विचार

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदे वर्षा आरम्भको संकेत दिन्थ्यो तर विगत एक, डेढ् दसकयता यस्तो प्रक्रियामा कमी आई मंसिरमा वर्षा प्रायः शून्य हुन थालेको छ। यसबाट हिउँदे वर्षाको आरम्भ ढिला हुँदै गइरहेको स्पष्ट हुन्छ भने वर्षा पनि कम हुन थालेको देखिन्छ। 

यसरी वर्षामा ढिलाइ तथा न्यूनीकरण कारण वायुमण्डलीय तापमान वृद्धि भई न्यानोे मौसमी गतिविधि महसुस भएको छ। साथै पुस, माघको कठ्यांग्रिने जाडो मौसममा पनि तराई मधेसमा शीतलहर सीमित हुन पुगेको छ। मौसमी आँकडा हेर्दा यस वर्ष देशको विभिन्न स्थानमा वायुमण्डलीय तापमान औसत भन्दा ३/४ डिग्री सेल्सियसले वृद्धि भएको पाइएको छ। काठमाडौँमा चालु हिउँदमा न्यूनतम तापमान ०/४ डिग्री सेल्सियसभन्दा तल झर्न सकेन जबकि केही वर्ष पहिलासम्म यो तापमान शून्यभन्दा कम भई कठ्यांग्रिने जाडो हुने गर्थ्यो। काठमाडौँको अहिलेसम्मकै सबभन्दा कम न्यूनतम तापमान –३/५ डिग्री सेल्सियस छ। यस्तै चालु हिउँदमा कठ्यांग्रिने जाडो हुने पश्चिम तराईका विभिन्न स्थानमा न्यूनतम तापमान शून्यभन्दा माथि रह्यो।

यस्तो मौसमी गतिविधि यस वर्ष नेपालमा मात्र नभई भारत तथा दक्षिण एसियाका विभिन्न स्थानमा पनि देखापरेको छ भने विगत केही वर्षदेखि यस्तो मौसमी प्रक्रिया सक्रिय हुँदै आइरहेको छ। अध्ययनअनुसार यस वर्ष मौसममा फेरबदल हुनुको प्रमुख कारण कमजोर पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ। सामान्यतः हिउँदमा दक्षिण एसियामा सक्रिय पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने गर्छ। पश्चिमी वायु युरोप महादेशको चिसो भूभागबाट सुरु भई पूर्वतिर बहने क्रममा एसिया महादेशको उत्तरी भेगस्थित हिमालको बाटो हँुदै उत्तरी पाकिस्तान र उत्तर पश्चिम भारतबाट नेपाल भित्रने गर्छ। यसरी बहने पश्चिमी वायु भूमध्य सागर तथा आसपासका अन्य सागरबाट प्रशस्त मात्रामा जल वाष्प आपूर्ति हुन गई ओसिलो भएको खण्डमा वायुमण्डलीय चापमानमा र्‍हास आई यसको वहावमा अवरोध हुनजान्छ। जसले गर्दा मौसम बदली हुनेगर्छ। यसको परिणामस्वरुप आँधीबेहरी चल्नुका साथै विभिन्न स्थानमा विषेश गरी दक्षिण एसियाको तल्लो भेगमा वर्षा र उच्च पहाडी भेगमा हिमपात हुने गर्छ। यस्तो मौसमी प्रक्रियालाई ‘वेस्टर्न डिस्टरबेन्स’ भनिन्छ। नेपाललगायत दक्षिण एसियाका विभिन्न स्थानमा हिउँदयाममा यस्तो प्रक्रिया कम्तिमा पनि चार/पाँच पटक देखापर्नेे गर्छ।  यस वर्ष भने कमजोर ‘वेस्टर्न डिस्टबेन्स’का साथै यसमा आएको संख्यात्मक कमीले आँधीबेहरीको उत्पत्तिमा कमी आई हुरी, बतास चल्ने तथा वर्षामा कमी तथा हिमपातमा ह्रास आएकोे वैज्ञानिकहरूको ठहर छ। पुनश्चः वर्षा र हिमपातमा कमीका साथै घमाइलो मौसमी गतिविधिले एकातिर न्यानो मौसमको अनुभूति भएको छ भने अर्काेतिर सामान्यत हिउँदमा उत्तर–पश्चिमबाट हिमाली भेगको बाटो हुँदै बहने चिसो हावा यस वर्ष प्रायः दक्षिण पश्चिम दिशाबाट पाकिस्तानको बलुचिस्तान तथा भारतको राजस्थानजस्ता मरुभूमिको बाटो हुँदै बहन थालेकाले तापमान वृद्धि भएको अध्ययनले देखाएको छ।

क्षेत्रीय रुपमा देखापरेको यस्तो गतिविधिले मौसमी फेरबदलका बेला विश्वव्यापी रुपमा देखापरेको ‘इलनिनो’जस्तो वायुमण्डलीय प्रणालीको प्रभावले पनि मौसम त्यत्तिकै प्रभावित भएको छ। यसै सन्दर्भमा गतवर्ष देखापरेको इलनिनोको प्रभाव यस वर्ष कमजोर हुँदै गए पनि ‘लानिना’जस्तो वायुमण्डलीय प्रणाली अझै सक्रिय हुन नसकेकोे अवस्थामा दक्षिण एसियामा हिउँदे वर्षा प्रभावित हुनु स्वाभाविक मानिन्छ। जसरी ‘इलनिनो’बाट दक्षिण एसियामा गर्मीयाममा देखापर्ने मनसुन प्रभावित भई वर्षामा कमी आउँछ तथा गर्मी बढ्नेे गर्छ, त्यस्तै हिउँदमा पनि वर्षामा ह्रास आई वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ। यसै परिप्रेक्षमा विभिन्न कारणले नेपाललगायत दक्षिण एसियाका विभिन्न स्थानमा मौसम परिवर्तन भइरहेका बेला विश्वव्यापी रुपमा देखा परिरहेको ‘ग्लोबल वार्मिङ’को पृष्ठभूमिले यस वर्षको न्यानोपनलाई बढाएको स्पष्ट हुन्छ।

हाल मौसममा देखापरेको फेरबदलका कारण हिउँदे वर्षामा कमी आउनु र वायुमण्डलीय तापमान वृद्धिले बाक्लो कुहिरो लाग्ने, शीत लहर चल्ने र बादल निर्माण हुने जस्ता प्रक्रिया प्रभावित हुन गई हिउँदे कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्ने डर बढ्न थालेको छ। साथै यसले मानवीय जीवनयापनको शैलीमा समेत परिवर्तन ल्याउने सम्भावना बढेको छ।

प्राध्यापक, काठमाडौँ विश्वविद्यालय  

प्रकाशित: २५ माघ २०७३ ०५:१४ मंगलबार

घट्दो हिउँदे वर्षा बढ्दो तापमान