नेपाली समाजको संरचना यसै पनि विभिन्न सामाजिक ‘लेयर÷तह’मा विभक्त छ । जातीय भेदभावले हाम्रो सभ्यतालाई सयौँ वर्ष पछाडि धकेलेको छ । यो ‘एनजिओ’को भ्वाइस होइन, आम नेपाली दलितले आजसम्म भोगेको यथार्थ हो । पछिल्लो केही दशकको अभ्यासलाई आधार मानेर भन्ने हो भने एकथरी बौद्धिक कथित उच्च जातलाई ‘छुवाछूत’ गरेको आरोप लगाएर पन्छिने गरेका छन् । तर, यति भनेको भरमा हामी दलितका समस्या सुल्झिन्छन् भन्नु छक्कदाग्दो कुरा हो ।
म कल्पना गर्छु, कुनै एउटा पार्टीले दलित प्रधानमन्त्री उठायो भने अन्य पार्टीका दलितहरूले के सहयोग गर्लान्, भोट हाल्लान् ?
पहिलो कुरा, कस्तो अचम्म दलितभित्र झन् अर्को दलित छ । हामी आफैँ तहगत जातीय विभाजनको सिकार भइयो भनिरहेका छौँ र आफैँ तहगत जातीय परम्परा धानिरहेका छौँ । दलितभित्रै ‘छुवाछूत’ छ । हामीले सिंगो उपल्लो जातीय संरचनासँग भिड्नुपरेको छ । अर्कातिर जुन बहस र मुद्दाविरुद्ध हामी तथाकथित उपल्ला जातीय संरचनाहरूसँग भिडिरहेका छौँ, फेरि त्यस्तै अभ्यास हामी दलितहरू नै गरिरहेका छौँ । एकप्रकारले भन्दा जातिगत तह र भेदभाव पहिले त दलितभित्रै अन्त्य हुनुपर्ने हो । अनि मात्र सम्पूर्ण दलित एक ढिक्का भई उपल्ला जातिसँग लड्न सकिन्थ्यो । दलितभित्रै पनि पानी चल्दैन । सार्कीलाई कामीले भान्सामा छिर्न दिँदैन । दमाई र चमारबीच बिहे चल्दैन । हो, दलितभित्र विभेद कतै छ, कतै छैन । तर धेरै ठाउँमा पूर्णरूपले एउटा कामीले अर्को दमाईलाई सजिलै स्वीकारेको देखिँदैन ।
दलित दलितबीचको भेदभाव कतै कडा नै छ, कतै हल्का छ । हुन त दलितबीचको यस हिसाबको जातीय तह दलितहरू आफैँले बनाएका भने हैनन् । दलित–दलितबीचको यो विभेद पनि दलितहरूमाझ उपल्लो जातद्वारा नै लादिएको हो, जसले तहगत जातीय संरचनाको सुरुवात ग¥यो । कामीभन्दा सार्की सानोे भन्ने कुरा कामी आफैँले बनाएको चाहिँ होइन, यो हिजो उसैले गरेको हो, जजसले जात बनाए । तर हामी निरन्तर किन त्यही परम्परा अविच्छिन्न रूपमा चलाइरहेका छौँ त ? दलित मुक्तिको अभियानलाई साँच्चिकै सफल बनाउने हो भने पहिले त दलितभित्रैको यो समस्या अन्त गर्नुपर्छ । हामीलाई नहेप भनेर बाहुन, क्षत्री, गुरुङ, मगरसँग चाहिँ भन्ने अनि हामी फेरि कामीले दमाईलाई, दमाईले सार्कीलाई हेपिरहने ? हामी न्याय माग्न जाँदा न्याय माग्न जानेहरू त पहिले बराबर हौँ न । दलितहरूबीच नै पहिले बिहे चलाऔँ, पानी चलाऔँ, भान्सा चलाऔँ । पहिले हामी नै समान बनौँ । दलित मुक्तिको आन्दोलन अलिकति बदलौँ । पक्कै पनि दलितभित्रको यस प्रकारको विभेद मेटाउन दलित र उपल्लो जातिसँगको विभेद मेटाउनभन्दा सजिलो होला । नत्र यस्तै हो भने एकदिन बाहुन र सार्कीबीचको छुवाछूत त हट्ला तर कामी र दमाईबीचको चाहिँ रहिरहला । अनि के त्यसबेला दलित मुक्तिको आन्दोलन जितिरहेका हुन्छौँ ?
दोस्रो कुरा, यहाँ दलितहरूबीच नै एकता छैन । भन्नाले दलित मुक्तिको आन्दोलनमा हिँडेका अभियन्ता र संघसंस्थाहरूबीच नै एकता छैन । एकताभन्दा पनि एकरूपता छैन भन्नु अझ ठीक होला । दलित एकता नभएका कारण कैयौँ उपलब्धि गुम्ने खतरामा छन्, कैयौँ मुद्दा अस्तव्यस्त भएका छन् ।
जहिले पनि दलित मुद्दाहरूको उठान ढिलो गरी हुने, भए पनि सबैको साथ र सहयोग नहुने अनि बीचैमा छाड्ने जस्तो भइरहेको छ । एउटा दलित संस्थाले अर्को दलित संस्थालाई नगन्ने खालको पनि समस्या छ । अहिले हरेक राजनीतिक दलमा दलित संगठन छ । पार्टी जुनसुकै होस् मूल मुद्दा त उही हो, लक्ष्य उही हो दलित मुक्ति, बाटो पो फरक हो, तर गन्तव्य धेरै टाढा छ । तर यही कुरा पनि हाम्रा दलित राजनीतिक नेताहरूले बुझिरहेका छैनन् । आफ्नोबाहेक अर्को पार्टीले दलित आन्दोलनमा केही गरेकै छैन भन्ने नगरौँ । घरी घरी म कल्पना गर्छु, कुनै एउटा पार्टीले दलित प्रधानमन्त्री उठायो भने अन्य पार्टीका दलितहरूले के गर्लान् ? अहिलेको स्थिति हेर्दा त भोट हाल्दैनन् जस्तो देखिन्छ ।
तेस्रो कुरा, नेपाली दलित समुदाय एनजिओकरण र क्रिस्चियनीकरणको जोखिममा छ । दलित मुक्तिको अभियानमा राजनीतिक आन्दोलन र राज्यको पहल जत्तिकै महत्वपूर्ण छ, एनजिओको भूमिका । एनजिओको विषयहरूमा दलित मुद्दा पनि एक सवाल बनेदेखि नै दलित आन्दोलनले गति लिन थाल्यो । कतिपयका शब्दमा दलित मुद्दा बढी एनजिओकारण भयो भन्ने पनि छ तर बढी हुँदा त राज्यको नजर थोरै छ । दलितका सवालहरू बाध्य भएर एनजिओकरण भएका हुन् । तर बाहिर हल्ला गरिएजस्तो दलित एनजिओलाई एकदमै धेरै पैसा आउने भन्ने चाहिँ होइन । दलित संस्थाहरूकै बिजोग छ । केही दलित अभियन्ताहरूले उच्च शिक्षाका लागि विदेशमा अवसर भने पाएका छन् । हालैका दिनहरूमा दलित आन्दोलनका लागि विदेशी सहयोग लिनुहुँदैन भन्ने खालका कुरा पनि आइरहेको छ तर दलित आन्दोलन अझै सुरुवातमै रहेको र राज्यले पनि खुलेर सहयोग नगरिरहेको स्थितिमा त्यसो गर्नु चाहिँ मूर्खता हुन्छ । दलितमा लाग्ने अर्को आरोप हो क्रिस्चियनीकरण भयो भन्ने । नखुलेर कतिपय एनजिओले दलितहरूको खराब स्थितिलाई ख्याल गर्दै प्रभावित पार्दै क्रिस्चियन बन्न प्रेरित गरेको तथ्य बेला बेलामा खुल्ने गरेको छ । हिन्दू व्यवस्थामा जात छ, विभेद छ, हाम्रोमा जात छैन, विभेद छैन भनेर क्रिस्चियनहरूले दलितहरूलाई आफूतिर तान्ने गरेका कुरा आइरहन्छ । दलित मुद्दामा यो जोडिनु भनेको दलित मुद्दा झन् कमजोर हुनु हो । दलितहरू पढ्न पाउँछन्, उनीहरूको स्थिति सुध्रिन्छ भने र क्रिस्चियन हँुदा सम्मानित भएको महसुस गर्छन् भने त्यो धर्म माने पनि हुन्छ । तर, क्रिस्चियन भइसकेपछि दलितले कस्तो अवस्था भोगेका छन् ? त्यसतर्फ पनि सोच्ने कि ?
दलित आन्दोलनभित्रै अरू पनि धेरै समस्या छन्, जसको प्रस्ट पहिचान र चिरफार हुन आवश्यक छ । दलित मुक्तिको बाटो लामो र अप्ठेरो भएकाले दलितहरू पहिले आफैँ मिल्नु अत्यन्त आवश्यक छ । हामीले अहिले प्रयोग गरिरहेको बाटो अथवा माध्यमले हामीलाई सही उपलब्धि दिइरहेको छ कि छैन, त्यसतर्फ पनि सोचौँ । अबको एक–दुई पुस्ताभित्र यो दलित भन्ने अवस्था नहुने गरी हामी लाग्नुपर्छ । त्यसका लागि कम्तीमा पनि अहिलेका सक्रिय दलित अभियन्ताहरू साझा अभियान लिएर हिँड्न जरुरी छ ।
प्रकाशित: २६ आश्विन २०७४ ०५:५४ बिहीबार