विचार

भारतले इतिहासबाट सिक्नुपर्छ

समयको दौड रोकिँदैन। समय कसैका लागि राम्रो र कसैका लागि नराम्रो पनि हुँदैन। केवल मानिसले नराम्रा काम गरेर समयलाई नराम्रो पार्छन् र राम्रो काम गरेर समयलाई राम्रो पार्छन्। समयले केवल मानिसका कर्मलाई अंकित गर्छन्, जसलाई इतिहास भनिन्छ। बितिसकेको समय बितिसकेको हुन्छ, त्यसमा अंकित घटना भावी पुस्ताले आँखाले देख्दैनन्। त्यसैले बितिसकेका घटनाले निर्माण गरेको इतिहासकै आधारमा रहेका कुराको मूल्याङ्कन हुन्छ। प्रकृतिसँग गाँसिएको सामाजिक विकासको यस शाश्वत नियमबाट न त अमेरिका, न चीन, न भारत न कमजोर नेपाल नै अछूतो रहन सक्छ।

नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ। किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ।

भारत वर्षको आफ्नै इतिहास छ। भारत वर्षमा पाँच हजार वर्षको इतिहासमा अनेकौं शक्तिशाली राज्य बनेका र बिग्रिएका छन्। गान्धार साम्राज्य सबैभन्दा पहिलो साम्राज्य थियो। यो दुई तीन सय वर्ष रह्यो। कुरु साम्राज्य, कोशला साम्राज्य, पान्चाल, गुजरा, मौर्य, गुप्ता, संुगा नाभा, अहिर अनेकौं साम्राज्य गठन भए तर केही शताब्दीका लागिमात्र। अर्थात भारत कहिल्यै एकीकृत रहेन। विगत २५०० वर्षमा भारतको यो बन्ने र बिग्रने क्रम यथावत छ। भारत वर्षमा एउटामात्र 'राष्ट्र' एकपटक बनेपछि कहिल्यै भत्किएन, त्यो हो नेपाल। नेपाल त्यस अर्थमा 'केवल एउटा राष्ट्रमात्र होइन, दक्षिण एसिया वा भारत वर्षको राजनीतिक, सांस्कृतिक एवं आध्यात्मिक इतिहासको निरन्तरता पनि हो। त्यसैले यो इतिहासको निरन्तरता कायम राख्न सकारात्मक दृष्टिकोण निर्माण गर्नु भारतको कर्तव्य हो। यसको स्वतन्त्रता र पवित्रता जोगाउनु उसको नैतिक दायित्व हो। नेपालको राजनीतिक, सांस्कृतिक, प्रशासनिक एवं आर्थिक क्षेत्रमा सूक्ष्म व्यवस्थापनको कार्यमा सरिक हुनु भनेको भारतले नेपाललाई आफू जस्तै बनाउन खोज्नु हो जो दुई सय वर्षको उपनिवेशी प्रभाव र त्यसले थुपारेका विकृतिबाट भारत अपभ्रंसित भएको छ। त्यसैले वर्तमान राष्ट्रवादी भारतीय सरकारले भारत वर्षको संस्कृतिको धरोहर जोगाउन चाहन्छ भने नेपालमाथिको प्रभाव र हस्तक्षेप रोक्नुपर्छ।

नेपाल चीनसँग सधैँं जोगिएको छ। नेपाल चीनको प्रभावमा परे पनि सांस्कृतिकरूपमा चीन जस्तो बन्दैन। नेपालले इतिहासमा चीनको संस्कृतिमा प्रभाव छोडेको छ। नेपाल चीनको बौद्ध संस्कृति निर्माण गर्न भूमिका खेल्ने देश हो। नेपालका भृकुटी, बुद्धभद्र, अरनिकोले चीनको सांस्कृतिक वैभव निर्माण गरेका छन्। भारतलाई 'उसको हस्तक्षेप नेपालमा भएन भने नेपाल चीनको प्रभावमा जान्छ' भन्ने लाग्छ भने त्यो उसका विज्ञ र विश्लेषकहरूको बौद्धिक कमजोरी वा अक्षमतामात्र हो। जति बढी भारतको हस्तक्षेप र सूक्ष्म व्यवस्थ्ाापनका हर्कत नेपालमा कम हुन्छन्, नेपालको चीनसँगको सम्बन्ध व्यापारिक सम्बन्धमा सीमित रहन्छ। यो सम्बन्ध विशुद्ध कूटनीतिक सम्बन्धमा सीमित रहन्छ। जति बढी भारतको हस्तक्षेप नेपालमा घनीभूत हुन्छ नेपाल चीनसँग राजनीतिक सम्बन्धको नजिक हुन्छ। भारतले यो अन्तर्निहित सत्य बुझ्नुपर्छ।

भारतले आफ्नै इतिहासबाट सिक्नुपर्ने कुरा धेरै छन्। इशा ३५० वर्षपहिला मगध साम्राज्यमा एक कुशल विद्वान् दार्शनिक थिए। उनलाई चाणक्य भनिन्छ। उनले अर्थशास्त्रको व्याख्यानमा नेपालको जीकिर गरेका छन्। जसअनुसार नेपाल मगधलाई उनका सामग्री बेच्थ्यो। उनको त्यसताकाको मगध 'नन्द' साम्राज्यका रूपमा थियो। नन्द साम्राज्यले कुरु, कोशला, पान्चाल, जस्ता साम्राज्यलाई जितेर विशाल मगध निर्माण गर्‍यो। तर काश्मीरको श्रीनगरसम्म फैलिएको नेपामाथि नन्द साम्राज्यले आक्रमण गरेन। भारतीय दूरदर्शनले प्रशारण गरेको 'चाणक्य' टेलिशृंखलामा ३७ औं भागमा त्यसताकाको नेपालको रोमाञ्चकारी विवरण छ। 'चाणक्य मौर्य वंशका चन्द्र गुप्त मौर्य (जो जातले शुद्र थिए) लाई मगधको सम्राट बनाउने योजनासहित तक्सिला, केकेइ राज्यका राजाहरूको सहयेागमा नेपाल आउँछन्। नेपालका राजालाई मगधमा आक्रमण गर्न सहयोग माग्छन्। मगधमा चन्द्र गुप्त मौर्य स्थापित भइसकेपछि नेपालमाथि आक्रमण नहुने प्रत्याभूति नेपालका राजा माग्छन्। पञ्जापत्रसहितको प्रतिज्ञापत्र नेपालका राजालाई दिइन्छ। मगधका राजदुत मगध सम्राट धननन्दको चेतावनी लिएर नेपाल आउँछन्। नेपालका राजा भन्छन्– हाम्रो सिमानाको रक्षा गर्न हामी सफल छौं, त्यसैले भन्दिनू तिम्रा राजालाई।' अन्ततः नेपालको सहयोगमा चन्द्र गुप्त मौर्यको राज्यभिषेक हुन्छ नेपालको सहयोगमा।

मगध चन्द्र गुप्त मौर्य, उनका छोरा भीम विसार र उनका छोरा अशोकको शासनकालमा अफगानिस्तानदेखि बर्मा र दक्षिणमा मद्राससम्म फैलिन्छ। दक्षिणमा चेरा (मद्रास) र चोला (केरला) उत्तरमा नेपाल छोडी मगध एक महान् साम्राज्यमा परिणत हुन्छ। अशोक चक्रवर्ती राजा बन्छन्। त्यसताका दक्षिण एसियामा मात्र चारवटा राज्य रहन्छन्। ती हुन्– नेपाल, मगध, चोला र चेरा। तर यो शक्तिशाली मगध नेपालमाथि हस्तक्षेप गर्दैन। यो मगध नेपालमाथि आक्रमण पनि गर्दैन। बरु इशापूर्व १५० तिर अशोक नेपाल आउँछन्। लुम्बिनीमा आएर स्तम्भ खडा गर्छन्। त्यस स्तम्भमा सम्मानपूर्वक 'नेपाल' लेख्छन्। नेपालमा आउँदा उनी गौरवान्वित हुन्छन्। त्यसपछि काठमाडौंँ आउँछन्। आफ्नी छोरी चारुमतिको विवाह नेपालका राजासँग गरिदिन्छन्। पशुपतिमा देवपाटन बन्छ। चारुमतीकै नामबाट चावहिलमा चारु गुम्बा बन्छ। अशोक यसरी नेपालमाथि कृतज्ञता व्यक्त गर्छन् यस सम्बन्धबाट। भारतले यस इतिहासबाट पाठ सिक्नुपर्छ। अर्थात शक्तिशाली मगध नेपालको अस्तित्वका लागि कहिल्यै चुनौती बनेन किनकि मगधले नेपालमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण देखेन।

ती कारण हुन सक्तछ मगधलगायत भारतका कुनै सम्राट नेपाल प्रवेश गरेर आक्रमण गर्ने आँट गरेनन्। पहिलो कारण– नेपालीहरू पहाडी युद्धकौशलमा पोख्त थिए। पहाडहरू उनीहरूका मजवुत किल्ला थिए। नेपालको भूभाग सधैँं नेपालको सामरिक शक्तिका रूपमा रहेका छन्। दोस्रो कारण नेपाल पुण्यभूमि थियो। यो ज्ञानको कारणले पुण्यभूमि थियो। ऋषि गोतामाले नेपालमै गायत्री मन्त्र रचे। किरात गुरुहरूले नेपालमै मुन्धुम रचना गरे। गार्गीले अस्तित्ववादी दर्शनको सुत्रपात गरिन्। यज्ञबल्क्य, मैत्री र कात्यायनीले उपनिषद्हरू लेखे। व्यासले पुराण रचना गरे। गौतम बुद्धले बौद्ध दर्शन निर्माण गरे। यस पुण्य/ज्ञानभूमिमा आक्रमण गर्न सजिलो थिएन। तेस्रो नेपाल भारतलाई 'न्यानो' दिने देश थियो। नेपाल भारतलाई ऊनका कम्बलहरू, कोट र कार्पेटहरू दिन्थ्यो। अर्थात नेपाल सामरिक, सांस्कृतिक एवं आर्थिकरूपले सम्पन्न देश थियो। सम्पन्न नेपालमा हस्तक्षेप गर्न सम्भव थिएन। भारतले यस ऐतिहासिक यथार्थताका कसौटीमा नेपालसँग सम्बन्ध विकास गर्नुपर्छ।

बेलायती उपनिवेशीहरू भारतमा आउनुपूर्व भारतवर्ष सयौँ अधिराज्यको भूभाग थियो। ती स्वतन्त्र राज्य थिए। बेलायतले आफ्नो केन्द्रीय शासन निर्माण गर्दै भारतलाई एकीकरण गर्‍यो। तर नेपालले ऊसँग लडेर आफ्नो स्वतन्त्रता कायम गर्‍यो। स्वतन्त्र भारत सन् १९४७ बाट संवैधानिकरूपमा 'इन्डिया' बन्यो। उपनिवेशका रूपमा स्थापित इन्डिया स्वतन्त्र भई अहिलेसम्म आइपुग्दा करिव २५० वर्ष पुरानो छ। तर चाणक्यको लेखाइ र अशोकका अभिलेखलाई मात्र आधार मान्दा पनि नेपाल २४०० वर्ष पुरानो छ। पहिला जन्मिएकोलाई भाइ मान्ने सभ्यता संस्कृति भारतमा छैन। त्यसो हो भने नेपाललाई भारतले कसरी 'छोटा भाइ मान्न, भन्न र लेख्न सक्छ? सानो भएकाले भाइ हुने हो भने अग्लो भाइको होचो दाजु पनि भाइ हुने भयो, होइन र? भारतको यही भावनामा नेपाल र भारतबीचका सम्बन्धमा समस्या उब्जिएका छन्। नेहरू 'पण्डित' त थिए तर न्वारन गर्ने पण्डित थिएनन्। त्यसैले उनलाई 'नेपाल छोटो भाइ' भनी नाम राख्ने अधिकार धर्मले पनि दिएको छैन। भारतका प्रधानमन्त्री नेहरू एक कमजोर असफल प्रधानमन्त्री सावित भए। उनकै कारणले भारत टुक्रियो। उनकै कारणले चीनसँग लडाइँ भयो। उनकै कारणले काश्मीर समस्या सिर्जना भयो। उनी बेलायतीका शुभेच्छुक थिए। उनले नेपाललाई उपनिवेशवादीकै दृष्टिकोणबाट व्यावहार गरे। उनका राजदूतलाई नेपालका शासक बनाएर पठाए। नेपालका मन्त्रालयमा भारतका सल्लाहकार पठाए। परिणाम भारतीय शासकमा नेपालीलाई भाइ ठान्ने र भाइको व्यवहार गर्ने प्रवृत्तिले नेपाल र भारतबीच आन्तरिक सुमधुरता आउन सकेन। नेपाली जनता र भारतीय जनताबीच प्रेम छ तर नेपाली जनता भारतीय सरकारप्रति शंकित छन्।

भारतीय नेता मणि शंकरले ठीकै भनेका छन्– भारत सल्लाहको नाममा आदेश गर्छ। इतिहासका कुनै कालखण्डमा भारत र नेपालबीच तनाव देखिएनन्, बेलायती उपनिवेशी भारतबाहेक। गुप्ता शासक हर्षवर्धनले नेपालको सहयोगमा चीनमा सम्बन्ध कायम राखेका थिए। वर्तमान भारतीय शासकहरूले यस इतिहास अध्ययन गर्नैपर्छ।

चौधौं शताब्दीपछाडिदेखि भारतमा ब्रिटिस शासन स्थापना हुनुपुर्व, नेपालको दक्षिण सिमाना गोरखपुरसम्म थियो। चम्पारण, सीतामाढी र जलपाइगुडी नेपालका सिमानामात्र थिए। सीतामाढी, चम्पारण र गोरखपुरमा गएर पुराना जग्गाका कागज हेरे पुग्छ। अहिले पश्चिमी संस्थाले नेपाललाई अस्थिर बनाउन 'मोहरा बनाएका' दीपेन्द्र झा जस्ता मानिस गण्डकीपूर्वको मधेस नेपाल थिएन, त्यसैले स्वतन्त्र मधेसको माग उठाइएको हो भनी जर्मनीमा भाषण गर्दैछन्। ऊनी जेनेभा जान्छन् पश्चिमी संस्थाको खर्चमा, उनको गैरसरकारी संस्थाले सहयोग पाएको छ पश्चिमी संस्थाबाट। गरिब जनता इसाई बनिरहेका छन्। तिनीहरूकै आन्दोलनलाई भारतीय सञ्चारमाध्यामको समर्थन छ। उनीहरूकै अनुरोधमा भारत नाकाबन्दी लगाउँछ नेपालमा। के भारतलाई थाहा छ– नाकाबन्दीले स्कुल जान छाडेर सडकमा आएका लाखौं बालबालिकाले भारतलाई अन्यायी देखे भन्ने? के भारतको इन्टेलिजेन्स नेपालमा बसेर पश्चिमी संस्थाले खेलिरहेको भारत र नेपालबीचको सम्बन्धलाई भताभुङ्ग पार्ने खेल देख्न सक्तैन? के भारतलाई लाग्छ, नेपालको मधेसमा कथित स्वतन्त्रताको माग उठाएर नेपाललाई अप्ठ्यारोमा पार्दै भारतमा स्थायित्व कायम हुन्छ? नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ। किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ।

चिनियाँहरूले पनि आफ्नो देशको विखण्डनको समस्या अनुभूति नगरेको होइन। त्यसलाई सम्बोधन गर्नकै लागि उनीहरूले चीनलाई सडक र रेलमार्गको सञ्जालबाट जोडे र जोड्दैछन्। चीनले ३५००० किलोमिटर सडक र त्यति नै बृहत् रेल रोडको सञ्जाल तयार पारेका छन्। चीनमा कुनै सहर अब नजिक र टाढा छैन। मानिसको आन्तरिक बसाइँसराई व्यापक छ। अब प्रान्तीय र जातीय पहिचान गौण बनिसकेको छ। त्यो अवस्था भारतको छैन। भारत फास्ट रेलबाट जोडिएको छैन। त्यसैले भारत अहिले पनि पञ्जाव, हरियाणा, बिहार, मद्रास जस्ता क्षेत्रीय पहिचानमै उभिएको छ। यस्तो अवस्थामा नेपाल जस्तो सानो देशमा क्षेत्रीयता, जातीयता र विखण्डनलाई प्रश्रय दिनु स्वयं भारतका लागि खतरा हुन्छ। अतः भारतले आफ्नो विकास प्रवर्धन गर्ने हो भने उत्तर भारतलाई पश्चिम चीनसँग जोड्न र त्यसैबाट मध्य एसियाको बजार प्राप्त गर्नुको विकल्प छैन। जब भारतले पश्चिम चीनमा व्यापार प्रवर्धन गरी चीनसँग राजनीतिक घनिष्टता निर्माण गर्नेछ उसले नेपाललाई आफ्नो नजिकको शक्तिका रूपमा प्राप्त गर्नेछ। अतः नेपालमा क्षेत्रीयताको वकालत छाडी 'एक बेल्ट एक रोड' मार्फत चीन, नेपाल, भारतको आर्थिक कोरिडर भारतको विकास रणनीतिको प्राथमिकता हुनुपर्छ।

भारतको हितमा पश्चिमी शक्तिले कहिल्यै मद्दत गर्दैन। भारत पश्चिमी बजार हो। त्यसैले भारतमाथिको नियन्त्रण उनीहरूको रणनीतिक उद्देश्य हो। भारतलाई कमजोर बनाउन पश्चिमले केही कसर छाड्दैन। अलेक्जेन्डरदेखि अहिलेसम्म भारत पश्चिमी शक्तिको अनुदारताको सिकार भएको छ। लर्ड टिभी म्याकुलेको माइनुटले सबै कुरा बताएकै छ। भारतीय सभ्यताको ढाड भाँच्नैपर्ने सन् १८३५ को उद्घोष अहिले पनि यथार्थता नै हो। भारतले सोभियन युनियनको सहयोग लिनुपर्ने बाध्यता त्यसै भएको थिएन। मोदीलाई त भिसा नै दिएको थिएन। अतः भारतले आफ्ना साना छिमेकीको विश्वास जितेर चीनसँग सम्बन्ध गर्न सक्नुपर्छ। आफ्नो साना छिमेकीलाई साथमा लिएर दक्षिण एसियालाई चीनसँग जोड्नुपर्छ।

शक्तिशाली भारत नेपालका लागि खतरा हुँदैन जसरी शक्तिशाली चीन पनि खतरा छैन। नेपाल र भारतबीच 'रोटी/बेटी' को होइन, घनिष्ट मित्रको सम्बन्ध हुनुपर्छ। नेपालीहरूसँग भन्दा बढी भारतीय विवाह अमेरिकामा बस्नेसँग भएको छ। अतः अब नेपालले आफ्नो मान्यताहरूका सम्बन्धमा भारतसँग खुलेर छलफल गर्नुपर्छ। र, भारतले आफ्नो इतिहासबाट सिक्नुपर्छ।

प्रकाशित: २९ चैत्र २०७३ ०४:०० मंगलबार

भारतले इतिहासबाट सिक्नुपर्छ