सिकार हुने गर्छन् । हाइपोथर्मियाका कारण मुटु तथा नसासम्बन्धी समस्या उत्पन्न भई मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा सरकारले तत्कालका लागि चिसोबाट प्रभावित र प्रभावित हुन सक्ने विपन्न परिवारलाई न्याना कपडा र आगो बाल्न दाउरा दिन जरुरी छ भने त्यसका साथै खाद्यान्न वितरण गर्न पनि उत्तिकै आवश्यक छ । तर, दीर्घकालीन हिसाबले भने राज्यले यो अवस्था आउनै नदिने वातावरण मिलाउन आवश्यक छ । त्यसका लागि विपन्न वर्ग लक्षित शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका साथै जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

आजको युगमा पनि जाडो र गर्मीबाट नागरिकको मृत्यु हुनु भनेको गरिबीबाहेक अरु केहीको लक्षण होइन । सबै नागरिकलाई वातानुकूलित अवस्थामा राख्ने गरी मुलुकलाई समृद्धिको बाटोमा हिँडाउने तत्परता सरकारमा हुनुपर्छ । एक मौसममा न्याना कपडा बाँडेर एक माघ मात्र जान्छ । सधैंका लागि जाडो र गर्मीबाट जोगिने व्यवस्था गर्न आजको विज्ञान–प्रविधिको युगमा असम्भव छ र ?

 

प्रकाशित: २३ पुस २०७४ ०३:०० आइतबार

जाडोबाट जोगाऔं