वर्तमान समयमा योगको धेरै प्रचार–प्रसार हुँदाहुँदै पनि जनमानसहरू यसको लाभ लिरहेका छैनन्। यसका दुईवटा कारण छन्–मान्छे कुनै कुराको गहिराइमा जान चाहँदैनन्। किनकि आफू बढी व्यस्त ठान्छन्। तर यस्तो मान्छे व्यस्त होइन अस्तव्यस्त हुन्छ। दोस्रो कुरा के छ भने सिकाउने मान्छेहरू पनि राम्रो तरिकाले सिकाउँदैनन्। यस लेखको माध्यमबाट एकदम सरल तरिकाबाट सम्झाउन प्रयास गर्नेछु।
योगासन के हो?
एउटा विशेष प्रकारको शारीरिक व्यायाम हो। यसको सीधा सम्बन्ध शरीरसित छ। यसमा लयबद्ध तरिकाले शरीरलाई चारै दिशामा, जसरी अगाडि–पछाडि, देब्रे–दाहिना मोडन र सीधा गर्नुपर्छ। मुख्य रूपमा १०८ थरि योगासन हुन्छ। यसका क्रिया बसेर, उभेर र सुतेर गर्नुपर्छ। कुनै पनि क्रिया गर्दाखेरि विस्तारै गर्नुपर्छ। कहिले पनि बढी शक्ति लगाएर गर्नु हुँदैन।
योगासनको सिद्धान्त
धेरै मान्छेलाई कतिबेरसम्म योग गर्नुहुन्छ, थाहा छैन। किनकि कोही भन्छ– म साढे एक घण्टा गर्छु र कोही भन्छ, म दुई घण्टा गर्छु। जबकि ३० देखि ४० मिनट भन्दा बढी योगासन गर्न मिल्दैन। गर्भावस्था वा कुनै पनि अपरेसन भएपछि बिनाडाक्टरको सलाह योग गर्न मिल्दैन। आवश्यकताअनुसार १० देखि १२ वटा आसन, दुईटा प्राणायाम र एउटा ध्यान गरे पुग्छ। जहिले पनि खाली पेटमा र खुकुलो लुगा लगाएर योगासन गर्नुपर्छ। योगासन सकिनेबित्तिकै खाना खानु हुँदैन, कम्तीमा बीस मिनेटको फरक राख्नुपर्छ।
वर्तमान समयमा योगको धेरै प्रचार–प्रसार हुँदाहुँदै पनि जनमानसहरू यसको लाभ लिरहेका छैनन्। यसका दुईवटा कारण छन्–मान्छे कुनै कुराको गहिराइमा जान चाहँदैनन्।
योगासनको लाभ–योगासनको अभ्यास गर्नाले शरीरका मांसपेशी मुलायम रहन्छन्। जसले गर्दा आन्तरिक आपूर्ति व्यवस्था राम्रो तरिकाले चल्छ। शरीर र मनलाई स्वस्थ राख्नु तथा दीर्घायु जीवन प्राप्त गर्न पनि योगासनले धेरै मद्दत गर्छ।
योग के हो?
योगको शाब्दिक अर्थ हो–मेल, मिलाप, मिलन वा संयोग। योगशास्त्रहरूमा योगलाई जोड्नेहरू पनि भनिन्छ। परिभाषाका रूपमा विश्वात्मा र जीवात्माको संयोगको अनुभूतिलाई योग भनिन्छ। कुनै पनि ध्यान साधना गरेर हामी यसको लाभ लिन सक्छौँ।
विश्व प्रसिद्ध गुरु र दार्शनिक ओशो भन्नुहुन्छ–योग आफैंमा एउटा सम्पूर्ण विज्ञान हो। यसको कुनै धर्मसित केही सम्बन्ध होइन। जसरी विज्ञान मान्यता र अन्धविश्वासको आधारमा चल्दैन, अनुसन्धानको भरमा चल्छ। ठीकै त्यस्तै योग पनि परम्परावादी, रूढीग्रस्त, साम्प्रदायिक र अन्धविश्वासको आधारमा चल्दैन। योग पनि अनुसन्धान र अनुभवको आधारमा चल्छ। जोसुकैले योगाभ्यासको लाभ लिन सक्छ।
योगको शाब्दिक अर्थ हो–मेल, मिलाप, मिलन वा संयोग। योगशास्त्रहरूमा योगलाई जोड्नेहरू पनि भनिन्छ। परिभाषाका रूपमा विश्वात्मा र जीवात्माको संयोगको अनुभूतिलाई योग भनिन्छ। कुनै पनि ध्यान साधना गरेर हामी यसको लाभ लिन सक्छौँ।
योग साधना गरेर मान्छे प्रकृत्तिको परमतत्वलाई बुझेर जीवनको यथार्थलाई सम्झन्छ। त्यसपछि काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेष मुक्त हुन्छ। सांसारिक र भौतिक सुखबाट विरक्त हुन्छ। अन्तमा परमानन्दस्वरूप परमात्माको दर्शन गर्छ। योगका प्रणेता भगवान शिव हुनुहुन्छ। पछि महर्षि अंगिराका वंशज महर्षि पतञ्जलिले महर्षि कौथुमूबाट योग शिक्षा प्राप्त गर्नुभयो। त्यसपछि योग संहिताको रचना गर्नुभयो। पतञ्जलि योगका विश्वविख्यात आचार्य हुनु भयो। उहाँले नै योगको सूक्ष्म र विस्तृत जानकारी दिनुभएको हो।
पतञ्जलि योग दर्शनको विज्ञान
महर्षि पतञ्जलिका अनुसार योगका आठ अंग छन्। ती हुन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि।
१.यम–यम पाँच प्रकारका हुन्छन्।
अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह।
अहिंसा–मनसा, वाचसा, कर्मणा भन्नाले मानसिक, शारीरिक र कर्मका हिसाबले कसैलाई दुःख नदिनु अहिंसा हो। किनकि तपाईँले कसैलाई दुःख दिनु भयो भने सीधा आफैं दुःख पाउनुहुन्छ। कर्मको सिद्धान्तले बडो नियमपूर्वक काम गर्छ। गलत कामको परिणाम गलत नै हुन्छ।
सत्य– हाम्रा इन्द्रियहरू र मनको अनुभूति र अनुभवलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नु सत्य हो। सत्यले हामीलाई आन्तरिक शक्ति दिन्छ। यसबाट व्यक्तित्व विकास र आध्यात्मिक यात्रामा पनि सहयोग प्राप्त हुन्छ।
अस्तेय–अस्तेय भन्नाले कुनै पनि तरिकाले अर्काको नोक्सानी नहोस्। कम समय र गलत तरिकाबाट धन कमाउने उद्देश्य लिएका मानिस अर्काको नोक्सानी हुनेमा चिन्ता गर्दैनन्। हामीले कुनै पनि हालतमा यस्तो गर्न हुँदैन।
ब्रह्मचर्य– जीवनमा सबै कुरामा सन्तुलन राख्नु ब्रह्मचर्य हो। विशेषरूपमा सम्बन्ध, वाणी, काम र अनावश्यक इच्छामाथि नियन्त्रण राख्नुपर्छ।
अपरिग्रह–आवश्यकता भन्दा बढी सम्पत्ति जम्मा नगर्नु अपरिग्रह हो। वर्तमान समयमा मान्छेले असीमित धन कमाउने उद्देश्य राखेका हुन्छन्। यसबाट जीवन अस्वस्थ र असन्तुलित हुन्छ।
२. नियम पनि पाँच प्रकारका छन्।
शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणिधान
शौच– शौचको सीधा सम्बन्ध सफाइबाट छ। यसमा मनशुद्धि, शरीरशुद्धि र परिवार र समाज शुद्धि राख्नुपर्छ।
सन्तोष– शास्त्रमा भनिएको छ–सन्तोषम् परम् सुखम्। यसको सिद्धान्तअनुसार दैनिक कर्मबाट प्राप्त सबै परिणामलाई सर्वस्वीकार्य भावले स्वीकार गर्ने। सन्तोष नराखेसम्म शान्ति प्राप्त हुँदैन।
तप–जीवनमा कहिले सुख र कहिले दुःख आइरहन्छन्। दुवै स्थितिमा सन्तुलित भएर जीवन जीउनु तप हो। सुखमा पनि नियन्त्रण र दुःखमा पनि नियन्त्रण।
स्वाध्याय–एक विचारकले भनेका छन्–ज्ञान नै शक्ति हो। यस कारण नियमितरूपमा शास्त्र अध्ययन, मनन र चिन्तन गर्नुपर्छ। यो नै स्वाध्याय हो।
ईश्वर प्राणिधान– दैनिक सबै कार्य गर्दागर्दै त्यसबाट प्राप्त सबै कुरालाई ईश्वरलाई समर्पित गर्दै र ईश्वरलाई स्मरण गरिराख्ने ईश्वर प्राणिधान हो।
३. आसन–आसन भन्नाले योगासन हो। जसरी भुजंगासन, पश्चिमोत्तासन, हलासन, ताडासन, वज्रासन, उष्ट्रासन, पृथ्वी नमस्कार, सूर्य नमस्कार, चतुर्कोणासन, दुईकोणासन, त्रिकोणासन, हलासन, नौकासन, मत्स्यासन, पदमासन र सुखासन।
४.प्राणायाम– सामान्यरूपमा हामी राम्ररी श्वासप्रश्वास गर्दैनौं। जसले गर्दा उत्साह, उमंग, ऊर्जा र आनन्दमा कमी रहन्छ। प्राणायाम भनेको श्वासको व्यायाम हो। राम्रो तरिकाले गरेको प्राणायाम शरीरको अशुद्ध तत्वलाई सफा गरिरहन्छ। जसले गर्दा आन्तरिक आपूर्ति व्यवस्था राम्रो तरिकाले चल्छ। श्वास जीवनाधार हो। श्वासबिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ। प्राचीनकालका ऋषिमुनिहरूले जीवनलाई सुखी, स्वस्थ र सन्तुलित बनाउन प्राणायामको शिक्षा दिनुहुन्थ्यो। प्राणायामको सीधा सम्बन्ध हाम्रो श्वासको लयसित छ। दैनिकरूपमा हामीलाई सधै लामो र गहिरो सास लिनुपर्छ। यो पनि एक प्रकारको प्राणायाम हो।
प्राणायाम थुप्रै प्रकारका हुन्छन्–अन्र्तकुम्भक, बाह्यकुम्भक, द्वैतकुम्भक, अनुलोम विलोम, कपालभाति, भस्त्रिका, पावर प्राणायाम र भ्रामरी प्राणायाम आदि। कुनै एक र दुई प्राणायाम गरेर हामी यसका लाभ लिन सक्छौँ।
५. प्रत्याहार–सात वर्षसम्मका बच्चा अन्तर्मुखी हुन्छन्। यस कारण सानो कुरामा पनि आनन्दित भइरहन्छन्। तर पछि विस्तारै बहिर्मुखी हुँदै जान्छन्। जसले गर्दा सबै कुरा हुँदाहुँदै पनि मनमा असन्तुष्टि र अतृप्ति रहन्छ। मनलाई अन्तर्मुखी गर्ने क्रियाको नाम प्रत्याहार हो। साधना गरेर मनलाई अन्तर्मुखी गर्न सकिन्छ। यसबाट सीधा र त्यहीबेला मन आनन्दित हुन्छ।
६. धारणा– जबसम्म मन स्थिर हँुदैन जीवन अर्थहीन हुन्छ। जहिले पनि हाम्रो मन इन्द्रियहरूको पछाडि लागिरहन्छ। इन्द्रिय मनबिना चल्न सक्दैनन्। यिनीहरू मनको शक्तिबाट मात्र चल्छन्। धारणा भन्नाले मनलाई स्थिर र आफ्नो वशमा पार्नु हो।
७.ध्यान– ध्यान एक प्रकारको मानसिक क्रिया हो। यसमा कुनै विधि प्रयोग गरेर मनलाई एकाग्र र स्थिर गर्ने प्रयास हुन्छ। त्यसपछि विचारबाट मुक्त भएर शून्यताको अनुभव प्राप्त हुन्छ। ११२ प्रकारका ध्यान विधि छन्। यसमध्ये कुनै पनि एक ध्यान विधिको अभ्यास गरेर हामी यसको लाभ लिन सक्छौँ। यहाँ एउटा ध्यान विधिको विवरण दिइरहेको छु।
माइन्ड म्यानेजमेन्ट ध्यान विधि
यो ध्यान विधि प्राचीनकालका ध्यान विधिलाई परिष्कृत गरेर वर्तमान युगका मानिसका लागि बनाइएको छ। खुकुलो र सफा लुगा लगाएर कम्बलमाथि पलेटी कसेर तथा आँखा बन्द गरेर बस्ने। शरीरलाई शिथिल र शान्त गर्ने। यस्तो गर्नाले चेतना दोस्रो तलमा प्रवेश गरिहाल्छ। त्यसपछि आफनो अनुहार सम्झने। फेरि वरिपरिको आवाजलाई जस्तौसुकै होस्, सुन्ने। आवाज सुन्दाखेरि कुनै प्रकारको विश्लेषण गर्नुहँुदैन। त्यसपछि मुख बन्द गरेर जिब्रोलाई तालुमा टाँस्ने र सारा ध्यान जिब्रोको अग्र भागमा लगाएर चूपचाप बसिराख्ने। यसलाई दैनिकरूपमा १५ मिनेट गर्नुपर्छ। निश्चित ठाउँ र निश्चित समयमा ध्यानको अभ्यास कल्याणकारी हुन्छ।
यो ध्यान विधि प्राचीनकालका ध्यान विधिलाई परिष्कृत गरेर वर्तमान युगका मानिसका लागि बनाइएको छ। खुकुलो र सफा लुगा लगाएर कम्बलमाथि पलेटी कसेर तथा आँखा बन्द गरेर बस्ने।
समाधि– ध्यान र अष्टांग योगको अन्तिम मञ्जिल हो समाधि। समाधि दुईथरीका हुन्छन्। सविकल्प समाधि र निर्विकल्प समाधि। सविकल्प समाधि प्रथम स्थिति हो र निर्विकल्प समाधि त्यस भन्दा माथिको तह हो। यस अवस्थामा बिनागुरु लाग्नु हँुदैन। मानव जीवन जन्म, भोग र मृत्युको नाम होइन। यसको असली मतलब ज्ञान प्राप्त गरेर सत्यको बाटोमा लाग्ने हो। जसबाट मोक्ष प्राप्त हुन्छ। सर्वेभवन्तु सुखिनः।
नवौँ विश्व योग दिवसको अवसरमा सबैजनालाई हार्दिक शुभकामना।
(प्रणेता, माइन्ड मेनेजमेन्ट मुबमेन्ट)
प्रकाशित: ६ असार २०८० ००:३८ बुधबार