विचार

हाम्रा सप्तांगिक मार्ग

लहडमा बग्ने : नेपालीहरू लहडमा बग्ने भएका छन् । कुनै पनि हल्ला कति मात्रामा सत्य हुन सक्छ त्यसतर्फ नसोची ‘रे’ ‘रे’मै बग्ने चलन आएको छ । हल्ला सच्चिँदासम्म ठूलो नोक्सान भइसकेको हुन्छ । अहिले ‘भाइरल’ प्रकरण चर्चामा छ । यो भनेको नै लहडमा बग्ने भनेको हो । अधिकांश स्थितिमा लहडले दुर्घटना निम्त्याउँछ । तरकारीवाली लहडमा बग्दाको परिणाम हो । लहडमा बग्ने चलनले धेरैजसो अवस्थामा मूल विषयलाई छायाँमा पारेर सामान्य विषयलाई उछालिरहेको हुन्छ । यसले ध्रुवीकरण जन्माउँछ र समाजलाई विभाजनको दिशातिर अभिमुख गर्छ ।

पत्रकार महासंघमा उही, लेखक संघमा उही, स्कुल–कलेजको व्यस्थापनमा पनि उही, रेडक्रस, रोटरी, जेसिसमा पनि उही, सहकारीमा पनि उही, मन्दिर व्यवस्थापनमा पनि उही । एउटा मात्र संस्थामा आबद्ध त मानौँ नेपाली हुने योग्यता नै होइनजस्तो ।

बिल्ला भिराउने : त्यस्तो कुनै चल्तापुर्जा मान्छे छैन होला जसले कुनै बिल्ला जबर्जस्ती नभिरेको होस् । भलै ऊ त्यस बिल्लाको शब्दार्थ पनि जान्दछ कि जान्दैन । हामीकहाँ फ्याट्टै दलाल, जासुस, यो वा फलानोे वादी भनिदिने चलन छ । यो बिल्ला भिराइदिने डरले अहिले मान्छेहरू पञ्चायत कालका राम्रा कुरा पनि चर्चा गर्न छाडेका छन् । एकएक शब्दले तपाईंलाई कुनै न कुनै बिल्ला भिराइदिन सक्छ । हामीकहाँ आफू निष्पक्ष छु भनेर बस्न पाइँदैन । थाहै नपाईकन कुनै न कुनै बिल्ला भिरिसकिएको हुन्छ ।

अति राजनीतीकरण : हुन त हरेक कुरा घुमिफिरी राजनीतिमै ठोक्किन आइपुग्ने हो तर यसको अर्थ हरेक कुरा शुद्ध राजनीति हुन्छ भन्ने होइन । तर, समाजले कुनै पनि कुरा पहिलो जे छ त्यो अवस्थामा बुझ्न छाडिसकेको छ । उदाहरणका लागि, कुनै मान्छेले अपराध ग¥यो भने उसको राजनीतिक आस्थासमेत खोजेर उसको पार्टी–संस्थालाई बदनाम गराउन खोजिन्छ । अपराधको कुनै राजनीति, संस्था, आदर्श हुँदैन । अपराध केवल अपराध हो । तर, पार्टी नै मुछ्न खोजेपछि त्यस पार्टीले त आफू जोगिन त्यो अपराधीलाई पनि जोगाउनुपर्ने भयो । अनि सुरु हुन्छ, अपराधको राजनीति । भैपरी आउने साना गल्तीलाई पनि जिम्मेवार व्यक्ति आफूलाई मन नपर्ने छ भने त्यसमा राजनीति गरेर बढाइचढाइँ गरेर हंगामा बनाउने चलन छ । 

जवाफदेहिताको कमी : सरकारी होस् या गैरसरकारी कहीँ पनि जवाफदेहिता छैन । कतिसम्म भने कर्मचारीले गरेको गल्ती सच्याउन जाँदा उल्टै फेरि पैसा तिर्नुपर्छ । कर्मचारीको गल्ती भएपछि त सेवाग्राहीले एकपटक तिरिसकेको हुनाले तिर्नु नपर्ने हो नि तर त्यस्तो हँुदैन, तिर्नैपर्छ । किनभने त्यहाँको त्यस्तै नियम छ । एउटा सरकारी अफिसले जारी गरेको प्रमाणपत्र अथवा कागजात अधिकांश स्थितिमा अर्को उस्तै प्रकृतिको सरकारी अफिसले लिँदैन । सामान्य कमन सेन्स लगाउनुपर्ने ठाउँमा पनि एकदमै अड्बांगे अव्यावहारिक नियम छन् । कुनै पनि सरकारी संस्थाको सेवाप्रति गुनासो गर्नुस् । जवाफ आउँछ– यस्तै हो यहाँको चलन, गएर मुद्दा हाल ।

च्यानलको प्रयोग : मानिस यति अधैर्य छन् कि सामान्यभन्दा पनि सामान्य कामका लागि पनि स्वाभाविक प्रक्रियागत बाटो लिँदैनन् । यतिसम्म कि अस्पतालमा इमर्जेन्सीमा भर्नाका लागि पनि अब त्यहाँ कोही चिनेको हुनुपर्ने भो । लाइसेन्स, लोकसेवा, प्राइभेट जागिर, कानुनी, प्रशासनिक काम जहाँ पनि मान्छे अतिरिक्त च्यानलकै प्रयोग गर्न खोज्छ । अझ सहरिया पढेलेखेकाहरू त एकपटक पनि सीधा बाटो प्रयोग नगरी च्यानल प्रयोग गर्छन् । कतिपयले पहुँच र शक्ति प्रदर्शनका लागि पनि च्यानल प्रयोग गर्छन् । सरकारीमा त राजनीति हुन्छ रे च्यानलको प्रयोग एक हदसम्म ठीकै होला तर प्राइभेटमा पनि भनसुन र च्यानल प्रयोगका लागि मान्छे तयार हुन्छन् ।

अन्धभक्ति र अन्धविरोध : आजकाल नेपालीहरू कुनै पनि कुरालाई दोहोरो भएर सोच्नै छाडिसके । पूरै अन्धो भएर आफूअनुकूल कुराको भयंकर समर्थन गर्छ र आफूप्रतिकूल कुराको भयंकर विरोध गर्छ । यस्तो प्रचलनले एउटाको देवत्वकरण भइरहँदा अर्कोको दानवीकरण गरिरहेको हुन्छ । अन्धो भक्ति र विरोध गर्दा मान्छेहरू समर्थन र विरोधका सबै सीमा भत्काउन थालेका छन् । भक्ति र विरोध गर्दा असहिष्णु हुने गरेका छन् । समर्थनमा पनि उग्र हुने, विरोधमा पनि सबै हद नाघ्ने चलन आएको छ । जुन समाजका लागि निकै हानिकारक हो ।

धेरै पद ओगट्ने : एक दुई अक्षर लेख्न बोल्न जान्ने नेपाली एउटै मात्र संस्थाको सदस्य हुनै सक्दैन । एउटै व्यक्ति धेरै पद ओगटेर बसिरहेको हुन्छ । पत्रकार महासंघमा उही, लेखक संघमा उही, स्कुल–कलेजको व्यस्थापनमा पनि उही, रेडक्रस, रोटरी, जेसिसमा पनि उही, सहकारीमा पनि उही, मन्दिर व्यवस्थापनमा पनि उही । एउटा मात्र संस्थामा आबद्ध त मानौँ नेपाली हुने योग्यता नै होइनजस्तो । अधिकांश त आफ्नो योग्यता र आवश्यकताले भन्दा पनि सिनियरिटी र पार्टीगत भागबन्डाका कारण रहेको पाइन्छ । फेरि उसले कतै पनि आफ्नो जिम्मेवारी राम्ररी वहन गरेको पाइँदैन किनभने दुई–तीन ठाउँमा मात्रै पनि राम्ररी भूमिका निर्वाह गर्ने हो भने अन्त समय दिनै भ्याइँदैन । उहिले गौतम बुद्धले अष्टांगिक मार्ग भनेका थिए, अहिले हाम्रा सप्तांगिक मार्गचाहिँ यिनै भएका छन् ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:०० आइतबार

हाम्रा सप्तांगिक मार्ग