विचार

धुवाँ उपत्यका!

राजधानी उपत्यकाको वातावरण प्रदूषणको मुख्य कारण धुलो र धुवाँ नै हो। अव्यवस्थित ढंगमा सडकविस्तार वा अन्य भौतिक निर्माणले धुलो बढाएको छ। धुवाँ उत्पन्न गर्ने सवारीसाधन र उद्योग–कलकारखाना हुन्। उपत्यकामा धुवाँ उत्पन्न गर्ने इँटा भट्टाबाहेक अन्य उद्योग उल्लेख्य संख्यामा छैनन्। यसकारण धुवाँको प्रमुख कारण पुराना र मर्मतसम्भारमा ध्यान नदिएका सवारीसाधन हुन्। पुराना सवारीबाट निस्केको धुवाँले काठमाडौँ 'धुवाँ उपत्यका' बन्दै गएको छ। पुराना सवारीको उचित व्यवस्थापनबारे निकै अघिदेखि सरकारले चासो देखाउँदै आएको थियो। तर, सवारी धनी तथा यातायात व्यवसायीसम्बद्ध संघ–संगठनले विरोध गरेका कारण सरकारले पुराना गाडी व्यवस्थापन गर्न सकिरहेको थिएन। अब भने २० वर्ष पुराना सार्वजनिक सवारी चलाउन नपाउने नियम लागु गर्न सरकारले कम्मर कसेको छ। बुधबार १८ गतेदेखि मुलुकभरि २० वर्ष पुराना सार्वजनिक सवारी निषेधको सार्वजनिक सूचना जारी गरिएको छ। कालो नम्बर प्लेटधारी २० वर्ष पुराना बस, ट्रक, माइक्रो, ट्याक्सी, टेम्पोजस्ता सवारी साधन अब सडकमा देखिने छैनन्। देखिए भने ती अवैधानिक हुनेछन् र त्यसलाई सरकारले जफत गरी कानुनबमोजिम कारबाही गर्नेछ। २०७१ भदौ १९ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो भने सोही वर्ष फागुन १८ को राजपत्रमा त्यो प्रकाशितसमेत गरिएको थियो। तर, त्यसलाई कार्यान्वयनमा लैजान सरकारले सकिरहेको थिएन।

सरकारले यसरी सार्वजनिक सवारीसाधनको अवस्था र त्यसले मानवस्वास्थ्यमा पार्दै आएको प्रतिकूल असरमा ध्यान दिँदै पुराना सवारीलाई हटाउने तयारी गरेको लामो समय भइसकेको छ। यसकारण पनि सवारीधनीले यसमा थप विरोध गर्नुको कुनै तुक छैन। २० वर्ष पुराना सार्वजनिक सवारीको रुटपर्मिट, नवीकरण तथा जाँचपासमा रोक लगाइसकेपछि सडकमा अब सर्वसाधारणले गाडीको धुवाँको मुस्लो व्यहोर्न नपर्ने आशा पलाएको छ। सवारी प्रदूषणले मानवस्वास्थ्यमा अकल्पनीय हानि गर्ने तथ्य विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययनले पुष्टि गरिसकेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले ३८ प्रतिशत वायुप्रदूषण सवारीसाधनबाट निस्कने धुवाँका कारण हुने बताएको छ। पुराना सवारीले हानिकारक धुवाँ उत्पन्न गर्ने मात्र नभई दुर्घटनाका कारण पनि बन्दै आएको छ। राजधानी उपत्यकामा भन्दा पनि पुराना सार्वजनिक सवारी दुर्गम तथा पहाडी जिल्लामा बढी चल्दै आएका छन्। तिनको अवस्था दुरुस्त नराख्नाले बर्सेनि सयौँ नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ। यसरी सरकारले २० वर्षे सवारी हटाउँदा राजधानीको जाममा पनि केही सुधार आउने अपेक्षा गर्न सकिन्छ। उपत्यकामा यति अवधि पार गरेका सवारीको संख्या अढाइ हजारको हाराहारीमा रहेको तथ्यांक छ।

त्यसो त धुवाँ उत्पन्न गर्ने दोष भाडाका सवारीलाई मात्र दिएर पुग्दैन। निजी सवारीधनीले आवधिक मर्मतसम्भारमा आवश्यक ध्यान नपुर्‍याउँदा धुवाँका साथै दुर्घटना पनि हुन सक्छ। यतातिर पनि सरकारको ध्यान जानु आवश्यक छ। यातायात व्यवस्था विभागले गर्ने विभिन्नखाले सवारी जाँचपासमा हुँदै आएको विचौलिया प्रवेश तथा लेनदेनका आधारमा जस्तासुकै सवारीलाई पनि स्वीकृति दिने अवस्थालाई निर्मूल पार्न सक्नुपर्छ। राजधानीमा सडकविस्तारको अनुपातमा धेरै गुणा बढी सवारी गुड्छन्। साना सवारीका कारण सबैभन्दा बढी ट्राफिक जाम हुने गर्छ। त्यसमा पनि ध्यान जानुपर्छ। काठमाडौँ उपत्यकामा झण्डै आधा करोड मान्छे बस्छन्। तिनको आवागमनलाई सहज पार्न अब सरकारले 'मास ट्रान्सपोर्ट'लाई प्रोत्साहन दिनु आवश्यक छ। पछिल्लो समय साझा यातायात, सिटी, राजधानी मेट्रोजस्ता ठूला सवारी राजधानीका सडकमा गुड्न थालेका छन्। यतिले राजधानीको सार्वजनिक सवारी मागलाई धान्न सक्दैन, यसकारण पनि २० वर्षको प्रतिस्थापनमा पर्ने सवारीधनीलाई ठूला बस सञ्चालनमा प्रोत्साहन दिनुपर्छ। सरकारले राजधानीमा विद्युतीय रेल ल्याउने कुरा गरेको लामो समय भइसकेको छ। त्यसलाई कार्यान्वयन गर्न सकिरहेको छैन। सरकारसँग स्पष्ट कार्ययोजना हुँदा रेलमा वैदेशिक लगानी आउन सक्छ। त्यसका निम्ति सरकारले आवश्यक गृहकार्य गर्न सकिरहेको छैन। यस्तो अवस्थामा यातायात व्यवसायीलाई मास ट्रान्सपोर्ट र विद्युतीय सवारीमा प्रोत्साहन गर्न सके राजधानीको वायुप्रदूषणमा कमी आउनुका साथै सडक दुर्घटना पनि नियन्त्रण हुने थियो। सरकारको उद्देश्य सवारी कर असुल्ने मात्र हुनु हुँदैन, यातायात व्यवसायीलाई पुराना सवारी विस्थापन गरी नयाँ ल्याउन सहज पार्नु पनि जरुरी छ।

प्रकाशित: १९ फाल्गुन २०७३ ०५:२० बिहीबार

धुवाँ उपत्यका