विचार

प्रबुद्ध पत्रकारः गोपालदास श्रेष्ठ

सामान्य अर्थमा सार्वजनिक सरोकारका गतिविधि, तिनका काम वा क्षेत्रमा प्रत्यक्ष–परोक्ष संलग्न व्यक्ति अर्थात् निकायका भूमिका आदिबारे जानकारी वा सूचना संकलन गरी सार्वजनिक तवरमा सम्प्रेषण तथा प्रकाशन गर्नका निम्ति आर्जित आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानको क्षेत्र हो– पत्रकारिता। 

पत्रकारिता त्यस्तो ज्ञानको क्षेत्र हो जसको कुनै सीमा छैन। यसले मानिसका हरेक कर्मपथ र ज्ञानपथ एवं जीवनपथका चौतर्फी अध्यायसँग सम्बन्ध राख्छ। यो ज्ञान सञ्चयन र सम्प्रेषणका हरेक पद्धतिसँग निकट रहन्छ। अध्ययनमूलक, चिन्तनमूलक, अन्वेषणमूलक र विश्लेषणमूलक बौद्धिक प्रक्रियाद्वारा सञ्चयित ज्ञानलाई जनसरोकार वा आम चासोका पक्षसँग तादात्म्य राख्दै सार्वजनिक सञ्चार माध्यमहरूद्वारा सम्प्रेषण गरिने आधुनिक ज्ञानधाराको एक अति महत्वपूर्ण विधा हो– पत्रकारिता। 

त्यसैले पत्रकारिता भनेको जनचेतना जगाउँदै, सुसूचित गराउँदै, ज्ञान, सूचना वा समाचारको सन्तुलित सम्प्रेषण गर्दै सरोकारवाला एवं आम नागरिकको अज्ञानता र जिज्ञासालाई समाधान गराउने एकीकृत ज्ञान प्रक्षेपणको प्राज्ञिक संकाय हो। सामान्यतः अज्ञानताको अन्धकार चिर्दै आम मानिसलाई उज्यालो देखाउने वा उज्यालोतिर अग्रसर गराउने बौद्धिक, प्राविधिक र व्यावहारिक ज्ञानको फराकिलो क्षेत्रलाई नै पत्रकारिता भनेर बुझ्न सकिन्छ। यो ज्ञान आर्जन र सार्वजनिक तवरमा सम्पे्रषणको त्यस्तो क्षेत्र हो जो निरन्तर रहिरहन्छ। यसमा कुनै सीमा छैन। पत्रकारिता एउटा त्यस्तो सिर्जनशील क्षेत्र हो जसमा निरन्तर नवीनताको खोजी भइरहन्छ। यस आलेखमा वरिष्ठ अग्रज पत्रकार गोपालदास श्रेष्ठको प्राज्ञिक पत्रकारिताको सेरोफेरोमा रही उनको व्यक्तित्वलाई अंशतः चियाउने प्रयत्न गरिएको छ।

स्वतन्त्र विचार राख्ने बौद्धिक व्यक्तिहरूको आकर्षण दलगत राजनीतितिर भन्दा फरक क्षेत्रमै बढी हुने गर्छ। गोपालदासले पत्रकारिता क्षेत्रको बौद्धिक यात्रा नै आफ्ना लागि बढी उपयुक्त ठाने। स्वच्छ पत्रकारितामा बाँधिनु पर्दैन। पत्रकारिता सत्यको वकालत गर्ने विधा हो। दलीय राजनीतिको सीमामा खुम्चिएर आफूलाई वैचारिकताको बन्दी बनाउन चाहेनन् गोपालदासले।

पत्रकारिता आफैमा एउटा सिर्जनशील क्षेत्र भएको हुँदा यसमा सम्बद्ध व्यक्ति वा पत्रकारलाई यसले सधैं सिर्जनशीलतातर्फ उन्मुख भइरहन प्रेरित गर्ने कुरा पत्रकार गोपालदास श्रेष्ठले भनेका छन्– ‘यसले हामीलाई निरन्तर सिर्जनात्मक बन्नेतिर घच्घच्याइरहन्छ। यो आफैमा सिर्जनाको महान् स्रोत हो। पत्रकारिताका लागि त यो अझै स्वागतयोग्य किन हुनुपर्दछ भने नित्य नवीनतासँग त उसको व्यवसायगत सम्बन्ध छ। प्रत्येक क्षणको घटना र विचार नै त्यसको विषयवस्तु हुँदा, यी प्रत्येक घटनाको, प्रत्येक मस्तिष्क तरङ्गको वैशिष्ट्यमाथि त्यो आफै पनि सधैं चकित भइरहन्छ। अरूलाई पनि चकित पारिरहन्छ र यसरी मानिसको सिर्जनशील वैचारिकतालाई सक्रिय पारिरहन्छ।’ (पत्रकारिता, हाते किताब, पृ. ७)

पत्रकार गोपालदास श्रेष्ठको यस भनाइबाट पत्रकारिता र सिर्जनशीलताबीच रहेको अन्तर्सम्बन्ध कति सघन र अर्थपूर्ण हुन्छ भन्ने बुझ्न सकिन्छ। सिर्जनात्मकता र नवीनता पत्रकारिताका अभिन्न तत्व हुन् भन्ने कुरा गोपालदासको उल्लिखित भनाइबाट स्पष्ट बोध गर्न सकिन्छ। उनी नेपाली पत्रकारिता जगत्का अग्रणी व्यक्तित्व थिए। उनले आरम्भ गरेको पत्रकारिता व्यवसाय आज निकै झाङ्गिइसकेको छ। त्यसो त उनका समकालीन पत्रकारहरू अरू पनि थिए। आजको व्यावसायिक पत्रकारिता जगत् गोपालदास र उनका समकालीन अग्रज पत्रकारहरूको पदचिह्न पछ्याउँदै यहाँसम्म आइपुगेको हो भन्न सकिन्छ। आजको पत्रकारिता छापा, श्रव्य, श्रव्यदृष्य एवं अन्य कैयौं नवीनतम सामाजिक सञ्चार माध्यमहरूमा विस्तारित भएको छ। गोपालदासले अपनाएको छापा पत्रकारिता आज नवीनतम प्राविधिक सामथ्र्यका साथ अन्य माध्यमहरूसँग प्रतिस्पर्धात्मक तवरले गतिशील रहेको छ। छापा पत्रकारितालाई विद्युतीय पत्रकारितासँग समानान्तर र त्यसनिम्ति सक्षम प्रतिस्पर्धी बनाउन गोपालदासको अग्रणी भूमिका रहेको कुरालाई यस जगत्ले बिर्सन सक्दैन।  

पत्रकारिता त्यस्तो ज्ञानको क्षेत्र हो जसको कुनै सीमा छैन। यसले मानिसका हरेक कर्मपथ र ज्ञानपथ एवम् जीवनपथका चौतर्फी अध्यायसँग सम्बन्ध राख्छ। यो ज्ञान सञ्चयन र सम्प्रेषणका हरेक पद्धतिसँग निकट रहन्छ।  

गोपालदास श्रेष्ठ पिता चन्द्रदास श्रेष्ठ र माता द्वारिकादेवी श्रेष्ठका सुपुत्रका रूपमा १९८६ सालमा जन्मेका थिए। काठमाडौं नरदेवी निवासी चन्द्रदास श्रेष्ठ एक व्यापारी थिए। उनले कलकत्तामा पनि व्यापारिक कोठी खोलेका थिए। व्यापारको सिलसिलामा परिवारका साथ उनी काठमाडांै–कलकत्ता आउजाउ गरिरहन्थे। गोपालदास श्रेष्ठको जन्म कलकत्तामै भएको थियो। गोपालदासले प्रारम्भिक शिक्षादीक्षा कलकत्ताको आर्यसमाज स्कुलबाट प्राप्त गरेका थिए। पछि उनी काठमाडौं आई जुद्धोदय स्कुलमा पढे र त्यही स्कुलबाट २००४ सालमा मेट्रिकुलेसन उतीर्ण गरे। उनले त्यसबेलाको मेट्रिकुलेसन परीक्षामा बोर्ड तृतीय (बोर्ड थर्ड) स्थान प्राप्त गरेका थिए। उनी मेधावी विद्यार्थी थिए। मेट्रिकुलेसनपछि गोपालदासले त्रिचन्द्र कलेजबाट आइएस्सीसम्मको अध्ययन गरे। त्रिचन्द्रमा पढ्दाताकादेखि नै गोपालदास राजनीतिमा पनि सकृय रहे। उनी आइएस्सी दोस्रो वर्षमा पढ्दै गर्दा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल आदिको नेतृत्वमा २००५ साल असोजमा स्थापित नेपाल प्रजा पञ्चायत नामक संस्थामा क्रियाशील भई सोही संस्थाद्वारा आह्वान गरिएको सत्याग्रह आन्दोलनमा सहभागी भएका थिए। सत्याग्रहको उद्देश्य राणा सरकारबाट नेपालमा जनअधिकार अर्थात् मौलिक नागरिक हकको सुनिश्चितताको घोषणा गराउनु थियो। नेपाल प्रजा पञ्चायतले श्री ३ पद्म शमशेरद्वारा घोषित वैधानिक कानुनमा उल्लिखित जन अधिकारका विषयहरूको समर्थन गरेको थियो। मोहन शमशेरको प्रशासनले वैधानिक कानुनका प्रावधानलाई मान्यता नदिने बताएपछि सत्याग्रहको घोषणा भएको थियो। त्यसक्रममा गोपालदास पाटन इलाकामा सत्याग्रह सञ्चालनार्थ खटिएका थिए। त्यसक्रममा उनी २००५ कात्तिकमा पक्राउ पनि परे। इतिहासकार भुवनलाल प्रधानले लेखेका छन्– ‘अब सरकारले ने.प्र. पञ्चायतका खुलेआम निस्कने सत्याग्रहीहरूलाई मात्र गिरफ्तार गर्नमा सीमित नरही यथाक्रम सत्याग्रहको पालो पर्खिरहेका भूमिगत कार्यकर्ताहरूलाई पक्रनुतिर पनि कदम चाल्यो। यसका संगठनकर्ताहरूको पनि धुइँधुइँती खोजी भइरहेको थियो। त्रिपुरवर, विजयबहादुर, गोपालदास आदि अधिकांश त सत्याग्रही बनेरै झ्यालखानाभित्र पसिसकेका थिए।’ (भुवनलाल प्रधान, नेपालको जनक्रान्ति २००७, पृ ३२९)

त्यसबेला नेपालमा कानुनी राज्यको स्थापनाका लागि आफूहरूले नेपाल प्रज्ञा पञ्चायतको स्थापना गरेको र त्यसनिम्ति विधान परिषद्को गठन हुनुपर्छ भन्ने माग राखी आन्दोलन गर्दा जेल जानुपरेको कुरा गोपालदासले स्मरण गरेका छन्, ‘राणाहरूको विरोधकै लागि गोपालप्रसाद रिमालको अध्यक्षतामा प्रजा पञ्चायतको गठन गर्यौं। त्यसमा म, विजयबहादुर, त्रिपुरवर सिंह, दमनराज तुलाधर, धर्मराज यमी, सूर्यबहादुर भारद्वाजलगायतका व्यक्तिहरू थियौं।’ (गोकर्ण अर्याल, सं., एक सय एक व्यक्तित्व, पृ २८३)  

सत्याग्रह आन्दोलनका क्रममा जेल परी २००७ सालमा प्रजातन्त्रको घोषणाभन्दा केही समयअगाडि मात्र गोपालदास मुक्त भएका थिए। उनले सम्झेका छन्, ‘कानुनी राज जिन्दावाद भन्दै विधान परिषद्को गठन हुनुपर्छ भन्दै २००५ सालमा हामीले एक महिनाभन्दा बढी समयसम्म विरोध प्रदर्शन गर्यौं। त्यसपछि त्यही विरोध गरेबापत मलाई, त्रिपुरवर सिंह प्रधान, विजयबहादुर र भारद्वाजलाई पक्राउ गरियो र प्रजातन्त्रको घोषणा हुनुपूर्व मात्र जेलबाट छुटें।’ (अर्याल, पृ. २८३)

जेलबाट छुटेपछि केही समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय गोपालदास अलि पछि राजनीति छोडेर पत्रकारितातर्फ संलग्न भए।  

स्वतन्त्र विचार राख्ने बौद्धिक व्यक्तिहरूको आकर्षण दलगत राजनीतितिर भन्दा फरक क्षेत्रमै बढी हुने गर्छ। गोपालदासले पत्रकारिता क्षेत्रको बौद्धिक यात्रा नै आफ्ना लागि बढी उपयुक्त ठाने। स्वच्छ पत्रकारितामा बाँधिनु पर्दैन। पत्रकारिता सत्यको वकालत गर्ने विधा हो। दलीय राजनीतिको सीमामा खुम्चिएर आफूलाई वैचारिकताको बन्दी बनाउन चाहेनन् गोपालदासले। उनी आफ्नै अन्तःचक्षुद्वारा निर्देशित कलमलाई साधन बनाएर जनतामाझमा उपस्थित हुन चाहन्थे। त्यसनिम्ति उनले पत्रकारिताको बाटो रोजे २०१३ सालमा। निजी प्रयासबाट ‘द कमनर’ नामक अग्रणी अंग्रेजी दैनिकको सम्पादन, प्रकाशन प्रारम्भ गरे। गोपालदासले त्यसबेलाको स्थिति सम्झँदै भनेका छन्, ‘त्यसबेला मैले जम्मा सत्र रूपैयाँबाट पत्रिका निकाल्न थालेको हुँ। पत्रिकाको सम्पूर्ण काम आफैले गर्नुपथ्र्यो। पत्रिकाको मूल्य दुई पैसा थियो। सत्यनारायण बहादुर श्रेष्ठको टुडे प्रेसमा टे«डल मेसिनबाट पत्रिका छापिन्थ्यो। त्यही पनि प्रेसलाई पैसा दिन नसकेर उधारोमा राख्नुपथ्र्यो।’ (अर्याल, पृ. २८१÷२८२)

नेपालमा प्रजातन्त्रको घोषणा भएको केही वर्ष मात्र भएको थियो। आम जनमानसमा स्वतन्त्रताको प्रत्याभूति हुन थालेको भए पनि सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन र विकासको गति मन्द नै थियो। राजनीतिक रूपमा अस्थिर सरकारहरूका कारण औद्योगिक क्षेत्रले फस्टाउने अवसर पाएको थिएन। देशको समग्र आर्थिक विकासले गतिशीलता प्राप्त नगरेको त्यस समयमा छापाखाना वा पत्रकारिताजस्ता कुरा राज्यको प्राथमिकतामा नपर्नु स्वाभाविकै थियो। त्यस असहज अवस्थामा दैनिक पत्रिकाको प्रकाशन आरम्भ गर्नु निजी क्षेत्रका लागि एउटा चुनौती थियो। विभिन्न कठिनाइका बाबजुद गोपालदास श्रेष्ठले ‘द कमनर’ को सम्पादन प्रकाशन आरम्भ गरेका थिए।  

केही वर्षपछि उनले वीरगन्जबाट भाडामा अर्को छापा मेसिन ल्याएर पत्रिका निकाले। अलिपछि अझ आधुनिक प्रेस मेसिन ल्याएर पत्रिकालाई गुणस्तरीय ढंगमा निकाल्दै आए। ‘द कमनर’ को प्रकाशनबाट गोपालदासको व्यक्तित्व चर्चित पत्रकारका रूपमा चाँडै नै स्थापित भयो। केही वर्षपछि गोपालदासले पत्रकारितामा उच्च अध्ययनका लागि संयुक्त राज्य अमेरिकाको नर्थ वेस्ट विश्वविद्यालयमा अवसर प्राप्त गरे। अमेरिकाबाट ६ महिनाको पत्रकारिता अध्ययनपछि उनी केही समय पत्रकारिताबारे विशेष अध्ययन भ्रमणका क्रममा बेलायत पनि बसे। पश्चिमी प्रेस जगत्बारे पर्याप्त अध्ययन र व्यावहारिक ज्ञान हासिल गरेका गोपाल दासले यसको व्यावसायिकता एवं निष्पक्ष पत्रकारिताका मर्मलाई अझ गम्भीर महत्व दिँदै आफ्नो पत्रिकालाई निरन्तरता दिइरहे। सरकारी व्यवधानहरूबाट उनी विचलित भएनन्। २०२८ सालमा गोपालदास नेपाल पत्रकार संघको सभापतिमा निर्वाचित भए। त्यसबेला पञ्चायत समर्थक र विरोधीहरूका अलगअलग समूह थिए। प्रेस स्वतन्त्रता र विज्ञापन पाउनु प्रेसको अधिकारको कुरा हो भन्नेहरू व्यवस्था विरोधी ठहरिन्थे। गोपालदासले एक अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘मलाई नरुचाएकै कारण पत्रकार संघका सभापति प्रेस काउन्सिलको पदेन सदस्य सचिव रहने व्यवस्था हुँदाहुँदै पनि काउन्सिलका कागजपत्र नदिएर असहयोग गरियो। मैले यस्तो कार्यको विरुद्ध अदालतमा मुद्दा हालेपछि सरकारले पुरानो व्यवस्थालाई नै खारेज गरेर सूचना विभागका निर्देशकलाई राख्ने व्यवस्था गर्यो।’ (विमोचन, बद्री पौडेल)

पत्रकारिता व्यवसायलाई निरन्तरता दिन गोपालदासले अनेक संघर्ष र व्यवधानहरूको सामना गर्नुपरेको थियो। उनले ती सबै चुनौतीलाई सामना गर्दै आए। गोपालदास प्रेस काउन्सिलका अध्यक्षका हैसियतमा रहेर पनि जिम्मेवारी पूरा गरे।  

जीवनको उत्तराद्र्ध गोपालदास पत्रिकामा सरकारी विज्ञापन वा सहायताको पक्षमा रहेनन्। उनले भनेका थिए, ‘सरकारको सहायता लिनु ठिक होइन किनकि सहायता लिएपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइन्छ।’ (अर्याल, पृ. २८४)

गोपालदासले भोगेको पछिल्लो समयमा निजी क्षेत्रबाट प्रकाशन गरिने पत्रिकाका लागि विज्ञापन संकलन गर्न र पत्रिकालाई निरन्तरता दिन सरकारी सहायता नभई नहुने विषय नरहेको कुरा बुझ्न सकिन्छ।  

केही वर्षपछि उनले वीरगन्जबाट भाडामा अर्को छापा मेसिन ल्याएर पत्रिका निकाले। अलिपछि अझ आधुनिक प्रेस मेसिन ल्याएर पत्रिकालाई गुणस्तरीय ढंगमा निकाल्दै आए। ‘द कमनर’ को प्रकाशनबाट गोपालदासको व्यक्तित्व चर्चित पत्रकारका रूपमा चाँडै नै स्थापित भयो। 

स्वच्छ पत्रकारिता सधैं चुनौतीको घेरामा रहन्छ। पत्रकार जगत् हरेक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै आफ्नो भूमिकालाई बचाउन सधैं तत्पर र जागरुक रहिरहनुपर्ने कुरा गोपालदासले बताएका छन्, ‘नयाँ चुनौतीको सामना गर्दै आफूलाई कसरी सान्दर्भिक र प्रभावकारी बनाइराख्ने, यस नयाँ परिस्थितिमा आफ्नो भूमिका कसरी पहिचान गर्ने इत्यादि सबै यस्ता गहिरा प्रश्नहरू हुन् जसप्रति निरन्तर जागरुक भइराखेमा मात्र यस व्यवसायले आफ्नो सामाजिक जिम्मेवारी पूरा गरिरहन सक्ने कुरा स्पष्ट छ।’ (पत्रकारिता, हाते किताब, पृ. ५)

नेपालमा बहुदलीय राज्य व्यवस्थाको पुनस्र्थापना भइसकेपछिको राष्ट्रिय परिस्थितिमा पत्रकारिताको स्थिति एवं त्यसका चुनौतीका सन्दर्भमा उनले व्यक्त गरेका विचारहरू वर्तमानका लागि पनि उत्तिकै सान्दर्भिक छन्। समय र परिस्थितिप्रतिको हर्दम जागरुकता र सजगता नै पत्रकारिताका लागि निर्भयता, सबलता र निरन्तरताको सूत्र हो भन्ने कुरा उनका विचारबाट महसुस गर्न सकिन्छ।  

गोपालदास अध्ययन र अनुभवले खारिएका अग्रज पत्रकार थिए। उनले आवरणमा वा सतही पत्रकारितामा विश्वास गरेनन्। सतही पत्रकारिताले मानवीय मूल्य मान्यता र मानव जीवनको गहिराइलाई छुन सक्दैन। पत्रकारिताले सामाजिक अन्तरात्माको वाणीलाई सुन्न सक्नुपर्छ। यसले मानवीय सभ्यताले बचाउँदै ल्याएका सांस्कृतिक सामाजिक विश्वासका उपादानहरूलाई सम्मान गर्दै, त्यसका निम्ति संघर्ष पनि गर्दै गतिशील भइरहनुपर्छ भन्ने दृष्टिकोण प्रदान गर्दछ भन्ने उनको चिन्तन थियो, ‘सामाजिक अन्तरात्मासँग यसको घनिष्ट सम्बन्ध रहन्छ। यसै कारणले धेरै हदसम्म पत्रकारिता यही सामाजिक अन्तरात्मा, सामाजिक ब्रह्मप्रति जागरुक रहन्छ। मानवीय मूल्य र मान्यताहरू, नीतिशास्त्र र मानव सभ्यताले अहिलेसम्म उपलब्ध गरेका सांस्कृतिक धरोहरप्रति यो सधंै सचेत रहन्छ, जसको फलस्वरूप यदाकदा यसलाई स्थापित राजनीतिक व्यवस्थाअन्तर्गतका शक्ति केन्द्रहरूसँग जुधी राख्नुपर्ने पनि हुन्छ। यस्ता संघर्षहरू सधैं मनोरञ्जक अवश्य हुँदैनन् तर पत्रकारिता देशकै एक अभिन्न अंग हुँदा यसलाई अस्वीकार पनि गर्न सकिन्न।’ (पत्रकारिता, हाते किताब, पृ. ८)

पत्रकारितामा आबद्ध व्यक्ति वा पत्रकारहरूका लागि गोपालदासको यस भनाइमा अत्यन्त गहिरो सन्देश निहित छ। पत्रकारिता वर्तमानको मात्र नभएर अतीतसँग सम्बन्धित सामाजिक सांस्कृतिक सभ्यताको पनि ऐना हो। पत्रकारिताको प्राण सामाजिक अन्तरात्मासँग गाँसिएको हुन्छ जसका अनेक आयामहरू छन्। तिनलाई सूक्ष्मतापूर्वक विवेकशील भएर हेर्न, देख्न सक्नु पत्रकारिताको वास्तविक सामथ्र्य हो भन्ने गोपालदासको भनाइ रह्यो।  

गोपालदासले सधैं वस्तुपरक पत्रकारितामा विश्वास गरे। पत्रकारले एकपक्षीय वा सामान्य बुझाइका विवरणलाई मात्र पस्किने हो भने त्यसमा विषयवस्तुको तथ्यपरक गहिराइ फेला पर्दैन। तथ्यपूर्ण पत्रकारिता गर्दा विमति राख्न सक्ने क्षमता पनि पत्रकारमा हुनुपर्छ। त्यसैले वस्तुपरकता र विमति स्वच्छ पत्रकारिताका लागि महत्वपूर्ण छन्। यसैले गोपालदासले पत्रकारिताका लागि तटस्थता आवश्यक गुण रहेको बताएका छन्, ‘संलग्न रहेर पनि असंलग्न हुनु, विमतिमा पनि शत्रुवत् नहुनु पत्रकारिताका यस्ता केही आचरण हुन् जसको अनुपस्थितिमा बौद्धिकीकरणको व्यावसायिक प्रक्रिया पनि शुद्ध रूपमा सम्भव हुँदैन।’ (पत्रकारिता, हाते किताब, पृ. ८)

स्वच्छ र व्यावसायिक पत्रकारिताका लागि असंलग्नता एक महत्वपूर्ण गुण रहेको हुँदा समाचार वा विचारको सञ्चारण गर्दा यसलाई विशेष ध्यानमा राख्नुपर्ने उनको दृष्टिकोण रहेको पाइन्छ।

गोपालदास श्रेष्ठ प्राज्ञिक पत्रकार थिए। प्रत्येक सम्प्रेषित समाचार वा विचारमा अन्तर्निहित सामाजिक दर्शन, त्यसको अतीत अनि त्यसमा वर्तमानसम्मको सांस्कृतिक विकासप्रतिको चेतना आदि अनेक आयामहरू रहन्छन्। समाचार वा विचारको सम्प्रेषणमा यस्ता अनेक पक्षहरूलाई पनि ध्यानमा राख्न सकेमा नै उत्तम पत्रकारिताको दायित्व पूरा हुन सक्छ। ‘वास्तवमा पत्रकारिता आफै पनि एक सांस्कृतिक क्रिया हो। त्यसैकारणले यसलाई व्यवहारमा ल्याउँदा यसको गहनतालाई हृदयंगम गरेमा मात्र यस पेसाको सामाजिक दायित्वको दृष्टिकोणले बढी सार्थकता उपलब्ध हुने सम्भावना रहन्छ।’ (पत्रकारिता, हाते किताब, पृ. ९)

अग्रज पत्रकार गोपालदास श्रेष्ठको देहान्त २०५५ सालमा भयो। वास्तवमा पत्रकारिता एउटा सांस्कृतिक कर्म हो भन्ने कुरालाई गम्भीरतापूर्वक महसुस गर्दै यस क्षेत्रमा क्रियाशील हुने पत्रकारहरू कमै छन् भन्न सकिन्छ। पत्रकार श्रेष्ठका विचारहरू समग्र नेपाली पत्रकार जगत्कै लागि मननीय छन्। पत्रपत्रिका वा सञ्चार माध्यमका रूपहरू असंख्य र अनेकौं रहेको वर्तमान पत्रकारिता जगत्ले गोपालदासले यसको मर्यादालाई माथि पुर्याउन व्यक्त गरेका विचारलाई मनन गर्नु उपयुक्त देखिन्छ। पत्रकारिता जगत्ले उनलाई कहिल्यै बिर्सने छैन। उनी अमर छन्।  

प्रकाशित: १६ वैशाख २०८० ०२:१० शनिबार

अक्षर प्रबुद्ध पत्रकारः गोपालदास श्रेष्ठ द कमनर’ पत्रकारिता