विचार

अलमलमा अर्थशास्त्री

रोबर्ट स्किडेलस्की

साँच्चै भन्नु पर्दा विश्व अर्थतन्त्रमा अहिले के भइरहेको छ भन्ने कसैलाई पनि थाहा छैन। सन् २००८ मा अर्थतन्त्र ध्वस्त भएपछि जुन गतिमा बौरिने अपेक्षा गरिएको थियो, त्यसो नभई निकै सुस्त हुन पुगेको छ। हामी पूर्ण स्वस्थ हुने बाटोमा छौँ या ‘निरपेक्ष स्थिरता’मा अडिएका छौँ? भूमण्डलीकरण आइरहेको छ या गइरहेको छ?

नीतिनिर्माताहरू दोधारको अवस्थामा छन्। उनीहरू चाहिँदो (र, नचाहिँदो) उत्तोलक दबाइरहेका छन् र कुनै उपलब्धि हात परिरहेको पनि छैन। मात्रात्मक सहजताले मुद्रास्फीतिलाई ‘ठाउँमा ल्याउनुपर्ने’ थियो, तर ल्याएन। गत महिना बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कार्नीले ‘द स्पेक्टर अफ मनिटरिज्म’ शीर्षकको भाषणमा भने जस्तै वास्तवमा ‘केनेसियनिज्म’को कालो छायाँबाट बचाउनका लागि ‘मनिटरिज्म’ चाहिएको थियो!

हिजोआजका अर्थशास्त्रीहरू बेबकुफ पण्डित देखिन थालेका छन्, उनीहरूलाई अहिलेको विश्व अर्थव्यवस्थामा कहाँनिर चुक छ भन्ने केही पत्तो छैन।

'माइक्रोइकोनमिक टुल' (वृहत अर्थशास्त्रीय विधि) लाई वास्तवमा प्रयोग गर्ने उपकरणको अनुपलब्धताका कारण ‘स्ट्रक्चरल रिफर्म (संरचनात्मक सुधार)’को अवस्था ज्यूँकात्यूँ छ। तर, जे कुरामा जोड दिनुपर्ने हो त्यसमा कोही पनि सहमत छैनन्। यसैबीच, बेबकुफ नेताहरूचाहिँ असन्तुष्ट मतदाताहरूलाई उत्तेजित बनाइरहेका छन्। यस्तो लाग्छ, अर्थतन्त्रलाई जसले व्यवस्थापन गर्नुपर्ने हो उनीहरूको हातबाट फुत्किसकेको छ।

सन् २००८ अघि, विज्ञहरूले सोचेका थिए– सबै कुरा नियन्त्रण गर्न उनीहरू सक्षम छन्। हो, किनभने त्यहाँ घरजग्गा कारोबारमा अत्यधिक वृद्धि (बबल) देखिएको थियो। सन् २००५ मा जेनेट येलेन, जो अहिलेको अमेरिकी संघीय अर्थव्यवस्था नियन्त्रण गर्ने फेडरल रिजर्भका अध्यक्ष बन्न पुगेका छन्, तिनले भनेका थिए– यो कुनै नियन्त्रणमा लिन नसकिने खराब राक्षस होइन, तर यो ‘बाटोको निकै ठूलो अवरोधकचाहिँ अवश्य पनि हो।’

त्यो अवरोध पन्छाउन किन सकेनन् त? ठीक यही प्रश्न रानी एलिजाबेथले सन् २००८ मा अर्थशास्त्रीहरूको एउटा समूहलाई सोधेकी थिइन्। अधिकांश अर्थशास्त्री हात मोल्दै नाजवाफ बसेका थिए। यसलाई ‘उम्दा व्यक्तिहरूको सामूहिक कल्पनाशीलताको असफलता’ भनी केहीले व्याख्या गरेका थिए।

तर, केही अर्थशास्त्रीले भने यस किसिमको अवस्था आउनुलाई स्वाभाविक मानिरहेका थिए। धेरैले त हाम्रो ध्यान अर्थशास्त्रीय अध्ययनमा मात्र सीमित भएकोमा आलोचनासमेत गरेका थिए। अधिकांश अर्थशास्त्रका विद्यार्थीहरूले मनोविज्ञान, दर्शन, इतिहास र राजनीति पढ्नु पर्दैन। उनीहरूलाई अर्थशास्त्रका विविध नमूनाहरूका बारेमा चम्चाले पिलाइन्छ (पढाइन्छ) र त्यसको आधारचाहिँ अवास्तविक आकलन हुन्छ। र, विद्यार्थीले गणितीय तथ्यांकका आधारमा त्यस अवास्तविक आकलनलाई सम्बोधन गर्न सक्ने या नसक्ने हिसाबले मात्र पढाइन्छ। तिनीहरूलाई सम्पूर्ण चित्रको जानकारी दिने मानसिक विधि कहिल्यै दिइन्न।

यस अवस्थामा हामीलाई उन्नाइसौँ शताब्दीका महान् अर्थशास्त्री तथा दार्शनिक जोन स्टुअर्ट मिलको सम्झना हुन्छ। उनको विश्वास थियो, जो अर्थशास्त्री मात्र छ ऊ साँच्चिकै गतिलो अर्थशास्त्री हुने विश्वास गर्न सकिँदैन। राम्रो अर्थशास्त्री चिन्न समग्र मानवीय अवस्थाको बुझाइमा जोड दिइनुपर्छ। समग्र मानवीय अवस्थाको बुझाइमा जोड दिने पढाइ क्रमशः छुट्दै गइरहेको छ। झन् अर्थशास्त्रले त यसलाई समातेकै छैन।

समग्र मानवीय बुझाइबारे पढ्नुपर्ने अवस्थामा यसलाई अझ छाडिएको स्थिति छ। हुनुपर्नेचाहिँ के हो भने, कमाउने र जिउने व्यापारमा हाम्रो सोचाइले ठूलो भूमिका खेलेको हुन्छ। अर्थशास्त्रमा बजारले कसरी काम गर्छ, कहिलेकाहीँ यो किन ध्वस्त हुन्छ, कसरी आयोजनाको मूल्यलाई उपयुक्त तरिकाले आकलन गर्ने भन्ने जस्ता विषय अधिकांश मानिसका लागि रूचिकर हुनुपर्ने हो। वास्तवमा ती रूचिका विषय पछाडि पारिएका छन्। हेर्दैका आकर्षक र औपचारिक मोडलका पक्ष भने अगाडि राखिएका छन्।

गलत तर्कलाई आवश्यक जाँच गर्नुपर्ने हुनाले तार्किक बहसलाई प्राथमिकता दिइएको छ र यसलाई म राम्रो मान्दिनँ। वास्तविक समस्या के हो भने वस्तुले कसरी काम गर्छ र गर्नुपर्छ भन्ने साझा बुझाइबाट हामी हटेका कारण यस्तो अवस्था आएको हो। अर्थशास्त्रीहरू जे स्पष्ट छैन, त्यसलाई सटिक बनाउने दाबी गर्छन् र अर्थशास्त्रचाहिँ अन्य विधा वा अन्य विषयभन्दा उच्च तहको हो भनी विश्वास गर्छन्। किनभने, मुद्राको वस्तुनिष्ठताले ऐतिहासिक प्रभाव वा बललाई सही तरिकाले मापन गर्न सकिन्छ, आकलनमात्र गरिँदैन भन्ने भ्रम या अहम्मा उनीहरू छन्।

यस्तोमा अर्थशास्त्रीहरूले अर्थतन्त्रलाई मानवीय क्रियाकलापभन्दा मेसिनयुक्त क्रियाकलाप मान्छन् भन्दा मलाई आश्चर्य लाग्दैन। प्रख्यात अमेरिकी अर्थशास्त्री इर्भिङ फिसरले त माग र पूर्तिको अवस्थालाई बुझाउन पम्प र उत्तोलकको एउटा ‘हाइड्रोलिक मेसिन’ नै बनाएर विद्यार्थीलाई देखाउँथे।

तपाईंले अर्थतन्त्रलाई मेसिनजस्तै मान्नु भयो भने आर्थिक समस्यालाई गणितीय समस्याका रूपमा हेर्न थाल्नु हुन्छ। अर्थ व्यवस्थाको कुशल राज्य, सामान्य सन्तुलन (इक्विलिब्रियम)जस्ता पक्ष समानान्तर समीकरणको प्रणालीमार्फत् समाधान खोज्न थालिन्छ। सन्तुलनबाट विचलनलाई ‘फ्रिक्सन’ (घर्षण) र ‘सडकका अड्चन’ मान्न थाल्छन्। तिनलाई छाडेर गरिने मूल्यांकन पूर्वनिर्धारित र सर्वोत्तम होला त? दुःखको कुरा, ती घर्षणले मेसिनको सहज क्रियाकलापलाई रोक्ने पक्ष मानव जातिसँग सम्बन्धित विषय हो। वास्तवमा ती सडकका अड्चनको संवेदनासँग तिनलाई कुनै मतलब हुँदैन, मानव जातिसँग कुनै सरोकार हुँदैन किनभने उनीहरूको वित्तीय संरचना बैंकहरूले बनाएका हुन्, तिनलाई त्यसैगरी प्रशिक्षित गराइएको हुन्छ।

असल अर्थशास्त्रीले जहिले पनि बाटाका अप्ठेरा हटाउने युक्तिका सीमितता छन् भन्ने बुझेका हुन्छन्। उनीहरू आफ्नो पढाइमात्र वा आफूले सिकेका कुरामा मात्र अड्किँदैनन्। उनीहरूले आफ्नो पढाइको सीमितताले ल्याउने समग्र सोचाइको गल्तीबाट बचाउने प्रयास गर्छन्। जोन मेनार्ड किन्सले आफ्ना विद्यार्थीलाई जहिले पनि सचेत गर्ने गर्थे– विधिविधानलाई टाढै राख। त्यसैले त उनको उम्दा पुस्तक ‘द जेनरल थ्योरी अफ इम्प्लोइमेन्ट, इन्ट्रेस्ट एन्ड मनी’मा कुनै औपचारिक मोडल बताइएको छैन। उनले गणितीय औपचारिकताका कुरा अरुलाई नै आँक्न छाडिदिएका छन्। किनभने उनी चाहन्थे, उनका पाठक (पछि आउने अर्थशास्त्री, सर्वसाधारण जनता होइन)ले उनले के भन्न खोजेको होला भनी उनको ‘सहजबोध’लाई ठ्याक्कै पत्ता लगाउन सकून्।

गत शताब्दीका दुई महान् अस्ट्रियाली अर्थशास्त्री जोसेफ सुमपिटर र फ्रेडरिक हायेकले पनि अर्थतन्त्रलाई मेसिनका रूपमा हेर्नुलाई चर्को विरोध गरेका थिए। सुमपिटरको तर्क थियो, पुँजीवादी अर्थव्यवस्था पुरानो सम्बन्धको निरन्तर विश्वासमार्फत् निर्माण हुने गर्छ। हायकका तर्कमा चाहिँ बजारको चमत्कार, सामान्य सन्तुलनको पेलानबाट निर्माण हुने प्रणाली होइन बरु असंख्य व्यक्तिको विषम योजना र छरिएको ज्ञानबाट निःसृत हुने हो।

समग्र र बृहत् शिक्षामा हामीले जोड दिनुपर्छ भन्नेमा विश्वभरका महान् अर्थशास्त्री र असंख्य असल व्यक्ति सहमत छन्। यसले अर्थ व्यवस्थालाई बुझ्ने विविध आयाम, सोच र बाटाहरू उपलब्ध हुनेछन्। अघिल्ला महान् अर्थशास्त्रीहरूलाई अर्थशास्त्रसँगै अन्य विविध विषयको ज्ञान थियो। किनेस अर्थशास्त्री मात्र होइन गणितज्ञसमेत थिए। सुमपिटरले कानुनमा पनि पीएचडी गरेका थिए। हायेकले कानुन तथा राजनीतिशास्त्रको अध्ययन गरेका थिए। उनी दर्शनशास्त्र, मनोविज्ञान र मस्तिष्क, शरीर रचना विज्ञानका विद्यार्थी थिए।

हिजोआजका व्यावसायिक अर्थशास्त्रीहरूले भने अर्थशास्त्रबाहेक अरु केही पढेका छैनन्। उनीहरूले आफ्नो विषयको शास्त्रीय ज्ञान लिनुपर्छ भनेर पुराना विज्ञका पुस्तकसमेत पढेका छैनन्। आर्थिक इतिहासमा तथ्यांकका कुरा आउँछन्, जहाँ अर्थव्यवस्थाको तरिकाहरूका सीमितता देखिन थाल्छन्, त्यहाँ दर्शनशास्त्र देखिन थाल्छ। गणित र तथ्यांकले अर्थशास्त्रीको मानसिक क्षितिजलाई एक ध्रुवीय बनाइदिएको छ। त्यसैले अर्थशास्त्रीहरू हाम्रो समयका बेबकुफ पण्डितमा परिणत भएका छन्।

वार्विक विश्वविद्यालयका प्रोफेसर एमिरेट्स तथा बेलायतको हाउस अफ लर्ड्स सदस्य। उनले प्रख्यात अर्थशास्त्री जोन मेनार्ड किनेसबारे तीन भागको जीवनी लेखेका छन्। प्रोजेक्ट सिन्डिकेटबाट अच्युत कोइरालाको अनुवाद।

प्रकाशित: २९ पुस २०७३ ०४:३३ शुक्रबार

अलमलमा अर्थशास्त्री