विचार

सहिदको वास्तविक सपना

बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुध्द विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न परे आफ्नो अमूल्य देहसमेत वलि दिन तयार हुने निर्भयी हुतात्मा हो सहिद । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको अस्तित्वको संरक्षणार्थ जुनसुकै  मूल्य चुकाउन पनि पछि नपर्ने सङ्कल्पवीर ऊर्जा नै कुनै पनि देशको स्वतन्त्रता सेनानीको पुर्जा हो । विस्तारवादी, पृथकतावादी र एकाधिकावादका नाइकेसित महानायकीय भूमिकामा प्रखररूपमा डट्ने र स्वतन्त्रता, समानता, राष्ट्रिय एकता तथा आफ्ना मौलिक संस्कृतिको आत्मैदेखि जगेर्ना गर्न कस्सिने सङ्ग्राम वीर नै सहिद हो । अनि यिनै देशका प्राणवायु र आभूषणको उत्सर्ग, त्याग, बलिदान र समर्पणहरुलाई सम्झिएर उनीहरुको भौतिक शरीर  तत्कालीन आततायी  सरकारले संहार गरेको दिन सहिद दिवस मनाइन्छ । नेपालमा  सहिद दिवसको थालनी २००८ सालबाट भएको भेटिन्छ  ।

साँच्चै सहिदका सपना विपना बनाउने साहस छ भने नेपालका ठूला दलले आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गर्ने हिम्मत गर्नुप¥यो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योध्दा नूतन थपलियाले एक स्मृति आलेखमा (जो त्यो बेला सहिदहरुसँगै सेन्ट्रल जेलमा हुनुहुन्थ्यो) लेख्नुभएको छ– ‘राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७२ वि.सं. मा नेपालमा पहिलोपल्ट झ्यालखाना बनाएका हुन् । गोलघरमा मृत्युदण्ड पाएका व्यक्तिलाई अलग्गै एकान्तमा राखिन्थ्यो । १८ महिनासम्म सफाइ नपाएमा पूर्वका भए भक्तपुर, तराईका भए ललितपुरको गोदावरी र काठमाडौँ र अरुतिरका भए शोभाभगवतीको भाचाखुसी भन्ने ठाउँमा लगेर काटिन्थ्यो । उनीहरुको फैसलामै लेखिएको हुन्थ्यो, ‘काटी मारिदिनू ।’ वि.सं.९ माघ १९९७ मा त्यही जेलमा २६ महिनादेखि कैद काट्दै आएका शुक्रराज शास्त्रीलाई प्रजापरिषद् काण्डमा फसाई टेकुको पचली पु¥याइयो । शुक्रराज रुखमुनि उठीउठी गीता पाठ गर्दै थिए । फाँसीको फन्दा घाँटीमा लगाउनासाथ ठूलो स्वरले ‘ॐ’ भन्दै  प्राण त्याग गरे । लगत्तै बिहानपख टाढा टाढाबाट उनलाई हेर्न मानिसको भीड लागेको थियो । त्यसै बेला उनका पिता माधवराज जोशीले छोराको शवअघि उभिएर गर्जिंदै भने, स्याबास् बाबू !  तिमी धन्य छौ ! तिमीले आमाबाको मात्र हैन, देशको गौरव बढायौ । छोरो त यस्तो साहसिलो हुनुपर्छ ।’
शुक्रराज संस्कृतका प्रकाण्ड पण्डित रहेछन् । आफ्ना पिताको प्रेरणाबाट नेपालमा राजनीतिक परिवर्तनको अलावा धर्ममा परिष्कार चाहन्थे । यी दुवै पक्ष राणाका लागि पाच्य नभएकै कारण त्यस्तो प्रतिभाको संहार हुन गएको देखिन्छ । माधवराजले आर्य समाज खोलेकामा चन्द्रशमशेर पहिलेदेखि नै मुर्मुरिएका थिए । केही अत्तो लाउन नपाएछि माधवराजले पशुपति जस्तो देवतालाई ढुङ्गा भन्यो भन्ने आरोपमा देश निकाला गरेका रहेछन् । त्यसैले  त प्रगति विरोधी राणासित माधवराजको परिवारै विद्रोहीको रूपमा देखिन पुगेछ । यसरी ११ माघदेखि १५ माघसम्म धर्मभक्त, दशरथचन्द र गङ्गालाललाई फाँसी दिएर कालो इतिहासको धब्बा बोक्न पुग्यो राणातन्त्र । त्यसपछि जनतामा क्रान्तिको जागरण आउन थाल्यो । परिणामस्वरूप वि.सं. २००४ मा ‘नेपाल सरकार वैधानिक कानुन’ दिन श्री ३ को सरकार बाध्य भयो । उता भारतमा निर्वासित जीवन बिताइरहेका राजनीतिज्ञ, विद्यार्थी, प्रबुध्दजन र भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका कैयौँ नेपाली योध्दाले आततायी राणा शासनको मूलोच्छेदन गर्नुपर्छ भनी विशाल संगठन गरे । यता राजा त्रिभुवन भारतीय राजदूतावासको शरणार्थी हुँदै दिल्ली पुगे । त्यहीँ नेपालका तत्कालीन तीन शक्ति गृह राणा, राजा र जनशक्ति गृहको प्रतीक नेपाली काङ्ग्रेसबीच दिल्ली सम्झौता हुन पुग्यो । यिनै होनहार नेपाल आमाका सपुतहरुकै बलिदानको परिणाम थियो राणाको घुँडा टेकाइ ।
दिवस, जन्मोत्सव, जयन्ती, स्मृति तिथि हरेकका लागि श्रध्दा, आस्था र विश्वासका प्रतीक हुन् । जसले मानवमात्रलाई कर्तव्यबोध र दायित्वमा जुर्मुराउन सचेत बनाउँछ । झन् देश हाँक्ने इरादा लिएर राजनीतिको मैदानमा निस्किएका अभिकर्ताका लागि त यो इतिहासको पठन र सुशासनको ब्रह्मसूत्र नै हो । सहिदहरुले देशको अखण्डता, सार्वभौम सत्ताको सम्मान, राष्ट्रिय एकता आमनेपाली जनतामा समानता, स्वतन्त्रता, समृद्धि, सर्वसुलभ न्याय स्थापना गर्नुपर्छ भनेरै आफ्नो जीवन वलिवेदीमा होमेका हुन् । जङ्गबहादुरजस्ता क्रूर शासकसित पौँठीजोरी खेल्ने लखन थापा हुन् वा फितला र अक्षम राजा रणोद्वीपसँग प्राणको भिक्षा नमाग्ने सुपति गुरुङ, यी सबैको प्राणोत्सर्गभित्रको गूढ रहस्य थियो– जनताको मुखमा मुस्कान अनि ओठमा हाँसो । यसरी हजारौँ सहिदका दिव्य सपना वा दूरदृष्टिलाई कार्यान्वयनमा देख्न र भोग्न पाउनु नै प्रजातन्त्र वा लोकतन्त्र हो । के ती सपना लोकतन्त्रको दुन्दुभि बज्न थालेको र झण्डै तीस वर्ष हुन लागिसकेको जननिर्वाचित सरकारहरुले पूर्णरूपमा नभए पनि आंशिकरूपमा दिन सकेका छन् ?
              साँच्चै सहिदका सपना विपना बनाउने साहस छ भने नेपालका ठूला दलले आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गर्ने हिम्मत गर्नुप¥यो । केवल बतासे गफ, चमेरे चरित्र र छेपारे रङ देखाउने  नौटङ्कीको पटाक्षेप हुनुपर्छ । दिलदेखि सहिदलाई मानेर दिवस मनाउने हो भने प्रधानमन्त्री भएकादेखि वाडसम्मका नायकहरु अनि सचिवदेखि पिउनसम्मका सबैको सम्पत्ति राष्ट्रियकरण गर्ने अठोट र प्रतिज्ञापत्र यथाशीघ्र आउनुप¥यो । अनि वित्तीय संस्था, आइएनजिओ र एनजिओकर्मीमा पनि यो अभियान लगाएमात्र सहिदका सपना पूरा हुन्छन् । अन्यथा यति कमजोर अवस्थामा पुगेको राष्ट्रियताको ढुकढुकी इति हुने खतरा छ । सहिद दिवसले सबैमा सद्बुध्दि दिऊन् । जय सहिद !

प्रकाशित: १६ माघ २०७३ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App