शायदै कममात्र दिन होला नेपालमा कुनै दिवस नपरेको । कुनै दिन त धेरै दिवस जुधेकासमेत हुन्छन् । पक्कै पनि त्यस्ता दिवसले कुनै न कुनै सकारात्मक सन्देश दिने वा महत्वपूर्ण उद्देश्य लिएका हुन्छन् । तर नेपालमा कुनै संकेतका रूपमा वा नाममात्रको दिवस मनाउने त्यसमा पनि उपस्थित ऐक्यबद्धता अति नै न्यून देख्न सकिन्छ ।
प्रसङ्ग केही दिनअघि भ्रष्टाचारविरुद्धको दिवस रसुवा सदरमुकाम धुन्चेमा मानउँदा त्यस्तै शून्यता देखिएको विषयको हो । हुन त आजभोलि मनोरञ्नात्मक कार्यक्रममा मानिस झुम्मिन्छन् । केही सामाजिक अभियानमा लागेका मानिस सेलिब्रेटीका रूपमा पनि विभिन्न अभियानमा देखा पर्छन् । मानिसको स्वभाव रुचि पनि हो । अभियान नागरिक समाजको हो नागरिक समाज भन्नाले सामाजिक संस्था, पत्रकार, अधिकारकर्मी नागरिक सबै पर्छन् । यहाँ नागरिक समाज भन्नाले नागरिक समाज नाममा दर्ता भएको वा बोर्ड लगाएर कार्यालय रहेकोमात्र भन्ने एकखालको बुझाइ पनि छ । धुन्चेमा आयोजित कार्यक्रम भ्रष्टाचारविरुद्धको यस्तो अभियानमा त पहिलो जस्तो लाग्छ । हामीकहाँ अन्य दिवस पनि दिवसकै मर्मअनुरूप उल्लासमय वातावरणमा हुन सकेको पाइन्न । मनाए पनि औपचारिकतामै सीमित छ ।
भ्रष्टाचार मुलुकमा जेलिएको समस्या हो । हामी भ्रष्टाचार भन्नेबित्तिकै कति करोड वा लाख भन्ने बुझ्छौँं । कुनै कार्यालयमा कार्यरत कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्तिले गरिदिनुपर्ने नागरिकका काम समयमै नगरिदिए पनि अनियमितता हुन्छ । कार्यालयमा रहनुपर्ने समय अन्यत्र रहेर सेवा नदिए पनि भ्रष्टाचार हुन्छ । काम चोर कर्मचारीदेखि भ्रष्ट आचरण भएका सबै भ्रष्टाचारी हुन्छन् । उपभोक्ता समितिमा रहेर कुनै योजना चलाएको र त्यसको हरहिसाव पारदर्शी गर्न नसक्नु पनि अनियमितता हो । त्यहाँ भ्रष्टाचार भएको हुन सक्छ । भ्रष्टाचार हामी चाहन्नौँ । घृणा गर्छौं त भनिरहेका हुन्छौं तर व्यवहारमा त्यस्तो देखिन्छ कि देखिन्न ? नागरिक जसले सूचना पाएर पनि भ्रष्टाचारको सूचना बाहिर ल्याउन सहयोग गर्दैन त्यो असल शासनको हिमायती हुनै सक्दैन । हामीले नागरिकका तर्फबाट गर्नुपर्ने अनुगमन गर्ने, सूचना बाहिर ल्याउने वा विरुद्धमा आवाज नउठाएसम्म न त अनियमितता अन्त्य हुन्छ न हामीले समाज बदल्नै सक्छौँ ।
सानो÷ठूलो, गाउँको÷देशको जहाँको पनि भ्रष्टाचारविरुद्ध हामीले नागरिकका तहबाट आजैदेखि आवाज बुलन्द गर्नुपर्छ । यसले अनियमितता÷भ्रष्टाचार न्यून तुल्याउन मद्दत गर्छ । हामी बोल्दैनौं भने पनि एक किसिमको भ्रष्टाचार भयो कि ? हाम्रो परम्परागत मौन संस्कृतिले पनि भ्रष्टाचारलाई मलजल गरिरहेको हुन्छ भन्ने बुझ्न जरुरी छ ।
भ्रष्टाचारको मुद्दामा सजाय भोगेका केही व्यक्तिलाई लाभ पुगोस् भन्ने मनसायले संसद्मा संशोधन प्रस्ताव पेश गरे कांग्रेस सांसद राधेश्याम अधिकारीको नेतृत्वमा केही सांसदले । कुनै पनि कामले सार्वजनिक काममा हानि गर्छ भने त्यो भ्रष्टाचार हो । सार्वजनिक पद लिएर व्यक्तिगत लाभ लिने चरित्र पनि भ्रष्ट चरित्र हो । भ्रष्ट भन्नाले नराम्रो र आचार भनेको बानी बेहोरा हो । त्यसैले नेपालको सन्दर्भमा यस्तो कानुन बनाउन खोज्नु सरासर भ्रष्टाचारलाई बढावा दिनु हो । जसबारे पनि नेपाली समाजले बोल्न चुक्नु हुँदैन ।
नेपालमा किन र कसरी भ्रष्टाचार भइरहेछ, त्यसको जरो पत्ता लगाउन आवश्यक छ । जसले राष्ट्रको समृद्धि र उन्नतिमा फड्को मार्नुपर्छ । भ्रष्टाचार रोक्न विभिन्न देशमा विभिन्न निकाय स्थापना भएको छ । नेपालमा पनि २०१९ देखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक अंगका रूपमा स्वीकार गरिएको देखिन्छ । भ्रष्टाचार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा भ्रष्टाचार झन् बढ्दो छ । पछिल्लो समय त झन् कागजातमा दुरुस्त देखाउने नीतिगत भ्रष्टाचार मौलाउँदो छ । यस्ता खबर विभिन्न सञ्चार माध्यममा आए पनि त्यसबारे सरकारी मौनता भने बुझिनसक्नु बनेको छ । जुन नेपालका लागि खतरनाक संकेत हो ।
प्रकाशित: ९ आश्विन २०७४ ०४:५५ सोमबार