विचार

सिद्धान्तबिहीन कांग्रेस: अराजक नेतृत्व

फाइल तस्वीर

नेपालको लोकतान्त्रिक गणतन्त्र मूल्य र मान्यतामा आधारित होइन, फगत सत्ता र पदमा आधारित परिपाटी हुन पुगेको छ, जसको कारण पछिल्लो जनआन्दोलन र त्यसपछि वरण गरिएको परिवर्तनका सम्पूर्ण विषयमाथि औचित्य र सान्दर्भिकताको विवाद गम्भीर हुँदै गएको छ। पार्टीहरूबीच हुने गरेको ‘सहमति’ र ‘गठबन्धन’ जनमुखी र आदर्शवादी राजनीतिको प्रत्याभूति निम्ति होइन, सत्ता स्वार्थरक्षाका लागि जनता झुक्याउने खोल हुन पुगेको छ।

कम्तीमा नेपाली कांग्रेसले यस्ता विकृति, विसंगति र विषाक्त परिपाटीलाई अनुकरण गर्नुहुँदैनथ्यो। कांग्रेसको धरातल अरूको भन्दा बलियो छ। गत मंसिरमा भएको निर्वाचनमा जनसमर्थनले कांग्रेसलाई प्रतिनिधिसभाको सब भन्दा ठूलो पार्टी बनाएको छ। यसको अर्थ मनपरि र उन्मादजनक व्यवहार गर्ने छूटका लागि होइन।

कांग्रेसको नेतृत्वले नै आज आफ्नो जिम्मेवारी, दायित्व र सम्झौताबिहीन कर्तव्यलाई तिलाञ्जली दिएर सत्ता प्राप्तिका लागि कोसँग टाँसिदा आफूलाई तत्काल फाइदा हुन्छ, त्यतामात्र ध्यान दिइरहेको छ। यसले गर्दा गत मंसिरको संसदीय निर्वाचनमा नेपाली कांग्रेस संघीय संसद्को एकल ठूलो पार्टी बनेको यथार्थलाई नेतृत्वले बिर्सेको देखिन्छ। कांग्रेसभित्र बढ्दो रूपमा देखिएको यदुवंशी चरित्रमा लगानी गरेर अवैध र अनैतिक लाभ हत्याउने कामले प्रोत्साहन पाइरहेको छ। यस्तो लगानीमा ऐयाशपूर्वक रमाइरहेका छन् कतिपय नेता–पत्नीहरू, जसलाई राष्ट्रिय प्रतिष्ठा डगमगाउने हरेक भ्रष्टाचारका काण्डबाट ठूलो भाग र लाभ मिल्दै आएको छ।

नेपालको लोकतान्त्रिक गणतन्त्र मूल्य र मान्यतामा आधारित होइन, फगत सत्ता र पदमा आधारित परिपाटी हुन पुगेको छ, जसको कारण पछिल्लो जनआन्दोलन र त्यसपछि वरण गरिएको परिवर्तनका सम्पूर्ण विषयमाथि औचित्य र सान्दर्भिकताको विवाद गम्भीर हुँदै गएको छ।

हुन त कांग्रेसको वैचारिक शिथिलता २०४८ सालपछिबाटै प्रजातान्त्रिक समाजवादलाई पूरै लत्याएर सामन्तवादी संस्कारका साथ पश्चिमा मुलुकहरूले पनि त्यागेको ‘आक्रामक पुँजीवाद’ अवलम्बन गरेपछि प्रारम्भ भएको हो। समाजवादलाई समाप्त गरेपछि पार्टीको आन्तरिक लोकतन्त्र र यसका आधारभूत मूल्य, मान्यता, परम्परा र मौलिक कांग्रेसी संस्कृतिलाई सिध्याउने काम भयो।

यस्तो धुन्धुकारी चरित्रमा पार्टी केन्द्रीय समितिको हैसियत, भ्रष्ट र अनैतिक नेतृत्वको फगत ‘रबर स्ट्याम्प’ का रूपमा रह्यो। पार्टीलाई नीतिमुखी होइन, नेतामुखी, त्यसबाट पनि बढेर नातामुखी बनाउने, अनुशासनहीनतालाई क्षमाशीलताको नाममा उक्साउने, पार्टीका अन्य निकायलाई क्रियाशील बनाउन जोड नगर्ने, गुटबन्दीलाई संस्थागत गर्न खोज्ने, कार्यकर्ताको न्यायोचित मूल्याङ्कन होइन, चाकरीमा दौडधूप गरेको आधारमा विश्वास गर्ने जस्ता चरम विकृति बढ्दै गए। पार्टी वा राज्यका कुनै पनि निर्वाचनमा आजसम्म सफल हुन नसकेको नालायकलाई एक वर्षको अवधिमा पार्टी र सत्ताका पाँचवटा उच्च ओहोदामा राख्ने चरम अराजकतावादी पक्षपात पनि अपनाइयो।

शीर्ष नेतृत्वबाट पालित–पोषित यस्तो चरित्रले गर्दा निष्ठावान, इमानदार, विवेकशील र लोकप्रिय कार्यकर्ताहरू हतोत्साही, निरास र दिग्दार हुन पुगे। बिपी विचारको तेजोबध गरियो। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता कांग्रेसका सैद्धान्तिक त्रिगुणलाई संकटमा फसाइयो। बिपी कोइराला स्वयंले मस्यौदा गरेको पार्टी विधानलाई लत्याइयो भने अर्का संस्थापक नेता किसुनजी प्रधानमन्त्री भएर बनाएको नेपालको संविधानलाई रद्दीको टोकरीमा फाल्ने काम कांग्रेस नेतृत्वकै खलनायकत्वमा हुन पुग्यो।

प्रजातान्त्रिक संस्कार र पद्धति नअपनाउने पार्टी वा नेता कुनै पनि मानेमा प्रजातन्त्रवादी हुन सक्दैन। आज आएर कांग्रेस राष्ट्रियताको सवालमा पनि विवश, शिथिल र कमजोर भएको देखिन्छ। कांग्रेसका संस्थापक राजनेताहरूले राष्ट्रियताको रक्षक र राष्ट्रिय एकताको सूत्र राजसंस्थालाई भू–राजनीतिक आवश्यकताका रूपमा अपनाएका थिए।

शीर्ष नेतृत्वबाट पालित–पोषित यस्तो चरित्रले गर्दा निष्ठावान, इमानदार, विवेकशील र लोकप्रिय कार्यकर्ताहरू हतोत्साही, निरास र दिग्दार हुन पुगे। बिपी विचारको तेजोबध गरियो।

गणतन्त्रका नाममा त्यो व्यवस्थालाई आज तहसनहस बनाइएको छ। नारायणहिटी राजदरबारले खेलेको भूमिकाको ठाउँमा आज विदेशी शक्तिको खेल चलिरहेको छ र कांग्रेसका सभापति शेरबहादुर देउवा नै त्यस्तो शक्तिको आशीर्वाद पाउने चाकरीमा लागेर राष्ट्रिय स्वाभिमान, स्वाधीन निर्णायक सामथ्र्यलाई बिसर्जन गरिरहेका छन्। त्यसैकारण राष्ट्रियताका कतिपय प्रसंगमा कांग्रेस मुखर ढङ्गले प्रस्तुत हुनबाट चुकेको छ। सबभन्दा खतरनाक प्रवृत्ति त यस्ता असंगति र विकृति पार्टीभित्र झाङ्गिरहँदा पनि नेतृत्वले उपचार र सुधारका उपाय नअपनाएर तावेदारीको मनोवृत्ति बोकेको छ। त्यसैले पाँचपटक प्रधानमन्त्री हुँदा दुईकौडीको योगदान नदिएको व्यक्ति छैटौँपटक प्रधानमन्त्री बन्न तम्सिनुको रहस्य के हो? जवाफदेहिता बिल्कुलै छैन।

सङ्घीय राज्यसंरचना कार्यान्वयन भएपछि नेपाली कांग्रेसको पहिलो र इतिहासको चौधौँ महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भयो। तर सो महाधिवेशनमा कुनै अजेन्डा, प्रतिवेदन र प्रस्ताव पारित गरिएन। ६ महिनाभित्र नीतिगत महाधिवेशन गर्ने निर्णयमा यो महाधिवेशनमा सभापति, केन्द्रीय पदाधिकारी र सदस्यहरूको मात्र निर्वाचन गरियो। करिब ८ लाख ४० हजार क्रियाशील सदस्यहरूको जगमा ४,७०० निर्वाचित प्रतिनिधिहरूको सहभागिताबाट चौधौँ महाधिवेशनमा १४ (सबै) पदाधिकारी, १३४ केन्द्रीय समिति सदस्य निर्वाचित भए। यस्तो शक्तिशाली पार्टी महाधिवेशनबाट सर्वाधिक लोकप्रिय मतद्वारा निर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सो महाधिवेशनका सेलिब्रेटी भए।

कांग्रेस आस्था र भरोसाका व्यक्तित्व पनि यी दुई नै हुन्। कांग्रेस सभापति देउवाले पार्टी गरिमाको मूल्यमा अपनाएको अवैधानिक, सिद्धान्तहीन, कर्तव्यच्युत र भ्रष्ट क्रियाकलापमा नियन्त्रण गर्न कसैले सक्छ भने त्यसका लागि महामन्त्रीद्वय सक्षम छन्। किचेन क्याबिनेट चलाइरहेकी पत्नीको परिपाठवाला नेतृत्वमा ‘बिग्रेको मूलीको भत्केको घर, जता फर्क्यो उतै दैलो’ भन्ने उखानको अवस्थामा पुगेको कांग्रेसमा संरचनागत सुधार र सुसंगठित गरी नयाँ जीवन दिन कसैले सक्छ भने उक्त दुई महामन्त्रीले नै सक्नुपर्ने हो।

दुवै महामन्त्रीहरू कार्यकर्तासमक्ष प्रस्तुत हुँदा वा भाषण दिँदा जनसमुदायलाई मन्त्रमुग्ध बनाउँछन्। यति बेजोड वाक्शक्ति भएका महामन्त्रीका समकक्षी अन्य कुनै पार्टीमा छैनन्। तर कार्यकर्ताहरूको अपेक्षा र न्यानो भरोसाका विपरीत दुई महामन्त्रीको सुधार अभियानले पनि प्रभावकारी गति लिन सकेको देखिन्न। कांग्रेसको विधानमा महामन्त्रीका निर्धारित काम, कर्तव्य र अधिकार छन्। ती अधिकारलाई पूर्ण गतिमा परिचालन गर्नमा महामन्त्रीद्वय ज्यादै सुस्त देखिएका छन्। उनीहरू जनसमुदायलाई जुन अभिव्यक्तिले मोहित बनाउन सक्छन् तर त्यही कुरा सभापति देउवासमक्ष बोल्न नसक्नुलाई पार्टी अनुशासन भनिन्न, अवाञ्छित दब्बुपन र मानवोचित कमजोरी ठानिन्छ।

सङ्घीय राज्यसंरचना कार्यान्वयन भएपछि नेपाली कांग्रेसको पहिलो र इतिहासको चौधौँ महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भयो। तर सो महाधिवेशनमा कुनै अजेन्डा, प्रतिवेदन र प्रस्ताव पारित गरिएन।

यो दब्बुपन र कमजोरी त्यागेर हिम्मतका साथ सभापति देउवालाई खबरदारी गर्ने हो भने आगामी पन्ध्रौँ महाधिवेशनसम्ममा कायापलट हुने काँग्रेसको सभापतिको उत्तराधिकारी उनै दुईमध्ये एक हुन्। तर उनीहरूले लिएको गणतन्त्रको बाटोमा अधिक जोखिम र सफलताको सम्भावना न्यून देखिन्छ भने यो बाटो कसका लागि हो? प्रश्न अनुत्तरित छ।

कांग्रेसको शीर्ष नेतृत्व तथा संस्थापन पक्षलाई ठीक–ठेगानमा ल्याउन चलाइएको कांग्रेस रूपान्तरण अभियानप्रति पार्टी कार्यकर्ताहरूको आकर्षण देखिन्छ। तर यसका लागि मौखिक भाषण गरेको भरमा कदापि सम्भव देखिन्न। रूपान्तरणका अभियन्ताहरूले पार्टीमा नेतृत्वले पालेका विकृति, विसंगति र कुकृत्यको निर्भिकतापूर्वक चिरफार गर्दै पार्टीको संरचना सुधार र सुसंगठित गरी शक्ति सञ्चित गर्ने खाका र मार्गचित्र बोकेर जनसमुदाय र कार्यकर्तामा जानुपर्छ। अब प्रत्येक कार्यकर्ताको विवेकले पनि यो यथार्थको पर्दाफास गर्नैपर्छ, आखिर आफू बसेको घरलाई तहसनहस पार्ने षड्यन्त्र कांग्रेसभित्र नेतृत्वबाटै प्रश्रित छ। यति हुन सकेमा कांग्रेसमा सुधारका चिल्ला पात देखा पर्न थाल्नेछन्।

प्रकाशित: २१ असार २०८० ००:३९ बिहीबार

सिद्धान्तबिहीन कांग्रेस अराजक नेतृत्व