विचार

कुशेऔँसीको महत्व

यसपालि कुशेऔँसी वा बाबाको मुख हेर्ने दिन सोमबार परेको छ। हाम्रो संस्कृतिमा सोमबार यसै शिव महादेवको आराधना गर्ने पवित्र दिन हो। त्यसमा पनि सोमबारेऔँसी र सोही दिन कुशग्रहणको सुदिन परेकाले यो वर्षको कुशेऔँसीको महत्व अत्यधिक पुण्यकारी पर्वका रूपमा रहन गएको छ।

वास्तवमा हामी कतिपय ब्राह्ममुहूर्तमा बिहानी भ्रमण गर्छौं। स्वाथ्यविज्ञानको दृष्टिबाट हेर्दा यो बेलाको घुमाइ लाभदायक हुन्छ। हाम्रा ऋषिहरूले यो बेला चन्द्रमाले अमृत वर्षा गर्ने हँुदा प्रत्यूषकालीन हावामा अलौकिक शक्ति हुन्छ भनेर पुष्टि गरेका छन्। कुश एक प्रकारको काँसजस्तै झार वा घाँस हो। यो वनस्पति हाम्रो जन्मदेखि मृत्युपर्यन्त र त्यसपछि पनि उपयोगमा आउने धार्मिक, आध्यात्मिक, वैज्ञानिक महत्व बोकेको तृण हो। देवताको पूजाआजा गर्दा, बुबाआमाको श्राद्धमा, न्वारन, पास्नी, सूतक पर्दा र जूठो वा मृताशौचमा यसको प्रयोग अपरिहार्य हुन्छ। मन्त्रद्रष्टा हाम्रा ऋषिमुनिद्वारा सम्पादित उपनिषद्हरूमा 'प्राणो वै वनस्पति' अर्थात् वनस्पति भनेका प्राण हुन् भनेर सूत्रात्मक रूपमा मानव जीवनसित यसको सम्बन्ध अपरिहार्य भएको कुरा देखाएको छ। मान्छे मर्ने बेलामा पनि कुशकै बिछ्यौनामा सुताइन्छ। कसैकसैको पञ्चकमा (धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र) मृत्यु हुँदा दोष हटाउन कुशबाटै पाँचवटा पुत्ला बनाई मसानघाटमा जलाउने चलन छ। यसरी कुशकै बलले भावी वंशविनाश हुने अपशकुनलाई छेक्ने सामर्थ्य रहन्छ भन्ने जनविश्वास छ।

त्यसै भएर कुश कति पावरदार छ यो श्लोकले छर्लङ्ग पार्छ, 'यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा। त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम्।।' अर्थात् कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवान्को सुदर्शन चक्र र शिवको त्रिशूलजस्तै शक्तिशाली छ। त्यसै भएर वज्र, चक्र र त्रिशूलको प्रतीक बनाएर औँलामा लगाउने कुशको औँठीमा तीन त्यान्द्रा गाँठो बनाएर लाउने चलन छ। यो लगाएपछि हामीमा सबै खाले संवेग तथा आवेग नियन्त्रित हुन्छन्। रक्तसञ्चारमा ऊर्ध्वगमन र अधोगमन (हाइ एन्ड लो) हुँदैन। मुटुको चाल सन्तुलित हुन्छ र कुशासनमा बस्दा मुटुको, मस्तिष्कको तथा नशाको घात हुन सक्दैन। पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता भयकारी आक्रमण रोक्ने सामर्थ्य यसमै छ।

यसैले कुशेऔैँसीको उचित साइतमा कुश उखेल्दा उखेल्नेवालाले पूर्व वा उत्तर मुख फर्काएर जरैसमेत तान्नुपर्छ। सकेसम्म कुश काट्न हुँदैन। कुश उखल्नुभन्दा पहिले त्यो वनस्पतिलाई षोडषोपचारसाथ पूजा गरेर यसरी प्रार्थना गर्नुपर्छ, 'विरञ्चिना सहोत्पन्न, परमेष्ठि निसर्गतः। नुदः सर्बाणि पापानि दर्भः स्वस्तिकरो भव।।' अर्थात् हे कुश! तिमी ब्रह्मासितै यो धराधाम टेकेका हौ, तिमीसित थुप्रै पाप (रोगका भाइरस, मानसिक अशान्ति) नष्ट गर्ने तागत छ। कल्याणको बुता भएको तिमीलाई मेरो नमस्कार छ। मलाई उखेल्न अनुमति देऊ। यही अनुरोधसँगै अनि 'ओं हुम् फट्' भन्ने मन्त्रको गर्जना गरेर कुशको जरैसमेत आउने गरी उप्काउनु पर्छ। काटेको कुश पूर्ण आयुको हुँदैन।

कुश वा दर्भ तत्कालै शक्ति दिने वनस्पति हो। पूर्बीय आचार्य कुशप्रति किन अनुरक्त भए भनेर नोवलिष्टजगदीशचन्द्र वसु जस्ता वैज्ञानिकहरूले शोधकार्य गरेका छन्। उनीहरूका अनुसार कुश हातमा , कटिमा वा टुप्पीमा धारण गर्नु र कुश आसनमा बस्नु पृथ्वीको विद्युत् प्रवाहलाई मानव शरीरमा पस्नुबाट रोक्नु रहेछ। हाम्रो मस्तिष्कमा विद्यमान आध्यात्मिक सञ्चित शक्तिलाई त्यो विद्युत्ले गोडालगायत विभिन्न स्थानबाट प्रवेश गरेर खिच्ने भएकोले त्यो ऊर्जा बचाउँन कुश ओछ्याउने , लाउने र कुशले शुध्द पारिएको जल आचमन गरिएको रहेछ। अन्तरिक्षमा व्याप्त विद्युत् प्रवाह जसलाई आजको वैज्ञानिक भाषामा ' इथर' भनिन्छ। अझ यसलाई सरल भाषामा भन्नुपर्दा — संपूर्ण आकाशमा व्याप्त भएको र त्यसैबाट प्रकाशका किरण पृथ्वीमा आउने पारदर्शी सूक्ष्म तत्व भनेर बुझिन्छ। यसले मानवपिण्डलाई चारैतिरबाट घेराब—न्दीमा पारेको हुन्छ। विशेष गरेर दुइ गोडा , दुइ हात र टाउको गरी पा‘च ठाउँ बाट पस्न खोज्ने हु‘दा यी स्थानहरूमा कुशलाई राख्ने काम भएको रहेछ। खास गरेर हरेक धार्मिक काम गर्दा सिध्दासन , पद्मासन वा सुखासनमा बस्नुपर्छ। ती आसनहरूमा दुबै पाउ घुडाको तल रहन्छन्। गोडा फैलाएर टाङ फट्टाएर बस्नु अनुचित हुन्छ। पूजापाठ र अनुष्ठानको समय—मा कुशको उपयोग गर्दै शरीरको रक्षा गर्नु अनिवार्य छ।

 यही दिन हामीलाई यो धराधाममा ल्याउन र शिक्षादीक्षा दिएर जीवनको मार्गदर्शन गराउन भूमिका खेल्ने पिता, बा, बाबा, जनक, तात, पितृको मुख हेर्ने वा सम्मान बर्साउने तिथि पनि हो। पितृ देवो भवः भन्नाको तात्पर्य त्यही हो। त्यसैले त पिताको महत्व देखाउँदै व्यास भन्छन् —

पिता धर्मः पिता स्वर्गः, पिता हि परमं तपः।

 पितरि प्रीतिमापन्ने, सर्बाः प्रीयन्ति देवताः।।

हाम्रा ऋषिमुनिहरूले 'पितृदेवो भवः' जस्ता ब्रह्मवाक्य प्रतिपादन गरेका छन्। हिजोआज त पच्छिमाको नक्कलले हाम्रा ऋषिका गुणकारी अक्कल वाक्यलाई ताइँ न तुइँसित ठक्कर लगाउँदा हाम्रो भावी पुस्ता नै अक्करमा पुगेर जोक्कर बन्ने नियतिको सिर्जना गर्दैछौँ। मुख हेर्नु भनेको वहाँहरूको वृद्धावस्थामा विवेक पुर्‍याएर हेरविचार पुर्‍याउनु हो। छोराछोरीले निश्चय नै आफ्नो कर्तव्य पालन गर्नु पर्छ। वृद्धाश्रम वा पाटीमा धकेलेर पिताको सेवा हुन सक्दैन।

प्रकाशित: ५ भाद्र २०७४ ०३:५६ सोमबार

कुशेऔँसीको महत्व