विचार

पाउनुमा होइन छाड्नुमा हुन्छ नेतृत्व

राजकुमार सिद्धार्थले दरबार त्याग गरेर साधना प्राप्त गरेपछि भगवान् बुद्ध भएका थिए। जब ज्ञान प्राप्त गरे, उनी आफ्नो दरबार फर्के र परिवारलाई धन्यवाद व्यक्त गरे। दरबारका सबैले उनलाई सोधे, ‘भगवान्! हजुर दरबार छोडेर जाँदा जस्तो त अहिले अवश्य हुनु हुन्न। हामीलाई बताउनुहोस् न, हजुरले जंगल गएर तपस्या गरेपछि के के पाउनुभयो?’ भगवान् बुद्ध मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘मलाई सोध के के छोड्यौ भनेर। मैले जे पाएँ त्यो त मभित्र नै रहेको सम्पदा रहेछ। बाहिरबाट मलाई प्राप्त भएको सम्पन्नता, राजकुमारको सम्मान, मेरो अहंकार, म भन्ने चिज, मेरो भन्ने चिज मैले सबै छोडें। जब मैले बाहिरका सबै चिज छोडें तब मलाई भित्रको अन्तरज्ञानको बोध भयो। भित्रको दियो बल्यो। अहंकाररूपी, लोभरूपी, वासनारूपी सबै अहम् छुटे।’

एउटा कहानी छ–तिब्बतमा एक राजा थिए। उनको दरबार छेउमै एक जना सन्त बस्थे। एउटा गाई पालेका थिए, सानो बारी थियो। केही अन्न फलाउँथे। त्यसबाट गाईको दाना र आफ्नो खाना दुवै पुर्‍याउनुपर्थ्याे। एकदिन दरबारका सेनाहरूले राजालाई अनुरोध गरे–महाराज, ती सन्त हाम्रै छेउमा छन्। अति नै दुःख पाएर बसेका छन्। केही अन्न, कपडा लगेर दिऊँ न उनलाई। राजा आश्चर्यमा परे-त्यति दुःखी र गरिब सन्त हाम्रै दरबार छेऊमा छन्? जाओ अन्न, अनाज, लत्ताकपडा सबै दिएर उनलाई भरिपूर्ण बनाएर आओ।

तुरुन्तै राजाका सेनाहरू गाडीभरि सामान राखेर उनको कुटीमा गए। तर, सन्तले अस्वीकार गरे। फिर्ता लैजाऊ तिम्रा सबै सामान र उसलाई देऊ जसलाई पुगेको छैन।

मलाई सबै चिजले पुगेको छ। मेरो प्राण, मेरो आत्मा, मेरो जीवन सबै सुखी र आनन्दित छ। सेनाहरूले जति कोसिस गर्दा पनि सन्तले सामान लिन मानेनन्। सेनाहरू दरबार फर्के र राजालाई यी सबै बिस्तार सुनाए। राजा अचम्ममा परे। केही छैन भनेको होइन तिमीहरूले तर ऊ सबै छ भन्छ त? सेनाले भने–हो हजुर, एउटा लगौंटी र बारीमा २–४ मुठी अनाजबाहेक केही छैन। राजाले भोलिपल्ट मन्त्रीको टोलीसहित सामान लिएर सन्त कहाँ जान भने। मन्त्रीको टोली पुग्यो, सन्तलाई अनुरोध गर्‍यो तर सन्त लिन मान्दैनन्।

भन्छन्–त्यहीं जसलाई पुगेको छैन, जोसँग छैन उसैलाई देऊ। राजा पनि हैरान भए। उनले अब आफै नै सन्तलाई भेट्न जाने निर्णय गरे। सेनासहित सामान लिएर सन्तकहाँ पुगे। सन्तको जवाफ उही थियो–तपाईंका यी सामान मलाई जरुरी नै छैन। जसलाई छैन उसलाई दिनुहोस्। जति नै करबल गर्दा पनि सन्तले स्विकारेनन्। राजाले राति आफ्नी रानीसँग यो कुरा सुनाए।

रानीले हाँस्दै भनिन्, ‘महाराज ! यस्ता सन्तहरूलाई दिने कोसिस गर्ने होइन। बरू यिनीहरूसँग लिने कोसिस गर्नू।’ राजा फेरि अचम्ममा परे र भने, ‘महारानी कस्तो कुरा गरेकी तिमीले? जोसँग केही नै छैन उसले मलाई के दिन सक्छ?’

रानीले भनिन्, ‘जसरी तपाईं आफ्नो राज्यको सम्राट हुनुहुन्छ नि, त्यस्तै ती सन्त उनको आफ्नो आन्तरिक सम्पदाको, प्रभुको राज्यको सम्राट हुन्। रानीको कुराले राजाको मनमा धेरै कुरा खेल्न थाल्यो। उनी राति निदाउन सकेनन्।

भोलिपल्ट बिहानै उठेर एक्लै सन्तलाई भेट्न पुगे। उनले भने, ‘हे साधु ! तपाईंले मसँग भएको चिज लिन मान्नुभएन। अब मलाई हजुरसँग भएको चिज दिनुपर्‍यो। सन्त मुस्कुराए र भने, ‘महाराज पाउनुहुन्छ मसँग जे छ तर त्यसका लागि तपाईंले आफूसँग भएको बहुमूल्य चिज छोड्नुपर्छ। राजालाई सन्तको रहस्य जान्नु थियो। त्यसैले राजी भए र भने, ‘हे साधु! सबैभन्दा बहुमूल्य त मेरो राज्य नै होला। म यो राज्य र राजाको पद नै छोडिदिन्छु। सन्तले पत्याएनन् तैपनि केही परिश्रम गरे भने यिनले पनि त पाउँछन्। सन्तले राजालाई भएको सानो बारी खन्ने, झारपात उखेल्ने, वरिपरिको सरसफाई गर्ने जिम्मा दिए र राजाले यसलाई स्वीकारे। दरबारबाट सेनापतिहरू सबैले यो क्रियाकलाप देखेर सन्तलाई अनुरोध गरे–हाम्रा राजालाई यति कष्ट नदिनुहोस्।

सन्तले भने, ‘राजाको इच्छा हो भित्रको रहस्य थाहा पाउने। त्यसका लागि बाहिर केही कर्म त गर्नैपर्छ।’ राजा फोहोर सफा गर्दै थिए। बाटोमा एकजना मान्छेसँग ठोक्किए। उनलाई भित्रबाट क्रोध आयो र भने, ‘१५ वर्षसम्म यही बाटो हिँड्दा आँखा देख्थ्यौ। आज आँखा देखेनौ?’ सन्तले मनमनै सोचे–अझै २–४ वटा यिनको परीक्षा हुनैपर्छ। राज्य छोड्न सजिलो छ तर आफूलाई र आफ्नो अहंकार छोड्न कठिन छ। दोस्रो दिन उनी गाईसँग ठोक्किए तर कुनै प्रतिक्रिया देखाएनन्।

केही समय बितेपछि राजा आफै मौन, शान्त, प्रसन्न देखिन थाले। माटो, पानी, गाई सबैसँग घुलमिल हुन थाले। आफू र आफ्नो पद बिर्से। लोभलालच केही झल्किँदैनथ्यो। केवल प्रेमपूर्ण, प्राकृतिक स्वभावमा जिउन सक्ने भए। सन्तले सोचे–यिनले चाहेको भए मबाट भागेर जान सक्थे। अब यिनमा आन्तरिक रूपान्तरण आएको छ। तब सन्तले राजालाई भने, ‘महाराज ! अब हजुर आफ्नो दरबार फर्केर राजकाज चलाउन सक्नुहुन्छ किनकि अब हजुर पहिलेको राजा हुनु हुन्न। अहंकार र दम्भ हजुरबाट गइसकेको छ।

अब हजुरले राज्य चलाउँदा सत्य र न्यायलाई ख्याल गर्नुहुनेछ। राजाले सन्तसँगै बस्ने आग्रह गरे तर सन्तले भने, ‘अब हजुर मसँग बसे पनि, दरबारमा बसे पनि हजुरको आन्तरिक रहस्य र आन्तरिक सम्पदा पहिचान भएको छ, कुनै फरक छैन। अब बरू राज्यलाई हजुरजस्तो सत्यवान् नेतृत्वको आवश्यक छ। बोध कथा हो तर हामीलाई पनि यस्तै नेतृत्व आवश्यक छ।

यस्तै परीक्षा दिनुपर्दैन तर कम से कम आफ्नो स्वार्थ र लोभलालचबाट माथि उठेर आफ्ना अहंकार छोडेर नागरिकको हितमा आवाज उठाउने र न्याय दिने नेतृत्व चाहिएको छ। जनताका आवश्यकता, मतको मूल्य र केन्द्र बिन्दुमा जनताका प्राथमिकतालाई स्थान दिने नेतृत्वको खाँचो छ।  

निर्वाचनपछिको यतिका समय बितिसक्दा सरकारको स्थायित्व हुन नसक्नु, एकले अर्कोलाई भत्काउँदै र अल्झाउँदै लैजाने प्रवृत्तिले चेतनाको स्तर कहाँ छ र स्वार्थी प्रवृत्ति कसरी हाबी भएको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ। के गरे राजनीतिक स्थिरता कायम रहन्छ र विकासको बोध कुनै विशेष संयन्त्रको कब्जामा नरहेर नागरिकले अनुभूति गर्न पाउनेछन्? प्रश्न बाँकी नै छ।

बजेट, विकास, नीति, योजना सबै अलपत्र परेको अवस्था छ। केन्द्र र प्रदेशमा स्थायित्व आउन नसकेपछि स्थानीय निकायमा कसरी स्थायित्व आउँछ र दिइएका जिम्मेवारी पूरा गर्छ स्थानीय निकायले।

संघीयतापछि स्थानीय निकायको धेरै जिम्मेवारी र भूमिका छ तर केन्द्रमा आउन नसकेको स्थायित्वका कारण अलमल पर्नुपरेको अवस्था छ।

राजनीति एकले अर्काको खुट्टा तान्ने वा विश्वासहीनताको प्रतीक बनेको छ। स्थिरताको प्रणाली र विश्वसनीय दिगोपन प्रणालीको स्पष्ट उद्देश्य सकारात्मक सामाजिक, वातावरणीय र आर्थिक प्रभावहरूलाई हाँक्न सक्ने र नकारात्मक प्रभावहरूलाई हटाउन वा सुधार गर्न सक्ने नेतृत्वको खाँचो छ। तब मात्र विकासको दायरा, यसको विशिष्ट स्थिरता, उद्देश्य र यी उद्देश्यहरू प्राप्त गर्नका लागि रणनीति परिभाषित र स्पष्ट रूपमा सबैका सामु प्रस्तुत गर्न सकिने आँकडा बन्छ।

नीति, नियम, योजना र विकासको तर्जुमा स्थानीय निकायले अनुमानको भरमा गरेको भान हुन्छ किनकि सही अभ्यासमा लाग्ने समय र गाइडलाइन नै पुगेको छैन। नागरिकका आवश्यकता र प्राथमिकताका आधारमा होइन कि आफ्नालाई उकास्ने नातावाद जीवितै रहँदा किताबमा योजना बन्छन् तर फिल्डमा काम हुँदैनन्।

विगतका उदाहरण र अभ्यासले खुलस्त पारिसकेका छन्। कहिलेसम्म नागरिकलाई मूर्ख र निरस बनाउने? यसको जिम्मेवारी बोध हुनुपर्छ कि पर्दैन? स्थानीय एवम् प्राकृतिक स्रोत–साधनको पहिचान, वित्तीय स्रोतको पहिचान, सामाजिक, सांस्कृतिक र मानवीय मूल्यमान्यतालाई स्थान दिएर अभ्यासगत रूपमा अघि बढ्ने प्रणाली विकसित नहुँदासम्म स्वार्थी प्रवृत्तिले जरा गाडिरहन्छ। आफ्नो पद र मर्यादाअनुसार राज्य र नागरिकबाट लिने मात्र होइन, आफूले के दिन सक्छु भन्ने चेतनाको स्तर नेतृत्व तह स्वयम्मा विकसित हुनुपर्नेछ।

प्रकाशित: २ वैशाख २०८० ००:४१ शनिबार