विचार

दरबारको नयाँ इतिहास

इतिहास

दैलेख जिल्लाको ‘गोठे सोती’को इतिहास

बान्‍ने कोट (दरबारमा बस्ने) अछाम जयगढका अन्तिम राजा विनोदी शाही १८४७ सालमा नेपाली सेनाको एकीकरण हमला सामना गर्न नसकी भागे। उनी मातहतका दर्ना, बिम कोट, मंगलसेन आदि साना राज्यले सहयोग गरेनन्। उनी भागेर धनगढीको मूलबारा पुगे। त्यसपछि उनले डोटी र जुम्लाबाट भागेका राजा र राजाका मुख्तियारसँग मिलेर फेरि अछाम राज्य फिर्ता गर्ने योजना बनाए। तिनै राजाको योजना र अछामी जनताको समर्थनमा राजा विनोदी शाही अछाम फर्के र १८४८ सालको चैतमा फेरि राजा भए। यो प्रयास उनले गर्नु स्वाभाविक हो। त्यसै दिन अछामी जनता (सेना)लाई त्यहाँ ब्यारेक बनाई बसेका नेपाली सेनालाई मार्ने आदेश दिए। फलस्वरूप रातको समयमा नेपाली सेनाको हतियार भण्डार (कोत घर) डढाइन्छ र सेनालाई घेरी घेरी काटेर, कुटेर, बन्‍दुकले हानेर मारिन्छ।

त्यतिबेला करिब ३०० नेपाली सेना मारिए। ४० जना जति सेनामध्ये कोही काठमाडौंतिर र कोही डोटीतर्फ भागेर ज्यान बचाए। यो खबर काठमाडौं पुगेपछि काठमाडौंबाट सरदार कालु पाण्डे र सरदार जसिवन्त भण्डारीको नेतृत्वमा दुई कम्पनी र गढवालबाट सरदार भक्ति थापाको मातहतमा पाँच कम्पनी फौज जय गढतर्र्फ रवाना भए। सरदार भक्ति थापाका सेना सेती नदी तरेको थाहा पाउनासाथ राजा विनोदी शाही फेरि भागे।

राजा शाही फेरि कैलाली मालबारा पुगे। त्यहाँ पनि नेपाली सेना पुगेपछि उनी भारतको काशीपुर गएर बसे। अब राजाबिनाका अछामका जनता (सेना)को भागाभाग भयो। तीमध्ये कर्णाली नदी तरेर दुल्लु–दैलेखतर्फ भाग्न लागेका करिब ७०० अछामी सेनालाई काठमाडौंबाट आउँदै गरेको नेपाली सेनाले दुल्लुपट्टिको कर्णाली किनारको ‘गोठे सोती’ भन्‍ने ठाउँमा र अछामपट्टिको कर्णाली किनार नाउली पातलमा काटेर, कुटेर अनि गोली हानेर मारे भनिएको सुनियो र लेखेको पनि पाइयो। त्यसपछि यहाँ कुनै विद्रोह भएन।  दैलेखको आठबीस नगरपालिका वडा नम्बर ३ शाही गाउँ र कर्णाली खोलाको बगरमा पर्ने यो स्थानको महŒव ठुलो छ।

जुम्ली, डोटी र अछामबाट आएका सेना भागाभाग भए। ती सेना पूर्वतर्फ भागेर कर्णाली तर्दै गर्दा काठमाडौंबाट अछाम जान आएका नेपाली सेनासँग कर्णालीमा जम्काभेट भयो। यही मौकामा नेपाली सेनाले कर्णाली वारिपारि रहेका अछामी, डोटी र जुम्ली सेनालाई घेरामा पारे। धेरैजसो सेना दैलेखपट्टि पर्ने कर्णाली किनारको गोठे सतीमा मारिए भने केही अछामको बयलाको नाउली पाटापट्टिको बगरमा मारिए।

त्यो युद्धको परिणाम हो। लडाइँ जहाँ पनि यस्तै हुन्छ। यसमा कसैलाई दोष दिने ठाउँ हुन्न। जनताको इतिहास हो यो। जनताबाट संकलन गरिएको हो। ‘गोठे सोती’ भनेको त्यसबखत गैरनेपाली सेना काटिएको ढुंगो हो। सो स्थानमा ‘युद्ध स्मारक’ बनाउन स्थानीय जनताको अनुरोध छ। सेती अञ्चलका धेरै इतिहास लेखकले फरक फरक आँकडा दिएर इतिहास लेखेको पनि पाइन्छ।

भीमसेन थापाकी श्रीमतीको आत्महत्याको खबर असत्य

राणा प्रधानमन्त्रीकालमा पुराना हतियार थन्क्याउने भण्डार बनाएपछि लगन हवेली ‘लगन सिलाखाना’ भयो। त्यस बखत राजा बस्ने ठाउँलाई दरबार भनिन्थ्यो भने काजीहरू बस्ने ठाउँलाई हवेली भनिन्थ्यो। यसलाई भीमसेन थापाको दरबार भनिएको र भीमसेन थापाकी श्रीमती भक्तकुमारीले यही दरबारमा झुन्डिएर आत्महत्या गरेको कुरा उल्लेख गर्दै मौखिक इतिहास र लेख लेखिएका छन्। त्यो सत्य होइन। अहिले पनि भक्तकुमारी झुन्डिएको डोरी त्यहीं छ भनेर लेखिएको देखिन्छ। त्यो पूर्णत असत्य हो।

भीमसेन थापाको घर सुरुमा लगन ज्यावाहालमा थियो। पछि त्यस दरबारमा जंगबहादुर बसे र उनले भाइ जनरल बमबहादुरलाई दिए। भीमसेन शक्तिमा आउनासाथ सुन्धारा छेउको ‘बाग दरबार’ कब्जा गरी त्यहीं बसे। भीमसेन थापाले यही बाग दरबारमा सेरियर आत्महत्या गरे। लगनका स्थानीयको भनाइअनुसार भीमसेन सेरिएको ज्याबहालमा नै हो। सेरिएपछि धेरै दिन यिनको मृत्यु भएन। भीमसेन थापाको आत्माले तर्साउँछ भनेर चोकमा गणेश स्थापना गरिएको थियो। सत्य के हो भने उनकी मुखिनी भक्तकुमारीले कहिल्यै आत्महत्या गरिनन्। उनीहरूका एक छोरा र तीन छोरी थिए। छोरा सानैमा मरेकाले बाँकी तीन छोरी थिए।

अंशबन्डाको कागज हेर्दा पनि लगन हवेली जनरल रणवीरसिंह थापाको हो। उनी भीमसेनका भाइ हुन्। नेपाल–अंग्रेज युद्धमा उनी पर्सा, समनपुर, मकवानपुर इलाकाका कमान्डर थिए। उनले अंग्रेजलाई हराएका थिए। पछि दोस्रो चरणको युद्धमा नेपालले अंग्रेजलाई जित्न सकेन।

 त्यस बेला रणवीर विजयपुर-धरान इलाकामा थिए। जनरल रणवीरसिंह पछि जोगी बने। भीमसेनलाई लगाएकोे आरोपले थापा खलकको सम्पत्ति बारम्बार सर्वस्वहरण भयो। पछि फिर्ता पाएको सम्पत्ति फेरि खोसियो। यही क्रममा लगन हवेली सरकारी भयो। लगन हवेलीमा भीमसेन थापाकी मुखिनीले आत्महत्या गरेको भन्नु गलत हो। यो हवेलीलाई २०७२ सालको भुइँचालोले भत्काएको छ। काठमाडौं बत्तीस पुतलीका कर्णेल रविविक्रम थापा, कर्णेल राजकुमार थापा, सिन्धुपाल्चोकका पूर्वमन्त्री विष्णुविक्रम थापा र नेत्रविक्रम थापा, शम्भुविक्रम थापा, डा. नरेन्द्रवीरसिंह थापा, लगनटोलकै सुशीलविक्रम थापा जनरल रणवीरसिंहका सन्तान हुन्।

नारायणहिटी दरबारको इतिहास

पहिला यो इलाका खेत थियो। उस बखत हालको दरबार मार्ग, जय नेपाल सिनेमा घर, हात्तीसारसमेत प्रधान सेनापति काजी शिवरामसिंह बस्न्यातका सन्तानको हो। उनका कान्छा छोरा काजी (मन्त्री) धौकल (धोकल) सिंह बस्न्यातले श्री ५ महाराजधिराजबाट अनुमति लिएर आफ्नो निवास बनाए। यो विशाल र सुन्दर पनि थियो। १८५० सालको वसन्त पञ्चमीका दिनमा बसोबास सुरु गरेको यस निवासको नाम ‘कीर्ति मन्दिर’ थियो।

मन्त्री धौकलकी माता सुरप्रभा नारायणकी भक्त थिइन्। कीर्ति मन्दिरको साथमा नारायण मन्दिर पनि निर्माण भयो। ज्योतिषीको सुझावअनुसार त्यस मन्दिरमा राख्ने नारायणको मूर्ति सिन्धुली खुर्कोट इलाकामा बनाइयो। खुर्कोट इलाकाबाट ७ जना भरिया लगाई नारायणको मूर्ति काठमाडौं ल्याउने सिलसिलामा हाल काभ्रेको तिमाल कोटको डाँडोमा बास पर्‍यो।

 भोलिपल्ट भरियाहरूले मूर्ति बोकेर हिँड्न लाग्दा मूर्ति बोक्नै नसकिने गरी गरुङ्गो भयो र हुरीबतास पनि आएर मूर्ति ल्याउन सकेनन्। त्यसै रातमा माता सुरप्रभालाई सपनामा नारायण भगवान्ले ‘मलाई यसै स्थानमा मन्दिर बनाई स्थापना गरिदेऊ’ भन्ने वाणी भएपछि माता सुरप्रभाले त्यसै स्थानमा मन्दिर बनाई नारायण भगवान्को पूजा गरिन्। अनि ठुलो गुठी जग्गा पनि राखिदिइन्। तसर्थ तिमाल कोटको नारायण मन्दिर प्रधान सेनापति शिवराम सिंह बस्न्यातकी धर्मपत्नी सुरप्रभाले बनाएकी हुन्।

हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।

यता कीर्ति मन्दिरका लागि भने ज्योतिषीको अर्को सुझावअनुसार काठमाडौंको पूर्व–दक्षिण पर्ने नजिकैको क्षेत्रबाट नारायणको अर्को मूर्ति ल्याएर स्थापना गरी पूजा गरियो। तसर्थ हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र हिटीको संयुक्त नामबाट वीर शमशेरको पालामा यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो।

१८५७ सालमा धौकललाई गडवालको मुख्य प्रशासक बनाई पठाइयो। अर्को वर्ष अर्थात् १८५८ सालमा कुनै षड्यन्त्रले आफ्नै सेनाबाट उनको हत्या गरियो। उनको मृत्युपछि कुनै कारणबिना नै सो कीर्ति मन्दिर प्रधान सेनापति भीमसेन थापाले राज्यमार्फत जफत गराए। धौकल परिवारको बिल्लीबाठ बनाइदिए। सो निवास भीमसेनले आफ्ना भाइ काजी बख्तावर सिंह थापालाई दिए। भीमसेन थापाको मृत्युपछि थापा खलकको सर्वस्वहरण भयो र सो निवास चौतारिया फत्तेजंग शाहका सन्तानले पाए। कोत पर्वमा फत्तेजंगहरू मारिएपछि जंगबहादुरले सो निवास भाइ रणोदीपसिंह राणालाई दिए।

पछि रणोदीप सिंह श्री ३ बनेपछि हनुमान ढोकामा रानीहरूको षड्यन्त्रबाट बालक राजालाई मारिएला भन्ने डरले उनलाई नारायणहिटी लगेर राखे। धीर शमशेर राणाका छोराहरूले काका श्री ३ रणोेदीपको हत्या गरी वीरशमशेर श्री ३ बनेपछि धौकलसिंहको कीर्ति मन्दिर भत्काई अर्कै दरबार बनाए। अब मात्र यो दरबारको नाम ‘नारायणहिटी’ भएको हो। त्यसपछि भने हनुमान ढोका दरबारबाट श्री ५ महाराजधिराजहरूलाई विधिवत् रूपमै यही दरबारमा सारियो। हाल लालदरबार भएको ठाउँ पनि मन्त्री धौकलको अर्को घर थियो। कोत पर्वपछि धीर शमशेरले सो घर र जग्गा पाएका थिए।

हालको नारायणहिटी दरबार मन्त्री धौकलसिंहको सन्तानलाई कुनै शोध भर्ना नदिईकनै यो निवास हरण गरिएको थियो। हालको जय नेपाल सिनेमा घर, चिनियाँ दूतावास, हात्तीसारदेखि कमल पोखरीसम्म काजी प्रधानसेनापति केहर सिंह बस्न्यातको थियो। उनका छोरा मूलकाजी (प्रधानमन्त्री) कीर्तिमानसिंह बस्न्यातको घर हात्तीसारमा थियो। कीर्तिमान सिंह नियुक्तिमार्फत पहिलो मूल काजी बनेका थिए। त्यसपछि उनको भाइ बखताबर सिंह बस्न्यात मूल काजी भए। अनि मात्र दामोदर पाण्डे मूल काजी भएकामा अहिले प्रधानमन्त्रीको कार्यालयमा राखिएका तस्बिरहरूमा इतिहास मिचेर नेपालको पहिलो प्रधानमन्त्री बनाई दामोदर पाण्डेको तस्बिर राखिएको छ, जुन सत्य होइन। यो नेपालका इतिहासकारको कमजोरी हो। कुनै पात्रलाई दोष दिने ठाउँ छैन।

यसरी रह्यो डिल्लीबजार नाम

बडामहाराज पृथ्वीनारायण शाहका काजी रनसिंह बस्न्यात (उपनाम: बाङ्या बस्न्यात) का सन्तान चिफ कर्णेल डिल्लीसिंह बस्न्यात प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाका सम्धी थिए। उनले राष्ट्र निर्माणमा अतुलनीय योगदान दिएका छन्। त्यसबखत डिल्लीबजारदेखि मैतीदेवी इलाकासम्म मानव बस्ती पनि खासै थिएन। त्यो इलाका चिफ कर्नेल डिल्ली सिंहको जग्गा थियो। उनले धर्मकर्म गर्नका लागि पशुपतिनाथसमेत जाने बागबजारको मुखदेखि मैतीदेवीसम्मको आफ्नो निजी जग्गामा बग्गी हिँड्ने बाटो खुलाउन नेपाल सरकारसँग बिन्तीपत्र हाले। त्यस्तो महानतादेखि त्यो बाटो खुलाएको पूरै क्षेत्रको नाम उनै डिल्लीसिंहको नामबाट ‘डिल्ली बजार’ राख्नसमेत परमांगी भयो। त्यसपछि यो क्षेत्रको नाम डिल्लीबजार रहेको हो।

बडामहाराज पृथ्वीनारायण शाहका काजी रनसिंह बस्न्यात (उपनाम: बाङ्या बस्न्यात) का सन्तान चिफ कर्णेल डिल्लीसिंह बस्न्यात प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाका सम्धी थिए। उनले राष्ट्र निर्माणमा अतुलनीय योगदान दिएका छन्।

 डिल्लीबजारबाट चार खाल मोडिने घुम्तीकै (दाहिनेपट्टि) का मन्दिर उनै डिल्ली सिंहले बनाएका थिए भने ठुला घण्टामा उनका कीर्तिबारे लेखिएका छन्। अर्को कुरा डिल्लीबजारमा रहेको कालिकास्थानकी देवीको शिला मात्र थियो र त्यो शिला पीपलको रुखमुनि स्थापित भएकामा उनैले श्री ३ जंगबहादुर राणालाई अनुरोध गरी मन्दिर पनि बनाएका थिए। उनको घर हाल ‘चारखाल अड्डा’ रहेको स्थानमा थियो।

डा. केआई सिंहले काठमाडौं कब्जा नगरी भाग्नुपरेको वास्तविक कारण

लगन हवेली अर्थात् दरबार। जहरसिंह पौवामा स्थापना गरिएको प्रधान सेनापति शिवराम बस्न्यातको सालिक (बायाँ)।

नेपाली कांग्रेसभित्रको किचलोका कारण डा. केआई सिंहले विद्रोह गरेका थिए। लेखिएअनुसार उनी सच्चा देशभक्त सिपाही थिए। भैरहवा क्षेत्रमा उनले गरेको विद्रोह नेपाली सेनाले नियन्त्रण गर्न सक्ने स्थिति छँदाछँदै पनि मातृकाप्रसाद कोइराला सरकारले भारतीय सेना बोलाएर नेपाली सेनासमेतको संयुक्त प्रयासबाट केआई सिंह र उनको टोली समातिएका थिए।

केआई सिंहको टोलीले कोतमा राखिएका नेपाली सेनाका हतियार त कब्जा गरे तर सबै गोली भर्ने भाग, गोली पड्काउने पुर्जालगायत झिकिएका अवस्थामा थिए अर्थात् हतियार पड्कने र प्रयोग गर्ने हालतमा थिएनन्। त्यसपछि केही गर्न नसक्ने महसुस गरी सिंह र उनको टोली काठमाडांैबाट भागेका थिए।

केआई सिंहलाई समातेर सिंह दरबारमा राखिएकोमा उनले कांग्रेसकै मुक्ति सेनाको मन जितेर मुक्ति सेनाले नै केआई सिंहलाई जेलमुक्त हुन सघाए। त्यसपछि उनले काठमाडौंलाई झन्डैझन्डै नियन्त्रणमा लिए।

नक्खु जेल नियन्त्रणमा लिएर रामप्रसाद राई लगायतका सहयात्रीहरूलाई छुटाएका थिए। नेपाली कांग्रेसका नेता बेनीबहादुर कार्की र जर्नेल मेघबहादुर कार्कीका पिता नेपाली सेनाका कप्तान खड्गबहादुर कार्कीलाई पूर्व खोटाङमा यिनै रामप्रसादले मारेका थिए। लगनखेल ब्यारेकमा कप्तान खड्ग र जमदार रामप्रसाद दाजुभाइ जसरी मिल्थे। कप्तान खड्गको घरमा आउजाउ थियो रामप्रसादको।

केआई सिंहलाई नेपाली सेनाका हातहतियार, गोली–गट्ठा काठमाडौंको टुँडिखेलमुनि (टुमु) कोत र टुँडिखेलमाथि (टु‍मु) कोतमा राखिएको र तीनलाई तुरुन्त कब्जामा लिएर मातृका सरकारलाई अपदस्तसमेत गर्न सकिन्छ भन्ने थाहा थियो। त्यसपछि केआई सिंहको टोली उक्त दुवै कोतघरमा हतियार–गोली कब्जा गर्न गए। हतियार त कब्जा गरे तर ती सबै गोली भर्ने भाग, गोली पड्काउने पुर्जालगायत झिकिएका हतियार थिए। अर्थात् हतियार पड्कने र प्रयोग गर्ने हालतमा थिएनन्। त्यसपछि केआई सिंह र उनको टोलीलाई आपत प¥यो। उनीहरूले केही गर्न नसक्ने भएपछि काठमाडाैंबाट भागेका थिए।

हतियार किन प्रयोगहीन अवस्थामा थिए?

जब १९४२ सालमा श्री ३ रणोदीप सिंहको हत्या भयो र वीर शमशेर श्री ३ बने। त्यसपछि जंगबहादुर राणा-जबरा लेख्न थाले। त्यसपछि सेनाका हतियार, गोलीगट्ठालगायतलाई नियन्त्रणमा राख्न ती हतियारको गोली भर्ने ठाउँ, नटबोल्ट, फायरिङ गर्ने पिनलगायत सामग्री छुट्याएर फरक फरक ब्यारेकमा राख्न थालियो।

ती फरक फरक स्थानका हतियार राख्ने घरको साँचो खोल्नका लागि तीन जना अधिकारी राखिएको थियो। श्री ३ को आदेशमा मात्र ती कोत खुल्थे। वास्तवमा यो श्री ३ हरूले आफू मरिएला भनेर बनाइएको व्यवस्था अर्थात् सतर्कता थियो। हातहतियार नियन्त्रण गर्ने मामिलामा यसलाई सही काम मान्नुपर्छ।

यदि कोतमा राखिएका हातहतियार गोली हाल्न र  पड्काउन मिल्ने साबुद भएका भए केआई सिंहले  सत्ता परिवर्तन गर्ने बलियो सम्भावना थियो भन्ने कुरालाई नकार्न सकिँदैन।

जहर सिंह पौवा

काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो त्यो। तसर्थ त्यो पौवामा पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो।

पौवा बनेको इलाकामा करिब १०० रोपनी र हाल सिन्धुपाल्चोक फटकसिलाको पञ्चपाले भन्ने ठाउँमा १५० रोपनी खेत त्यस पौवाको नाममा गुठी रहेको थियो। हाल ती सबै जमिन कता पुगे? खोजी हुँदै छ। जहर सिंह पौवा बजारमा करिब तीन आना जति जग्गा बाँकी छ, जसमा महिलाहरूले भवन बनाई उपयोग गरेका छन्। करिब तीन दशकअगाडिसम्म स्थानीयलाई इतिहास नसुनाइँदा र प्रमाण नदेखाइँदा सो इलाकाका तामाङ समुदायमा राजाले घोडा चढी आएका जारलाई काटेको स्थान भएकाले ‘जारसिंह पौवा’ भएको भन्ने जनविश्वास रहेछ। पछि प्रमाण बुझेपछि सो कुरा हरायो।

काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो त्यो। तसर्थ त्यो पौवामा पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो।

काजी जहरसिंह बस्न्यातले बनाएको पौवाको नामबाट सो स्थानको नाम ‘जहरसिंह पौवा’ हुन गएको हो। त्योभन्दा अगाडि यस क्षेत्रलाई साँगा चोक भनिन्थ्यो। काठमाडौंबाट साँखु पुगेर करिब ७ किमि उत्तर डाँडोमा जहरसिंह पौवा नामको सानो बजार छ। जहाँबाट मेलम्ची जाने मोटर बाटो जान्छ। यो अहिले पर्यटकीय स्थल बनेको छ। नेपाल एकीकरण युद्धको सिलसिलामा यही जहरसिंह पौवाभन्दा करिब २ किमि उत्तर–पश्चिमको ‘द्वारे टोल’ मा प्रधान सेनापति शिवराम सिंह बस्न्यातको नेतृत्वमा काठमाडौं र भक्तपुरका सेनासँग लडाइँ हुँदा शिवराम सिंहलगायत धेरै गोर्खाली सेनाले १८०३ फागुन ५ गते वीरगति पाए। त्यस बखत प्रधान सेनापति काजी शिवराम सिंह ३३ वर्षका थिए।

शिवराम सिंहका माहिला छोरा प्रधान सेनापति केहर सिंह बस्न्यातका जेठा छोरा मन्त्री काजी जहरसिंह बस्न्यातले आफ्ना स्वर्गीय बाजे शिवराम सिंहको स्मृतिमा भव्य पौवा निर्माण गरे। साथै यसको करिब तीन सय गज उत्तर डाँडोमा ठुलो बुद्ध चैत्य (माने) समेत बनाइदिए। जसलाई पछि पनि ‘काजी माने’ भनिन्थ्यो। यहाँ हाल शिवरामसिंह बस्न्यातको सालिक बनेको छ भने त्यसको दक्षिणपट्टि नयाँ माने बनेको छ। त्यही मानेको नजिक ‘काजी माने’ थियो। यो सालिक प्रधान सेनापति पूर्णचन्द्र थापाले शिल्यान्यास गरी प्रधान सेनापति प्रभुराम शर्माले अनावरण गर्नुभएको हो।

प्रकाशित: ९ भाद्र २०८० ०१:३३ शनिबार

दरबारको नयाँ इतिहास भीमसेन थापाकी श्रीमतीको आत्महत्याको खबर असत्य