विचार

नेकपा नेपाली कांग्रेस (माओवादी) !

मोही माग्ने ढुुंग्रो लुकाउने!

तिथिमितिले दसैँसुरु भयो तर जनताको घरदैलोमा पुग्न सकेको छैन। दशा पो तम्तयार भएर आँगनमा चियाउदै गरेको देखिन्छ। ‘आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ’ भन्ने लोकोक्तिलाई समेत माथ गर्ने अवस्थामा यसपालिका दसैँको दिनगन्तीसुरु भयो तर दसैँको माहौलघर–घरमा आएन। त्यसैले दसैँ तिथिमितिमा सीमित हुन लागेको प्रतीत हुँदैछ।

अर्थशास्त्री र ब्यापारीहरू भन्छन्, न बजारमा पैसा छ, न त चाडपर्वले कुनै रौनक नै सिर्जना गरेको छ बरु महँगी देशैभर चुलिएको छ। पैसाको क्रयशक्ति इतिहासमै कमजोर बनेको छ। जनताको क्रयशक्ति पिँधमा पुगेको छ। क्रयशक्ति नहुनु भनेको आम्दानी नहुनु हो। स्वदेशी निर्यात शून्यको बराबरमा झरेको छ भने विदेशी आयातमा पूरै मुलुक चुर्लुम्म बनिरहेछ।

हमासको हमला

डेढ वर्षदेखिको रसिया–युक्रेन युद्धले सिर्जना गरेको विश्व अर्थतन्त्र अस्थिरतातर्फ गत गएको साता प्यालेस्टिनीको सशस्त्र हमास समूहले इजरायलमाथि गरेको सांघातिक आक्रमणले पूरै पश्चिम एशिया अर्को युद्धको भुंग्रोमा जाकिएको छ। अफ्रिका युद्धको संघारमा छ। युद्धोन्मादसर्वत्र उग्ररूपमा प्रदर्शित हुँदैछ। युक्रेन त प्रायः ध्वस्त भइसक्यो। पश्चिम एशियामा पनि हजारौँ हजार निर्दोष नागरिक बालबालिका, महिला र वृद्धहरूले दैनिक मारिनुपर्ने दिन सुरु भयो। सोही आक्रमणमा परेर दशजना नेपाली युवा मारिए। अर्का एकजनाको पत्तो छैन।

यसले इराकमा मुसलमान उग्रपन्थीबाट टाउको छिनालेर मारिएका १२ नेपाली युवाहरूको विभत्स हत्याको भदौ १६ को घाउलाई कोट्याइदिएको छ। प्यालेस्टिनी हमास–इजरायल लडाइँले वैदेशिक रोजगारीमा गएका नेपालीहरू लाश बनेर फर्किरहेको चोटमाथि महाचोट पुर्‍याउँदैछ।

पश्चिम एशिया र गल्फ क्षेत्रमा युद्धको डँढेलो जतिछिटो फैलिइरहेको छ त्यति नै मेचीदेखि महाकालीसम्मका नेपालीको मन मुटुमा  ढ्याँग्रो ठोकिरहेको छ किनभने रोजगारीको खोजमा विदेश चाहार्ने नेपाली युवामध्ये दुई तिहाइ त्यही क्षेत्रमा कार्यरत छन्।

भारतीय धमास

हमासको हमला मात्र हाम्रो दुःखको कारक होइन। सुदूरपश्चिमको नेपाली भूमिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनधिकृत धमासले दसैँको मुखमा अर्को चिन्ता थपेको छ। तीर्थ गर्ने निहुँमा पार्वती कुण्डमा स्नान मात्र गरेनन्, बिनाअनुमति नेपालको गुन्जी गाउँ पसेर ढलिमली गरेका छन्।

यसबाट छिमेकीको विस्तारवादी रूप पुनःप्रकट भएको छ। नेपाली भूमिलाई आफ्नो भनेर दावा गर्ने दक्षिणी छिमेकीको हैकमवादी प्रवृत्ति मोदीको अनधिकृत नेपाल प्रवेशपछि छताछुल्ल भएको छ।

छिमेकी भारतको उक्त कदमले नेपालको सार्वभौमसत्ता, सम्प्रभूता र क्षेत्रीय अखण्डतामाथि धावा बोलेको छ। तर नेपाल सरकार र हाम्रो परराष्ट्र मन्त्रालय भारतको यस्तो जबर्जस्त र ठाडो हस्तक्षेपप्रति मौन रहनुले नेपाली देशभक्तहरूको क्रोधमा घ्यु थपेको छ।

हमासको हमला र मोदीको धमास चाडपर्वको मुखमा नेपालीका निम्ति दुःखद, त्रासद र धम्कीपूर्ण मात्र होइनन्, यी घटना मुलुकमा थप द्वन्द्व निम्त्याउने र दक्षिण एशियामा भयाबह दुर्घटना निम्त्याउने कालो बादल बन्न सक्ने खतराप्रति भूराजनीतिज्ञ तथा कूटनीतिक विषयका बुद्धिजीवीहरू शंका गरिरहेका छन्। यी दुवै भर्त्सनायोग्य छन्।

 यस्ता गतिविधिले यो क्षेत्रलाई विश्वशक्तिको क्रिडास्थल त बनाउने नै छ, साथै यसले उदाउँदा दुई शक्तिहरू उत्तरी चीन र दक्षिणी भारतको तुजुक प्रदर्शन गर्ने क्रिडास्थल नेपाललाई बनाउने बहाना बन्नसक्नेतर्फ विज्ञहरूको औल्याइ मननीय मान्नुपर्छ।

राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, ‘हाम्रो सरकार यतिखेर निरीह छ, हस्तक्षेपकारीकै बलमा बनेकाले पनि हुनसक्छ।’ कतै चामल निम्ति भारतसँग लम्पसार परेर यो लेनदेन भएको त होइन? ‘तैँ चूप मै चूप’को अवस्थाले यतैतर्फ संकेत गर्छ। प्रतिपक्षको मौनता पनि आश्चर्यलाग्दो देखिँदैछ। किन प्रतिपक्ष दबाबमूलक बनिरहेको छैन ? भीम रावलको स्वरले मात्र विरोधको आवाज पुग्छ?

नेकपा नेपाली कांग्रेस (माओवादी)

नेकपा माओवादीलाई बुइ चढाएर सत्तासीन भरियाझैँ बनेको कांग्रेसलाई कोसी प्रदेश सरकार गठनमा अर्को ठूलो धक्का लागेको छ।

कांग्रेसका नौजना प्रदेशसभा सदस्यहरूप्रमुख प्रतिपक्षी एमालेसँग मिलेर सरकार बनाउने सहमतिमा पुगेपछि कांग्रेसमा हडकम्प मच्चिन पुग्यो। कांग्रेस नेतृत्वको हैकमवादी प्रवृत्तिबाट आक्रान्त शेखर कोइरालापक्षले कोसी प्रदेशमा सबैभन्दा धेरै प्रदेश सभासद् भएको एमालेसँग मिलेर सरकार बनाउन आफ्ना सभासद् केदार कार्कीलाई अगाडि बढाएपछि कांग्रेसमात्र होइन, सातदलीय सत्ता गठबन्धनमै संकट उत्पन्न हुनपुग्यो।

एमालेले पनि चतुरतापूर्वक कांग्रेसको कोइरालासमूहसँग मिलेर कोसी प्रदेशमा सरकार बनाउन सफल भएपछि सात दलीय गठबन्धनको सरकार ढलमलिन पुग्यो। आगामी दिनमा यसैगरी राजनीतिक विकासक्रम अगाडि बढिरह्यो र अन्य प्रदेशमा पनि यही कुरा दोहोरियो भने केन्द्रीय सरकार पनि नारायणहरि हुने अवस्था देखियो। गठबन्धनका एकपछि अर्का प्रदेश सरकार गल्र्याम्गुर्लुम् हुनसक्ने राजनीतिक घटनाक्रम अकस्मात विकास भएको छ।

‘लहरो तान्दा पहरो गर्जन सक्ने’ शंकाले कांग्रेस सभापति शेरबहादुर देउवाले उनका प्रतिस्पर्धी डा. शेखर कोइरालासँग कुराकानी गर्नु र वक्तव्य प्रकाशित गर्नु अन्यथा होइन। तर कोसी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनिसकेपछि हतारहतार निकालिएको चिर्कटो विज्ञप्तिले कांग्रेस उदांगिएको मात्र होइन, प्रश्न उब्जिएको छ, के उनी कांग्रेसका  ‘डि–फ्याक्टो’ सभापति हुन्? के साँच्चै कांग्रेसका वास्तविक सभापति प्रचण्ड हुन् र शेरबहादुर देउवा ‘डि–जुरे’ अर्थात देखाउने सभापति मात्र हुन्? राजनीतिक कूटनीतिमा ‘डि–फ्याक्टो र डि–जुरेको विशेष महत्व हुन्छ। यसले वास्तविक शक्ति र देखाउने शक्तिलाई सर्लक्कै जनाउँछ।

चिर्कटोको अर्थ

चिर्कटो विज्ञप्तिको यतिखेर किन पनि विशेष अर्थ छ भने चिर्कटोले कांग्रेस झगडामा माओवादी अध्यक्ष प्रचण्डको जबर्जस्त प्रवेशलाई प्रमाणित गर्छ। कांग्रेसको आन्तरिक मामिलामा प्रचण्डको हस्ताक्षर गर्ने अवस्था कसरी आयो? प्रचण्ड कांग्रेसको डिफ्याक्टो सभापति नभएका भए उनले यस्तो हैसियत कसरी पाउन सक्थे?

देउवा कांग्रेसका सभापति हुन् र शेखर उनका प्रतिस्पर्धी हुन्। कांग्रेसको विवादमा गठबन्धन कहाँबाट आउँछ? के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे? कुन साइनोले कांग्रेसको बैठकमा उनी सहभागी हुन र माइन्यूटमा हस्ताक्षर गर्न मिल्छ? त्यसैले अब नेपाली कांग्रेस, कांग्रेस रहेन यो त नेकपा नेपाली कांग्रेस (माओवादी) मा रूपान्तरण भइसकेको छ। कांग्रेस नेकपा (माओवादी) नहुँदो हो त प्रथम दस्तखत गर्ने हैसियतमा कामरेड प्रचण्ड र तपसिलमा शेरबहादुर देउवा रहने थिएनन्।

नेकपा नेपाली कांग्रेस (माओवादी) निम्छरो नहुँदो हो त कोसी प्रदेशबाट पार्टीको निर्णय विपरित नौजना सभासद्ले पार्टी नेतृत्वसँग विद्रोह गरेर एमालेसँग हस्ताक्षर गर्ने अभियानमा संलग्न हुने नै थिएनन्।

यसबाट गजब सवाल के पनि उत्पन्न भएको छ भने सत्तासीन कांग्रेसका सभासद्हरूले प्रमुख प्रतिपक्षका सांसदहरूसँग हस्ताक्षर गरेर नयाँ सरकार बनाएपछि अब कोसी प्रदेशको प्रतिपक्षी बेन्चमा को बस्छ होला? कोसी प्रदेशका सभासद् फुटेर विपक्षी दलतिर लागेपछि कांग्रेस फुटेको मान्ने कि नमान्ने? प्रचण्ड र देउवा हस्ताक्षरित चिर्कटोले कांग्रेस ‘ब्रेक’ लाई रोक्नसक्छ? यसले अरू पनि धेरै सवाल उत्पन्न  गराएको छ।

प्रकाशित: २ कार्तिक २०८० ००:१२ बिहीबार

मोही माग्ने ढुुंग्रो लुकाउने ! नेकपा नेपाली कांग्रेस (माओवादी) ! चिर्कटोको अर्थ