विचार

त्यो युगान्तकारी संकल्प

५४ वर्षपछि नेपालमा दोहोरियो उही इतिहास । पहिलो पटक उस्तै ऐतिहासिक घटनाले एउटा यस्तो नायकको उदय गराएको थियो, जो आजपर्यन्त संसारमै पहिलो पटक कार्ल माक्र्सको सैध्दान्तिक आलोकमा कम्युनिस्ट सत्ताको सफल अभ्यासको दृष्टान्त प्रस्तुत गर्ने क्रान्तिकारी सिध्दान्तकारका रूपमा परिचित छ । सन् १८६६ मा, जतिबेला रुसको सिंहासनमा जार अलेक्जेन्डर तेस्रा थिए, स्लिस्सलवर्गमा झुण्ड्याएर मारिएका पाँचजनामध्ये एक थिए, अलेक्जेन्डर उल्यानोभ । समयक्रममा संसारले देख्यो, उनै उल्यानोभका भाइ लेनिनका रूपमा उदाएर जनवादी गणतन्त्र सोभियत संघका संस्थापक हुन पुगे । यद्यपि कम्युनिस्ट आन्दोलनको पहिलो प्रयोगका रूपमा पेरिस कम्युनको स्मरण गर्ने गरिन्छ, निर्विवादरूपमा १९१७ को रुसी अक्टोबर क्रान्तिलाई नै माक्र्सवादको मार्गदर्शनमा सम्पन्न पहिलो सफल क्रान्ति मानिन्छ । एक्काइस वर्षीय उल्यानोभलाई फाँसीमा झुण्ड्याएर मारिएको ५४ वर्षपछि ५४ सय किलोमिटर टाढा नेपालमा त्यसैगरी चारजना युवालाई मृत्युदण्ड दिइयो, जसमध्ये एक थिए २३ वर्षीय गंगालाल । दाजुको त्यही उत्सर्गगाथाले समयक्रममा नेपालका प्रथम कम्युनिस्ट संगठक, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको उदय गरायो । 

पुष्पलालले जीवनभर पराजय र संघर्षका असीमित शृंखला सामना गरिरहनुपर्‍यो । तर लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबध्द नेपाली कम्युनिस्ट आन्दोलनको उल्लेखनीय परम्परा उनकै आदर्शबाट अभिप्रेरित छ ।

गोली ठोकेर मृत्युदण्ड दिइनुभन्दा एक दिनअघि गंगालाललाई आफ्ना परिवारजनसँग भेट्ने अवसर दिइएको थियो । किशोर पुष्पलाल बुबा÷आमालगायत परिवारका अन्य सदस्यसँग दाजुलाई अन्तिम पटक भेट्न गएका थिए । केन्द्रीय कारागारअगाडिको जगन्नाथ मन्दिरमा ल्याइएका दाजु देख्नेबित्तिक्कै उनी भावविभोर भए । उनले जुत्ता फुकाले र दाजुलाई अंकमाल गरे । गंगालालले त्यही क्षण भाइलाई दिएको आदेश पुष्पलालले जीवनपर्यन्त भुलेनन् । दाइले भनेका थिए, माहिला अब मैले सुरु गरको अभियान अगाडि बढाउने जिम्मा तिम्रै भयो । सहिद गंगालालका शब्दहरू जीवनको अन्तिम क्षणसम्म पनि उनका कानमा गुन्जिरहे– माहिला हामीले लोकतन्त्र स्थापनाका लागि बालेको दियो अब तिमी सम्हाल र यसलाई अझ जाज्वल्यमान बनाउँदै देशका सबै कुनाकन्दरासम्म पुर्‍याऊ । 

त्यस दुःखद, पीडादायी तर उत्कट क्रान्तिकारी भावनाको क्षणले पुष्पलाललाई यति प्रभावित तुल्यायो, त्यसको पाँच वर्ष पुग्दा÷नपुग्दै उनी काठमाडौंको सडकमा राणा शासनविरुध्दको पहिलो ¥यालीको अगुवाका रूपमा देखा परे । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । नेपाली समाजको रूपान्तरणका लागि उपयुक्त दार्शनिक र सैध्दान्तिक मार्गदर्शनको खोजी, तद्नुकूल संगठनको विकास अनि आन्दोलनको संयोजनमै उनले जीवन उत्सर्ग गरे । आउँदो शनिबार नेपाली समाजलाई कम्युनिस्ट घोषणापत्रसँग साक्षात्कार गराउने, नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको अगुवाइ गर्ने उनै क्रान्तिका अध्येता र प्रयोगकर्ता पुष्पलालको ३९औँ स्मृति दिवस परेको छ । 

९३ वर्षअघि सरकारी जागिरेका रूपमा रामेछापको भंगेरी पुगेका काठमाडाै‌का भक्तलाल श्रेष्ठका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालको ३९ वर्षअघि भारत निर्वासनमै निधन भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दा जनतामा आधारित शान्तिपूर्ण आन्दोलनको उनको अवधारणाको बारम्बार उल्लेख गर्ने गरिन्छ । दुई दशकअघि माओवादी पार्टीको अगुवाइमा पोखिएको विशृंखल र अपरिष्कृृत आवेगले नेपालको वर्ग संघर्षको सौम्य परम्परालाई ओझेलमा पार्न सक्ने थिएन, शान्ति सम्झौतापछिका केही वर्षमै त्यो कुरा अझ प्रस्ट भइसकेको छ । दश वर्षअघि कम्युनिस्ट पार्टीहरूको सक्रिय नेतृत्वमा नेपालमा व्यापक जनआन्दोलनको अवधारणाअन्तर्गत शान्तिपूर्ण विशाल प्रदर्शनबाटै गणतन्त्र स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको व्यापक जनाधार, जनतामा आधारित परिवर्तनकारी आन्दोलन र विशिष्ट वर्गसंघर्षको अभ्याससँगै पुष्पलालको सपना पूरा भएको थियो । त्यसैले आज पनि माक्र्सको अभिप्रायलाई नेपाली धर्तीमा कार्यान्वयन गराउने उनको युगान्तकारी संकल्पको स्मरण गर्ने गरिएको हो ।  

पार्टी निर्माणमात्र गरेनन् पुष्पलालले, असल उद्देश्यका साथ सही कार्यनीति अघि सारे । तर आफ्नो जीवनकालमा उनले आलोचना, असहमति र षडयन्त्रको मात्र सामना गर्नुपरेन, पार्टी विभाजन पनि देख्नुपर्‍यो । उनले जीवनभर पराजय र संघर्षका असीमित शृंखला सामना गरिरहनुप¥यो । तर लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबध्द नेपाली कम्युनिस्ट आन्दोलनको उल्लेखनीय परम्परा उनकै आदर्शबाट अभिप्रेरित छ । परिपक्वताको चरणमा पुगिसकेको नेपाली कम्युनिस्ट आन्दोलनमा उनको स्थान अरु कसैले ग्रहण गर्न सक्ने छैन । वाम–लोकतान्त्रिक आन्दोलनका प्रणेता पुष्पलालले जे भनेका थिए वा जे/जस्ता निर्देशन दिएका थिए, ती सबै अहिले पनि जस्ताको त्यस्तै अंगीकार गर्नुपर्छ भन्नु उपयुक्त हुँदैन् । तर नेपालका कम्युनिस्टहरूले आफ्नो गौरवगाथा गाउँदा उनको योगदान र प्रेरणालाई भने विशिष्टरूपमा सम्झनैपर्ने हुन्छ। 

उनले नेपाली समाजको सामन्तवादी संरचना परिवर्तन गर्ने संकल्प गरेर आफूलाई राणा विरोधी आन्दोलनमा समाहित गराए । सात सालको परिवर्तनभन्दा करिव दुई वर्षअघि एक महिलासहित आफ्ना अन्य चार कमरेडसँग मिलेर उनले भारतको कलकत्तामा विधिसम्मतरूपमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । उनी नेपाली धर्तीमा माक्र्सवादलाई फूलाउन–फैलाउन सैध्दान्तिक र सांगठानिक कार्यमा एकैपटक जुटे । स्थापनाको चार वर्षपछि सम्पन्न नेकपाको प्रथम महाधिवेशनले सात सालको जनआन्दोलनका उपलब्धिको रक्षा गर्ने कार्यनीति अवलम्बन गर्‍यो । पार्टीले आपूmलाई लोकतान्त्रिक मूल्य र मान्यताका पक्षमा प्रस्टरूपमा उभ्यायो । तर महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीको अनुपस्थितिमा कार्यबाहक महासचिव बनेका केशरजंग रायमाझी पार्टीमा दरबारको स्वार्थ प्रत्यारोपणका निम्ति षडयन्त्रको जालो बुन्न थाले । उनको पार्टी कार्यक्रममा परिवर्तनको प्रस्तावविरुध्द पुष्पलाल कडा असहमतिका साथ उभिए । कार्यनीतिका सवालमा नेकपा त्यो सुरुवातको अविभाजित कालमै दुई भिन्न धारमा विभाजित हुन थाल्यो । चार वर्षपछि भएको नेकपाको दोस्रो महाधिवेशनमा रायमाझीको पार्टी कार्यक्रममा परिवर्तन गरिनुपर्छ भन्ने प्रस्ताव अस्वीकृत त भयो तर महाधिवेशनले उनैलाई महासचिव बनायो । त्यसपछिका दिनमा एकातिर पुष्पलालले कठिन अन्तरपार्टी संघर्षको नेतृत्व सम्हाले, अर्कातिर रायमाझीले विसर्जनको बाटो तयार गरिरहे । अन्ततः उनले महासचिवकै हैसियतले राजा महेन्द्रको निरंकुशतावादी कदमलार्ई प्रगतिशील ठहर्‍याउँदै स्वागत गरे । राजाको अधिनायकवादी कदमसँगै नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद सतहमा आयो । पुष्पलालको पहलमा पार्टी पोलिटब्युरोले राजाको कदमलाई सैनिक आतंकको संज्ञा दियो, लोकतन्त्रउपरको आक्रमणका रूपमा व्याख्या गर्दै विरोध जनायो र संसद्मा रहेका सबै दलको सम्मेलन गराउने माग गर्‍यो । त्यस ऐतिहासिक पहलसँगै उनले नेपाली कम्युनिस्ट आन्दोलनको साखको जगेर्ना गरे । पुष्पलालले पछिसम्म विघटित संसद् पुनस्र्थापना र संयुक्त जनआन्दोलनको पक्षपोषण गरिरहे । 
 
१७ सालपछिका कठोर दिनमा उनले वाम–लोकतान्त्रिक शक्तिहरूका पहलमा संयुक्त जनआन्दोल सञ्चालन गर्नुपर्छ भन्ने अवधारणा निरन्तर अघि सारे । पहिलो निर्वाचित संसद् विघटन गरिएको दुई महिनापछि भारतमा आयोजित केन्द्रीय समितिको एक महिना लामो विस्तारित बैठकमा टाढा पुगिसकेका रायमाझीले वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको वकालत गर्नु अस्वाभाविक थिएन । बैठकमा मोहनविक्रम सिंहको संविधानसभाको निर्वाचनको माग गर्ने कार्यनीतिले बहुमत पायो । तर पार्टीमा देखिएको गहिरो मतभेदले अन्ततः तेस्रो महाधिवेशनपछि विभाजनको बाटो अख्तियार ग¥यो । १७ सालको फौजी काण्डको साढे दुई वर्षपछि सम्पन्न तेस्रो महाधिवेशनले संप्रभुता सम्पन्न संसद् स्थापनाको नारा अघि सा¥यो । त्यो नारा वस्तुतः पुष्पलालको विघटित संसद्को पुनस्र्थापनाको माग र मोहनविक्रमको संविधानसभाको मागबाट त्यति टाढा थिएन । तर विभाजनको बीउ त पहिले नै रोपिएको थियो । पर्याप्त छलफल गर्ने वातावरण पनि थिएन । पार्टी कार्यक्रम सम्बन्धमा विवाद नचर्काइ, अविलम्ब संविधानसभा चुनाव गराउन माग गर्दै संघर्षको थालनी गर्ने सहमतिविपरित पुष्पलाललाई खिन्न पार्दै महाधिवेशनले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गर्‍यो । अनि एकताबध्द भएर अघि बढ्ने प्रतिबध्दता केही समयभित्रै खोक्रो सावित हुन गयो । 

नेपालका सबै कम्युनिस्ट पार्टीमा आजसम्म रायमाझीको दरबारपरस्त कार्यनीतिविरुध्द पुष्पलालको लोकतन्त्रको कार्यनीतिको चर्चा कुनै न कुनै रूपमा भइरहन्छ । त्यसैले आजको मितिमा पनि त्यो समयको अवस्थालाई सहजै बुझ्न सकिन्छ, टाढा पुगिसकेका रायमाझीलाई महाधिवेशनले कारबाही गर्नु अस्वाभाविक थिएन । दरबारको आडमा उभिएका उनले कम्युनिस्ट पार्टीकै नाममा दुनियाँलाई अल्मल्याइरहन खोज्नु पनि अनौठो थिएन । महाधिवेशनपछि पार्टी केन्द्र अस्तब्यस्त बन्दै गयो र नेकपाको विभाजन चरण सुरु भयो ।

पञ्चायतकालको कठिन राजनीतिक परिवेशमा पुष्पलाल सधँै वाम–लोकतान्त्रिक शक्तिको संयुक्त पहलबिना राजाको पञ्चायती व्यवस्था अन्य हुन नसक्ने अडानमा कायम रहे । त्यसै क्रममा उनले वाम–लोकतान्त्रिक एकतामा जोड दिइरहे । ४६ सालमा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले संयुक्तरूपमा सञ्चालन गरेको ऐतिहासिक जनआन्दोलनको सफलतासँगै उनको भविष्यवाणी सत्य सावित भयो । पुष्पलाल स्वप्नद्रष्टा क्रान्तिकारी थिए, उनको जीवनी, सोच र संघर्षगाथाको स्मरणमात्रले पनि लोकतान्त्रिक आकांक्षालाई ऊर्जा प्रदान गर्नेछ ।

प्रकाशित: ४ श्रावण २०७४ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App