विचार

कांग्रेसी बैठकमा ‘कचमले’

सुदूरपश्चिमको लोकप्रिय परिकार हो कचमले ! कचमले भनेको भर्खरै सकिएको कांग्रेस केन्द्रीय समितिमा संस्थापन पक्षको पेलान र विपक्षको जस्तो कचकच होइन। न त यो झैझगडा र वादविवाद हो। यसले धेरैथरिको मिलावट जनाउँछ। यो त्यस्तो मिश्रणको एकल नाम हो, जसले एउटै परिकारलाई जनाउँछ। जसको चर्चा चल्यो कि मांसहारीको मुखमा पानी रसाउन थाल्छ। कांग्रेसका सभापति शेरबहादुर देउवा कचमलेका पारखी हुन्। कचमलेको चर्चा चल्यो कि उनी स्वाभाविकरूपमा हडबडाउँदै भन्न थालिहाल्छन् कैले–कैले, कहाँ? वास्तवमा के हो कचमले भनेको? कसरी तयार पारिन्छ कचमले? यसबारे पूर्वका अधिकांशलाई जानकारी नभएकाले दिन खोजिएको हो।

कचमले देवीदेवतालाई भाकल गरी बली दिइएको बोको वा पाठीको मासुका विशेष अंगहरू समिश्रण गरेर बनाइन्छ। यद्यपि, आजभोलि यो घरमा काटिएका बोकाको मासुबाट पनि तयार पारिन्छ। बोका वा पाठी काटिसकेपछि त्यसको रौँ पानी तताएर खुइल्याइँदैन। आगो बालेर डढाइन्छ। त्यसपछि बोकोलाई नसेलाउँदै माडीमाडी पखालिन्छ। छालासँगै भुँडी भित्र्याँस निकालिन्छ। टाउकोबाट पनि गिदी, जिब्रो, आँखा, कान छुट्याइन्छ। अनि पकाउने मासुबाहेक छाला, जिब्रो, गिदी, कान, कलेजो, आँखा, राजखानी, फोक्सो, मिर्गौला, फलमासुलगायतका हड्डीबिहीन अंग तात्तातै ससाना टुक्रा पारेर काटिन्छ र नून, तेल, खोर्सानी, लसुन, अदुवा, मसला हालेर खुब मोलिन्छ। मेथीलगायत पड्काएर झ्वाइयँ झानेपछि वरिपरि त्यसको वासना फैलन्छ र कचमले तयार हुन्छ। अनि, मानमर्यादाअनुसार वरिष्ठदेखि कनिष्ठसम्मलाई भाग लगाएर दुहुनारबोतामा प्रसादका रूपमा दिइन्छ।

सुदूरपश्चिमको लोकप्रिय परिकार हो कचमले ! कचमले भनेको भर्खरै सकिएको कांग्रेस केन्द्रीय समितिमा संस्थापन पक्षको पेलान र विपक्षको जस्तो कचकच होइन। न त यो झैझगडा र वादविवाद हो। यसले धेरैथरिको मिलावट जनाउँछ।

कांग्रेस पनि केन्द्रीय समितिको भर्खरै सकिएको बैठकपछि अहिलेसम्म पनि घरघर र मोबाइल मोबाइलको कचमलेझैँ टिप्पणी र छलफलको विषय बनिरहेको छ। कचमले बनाउने बोकाको झैँ प्रक्रिया पुर्‍याएर केन्द्रीय बैठकलाई रोचक, घोचक र मनोरञ्जनयुक्त पारिएको छ।

 कांग्रेसका उपासक मात्र होइन, त्यसइतर राजनीतिका खेलाडीबीच पनि यतिखेर राजनीतिक कचमले चर्चाको चुलीमा छ। शेरबहादुर देउवा पार्टी सभापति बनेपछि उनले कांग्रेसको कचमचलाई फेसबुकमा लाइभ गराएर गएको साता के पस्किएका थिए देशभरि कचमलेझैँ केन्द्रीय बैठक लोकप्रिय बन्न पुगेको सुदूरपश्चिमका एक कांग्रेसी केन्द्रीय सदस्यले सुनाए।

के कांग्रेस यतिखेर कांग्रेसी नेताले दाबी गरेझैँ घरघरको चर्चाको विषय बनेको हो त? यसबारे भिन्नभिन्न व्यक्तिका मिश्रित प्रतिक्रिया पाइयो। कतिपयको भनाइ छ, यसले कांग्रेसको रहेसहेको ख्याति पनि ह्रास गरायो। धेरैको मत भने कांग्रेस जे जस्तो अवस्थामा छ त्यसलाई पारदर्शी हिसाबमा देश दुनियाँसमक्ष देउवा नेतृत्वले छ्याँग पारिदिएको छ।

एक वर्षअघि पार्टी संस्थापनका शेरबहादुरसँग सिंगौरी खेल्ने कांग्रेसभित्रका प्रतिपक्ष शेखर कोइराला मध्यस्थकर्ता बनेर उदाए भने शेखरका सहयोगी महासचिव गगन थापा पार्टीभित्र आक्रामक प्रतिपक्षीका रूपमा देखापरेका छन्। हिजो कांग्रेस नेतृत्वको उदय केका लागि भएको थियो? यो अहिले कहाँनेर उभिएको छ र अब कता अभिमुख भैरहेको छ? जान्नेहरूलाई विश्लेषण गर्न र थाहा नपाउनेहरूका निम्ति जानकारी पाउन प्रत्यक्ष प्रसारण लाभदायी बनेकामा विवाद रहेन।

कांग्रेस पनि केन्द्रीय समितिको भर्खरै सकिएको बैठकपछि अहिलेसम्म पनि घरघर र मोबाइल मोबाइलको कचमलेझैँ टिप्पणी र छलफलको विषय बनिरहेको छ। कचमले बनाउने बोकाको झैँ प्रक्रिया पु¥याएर केन्द्रीय बैठकलाई रोचक, घोचक र मनोरञ्जनयुक्त पारिएको छ।

अब सकल जगत्ले कांग्रेसका कम्तीमा पाँच कुरा थाहा पायो, बुझ्नुभयो! पहिलो, कांग्रेसको अजेन्डा के रहेछ? यो कसरी बन्दोरहेछ? केन्द्रीय नेतृत्वबीच छलफल के र कुन विषयमा कसरी हुने रहेछ? कुन नेताको प्राथमिकता, अजेन्डा, एकअर्काबीचको संबन्ध र हैसियत के कस्तो रहेछ? सर्वसाधारणको हातहातमा रहेको मोबाइलबाट जनताले रिठ्ठो नबिराइ थाहा पाए, होइन? सञ्चारमाध्यम पर्खिरहनु परेन। बैठकैपिच्छेका प्रवक्ता र गुटैपिच्छेका बाइट पनि चाहिएन।

दोस्रो, केन्द्रीय नेतृत्वको उच्च तहको बैठकभित्र आन्तरिक प्रजातन्त्रको स्तर सबैलाई थाहा भयो, होइन? नेता वास्तवमा को रहेछ? थाहा भयो? नेतृत्वको गुणस्तर र सञ्चार क्षमता कति रहेछ? तेस्रो, देशको सबै भन्दा पुरानो लोकतान्त्रिक भनिएको पार्टीको मूल्य, मान्यता के रहेछ? विचार, सिद्धान्त, आदर्श, नैतिकता रहेछ कि त्यसभित्र व्यक्तिको संबन्ध प्रमुख रहेछ? राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे स्पष्ट भयो कि भएन ? चौथो, संस्थापन पक्षको अवस्थाको तुलनामा विद्रोही शक्ति कति कमजोर अनि विभाजित रहेछ देख्नुभयो नि? बुझाइ, तर्क र प्रस्तुतिका हिसाबले कति सशक्त वा कमजोर रहेछन् कांग्रेसीहरू त्यो पनि स्पष्टसँग देखिएन त? वर्तमान कांग्रेसमा दोस्रो पुस्ताको नेता को हो भन्ने छ्याँग भएन त? उसका खुट्टी फाइलेरिया रोग लागेको व्यक्तिको पिँडौला जस्तो कि सुकेनास लागेको व्यक्तिको खुट्टी जस्तो रहेछ? पत्तो पाइयो?

पाँचौँ, कांग्रेसको पन्ध्रौँ अधिवेशनमा संस्थापन पक्षलाई जबर्जस्त चुनौती दिएका भनिएका शेखर कोइरालाको भूमिका पनि प्रत्यक्ष प्रशारणबाट जनताले देखे, बुझे र थाहा पाए। के स्पष्ट भयो भने, तपाईँको इच्छाअनुसार होइन, जिम्मेवार व्यक्तिले निर्वाह गरेको भूमिकाले पार्टीमा उसको स्थान निर्धारण गर्दोरहेछ। म्याराथनमा जो छिटो कुद्छ र दूरी सबैभन्दा पहिला जस्ले नाघ्छ मेडल त उसैले पाउछ ! होइन र?

कांग्रेसको आठ दिन चलेको केन्द्रीय समितिको बैठकमा २०८४ सालको चुनावमा कसरी जानेबारे चिन्ता व्यक्त गरिएन। यसमा कांग्रेस नेतृत्वमा एकखालको कार्यगत एकता भैरहेको प्रष्टै देखियो। खुलेआम नभने पनि सबैजसो नेता के कुरा पन्छाउन अभिप्रेरित देखिएका थिए भने अहिले सामना गर्नु परिरहेका समस्याबारे कम भन्दा कम बोलियोस् र सकेसम्म छलफल हुँदै नहोओस्। यसका लागि पनि प्रायः केन्द्रीय सदस्य स्मार्ट बनेर प्रस्तुत हुन खोजिरहेको ‘एक्रोब्याट’ प्रत्यक्ष प्रशारण अवधिभर दोहोरिइरह्यो।

कांग्रेस बैठकमा नेताहरूको प्रस्तुतीकरणमा मतैक्यता नभएको विषय नै माओवादी नेता प्रचण्डलाई सत्ताको साँचो सुम्पेर पहिलो पार्टी हुँदाहुँदै पनि तेस्रो पार्टीको अधीनस्त भएर रहनुको दुखान्तलाई प्रस्तुत गर्नु थियो। कांग्रेसलाई यसमा कहीँकतै दुखेको देखिएन। जसलाई दुखेको छ, तिनीहरूको दुखेसोको महाभारत आफ्नै ठाउँमा छ तर त्यसबाट तिनलाई मुक्त गर्ने महाभारतको जस्तो कृष्णको उपस्थिति कांग्रेस वृत्तमा यतिखेर कहीँकतै देखिएन।

कांग्रेस शीर्ष बैठकमा सत्तासुख सबै सुखको मुहान बनेझैँ देखियो। बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा कांग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो। अर्थात, कांग्रेसको अहिलेको अन्तरद्वन्द्वमा सैद्धान्तिक मतभेद कहीँकतै देखिएन।

विवाद देखिएको भनेको गठबन्धनबाट प्राप्त सुविधा वा अवसर कांग्रेसभित्रको संस्थापन पक्षले बढी हात पार्‍यो, पराजीत पक्षले यथोचित पाएन भन्ने मात्रै सुनियो। सभापति देउवाले गठबन्धनको फाइदा एकलौटीरूपमा आफूले मात्र लिए भन्ने आरोपबाट धेरै नै श्रापित पनि हुनुपर्‍यो। यो आरोपको लहरो तान्दा पहरो कहाँसम्म गर्जियो भने, स्थानीय निर्वाचन होस् वा प्रदेश र संघीय संसद्को निर्वाचनमा संस्थापन पक्षले सकेसम्म आफ्नो वा आफू वरिपरिकालाई प्राथमिकता दिएको र संस्थापनइतरलाई अवसर दिनुको साटो गठबन्धनको अर्कै दलको उम्मेदवारलाई अवसर दिएर खुच्चिङ गरेको आरोप लाग्यो।

यसले व्यक्तिगत कटुताको स्तरलाई चरमविन्दुमा पुर्‍याएको छर्लंग पार्‍यो। तर सभापति देउवाले विपक्षलाई कमजोर पार्ने पत्ता खालमा फयाँक्न कहिल्यै कन्जुसी गरेनन्।

केन्द्रीय समितिमा कचमलेको व्यापार गरिरहे। ‘कोइराला परिवारले मलाई बनाएका हुन्, सत्तामा पनि पुर्‍याए, म कोइरालाप्रति अन्याय गर्दिन’–देउवाले एक गोली के चलाएका थिए, तत्कालै दुईवटा सिकार ढलिहाले–डा. शेखर र डा. शशांक। त्यसपछि बैठकमा जमजमाएका विश्वप्रकाश र गगन पनि ठहरै भए।

गठबन्धनको विषयमा केन्द्रीय समितिको बैठकमा चर्चा नै नभएको भने होइन। विवाद केमा भयो भने २०८४ को निर्वाचनमा २०७९ कै जस्तो पहिल्यै गठबन्धन गरेर चुनावमा जानुपर्छ कि जानु हुन्न?

कांग्रेस शीर्ष बैठकमा सत्तासुख सबै सुखको मुहान बनेझैँ देखियो। बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा कांग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो। अर्थात, कांग्रेसको अहिलेको अन्तरद्वन्द्वमा सैद्धान्तिक मतभेद कहीँकतै देखिएन।

यो विषयमा नेताहरू बोल्न थालेपछि प्रत्यक्ष प्रशारण हेरिरहेकाहरूले व्यक्त गरेको झटपट प्रतिक्रिया थियो– कांग्रेसले छोराछोरी पाउनु कहिले कहिले भोटो सिउनु अहिले उखान चरिचार्थ गर्‍यो! उनीहरूको प्रतिक्रिया थियो–कांग्रेसमा एक्लै चुनाव लड्ने ह्याउ देखिँदैन किनभने उसको संगठन भताभुंग छ। विचार, सिद्धान्त र आचरण नारायणहरि पारिएको छ। निर्वाचनमा सिद्धान्तनिष्ठ, संघर्षशील, विषयविद्ले टिकट पाउँदैनन्। चुनाव जितेकालाई एकपटक हेर्नुहोस् त, ठेकेदार, दलाल, बिचौलिया, तस्कर, माफिया, डन, व्यापारी, सामन्त...। कांग्रेसीहरू माओवादीका पुच्छर जस्तै देखिन्छन्।

सरकारमा ठाउँ पाएका मन्त्रीलाई फाइदा होला तर देश, जनता र पार्टी रनभुल्ल छन्। मिटरब्याजीमा को छ? भुटानी शरणार्थीमा को छ? बालुवाटार प्रकरणमा को छ? कांग्रेस र यो पार्टीको छवि कमजोर मात्र होइन दिनदिनै नारायणहरि पारिँदैछ। प्रतिव्यक्ति जनतामाथिको ऋण बढेर एक लाख रुपियाँ पुग्न लागिसक्यो। भएका राष्ट्रिय उद्योगलाई निजीकरण गरेको आरोप पार्टीले खेपिरहेको छ। युवा मतदाताको विदेश पलायन झन् बढिरहेको छ। नयाँ पुस्तामा पार्टीको नामोनिसान देखिँदैन। जनवर्गीय संगठनको नेतृत्वलाई बिचौलियाको भूमिका निर्वाह गर्दैमा फुर्सद छैन।

नेपाली कांग्रेसको अहिलेको अन्तरद्वन्द्वमा सैद्धान्तिक मतभेद कहीँकतै देखिएन। विवाद देखिएको भनेको गठबन्धनबाट प्राप्त सुविधा वा अवसर कांग्रेसभित्रको संस्थापन पक्षले बढी हात पार्‍यो, पराजीत पक्षले यथोचित पाएन भन्ने मात्रै सुनियो।

त्यति मात्र हैन, राष्ट्रिय मुद्दामा कांग्रेस मौन छ। कांग्रेस सत्तामा छ तर बूढो काँधमा प्रचण्ड बोकेर हिँडिरहेकोले पार्टी अर्धमुर्छित छ। यही अवस्था बताएर सभापति देउवा निजी भेटमा पटक पटक दोहोर्‍याइरहन्छन्–ए बाबा म के गरौँ? म नेतृत्व छाड्न तयार छु। बूढो पनि भएकै हो तर मैले छाडे गुट र फुटले कांग्रेस झन् डामाडोल हुने देख्दैछु। रामचन्द्रलाई छोड्दा हुन्थ्यो तर उनी राष्ट्रपतिमा लोभिए।

देउवाको पछिल्लो भनाइ र चतुर चाललाई डा. शेखरले पनि चेसको घोडाको चालझैँ आफ्नो भनाइ राखिहाले। यसो गरिरहँदा उनले गगनलाई आफूभित्रै राखिरहने गरी देउवालाई चेक दिन पनि भ्याइहाले। त्यो भनेको महासचिव गगन अब पन्ध्रौँ अधिवेशनमा मलाई सभापति बनाउन लाग, सोह्रौँ महाधिवेशनमा तिमीलाई सभापति बनाउन म लाग्छु। यसो गर्दा हामी दुबै ‘विनविन’ हुनेछौँ। त्यतिन्जेल हेर गगन, तिमी पनि सभापति र प्रधानमन्त्री बन्न परिपक्व भइसक्ने छौ! 

प्रकाशित: १९ श्रावण २०८० ००:३५ शुक्रबार

कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसी बैठकमा ‘कचमले’