विचार

भित्र गुटैगुट, बाहिर तालमेल

राजनीतिक दलहरू अहिले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको टुंगो लगाउने कठिन काममा छन् । सबैजसो पार्टीका शीर्ष नेताहरू चुनाव लड्न चाह्ने आकांक्षीहरूको चाहना, दबाब आग्रहको पेचिलो परिस्थितिमा रहेको देखिन्छ । अहिले खास गरेर तीन खालको राजनीतिक समीकरण सतहमा छ र चुनावको मिति नजिकिँदै जाँदा ती गठबन्धनहरूको व्यावहारिक रूप प्रकट हुनेछ । कांग्रेस, राप्रपाहरूको एउटा गठबन्धन टिकट भागबन्डाको तहमा पुगेको छ, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएको अवस्था छ ।

काठमाडौँ महानगरपालिकालाई प्रकाशमानले आफ्नो बिर्ता नठानेका भए धेरै कांग्रेसीले सूर्यमा मतदान गर्देनथे । जनकपुर उपमहानगरपालिकालाई विमलेन्द्रले आफ्नो जमिनदारी नठानेका भए त्यहाँ राजपाले सायद झन्डा गाड्ने थिएन । बिपी र जिपीका छोरा–छोरीहरूले आफूलाई युवराज– युवराज्ञीजस्तै ठानेर विरासतप्राप्त ठान्ने मनोवृत्ति अन्त्य हुन सके कांग्रेस साँच्चिकै कांग्रेस हुने थियो ।

उता वाम गठबन्धनका प्रमुख दल एमाले र माओवादी पनि भागबन्डाकै हिसाबकिताबमा व्यस्त छन् यतिखेर । बहुप्रचारित वाम गठबन्धनबाट बाबुराम भट्टराई बाहिरिएका छन् । स्थानीय तह चुनावमा नराम्रो पराजय भोगेको बाबुरामको नयाँ शक्तिको आँकलन गर्दे उनलाई खुम्च्याउन खोजिएको हुनसक्छ, एमाले र माओवादी केन्द्रले । राजनीति अंकगणितजस्तो सोझो हुँदैन । बाबुरामको पार्टीले स्थानीय चुनावमा पाएको मतको आधारमा उसको मूल्यांकन गर्न । बाबुराम आफैँमा एउटा गहन राजनीतिक नाम हो, माओवादी सशस्त्र ‘जनयुद्ध’लाई अवतरण गराउने सूत्रधार ।
बाबुरामलाई उनले भनेअनुसार टिकट नदिनुको अर्थ लगाउन सक्छन्, ओली र पुष्पकमलहरूले । तर वाम गठबन्धनले आकार लिन नपाउँदै भएको यो विभाजनको घाउँ पनि गहिरो लाग्ने हुनसक्छ । खासमा वाम एकीकरणको हौवा फिजाएर गर्न खोजिएको तालमेल जहाँ ६०–४० को भागबन्डा छ त्यो आफैँ परीक्षामा छ । अहिले टिकटका लागि भइरहेका खेलहरूको पृष्ठभूमिमा भोलिको सत्ता समीकरण कसरी अगाडि बढ्ने हो ? अल्पकालीन सोच र चिन्तनको परिणाम प्रत्युत्पादक बन्नसक्छ ।
मधेसको राजनीतिलाई केन्द्रमा राख्ने राजमो र मधेसबाट पहाड हिमाल उक्लेर संघीय समाजवादी फोरमको आवरणमा रहेको दल पनि तालमेलको अभ्यासमा छन् । मधेस आन्दोलनका क्रममा एकै मोर्चामा रहेर पनि फरक मत र मान्यतासाथ बेला बेला राय बजाउने जुझारु वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादव र कांग्रेसको शिक्षादीक्षाबाट प्रशिक्षित राजपाका शीर्ष नेता महन्थ ठाकुरबीचको एकता आफैँमा स्वाभाविक लाग्दैन । चुनावमा आफ्नो प्रभावकारी उपस्थितिमा लागि र भोलिको सत्ताका लागि गरिएका यी तीनखाले गठबन्धनलाई जनताले कसरी र कुन रूपमा लिने हुन् त्यसको परख आसन्न निर्वाचनले गर्नेछ ।
त्यसो त कांग्रेस र कमल थापाहरू, माओवादी र एमाले अनि एमालेको चुनाव चिह्नमा चुनाव लड्ने हृदयेशहरूका फरक फरक खाले राजनीतिक अभ्यासले उनीहरूको एकता प्रर्दशन गरिरहेको छैन । सत्ताका लागि राजनीति गर्नेहरू जे पनि गर्नसक्छन् भन्ने देखाएको छ  ।  आठ दशक लामो राजनीतिक यात्रामा राजनीतिको केन्द्रमा रहँदै आएको र लोकतन्त्रका नाममा भएका पटक पटकका राजनीतिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेस एकाएक उदाएको वामपन्थी गठबन्धनको दबाबमा परेको हो । त्यसैले ऊ राप्रपाजस्ता दक्षिणपन्थी र राजतन्त्रवादीसँग जोड गर्दैछ ।
नेपालको सामाजिक, राजनीतिक परिवेशमा कम्युनिस्टहरू आपसमा विभाजित भएकाले चुनावहरूमा कांग्रेसले राजनीतिक बाजी मार्दै आएको हो भन्ने मान्यताले घर गरेको छ । राजनीतिक गणितहरूले पनि त्यस्तै सन्देश दिने गरेका छन् । राजनीतिक मान्यता र चुनावहरूको अंकगणितकै कारण कांग्रेसका जिम्मेवारहरूमा एक किसिमको दबाब परेको हो र त्यसकै भयले उनीहरूले  लोकतान्त्रिक गठबन्धनको असफल प्रयास गरे पनि । यादव र महन्थहरूको तालमेल चुनावका लागि मात्र हो, स्थानीय तहको निर्वाचन परिणामले झस्काएको स्थिति हो, क्षेत्रीय र प्रदेश राजनीतिमा आफूहरूलाई प्रभावकारी बनाउने ध्येय हो ।
वामपन्थी गठनबन्धनको अचानकको घोषणापछि राताराता बनेका गठबन्धनमा एक किसिमको बार्गेनिङ चलिरहेको छ । समानुपातिक र प्रत्यक्ष चुनावको मिश्रण रहेको र समावेशितामा आधारित चुनावी प्रणालीका कारण अहिलेको अवस्थामा कुनै पार्टीलाई एक्लै संसद्मा बहुमत ल्याउने स्थिति देखिँदैन । यस्तो अवस्थामा मन मिल्नेहरू, राजनीतिक दर्शन र मुलुकका कार्ययोजनामा न्यूनतम सहमति गर्नेहरूबीच चुनावी एकता हुनु स्वाभाविक हो । भोलि संसदीय चुनावपछिको गणितका आधारमा सत्ता समीकरण गर्नुभन्दा अहिल्यै गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा आउनु, आपसमा मिल्नु समयको आवश्यकता हुनसक्छ । तर त्यसका लागि सबै राजनीतिक दलमा आफ्नो हैसियत आँकलन गर्नसक्ने हुनुपर्छ, त्यसैअनुसार चुनावी क्षेत्र बाँडफाँड गरिनु व्यावहारिक हुन्छ । केन्द्रदेखि वडा तहसम्म राजनीतिक संरचना भएका पार्टीहरू र नेपाली समाज राजनीतिक रूपमा विभाजित रहेको अवस्थामा गठबन्धनका व्यावहारिक समस्या छन् ।
प्रमुख राजनीतिक दलहरूले सबैभन्दा पहिले आफ्नो सामथ्र्यको आंकलन गर्न सक्नुपथ्र्याे । स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल एमाले आफू बलियो हुनेभन्दा पनि कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको देखियो । अहिले वामपन्थी अनुनय विनयसाथ माओवादीसँग एमाले जसरी लहसिएको छ, त्यसले एमालेमा लागेका ठूलो संख्याका लोकतन्त्रवादीहरू जो कांग्रेसबाट अलग भएका वा भोट हाल्दैनथे उनीहरूको मोह भंग भएको हुनसक्छ । एमाले संगठनमा आधारित पार्टी भए पनि उससँग हार्डकोर कार्यकर्ताभन्दा ठूलो संख्या शुभेच्छुकहरूको थियो । त्यस्ता शुभेच्छुकहरूलाई वामपन्थी राप माओवादीसँगको एकताले झस्काएको हुनुपर्छ । वामपन्थीहरू भिन्नभिन्न भएकाले उनीहरूको भोट विभाजित भएको र कांग्रेसले चुनावहरूमा जितेको विश्लेषण ठीक होला । तर, वामपन्थी भनेको विभाजित हुनु हो, एकले अर्कालाई स्वीकार नगर्ने मनोवृत्ति हो भन्ने कुरा वाम एकीकरणका रचनाकारहरूले भुलेको हुनुपर्छ । आसन्न चुनावमा एमाले र माओवादीको भोट जोडेर कांग्रेस र अरूहरूको भोटभन्दा बढी हुने जो आँकलन छ, त्यस्तै हुँदैन । कारण, मतदाता धेरै चनाखा छन्, उनीहरूले सत्ता स्वार्थ बुझेका छन् । त्यसबाहेक लामो समय एउटा पार्टीको झन्डा बोकेर हिँडेका कार्यकर्ताहरू अर्को पार्टीको पक्षमा खुलेर लाग्दैनन् । यसको अर्थ प्रत्येक निर्वाचन क्षेत्रमा जिल्लाको नेतृत्व तहका नेतादेखि सक्रिय कार्यकर्ताहरू निष्क्रिय हुने, अन्तर्घात गर्ने खतरा छ ।
वामपन्थी तालमेलको रनाहामा कांग्रेसले आफ्नो सामथ्र्य अगाडि सार्न सक्नुपथ्र्याे । विभिन्न निर्वाचनहरूले ३४÷३५ प्रतिशत देखि ३८ प्रतिशतसम्म मतदाता कांग्रेसका छन् भन्ने देखाएको छ । यस अर्थमा उसले राप्रपाहरूको साथ समर्थनको खेती नगरेको भए उसका लागि सायद राम्रो हुन्थ्यो । आफ्ना शुभेच्छुकको मन जित्न सकेको अवस्थामा कांग्रेसले आफ्नो अगुवा रोल कायम गर्न सक्छ । त्यसका लागि उसले राप्रपाहरूसँग तालमेल गर्न आवश्यक छ । सबै पार्टीभित्रका गुट–उपगुटको राजनीतिबाट आजित छन् । त्यो भनेको कुनै पनि पार्टीमा आम कार्यकर्ताले विश्वास गरेको राजनीतिक नेतृत्व, सभापति वा अध्यक्षप्रति विश्वास छैन ।
कांग्रेसका सभापति शेरबहादुर देउवा हुन्, उनलाई कांग्रेसका महाधिवेशन प्रतिनिधिले छानेका हुन् । उनका प्रत्यासी रामचन्द्र पौडेल हुन् । त्यस्तै एमालेका केपी ओली अध्यक्ष हुन् र उनका प्रत्यासी माधवकुमार नेपाल हुन् । एकीकृत माओवादीको अवस्था भिन्न छ, बाबुराम अलग भएपछि पनि पुष्पकमल दाहालमाथि नारायणहरूको दबाब छँदै छ ।
कांग्रेसले चुनाव जित्न सबै शीर्ष नेताहरूमा कांग्रेसको पार्टी भाव हुनुप¥यो । शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस, कृष्णप्रसाद सिटौला कांग्रेस, प्रकाशमान कांग्रेस, विमलेन्द्र काँग्रेसका नाममा टिकटमा भागबन्डा गरेपछि त्यसको मार सिंगो कांग्रेसमा पर्ने निश्चित छ । सबै गुटहरू कांग्रेस हुन सकेको भए स्थानीय तह निर्वाचनको परिणाम बेग्लै हुने थियो । काठमाडौँ महानगरपालिकालाई प्रकाशमानले आफ्नो बिर्ता नठानेका थिए भने धेरै कांग्रेसले सूर्यमा मतदान गर्देनथे । जनकपुर उपमहानगरपालिकालाई विमलेन्द्रले आफ्नो जमिनदारी नठानेका भए त्यहाँ राजपाले सायद झन्डा गाड्ने थिएन । बिपी र जिपीका छोरा–छोरीहरूले आफूलाई युवराज, युवराज्ञीजस्तै ठानेर विरासत लिने–ठान्ने मनोवृत्ति अन्त्य हुन सके कांग्रेस साँच्चिकै कांग्रेस हुने थियो । यस्तै अवस्था एमाले र माओवादी, राजपा, संघीय समाजवादीको पनि हो । पहिला आफैँभित्रका गुट संग्लिन सकेको अवस्थामा मात्र अन्यसँगको तालमेलको फल पाइने हो ।

प्रकाशित: २ कार्तिक २०७४ ०४:२६ बिहीबार

गुटैगुट तालमेल