नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर 'हाउस मेड' (घरेलु कामदार) का रूपमा बेच्ने गरेको जुन तथ्य खुलेको छ, त्यसलाई रोक लगाउन जरुरी छ। काठमाडौंको विमानस्थलमा हुने सेटिङ तोडेर यो कार्य सुरु गर्नुपर्छ। नेपालले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले काठमाडौं विमानस्थलदेखि नै सेटिङ मिलाएर त्यहाँ पुर्याउने गरेको देखिन्छ। साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको हो। तर, विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पुर्याएपछि साउदी पठाउने गरेको छ। यसरी साउदी पुगेका महिला कामदारले अनेकौं दुःख र यातना भोगिसकेपछि लामो समयपछि तीमध्ये केही नेपाली दूतावासको सम्पर्कमा आउने गरेका छन् जसलाई दूतावासले उद्धार गरेका उदाहरण पनि छन्।
साउदीस्थित नेपाली दूतावासको सेल्टरमा अहिले यस्ता २४ महिला रहेको तथ्यले पनि यो समस्या भयावह देखिन्छ। त्यसमध्ये कतिपय २०७० असोजपछि खाडी मुलुक गएका महिलासमेत छन् जब कि सरकारले २०७० असोजदेखि घरेलु कामदारका रूपमा खाडी मुलुक जान नेपाली महिलालाई प्रतिबन्ध लगाएको थियो। त्यहाँ नेपाली महिलामाथि चरम शोषण र यातनाका घटना बारम्बार दोहोरिएपछि सरकारले आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यस्तो निर्णय गरेको हो। प्रतिबन्धात्मक सरकारी नियम हुँदाहुँदै राहदानी बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका कतिपय महिलालाई अध्यागमन कर्मचारीले निर्धक्क 'डिपार्चर' छाप लगाइदिने गरेका छन्। र, तिनै महिला अनेकौं दुःख र यातना पाएपछि दूतावासको शरणमा आउने गरेका छन्। यस हिसाबले भन्ने हो भने मानव तस्कर र विमानस्थलस्थित कर्मचारीको मिलेमतोका कारण मात्रै महिला कामदार प्रतिबन्धात्मक मुलुकमा पुर्याइएका हुन्। त्यसैले पनि विमानस्थलको यो कर्मचारी र मानव तस्करबीचको सेटिङ नतोडेसम्म नेपाली महिला कामदार सुरक्षित हुन सक्दैनन्।
आकर्षक काम र दामको प्रलोभनमा कुवेत हुँदै बेचिएर साउदी पुगेका उनीहरू मालिकको यातना सहन नसकेपछि घरबाट भागेका हुन्। र, त्यही क्रममा उनीहरूलाई नेपाली दूतावासले उद्धार गरी सेल्टरमा राखेको हो। सेल्टरमा आएकामध्ये धेरैजसो यातनाका कारण मानसिक रूपमा विक्षिप्त हुनुले यातनाको डरलाग्दो अवस्था प्रस्ट पार्छ। दूतावासले उद्धार गरेका यी महिला त प्रतिनिधि पात्र मात्रै हुन्। साउदीका विभिन्न ठाउँमा कष्टकर जीवन बिताउन बाध्य नेपाली महिलाको संख्या यकिन गर्नै गाह्रो छ। बितेका दुई वर्षमा दूतावासले मात्र कुवेतबाट साउदीमा बेचिएका करिब साढे दुई सय नेपाली महिलाको उद्धार गरी अधिकांशलाई स्वदेश फिर्ता पठाइएको छ। त्यसो त पछिल्ला दिन साउदी सरकारले १५ हजार साउदी रियाल (करिब चार लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने नियम बनाएपछि यसरी उद्धार गरिएका नेपाली महिलालाई स्वदेश फर्काउनसमेत कठिनाइ भएको छ। साउदीमा बेचिएका महिलामाथि तलब नदिई काम लगाउने त सामान्य शोषण मात्र हो, कुटपिटदेखि यौनशोषणसम्मका घटना हुने गर्छन्। साउदीमा घरबाहिर महिलालाई एक्लै हिँडेको देखे प्रहरीले पक्राउ गर्छ। यातना सहन नसकेर घरबाट भाग्दा साहुले प्रहरीलाई फोन गरी सामान चोरेको आरोपमा वषार्ंैसम्म थुनाएका घटनासमेत छन्। त्यसमाथि घरधनीको अनुमतिबिना प्रहरीभित्र पस्न नपाउने कानुनका कारण उद्धार गर्न सजिलो छैन।
पछिल्लो समय युएई होस् वा साउदी अरब वा अन्य खाडी राष्ट्र नै किन नहुन्, दैनिकजसो नेपाली विशेष गरी महिला कामदार अलपत्र परेका घटना सार्वजनिक भइरहेका छन्। गत माघ ३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल युएई पुग्दा त्यहाँको नेपाली समुदायले औंल्याएको प्रमुख समस्या नै विमानस्थलस्थित अध्यागमन कर्मचारी र मानव तस्करको साँठगाँठ थियो। आबुधाबीमा भएको अन्तरक्रियामा प्रधानमन्त्री दाहाललाई पीडितहरूले विमानस्थलबाट हुने मानव तस्करीको प्रमाण देखाउँदै कारबाही गर्न चुनौती दिएका थिए। सबै प्रमाण र विवरण सुनिसकेपछि दाहालले 'नेपाल फर्किएपछि कारबाही गर्ने' आश्वासन दिए पनि त्यसको व्यावहारिक कार्यान्वयन भएको पाइँदैन। हालै खाडी मुलुकमा अध्ययन भ्रमणबाट फर्किएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त अलपत्र पर्नेमध्ये ६० प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गएकाहरू भएको औंल्याएको तथ्यले पनि विमानस्थलमा कर्मचारी र मानव तस्करको साँठगाँठ खतरनाक रहेको देखाउँछ। विमानस्थलस्थित प्रहरी र अध्यागमनका कर्मचारी यसरी बारम्बार मानव तस्करीमा संलग्न हुनु निकै गम्भीर विषय हो।
साउदी अरबमा कार्यरत नेपाली महिला घरेलु कामदारले दुःख पाएको थोरै घटना मात्र बाहिर आउँछन्। अन्य गुपचुप रहन्छन् भने उनीहरूले पाएको पीडा त बयान गरिसक्नु छैन। नेपाली महिलाको हकमा मात्र नभएर अन्य मुलुकबाट त्यहाँ गएकामाथि पनि यसैगरी शोषण हुने गरेको छ। त्यसैले त द्विपक्षीय सम्झौता गरी घरेलु कामदार पठाउने राष्ट्रले धमाधम साउदीमा आफ्नो देशका महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध लगाउँदैछन्। अफ्रिकी मुलुक युगान्डा, इथियोपिया, श्रीलंका, फिलिपिन्स र इन्डोनेसिया यस्ता केही मुलुक हुन् जसले श्रम सम्झौता गरे पनि अहिले महिलालाई घरेलु कामदारका रूपमा पठाउने कार्यमा प्रतिबन्ध लगाएका छन्। अन्य मुलुकले प्रतिबन्ध लगाएकै बेला नेपालमै रहेका केही म्यानपावर कम्पनीले भने महिलालाई घरेलु कामदार पठाउने बाटो खुला गर्न सरकारलाई दबाब दिँदै आएका छन्। यस्तो अवस्थामा नेपालले पनि यसमा ध्यान दिनैपर्छ। तर, महिला कामदारलाई खाडी मुलुकमा पठाउने कार्यमा प्रतिबन्ध लगाउँदा गैरकानुनी बाटोबाट त्यहाँ पुर्याउने गिरोह सक्रिय हुन सक्ने भएकाले त्यो तथ्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ। त्यसैले महिला कामदारलाई खाडीमा पठाउने सवालमा प्रतिबन्ध लगाएर मात्र पुग्दैन, मुख्य कुरा अवैध हिसाबले जाने कुरामा कडाइ गरी रोक लगाउन सक्नुपर्छ। र, त्यसका लागि विमानस्थलमा रहेको कर्मचारी र मानव तस्करबीचको सेटिङको पहिचान गर्दै त्यसमा सहभागीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।
प्रकाशित: २५ चैत्र २०७३ ०३:३७ शुक्रबार