विचार

नोचके खाई, सोचके दिई

स्थानीय तहको निर्वाचनमा नागरिकबीच बहस गर्न वीरगञ्ज गएका बेला एउटा उत्तेजक चर्चा चल्यो । स्थानीय एउटा एफएमका साथीहरू निर्वाचनमा आर्थिक चलखेल देखेर वाक्क–दिक्क हुनु भएछ । र, एउटा अपिल प्रसारण गर्न थाल्नुभएछ, नोँचके खाई–सोचके दिई । स्थानीय भोजपुरी भाषामा प्रसारित यो सन्देशको नेपालीमा अर्थ लगाउँदा, कोतरेर खाऊ तर सोचेर देऊ भन्ने हुन्छ । बहस केन्द्रित थियो, यस्तो प्रसार गर्नु हुन्छ कि हुन्न ? खाऊ भन्न त नहुने नै हो । झन् कोतरेर खाऊ त कसरी भन्नु ? तर आएको पैसा नलेऊ भन्न सक्ने स्थितिमा स्वच्छ निर्वाचनका पक्षधर कोही पनि थिएनन् । गरिबीभन्दा पनि चुनावमा उठ्नेहरू आफ्ना लागि उठ्ने हुन् र जितेपछि कसैका हुँदैनन् भन्ने भावनाले गर्दा पाएको रकम हातलागी गर्ने मानसिकता सर्वत्र बढेको पाइयो । मबाट उत्तरको अपेक्षा गरियो । र, मैले भनेँ, कतिपय कुरा खुलेआम भन्नुहुन्न तर यो बाध्यताको दुखद् अभिव्यक्ति हो ।

सिरहाको एउटा सानो बजारमा हामी खाजा खान पस्यौँ । चिया पसलका एकजना भाइ सुस्केरा हाल्दै आए र साहुजीलाई भने– हो बाप, बडा मुस्किल से माछ टा भेटल । अर्थात्, हे पिता ! बडो मुस्किलले माछासम्म भेट्टाइयो । ती भाइसँग मैथिलीमा अन्तरंग कुरा गरेँ । उनले बताए, उनी वास्तवमा आज कुखुरा किन्न एउटा कुखुरा फारममा गएका रहेछन् । तर फारम धनीले कुखुरा बेच्न मानेनन् रे । कारण स्पष्ट थियो । फारममा ६ सय कुखुरा बेच्ने बेला भएका रहेछन् । तर, दुईवटा उम्मेदवारका मान्छेले सबै कुखुरा अरूलाई नबेच्नु भनेर बुक गरिसकेका रहेछन् ।

भारतीय नम्बर प्लेटका गाडी पहाडदेखि तराईसम्मै प्रशस्त भेटियो । किन भारतीय मोटर ल्याएको भन्दा उनीहरू भन्थे— नेपालमा गाडी कहाँ छ र ? त्यसमाथि यहाँका गाडीभन्दा आधा सस्तो भाडामा भारतीय गाडी पाइन्छ । 

धनुषाको एउटा गाउँमा हामी रुखको आड लागेर सुस्ताइरहेका थियौँ । साइकल बेगले दौडाउँदै एकजना तन्नेरी पराले झुपडीको टोलतिर हुइँकिए । उनको साइकलको अगाडिको डण्डीमा कुखुराका दुइटा खुट्टा एउटा डोरीले बाँधेर दायाँ–बायाँ उँधोमुन्टो पारेर झुन्ड्याइएका थुप्रै कुखुराका जोडी लहरै रहेछ । खरको टाटीले बारिएको घर अगाडि पुगेर उनी कराउँथे, हे हो लिए । अर्थात्, को हुनुहुन्छ लिनुस् । र पत्रिका ल्याउनेले घर–घर पत्रिका हु¥याए जस्तो एकजोडी खुट्टा बाँधिएका कुखुराका जोडी बाँसको टाटी माथिबाट बरन्डामा झर्ने गरी उनी हुर्‍याउँथे ।

निर्वाचन अधिकृतहरू अलमलिएको पनि पाइयो । जनकपुर बजार नजिकको केन्द्रमा मतदाताको हुल थियो । मतदान केन्द्र स्कुलमा थियो, जहाँ अतिरिक्त कोठा थिए । मैले अधिकृतलाई आग्रह गरेँ, एउटा थप कोठामा छाप लगाउने प्रबन्ध गर्न सकिन्न ? चर्को गर्मीमा फरिया लगाएका महिलाहरूलाई साह्रै सकस भइरहेको थियो । उनीसँग अतिरिक्त छाप र छापदानी थियो । तर मिल्छ कि मिल्दैन भनेर अलमलिएका थिए । मैले प्रहरीसँग सोधेँ, उनी तयार भए । अधिकृतज्यू भन्न थाल्नुभयो दलहरूको सहमति चाहिन्छ । दलका प्रतिनिधिहरूलाई सोधेँ । सबै तयार थिए । बल्ल छाप लगाउने ठाउँ थपियो । अर्को एउटा मतदान केन्द्रमा छाप लगाउने कोठाबाहिर प्रहरी उभिएर छाप लगाउन सिकाउँदै थिए । उनलाई भन्नुप¥यो, उनको काम सुरक्षा दिनु हो, सिकाउनु होइन । र सुरक्षाका लागि भीडतिर केन्द्रित हुनुपर्छ, त्यो ठाउँमा होइन ।

निर्वाचन आयोगले बनाएको आचारसंहिताको अक्षर र भावनाको परिपालन तीनै चरणको चुनावमा हुन सकेन । चुनाव एउटा उत्सवका रूपमा जनताको घर–घर छिरेको थियो । बर्दियाको एउटा गाउँमा एउटा घरमा पूर्वपट्टि एउटा पार्टीको र पश्चिमपट्टि अर्को पार्टीको झन्डा बडो सौखले फर्फराइरहेको थियो । सायद परिवारका सदस्यले सदाशयतापूर्वक आ–आफ्नो प्यारो पार्टीलाई सजाएका थिए । पार्टी चिह्न अंकित टोपी, गन्जी नलगाउने र तराईमा गम्छासमेत नलगाउने मानिस भेटिन मुस्किल थियो । रंगीन पोस्टर, ठूला ब्यानर यत्रतत्र देखिन्थ्यो । एउटा आचारसंहिताको परिपालना पहाड तराई सर्वत्र भएको पाइयो, भित्तेलेखन लगभग थिएन । सायद भित्ताका धनीहरू चेतनशील भएका थिए अथवा पछि मेट्ने खर्च आफैँले गर्नुपर्ने पीरले उनीहरूले लेख्न दिएनन् । राजमार्गका दायाँ–बायाँ लहरै पार्टीका झन्डाहरू डोरीमा उनेर आकाश ढाक्ने गरी सजाइएका थिए । मधेसमा बाँसलाई हाँगासहित ठड्याएर हाँगापिच्छे पार्टीको झन्डा उनिएको दृश्य मनमोहक थियो । ठाउँ–ठाउँमा अग्ला द्वार बनाएर पनि माथि पोस्टर, ब्यानर र दायाँबायाँ झन्डा सजाइएका थिए । सडकछेउका यस्ता प्रचारलाई निर्वाचन आयोगले हटाउने काम गरेको पनि पाइयो । मुख्य निर्वाचन अधिकारीहरू भन्नुहुन्थ्यो, पार्टीका मान्छेले अनेकथरी प्रचार गरिदिन्छन् भनेर उम्मेदवारहरू पन्छिन्छन्, हामी आफैँ नलागी कसले हटाउने ? प्रहरी र साधन जोहो गरेर सकेसम्म त हटाएकै छौँ । भारतीय नम्बरप्लेटका गाडी पहाडदेखि तराईसम्मै प्रशस्त भेटियो । किन भारतीय मोटर ल्याएको भन्दा उनीहरू भन्थे, नेपालमा गाडी कहाँ छ र ? त्यसमाथि यहाँका गाडीभन्दा आधा सस्तो भाडामा भारतीय गाडी पाइन्छ । चिया पसल, पान पसल र चोक चौबाटो सर्वत्र चुनावको चर्चा थियो ।

तामझाम र उत्सवको खर्च जस्तो भयो निर्वाचन । एकजना तन्नेरी खेलाडी जो आफ्नो गाउँमा लोकप्रिय छन्, उनलाई पार्टीले वडा अध्यक्षको उम्मेदवार बन्न टिकट लेऊ भन्यो । उनले भनेछन्, म पार्टीको उम्मेदवार भएँ भने खर्च जुटाउन सक्दिनँ, सबैले ठूलो मुख बाउँछन्, बरू म स्वतन्त्र उठ्छु । मानिसहरू मधेसमा पार्टीको अथवा सिद्धान्तको कुरा विरलै गर्थे । उम्मेदवारको सम्भावना उनको जात समुदायका आधारमा बढी गरिन्थ्यो । आफ्नो ठाउँको पहिचान र अपनत्वका मामिलामा सबैमा चेतनशील एकता थियो । तर स्थानीय सरकारले कसरी आफ्नो ठाउँको सँगोलको परिचय र उन्नतिको आधार दिन्छ भन्ने कुरा आम नागरिकलाई थाहा थिएन । संविधानको धारा अनुसूची र प्रबन्धबारे न उम्मेदवार, न पार्टी कसैले पनि चेतना बाँडेको पाइएन । किन चुनाव जरुरी छ भन्ने कुरामा जानकारी भएका मतदाता नै ठीक निर्णय गर्न सक्षम हुन्छन् । र, सक्षम अर्थात् चेतनशील मतदाता भए भने मतदान स्वच्छ हुन्छ । यो विषयको जिम्मेवारी कसले लिने हो ? निर्वाचन आयोगले मतदाता शिक्षाअन्तर्गत यस्ता विषय पनि सामेल गर्नु जरुरी छ ।

जनकपुरमा मिथिला इतिहासबारे शोध गरेका तन्नेरीसँग भेट भयो । शिक्षाको सम्बन्धमा माध्यमिक शिक्षाको अधिकार प्राप्त गरेको स्थानीय सरकारले कसरी पाठ्यक्रममार्फत स्थानीय गौरव र इतिहासको जगेर्ना गर्नसक्छ भन्नेबारे उहाँसँग चर्चा गर्न पाइयो । अहिले जिल्ला प्रशासन कार्यालयमार्फत पासपोर्ट पाएजस्तै केन्द्रीय अभिलेख प्रणालीलाई इन्टरनेटमार्फत जोडेर नागरिकताको प्रमाणपत्र स्थानीय सरकारले दिने व्यवस्थापन गर्न के गर्न सकिएला भन्नेबारे अर्का तन्नेरीसँग छलफल गरेँ । उहाँले सजिलै सकिने भन्दै केही प्राविधिक ज्ञान दिनुभयो । भूमि व्यवस्थापन मात्र होइन, भाषाको कम्प्युटर मानक बनाएर सर्वसाधारणको पहुँचमा राज्यको प्रशासनलाई पु¥याउन् सकिनेबारे पनि उहाँसँग ज्ञान प्राप्त गरेँ । अहिलेको समाजमा हरेक ठाउँमा क्षमतावान् तन्नेरीहरू छन् । तिनको योग्यता र क्षमतालाई प्रयोग गर्नेबारे कुनै स्थानीय राजनीतिक समूहले सोचेको छ कि भनेर धेरै ठाउँमा भेट भएका पार्टीका अगुवाहरूसँग सोधेँ । सबैको ध्यान चुनाव कसरी जित्नेमा मात्र केन्द्रित थियो । योजनाबद्ध विकास र जनआधारित निर्णय प्रणालीबारे सोच पनि विकसित हुनसकेको पाइएन । पार्टीका प्रमुखहरूको आफ्नै समस्या थियो, चुनाव खर्च कसरी टार्ने ? पार्टी केन्द्रले जिल्लाभरिलाई १०–१५ लाख रुपियाँदेखि २५–३० लाख रुपियाँभन्दा बढी दिनसक्ने पाइएन । तर अधिकांश ठाउँमा वडास्तरको चुनाव खर्च नै २५ लाख रुपियाँभन्दा बढी हुने आँकलन गरेको पाइयो । चार जना जिल्लाका पार्टी प्रमुखहरूले दुखेसो व्यक्त गरे, के गर्नु चुनाव यति महँगो भएको छ कि आफ्नो खर्च आफँै गर्न सक्ने मात्र होइन अतिरिक्त आर्थिक योगदान गर्नसक्ने केहीलाई उम्मेदवार बनाएर भए पनि चुनाव खर्चको जोहो गर्नुपरेको छ । र, सहर–बजार मात्र होइन, गाउँघरमा समेत रोडा बालुवाका व्यापारी ठेकेदारहरू वैदेशिक रोजगार कम्पनीका दलाल र सहरउन्मुख गाउँमा प्लटिङको काम गर्नेहरू नै धनाढ्य कहलिएका रहेछन् । चुनावको व्यवस्थापन गर्ने जिम्मा पाएकाहरूको आफ्नै रोइलो छ । जनताको नजरमा उनीहरू ठेकेदार व्यापारीका पक्षधर कहलिएका छन् । इतिहास भएका पार्टीमा योगदान गरेका र वैचारिक रूपले असल मानिसहरू चुनावमा उठ्ने हिम्मत गर्न छाडेका छन् । नेताहरू आफ्नै साख कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

प्रजातान्त्रिक आन्दोलन जुन वैचारिक धरातलमा उभियो त्यसको बन्टाधार भइसक्यो भन्ने चिन्ता पाका राजनीतिज्ञहरूमा बढ्दो छ । देशबाट ओर्लिएको राजनीति गाउँ, टोल र जात समुदायमा सीमित हुँदै गएको चिन्ता सबभन्दा बढी मधेसमा व्याप्त छ । विकासलाई ठेकेदार र गैरजिम्मेवार कर्मचारीको जिम्मा लगाइएको अवस्था छ । चन्द्रनिगाहपुरबाट गौर जाने सडकको दायाँ–बायाँ असारको बाढीको पानी अहिले पनि जमेर बसेको छ । गौरमा सेवानिवृत्त प्राध्यापकसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो, यो सडकमा कमसेकम दशवटा ठाउँमा कल्भर्ट हाल्नुपर्छ भनेर कति ठाउँमा भनियो तर कसैले सुनेनन्, सडक बनाउन बनाइएको अग्लो बाँधले पानीलाई आफ्नो प्राकृतिक बहावमा बग्न दिँदैन छेकेर राख्छ । असारको पानी असोजसम्म जमेपछि हाम्रो बिल्लीबाठ हुने भयो । मधेसको बाटो सर्भे गर्न इन्जिनियरहरू मंसिर–पुसमा आउँछन्, जतिबेला सुख्खा हुन्छ । जहाँ अलिक होचो जमिन देख्छन्, त्यहाँ ह्युम पाइपको इस्टिमेट गरिदिन्छन् ।

फेरि चर्चा गरौँ, चुनावी प्रचारको । तराईमा खुब चलेको प्रचार युद्ध थियो, डिजे । ठूलठूला साउन्ड बक्स लिएर पिकअप गाडीमा एक हुल आउँदो रहेछ । कसैको घर अगाडिको चोकमा हिन्दी वा स्थानीय भाषामा उत्ताउला गाना बजाइँदो रहेछ । डिजे त्यस कार्यक्रमको सञ्चालक हुँदो रहेछ । उसले अनेक हाउभाउ देखाउँदो रहेछ । बीच–बीचमा उम्मेदवारको प्रचार गरिँदो रहेछ । कतै कतै नर्तकी र धेरैजसो ठाउँमा पुरुषलाई नर्तकी बनाएर नृत्य पनि गरिँदो रहेछ । एकजना वृद्ध महिलाले गुनासो गर्नुभयो, एक हूल मान्छे झमक्क साँझ परेपछि अथवा एकाबिहानै बरन्डासम्म आइपुग्छन् । सुरु सुरुमा त डर लाग्थ्यो, को हुन् ? कताबाट आए ? भनेर । मध्यरातसम्म गाना बजाना, एकबिहानै हुलका हुल, म त अशान्त भइसकेँ । हामीले निर्वाचन अधिकृतसँग सोध्यौँ । उहाँहरू भन्नुहुन्थ्यो, हेर्नुस्, आचारसंहिताको निर्माण दलहरूको सहभागितामा गरिएको हो, आफँै अटेर गर्छन्, हामी के गर्न सक्छौँ ? हामी बल प्रयोग गर्ने होइन, नियमनसम्म गर्ने निकाय हौँ, सुरक्षा निकाय संवेदनशील ठाउँको अनुगमनमा व्यस्त छ । हामीलाई लाग्यो कि आचारसंहिताका कतिपय मापदण्ड व्यावहारिक बनाउनुपर्छ । टोपी, झन्डा, गन्जी र गम्छा नियन्त्रण गर्न कठिन छ । तर हो–हल्ला, तडकभडकजन्य गतिविधिलाई भने रोक्नैपर्छ । आर्थिक चलखेललाई कठोरतापूर्वक नियन्त्रण नगर्ने हो भने सबै पार्टीहरूले धनाढ्यसामु समर्पण गर्नुको विकल्प रहनेछैन । वर्षभरि मतदाता–चेतनाको अभियान चलाउनु पर्छ र दलहरू विचारमा आधारित राजनीतितर्फ फर्किनै पर्छ ।

प्रकाशित: ३० आश्विन २०७४ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App