मुलुकको संघीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा प्रत्येक दिन फोहोर उत्पादन बढ्दो छ। जसलाई विसर्जन गर्न वा व्यवस्थापन गर्न महानगरपालिकालगायत सरोकारवाला सरकारी निकायलाई धौधौ पर्ने गरेको छ। त्यसैले राजधानीको फोहोर बेलाबेला विकराल समस्याका रूपमा ब्युँतिने गरेको छ। यसरी हेर्दा फोहोरमैला यहाँको राजनीति उलटपुलट गर्ने मात्र नभई कसैलाई कुनै पदमा पुर्याउने र हटाउने विषयसमेत बन्दै आएको छ।
भर्खरै पनि काठमाडौँ उपत्यकाको अधिकांश फोहोर विसर्जन गरिने स्थल ककनी गाउँपालिकाले फोहोर ओसार्ने ट्रिपर, ट्रक आदिबाट प्रत्येक पटक शुल्क लिने निर्णय गरेपछि फोहोर विसर्जनमा बाधा उत्पन्न भएको थियो। ककनी गाउँपालिकाले गाउँसभाबाटै निर्णय गराएर सानो ट्रिपरको १ हजार र ठूलो ट्रिपरको १५ सय रुपियाँ लिने निर्णय गरेपछि यसको असर फोहोर व्यवस्थापनमा परेको थियो। यसरी गाउँपालिकाको निर्णय र यसले पारेको असरविरुद्ध फोहोरमैला व्यवस्थापन संघ नेपालले अदालत गुहार्नुपरेको थियो।
त्यति मात्र हैन, कहिले फोहोरमैला विसर्जनस्थलका प्रभावितसँग गरिएका सम्झौता महानगरपालिकालगायतका निकायले लागु नगर्ने, कहिले उनीहरूको बसोबासस्थल र स्वास्थ्य अवस्थासँग खेलवाड हुने किसिमका क्रियाकलाप गर्ने तथा कहिले स्थानीय प्रभावितहरू कसैको स्वार्थमा प्रयोग हुने अवस्था देखिँदै आएको छ। अझ कतिपय बेलामा त राजनीतिक दलबीच आफ्नो स्वार्थ पूरा गर्न पनि फोहोरलाई उपयोग गर्ने गरेका विगतका घटनाले देखाएका छन्। जसरी भए पनि यी सबैको असरचाहिँ उपत्यकाबासी सर्वसाधारणको जीविका र स्वास्थ्यमाथि पर्दै आएको सर्वविदितै छ।
काठमाडौँ खाल्डोको यो दीर्घ रोग निर्मूल पार्ने उपाय स्याङ्जाको वालिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि अपनाएको मोडल हुन सक्छ। उक्त नगरपालिकाले सबै भन्दा पहिले फोहोर वर्गीकरण गर्ने, त्यसलाई व्यवस्थिततवरले संकलन गर्ने र फोहोरको प्रकृतिअनुसार व्यवस्थापन वा विसर्जन गर्ने रणनीति अख्तियार गरेको छ। जस्तो–कुहिने फोहोरलाई उत्पत्तिस्थल अर्थात घरमै मल बनाउन लगाएर बालीनालीमा हाल्ने, नकुहिने फोहोर नगरपालिकाले संकलन गरेर त्यसलाई पनि प्रशोधन गर्न सकिनेलाई प्रशोधन गर्ने र सिसाजन्य पदार्थलाई चाहिँ सोझै बेचिदिने उपाय अपनाउँदै आएको छ।
यसरी हेर्दा यो नगरपालिकामा कुनै पनि फोहोर खेर जाँदैन। काठमाडौँ महानगरपालिकालगायत अन्य नगर/गाउँपालिकाले फोहोर व्यवस्थापनकै लागि मासिक करोडौँ रुपियाँ खर्चिरहेका बेला वालिङ नगरपालिकाले भने खर्च कटाएर उल्टै करिब ३० लाख रूपैयाँ आम्दानी गर्छ। यसबाट एकातिर फोहोर व्यवस्थापनका लागि गर्नुपर्ने खर्च जोगिएर त्यो नगरबासीको शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक आधारभूत क्षेत्रमा खर्चन सकिन्छ भने अर्कोतर्फ फोहोर व्यवस्थापन नगर नेतृत्वका लागि टाउको दुखाइको विषय पनि हुँदैन।
त्यति मात्र हैन, फोहोर विसर्जन वा व्यवस्थापन केन्द्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गरिदिएको छ यो नगरपालिकाले। यस्तो ठाउँलाई डम्पिङ साइट भनिँदै आएको छ। डम्पिङ साइट भन्दासाथ मानिसले फोहोर चिज राखिने, गनाउने, बसिटिक्नै नहुने कल्पना गर्छन् र सुन्दै पनि नाक खुम्च्याउँछन्। तर यो नगरपालिकाले भने यो स्थानलाई सरसफाइ केन्द्र नामकरण गरेको छ। यसबाटै पनि वालिङ नगरपालिकाले फोहोरलाई कसरी हेर्दोरहेछ भन्ने थाहा पाउन सकिन्छ।
फोहोर फ्याँकिने ठाउँ धेरै टाढाबाट गनाउँछ। त्यहाँ बसिटिक्नै हुन्न। तर यो अन्यत्रको कुरा हो। वालिङमा भने न सरसफाइ केन्द्र गनाउँछ न त मानिस यसको वरिपरिको बाटोबाट हिँड्नै डराउँछन्। उल्टै सरसफाइ केन्द्र नजिकै उनीहरू पिकनिक आउँछन्। निकै समयदेखिको व्यस्ततालाई मनोरञ्जनमा परिणत गर्छन् र नाचगान गरी मीठोमसिनो भोजन गरी सन्तुष्ट भएर फर्कन्छन्। नगरपालिकाले सरसफाइ केन्द्रलाई आकर्षक बनाउन हरियाली कायम राख्ने, गन्ध नआउने वातावरण बनाउने जस्ता प्रयास थालेकाले फोहोर पनि घृणाको चिज नबनेको हो।
अन्य पालिकाका पदाधिकारी फोहोर व्यवस्थापन सिक्न आउने पाठशाला पनि भएको छ वालिङको सरसफाइ केन्द्र। त्यसैले त संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा सहरका रूपमा पुरस्कृतसमेत गरेको थियो। अहिले नगरपालिकाको यही पहलकदमी मन पराएर त्यसलाई अझ प्रवर्द्धन गर्न २०७८ मा आएर संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीले वालिङ नगरपालिकासँग मिलेर हरित पुनस्र्थापना प्रवद्र्धन परियोजना लागु गरेका छन्। यसले पनि नगरको फोहोरलाई मोहरमा परिणत गर्न भरमग्दुर सघाएको छ।
दुर्गन्धित फोहोरको यति सुन्दर कथा हुँदाहुँदै पनि काठमाडौँचाहिँ मेसो नपाउँदा फोहोरलाई सधैँ दुश्मन ठानिरहेको छ। यसका बहुआयामिक फाइदाबारे सोच्नु भन्दा कतै लगेर फ्याँकिदिनुलाई उसले फोहोर व्यवस्थापनको एक मात्र विकल्प ठानेको छ। महानगरको नेतृत्व र फोहोरमैला व्यवस्थापनको जिम्मेवारी पाएका सरकारी निकायहरूको सबैभन्दा ठूलो कमजोरी नै यही रह्यो। यस्तो अवस्थामा वालिङ नगरपालिकाले अपनाएको फोहोरलाई टाउको दुखाइ नठान्ने सोच प्रवर्द्धन गर्ने र यसलाई समस्या भन्दा पनि अवसरका रूपमा लिने रणनीति अख्तियार गर्ने हो भने फोहोर कहिल्यै पनि समस्याका रूपमा रहँदैन। समस्या नभएपछि न विसर्जन र व्यवस्थापनको उपाय खोज्नुपर्यो न त त्यस क्रममा बर्सेनि झेल्दै आएका विभिन्नखाले समस्या नै सामना गर्नुपर्छ। यसरी हेर्दा फोहोरको समस्यालाई सदाका लागि डाँडो कटाउने उपाय हुन सक्छ–फोहोर व्यवस्थापनको वालिङ मोडल।
प्रकाशित: ४ श्रावण २०८० ००:२५ बिहीबार