विचार

सत्ता बचाउन भ्रष्टाचारमा मोलाहिजा

परिवर्तन, विकास, समृद्धि र खुसियालीका लागि नेपालीले गरेको कठोर तपस्याले निकै लामो समय गुजारिसक्यो। आफूसँग एक भोटको शक्ति बोकेका जनतालाई खुसियालीका दिन ल्याइदिने आश्वासनले उडाएर आकाशमा पु¥याउने काम अनियन्त्रितरूपमा हुँदै आयो। जनतालाई भोटबैंक देखेका पार्टीहरूले जनादेश र मतादेश पाउन जानेसम्मको सपनाको व्यापार गरे, उधारो आश्वासन बाँडे, नाराका पुलिन्दा उपहार दिए, प्रलोभनका चौरासी व्यञ्जन पस्किए र भोटबैंकबाट ब्लाङ्क चेक हत्याउन सफल हुँदै आए। 

२०४८ सालपछिका  ३२ वर्ष र ‘लोकतान्त्रिक गणतन्त्र’भित्र्याएपछिका १५ वर्ष यसैगरी गुज्रिँदै आयो। सत्ता यिनै पार्टीहरूको पालैपालो भोग–विलासको साधन बन्यो।सार्थक लोकतन्त्रमा बालिग मताधिकारलाई मुलुकमा समृद्धि र जनतामा खुसियालीको जमाना ल्याउन सक्ने निर्णायक चावी मानिन्छ। तर लोकतन्त्रलाई मर्माहत पार्ने कामले निरन्तरता पाउँदै आयो। जनताबाट ब्लाङ्क चेकरूपी मतादेश जब हत्याइसकिन्छ तब त्यही भोटबैंकलाई थाङ्नामा सुताउने क्रम सुध्रिएन। पशुपतिनाथको भट्ट (पुजारी) फेर्ने प्रयासलगायत जहाँसुकै ‘क्रमभङ्ग’ को मन्त्र जप गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सत्ताबाट जनताप्रति निरन्तर अपनाउँदै आएको यस्तो रवैया र व्यवहारलाई क्रमभङ्ग गर्न सकेको वा चाहेको जनताले आभास पाएनन्।

साँचोरूपमा सत्तारुढ पाँचदलीय गठबन्धन संसदीय व्यवस्थाबाट जन्मेको यस्तो संरचना हुन पुग्यो जसले संसदीय प्रजातन्त्रका अनिवार्य र आधारभूत वा आस्थागत मान्यता (बेसिक टेनेट्स) लाई तिलाञ्जली दिएकाले संसदीय चरित्र पनि गुमाइसकेको छ। यो कसीको परीक्षणमा प्रमुख प्रतिपक्षी दलका रूपमा विराजमान एमाले पनि अछूत छैन। प्रमुख विरोधी दलको स्थानबाट एमालेले र गठबन्धन सत्ताबाट पाँच दलले आफैँले बनाएर जारी गरेको संविधानले परिभाषित गरेको संसदीय प्रजातन्त्रका सारा गुण र चरित्र गुमाइसकेका छन्। त्यसैले अवस्था यस्तो आइसक्यो कि सरकार टिकाउँदा भ्रष्टाचारका फायल बन्द गर्नुपर्ने भ्रष्टाचारका फायल खोल्न थाल्दा सरकार नरहने यथार्थ केही हाइ प्रोफाइलका भ्रष्टाचारउपर प्रधानमन्त्री प्रचण्डको मोलाहिजाबाट प्रमाणित भइसकेको छ।

प्रचण्डले साँच्चै भ्रष्टाचारमुक्त र सुशासनको युग ल्याउन खोजेको हो भने सर्वप्रथम स्वयं सच्चिएको पुष्टि गर्नुपर्छ र रामायणमा झैँ रत्नाकर डाकुबाट ऋषि वाल्मीकि भएको व्यवहार देखिनुपर्छ।

समाजमा आदिकवि भानुभक्तले संस्कृतबाट अनुवाद गरेको वाल्मीकि रामायणको ठूलो प्रभाव छ। रामायणका रचयिता ऋषि वाल्मीकिको पृष्ठभूमिको परिचय पनि रोचक छ। ‘वाल्मीकि’ नामकरण हुनुअघि उनी ज्यानमारा, डाँका, अमानवीय र राक्षसी चरित्रका कुख्यात अपराधी थिए। उनी बाटो ढुकेर बटुवालाई लुटपाट गर्थे, मार्ने गर्थे। एक दिन दुई ऋषिहरू बाटो हिँडिरहेको बेला रत्नाकर डाकुले सदाझैँ बाटो छेकेर दौलत मागे। ऋषि, साधु–सन्तसँग गृहस्थीलाई चाहिने धनसम्पत्ति हुँदैन भन्ने जवाफ पाएपछि रत्नाकर उनीहरूलाई मार्ने तरखर गर्न थाले। ऋषिहरूले उनलाई एउटा सर्त राख्दै सोधे, ‘ठीक छ हामीलाई मारौला। मार्नु पाप हो। तर परिवार पाल्न यत्रो अपराध गर्छौ भने यो अपराधको भागिदार हुन तिम्रा परिवार तयार छन् कि छैनन्, एकपटक सोधेर आउ अनिमात्र मार।’ रत्नाकरलाई यो सर्त उचित लाग्यो र ऋषिहरूलाई पर्खाएर उनी परिवारलाई यही सोध्न गए। परिवारजनले जवाफ दिए, तिमीले अपराध गरेर ल्याएको पापको कमाइमा हामी भागीदार हुँदैनौँ। परिश्रम गरेर परिवार पाल्नु तिम्रो कर्तव्य हो तर अपराध गरेर पाल्नु ठूलो गल्ती हो।

परिवारको यस्तो जवाफले रत्नाकरलाई भ्रमको निद्राबाट झल्याँस्स ब्युँझिए जस्तै भयो। ऋषिहरूसमक्ष कृतज्ञ हुँदै उनले भने, म आफैँमा परिवर्तन र सुधार चाहन्छु, तर कसरी ? ऋषिहरूले राम–नाम जपेर ध्यान गर्न सुझाए। तर उनलाई राम–राम भन्न नआएपछि कुनै मरेको रुख देखाउँदै ऋषिले सोधे ‘यो रुख मरा हो कि जिउँदो ?’ रत्नाकरले तुरुन्त जवाफ दिए, मरा ! ऋषिहरूले सिकाए, त्यसो भए मरा–मरा–मरा भन्दै ध्यान गरेर बस। रत्नाकरले ‘मरामरा’ बाट ‘राम–राम’ हुन पुगेको उल्टो मन्त्र जप्दै महिनौँ र वर्र्षौँ बिताए। ध्यानस्थ हुँदाहुँदै उनको वरिपरिबाट धमिराले आफ्नो गोलो उठायो र ध्यानमग्न रत्नाकरलाई पुु¥यो। संस्कृतमा धमिरालाई बल्मिक भनिन्छ। ध्यान गर्दागर्दै धमिराले गोलो उठाएको कारण डाकु रत्नाकरले धमिराबाटै नयाँ नाम पाए ‘वाल्मीकि’। यिनै वाल्मीकिलाई भगवान रामको आशीर्वाद मिलेकाले रामायणको सम्पूर्ण कथाको ज्योति उनमा आयो र उनले रामायण लेखे। आजका माओवादी नेता प्रचण्डको पनि राजनीतिक उत्पत्ति र पृष्ठभूमि रत्नाकरको सन्दर्भसँग मिल्दोजुल्दो छ।  

‘सुशासन स्थापनाका लागि भ्रष्टाचारका सबै फाइल खोल्ने’ प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवासको जग्गामा जालसाजी र कीर्ते आदि संगठित आर्थिक अपराधका मुद्दा प्रक्रियामा देखा परेको छ। उनको प्रतिबद्धता ‘रियालिटी सो’ को छली रूपबाट अब नाटकमा परिणत भइरहेका लक्षणहरू देखा पर्न थालेका छन्। सुन तस्करीमा आफ्नै पार्टीका एक उच्च नेता र उनका छोरा, नक्कली भुटानी शरणार्थी काण्डको राज्यविरुद्धको अपराधमा कारक मानिएका नेतापत्नीहरू, ललितानिवास जग्गा जालसाजी र कीर्ते मुद्दामा दुई पूर्वप्रधानमन्त्री जस्ता निर्णायक ओहोदा सम्हालेका वा ओहोदाधारीको हात समातेर स्वार्थअनुरूपको निर्णय गराउने हैसियतका अभियुक्तहरूलाई बयानसमेत नगराइ उन्मुक्ति दिइयो।  

प्रहरीको सिआइबीले ललितानिवासको जग्गामा जालसाँजी, कीर्ते र सङ्गठित अपराध भएको गहन अनुसन्धान रिपोर्ट बुझेको सरकारले गत आइतबार (१० भदौमा) अदालतमा यसलाई मुद्दा कमजोर बनाएर कीर्तेमा मात्र मुद्दा चलाउन लगिएकोबाट नै प्रधानमन्त्री प्रचण्ड आफ्नै प्रतिबद्धतालाई गम्भीर झुट र धोकामा परिणत गर्न लागेका देखिन्छ। यसै हो भने, भ्रष्टाचारका काण्डहरू विरोधीलाई तर्साउन र सत्तामा आफ्नो आयु लम्ब्याउन मात्र हो भन्ने विश्लेषण पुष्टि हुँदैछ। सरकारको यस्तै व्यवहार र चरित्रले गर्दा जनतामा आक्रोश बढ्न थालेको छ।

भ्रष्टाचारका ठूला काण्डका फायल खोल्नै बाँकी छ। नेपाल वायुसेवा निगमका लागि दुईटा वाइड बडी जेट विमान खरिद गर्दा कमिसनको रूपमा आएको ४ अर्ब ३५ करोड ५६ लाख रुपियाँको हिनामिना, झापाको गिरिबन्धु  

टि इस्टेट (चिया बगान) को ६५ सय रोपनीभन्दा बढी जग्गा हिनामिनाका प्रयास वा नीतिगत भ्रष्टाचार, नेपाल ट्रस्टका जग्गा र सम्पत्ति व्यक्तिलाई दिँदाका खेल, कोरोना महामारीका औषधि र उपकरण खरिदमा गरिएको अर्बौँको भ्रष्टाचार, कर फस्र्यौटको नाममा मुलुकलाई ठगी र धोकामा पारेर एनसेललाई दिइएको २१ अर्बको छूट, २८ अर्बको लगानीमा सुरक्षण मुद्रण छापाखाना स्थापना गर्दा ७० करोडको लेनदेन प्रयास जस्ता धेरैवटा फायल कारबाहीका लागि खोलिन प्रतीक्षारत छन्। तर प्रधानमन्त्री प्रचण्डको चालामालामा ध्यान दिँदा यी मुद्दाबाट राष्ट्रलाई न्याय दिलाइन्छ भन्ने आधार रहेन।

संसदीय स्वरूप र चरित्र गुमाएको प्रचण्ड सरकारले भ्रष्टाचारका मुद्दा र सुशासनको नारामा देखाएको अभीष्ट देखा परिसकेको छ। प्रचण्ड पछि हटे भने उनको पतन निश्चित छ। अगाडि बढिरहने हो भने भ्रष्टाचारको समाप्ति र सुशासनको प्राप्तिमा कसैसँग मोलाहिजा गर्ने वा उन्मुक्ति दिने वा मुलुक बर्बाद बनाएका जघन्य भ्रष्टाचारलाई सत्तामा आयु लम्ब्याउने औजार बनाउन उनलाई कुनै अधिकार छैन। प्रचण्डले साँच्चै भ्रष्टाचारबाट मुक्त र सुखद युगको सुरुआत गर्ने हो भने उनले आफैँमा सब भन्दा पहिले परिवर्तन र सच्चिएको पुष्टि गरेर देखाउनुपर्छ। रत्नाकर डाकुबाट ऋषि वाल्मीकि भएको व्यवहारले प्रमाणित गरेर देखाउन सक्नुपर्छ।  badrimeena@hotmail.com

प्रकाशित: १४ भाद्र २०८० ००:३४ बिहीबार

सत्ता बचाउन भ्रष्टाचारमा मोलाहिजा