विचार

नेपालको आधार मेलमिलाप

जननायक बिपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त मूर्त र सशक्त रुपले अभ्यासमा उतार्न तीसको दसकपछि उब्जाएको सिर्जनात्मक अभियानको नयाँ अप्रोच वा दृष्टिकोणको नाम हो ‘राष्ट्रिय एकता र मेलमिलाप’। नेपालको भूराजनीति, दक्षिणपूर्व एसियाको तात्कालीन अवस्थाको  विषम राजनीतिक दसा, विविधताको नेपाली समाज, युरोपियन मुलुकहरुको नेपालप्रतिको बढ्दो चासो आदिलाई मध्यनजर गरेर नै उनले मेलमिलापको नीति रच्न पुगेका थिए। मूलतः त्यतिबेला नेपाली काङ्ग्रेसलाई एकातिर नेपालको कमजोर हुँदै गएको राष्ट्रियता जगेर्ना गर्न तात्कालीन निरङ्कुश शासनसत्ताविरुद्ध संघर्ष गर्नुपर्ने थियो भने त्यही तानाशाही तागतसित मिलेर राष्ट्रिय अस्तित्वलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि थियो। मतलब, राष्ट्रियताको  सुरक्षार्थ 'राष्ट्रिय मेलमिलाप' र प्रजातान्त्रिक वा लोकतान्त्रिक अधिकारको सम्प्राप्तिमा 'संघर्ष' अर्थात् 'मिलाप र संघर्ष'— दुईमुखे जटिल नीति तय गर्नुपर्ने कारण बिपीको राजनीतिक यात्रा खुकुरीको धारमाथिको अप्ठ्यारो दौडजस्तै थियो। १९९७ वि.सं.देखि ०३२ सम्मका काल खण्डमा बिपीको नायकत्वले थुप्रै सशस्त्र र निशस्त्र क्रान्ति र आन्दोलनलाई संवरण गरेको अनुभव र बदलिँदो विश्व राजनीतिकै सन्दर्भको उपज थियो– राष्ट्रिय मेलमिलाप।

मेलमिलापको आदर्शविपरीत दलहरु खिलापमा गइरहनु भनेको जनता र देशलाई निसाफ नदिएर विलापमा पुर्‍याई विशाद पिलाउनु हो।

राष्ट्रिय एकता र मेलमिलापको औचित्यलाई स्पष्ट पार्दै भारतमा निर्वासित आफ्ना साथीलाई सम्झाउँदै बिपीले भनेका थिए- हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ। यता केही वर्षदेखि यो संकट चर्किँदै  गएको कुरा सबैले महसुस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरुले पनि स्वीकार गरेका छन्। महाराजधिराज तथा अन्यले समेत बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन्। यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदै छौँ। मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र जनताको बीचमा एउटा ठूलो पर्खाल खडा गराइयो, त्यो पर्खाललाई तोडेर राजालाई जनताका समक्ष ल्याउने  प्रयास नै मेलमिलापको प्रयास वा यत्न हो। यसैले मेलमिलापको दुई वटा अडान रहेको छ — १. राष्ट्रियता, २. प्रजातन्त्र,  जसको  राजासितको सम्बन्धमा यसको अन्तरविरोधी सम्बन्ध छ। राष्ट्रवादी र प्रजातन्त्रवादीलाई  एक स्थानमा एकत्रित हुने आह्वान नै मेलमिलापको अन्तर्य हो। अझ अघि बढेर बिपीले भनेका थिए— आदर्श  निर्विकल्प हुन्छ, साधन निर्विकल्प हुँदैन। हामीले अहिले जुन नीति लिएका छौँ, त्यो परिस्थितिले निर्धारित गरेको संघर्षको एउटा रुप हो।' मूलतः बिपीले राष्ट्रियतालाई आदर्श, प्रजातन्त्रलाई सिद्धान्त र समाजवादलाई कार्यक्रमका रुपमा बु‰ने बुझाउने प्रयत्न गरेका थिए। उनी यो निर्क्यौलमा पुगे कि राष्ट्रियताको रक्षाका लागि प्रजातन्त्र गौण हुन्छ। राष्ट्रियताको प्रथम र अन्तिम तत्व जनता नै हुन् भनेर निर्क्यौल गरेका बिपीले राष्ट्रियताका तीन स्तम्भलाई यसरी उभ्याए— १. जनता, २. तिनका अगाडि उपस्थित भएका समस्या र समाधानको सामूहिक प्रयत्न, ३. अनि प्रयत्न गर्दा अनुभूति भएको एकताको भावना। बिपी धूर्त तानशाह र भ्रष्ट राजनीतिज्ञले आफ्नो स्वार्थसिद्धि गर्न र जनअधिकार कुल्चन राष्ट्रियतालाई  हतियार पनि बनाउन सक्छन् भनेर सचेत पनि गराएका थिए।

आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप

यतिखेर हामी एकचालीसौँ मेलमिलाप दिवस मनाउने क्रममा छौँ। दिवस, जयन्ती वा उत्सव मनाउनुका पछाडि विगतप्रतिको कर्मकाण्डीय आस्था नभएर ती अभियान र व्यक्तिŒवहरुले देशको बहुपक्षीय उन्नयनमा प्रदत्त देनलाई स्मरण गर्दै हाम्रो वर्तमान र आगामिताको सही गन्तव्य के हो भनेर जिज्ञासा तथा  कार्यान्वयनको दिग्दर्शन गर्नु नै  हो। नब्बे प्रतिशतभन्दा बढीको समर्थनमा निर्मित नेपालको हालको संविधान यतिखेर कार्यान्वयन हुन नसकेर कोमामा जीवन मरणको सास फेरिरहेको छ। संविधान संशोधनको मुद्दा जटिल बन्दैछ। हिजो एकजुट भएर लक्ष्य प्राप्तिका लागि सहयोद्धा बनेका राजनीतिक दलहरु आज विभक्तमात्र हैन एक अर्कालाई पाएसम्म सिध्याउने तल्लो स्तरको खेलमा सक्रिय देखिएका छन्। राष्ट्रिय मेलमिलाप आजको सन्दर्भमा सन्तुलित राजनीतिको आभा बन्न सक्नुपर्छ। वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, धार्मिक अधिकारको लागि संघर्ष र राष्ट्रिय हितका लागि मेलमिलाप हुनुपर्छ भन्ने पहिलो पक्ष हो। दोस्रो पक्ष चाहिँ, दुईतिरका छिमेकी देश र युरोपेली मुलुकसितको हाम्रो सम्बन्धलाई नयाँ शिराबाट सम्बोधन गर्नसक्ने रणनीति बनाउनु हो । स्वस्थ, सन्तुलित तथा शालिन रुपमा हाम्रो राजनय (कूटनीति) प्रकटीकृत गराउने क्षमताको विकास राष्ट्रिय एकतामार्फत् हुन जरुरी छ। यति बेला नेपालका ठूला भनिएका दलहरु चरम रुपले स्वार्थप्रेरित हुँदै दिशाविहीन राजनीतिक यात्रातिर हिँडिरहेका छन्। बिपीले आदर्शको प्रतीक राष्ट्रियता कमजोर पार्न देशी वा विदेशी गलत तागत सलबलाएर हामीलाई भ्रमित बनाउन सक्छन्, जसले हामीमा स्वार्थपरायणता, साम्प्रदायिक, व्यक्तिवादी मनोवृत्ति र विदेशीको मुख ताक्ने आजको भाषामा भन्नुपर्दा लम्पसारवादले गाँज्ने थिति आउन सक्छ। यसैले त्यस्तो अवस्थामा हामी व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतरासामु गौँण मान्दै देश वा राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने कुरा हेक्का गर्नुपर्छ। किनकि राष्ट्र बचाउने दायित्व सबैको साझा हो। वास्तवमा नेपालको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नेपाली राजनीतिको मौलिक र सार्वकालिक सिद्धान्त हो भन्दा फरक पर्दैन। हो, समय क्रममा पात्र र प्रणालीमा फेरबदल होला तर एकता र मेलमिलाप बिनाको राजनीतिले न त आन्तरिक एकताको सबलता पाउँछ, न त बाह्य देशको शुभेच्छा तथा सहयोग नै। आजको भूमण्डलीकरणको संसारमा राष्ट्रलाई सम्वृद्धिको दिशातिर लैजान अन्तर्राष्ट्रिय मञ्चहरुमा राष्टिय एकतामार्फत् अनुमोदित मुद्दा मुखर गराउन सक्नु कुनै पनि देशको राजनयिक खुबी (डिप्लोम्याटिक ट्यालेन्सी) हो। बिस्तारै आर्थिक परनिर्भरता हटाएर नेपालको जल, जमिन, जङ्गल र जनशक्तिको उपयोग गर्नु भरिलो राष्ट्रवाद हो। यस्तो अवस्था मेलमिलापकै धरातलमा टेकेर हुनसक्छ। राष्ट्र समृद्ध र सबल त्यो बेला हुन्छ, जब राष्ट्रमा क्रियाशील राजनीतिक शक्तिगृह एकीकृत राष्ट्रिय दृष्टिकोणबाट अनुबद्ध हुन पुग्छन्।

राष्ट्रिय मेलमिलापको गलत प्रयोग

साठीको दसकपछि त राष्ट्रिय एकता र मेलमिलापलाई नेपालका राजनीतिक अभिकर्ताहरुले गलत ढङ्गमा  प्रयोग गर्दैआइरहेका छन्। खास गरेर ठूला दलले पारस्परिक मिलोमतोमा आफ्ना गुट र झुण्डका सीमित सक्षम र असीमित अक्षमहरुलाई सरकारी, गैरसरकारी र कूटनीतिक निकायसम्म पदीय दायित्व सुम्पिएर तल्लो स्तरको भूमिका निभाइरहेका छन्। दलभित्र छलफल, विमर्श र आम पदाधिकारी र कार्यसमितिको निर्णयलाई भन्दा सुप्रिमो र त्यसैका आसेपासेको निर्णायक भूमिका प्रधान बन्न पुगेको देखिन्छ। त्यसैले गर्दा नेपालका दलहरु चरम गुटबन्दीको चक्रब्यूहमा बन्दी छन्। हेर्दाहेर्दै दल गुटको कब्जामा, गुट उपगुटहरुको फन्दामा र उपगुटहरु गिरोहको कब्जामा पुग्नाकै कारण आज देश भ्रष्टाचार, ढिलासुस्ती र अकर्मण्यताले खुट्टा घुमाएर नाचिरहेको छ। जसरी पनि सत्तासीन हुने महŒवाकाङ्क्षा बोकेका राजनीतिक अभिकर्ताहरुको नैतिक धरतल चरम रुपमा भासिँदै गएको छ। समय समयमा भएका अस्वाभाविक गठबन्धनका सरकार यसका ज्वलन्त उदाहरण हुन्। यतिखेर पनि प्रतिपक्षी दलहरु, आन्दोलनरत मधेसी दल घुमाउरो पाराले साझा सरकारको अभिधारणामा मुख मिठ्याइरहेका छन्। यसरी राष्ट्रिय मेलमिलापको उदात्त विचारमा अनुदात्त व्यभिचार झाङ्गिएको छ। तीन दलबीचका हालका बैठकहरु निष्कर्षविहीन बन्दै फेरि बस्दै चुनावी कार्यक्रमलाई अन्योलताको पिङमा राखिदिएका छन्। यसरी मेलमिलापको आदर्शविपरीत दलहरु खिलापमा गइरहनु भनेको जनता र देशलाई निसाफ नदिएर विलापमा पुर्‍याई विशाद पिलाउनु हो।

भाषा, धर्म, प्रदेश, जात, लिङ्ग, संस्कृति सबैलाई विवादको भुँमरीमा हालिदिएर जुँगामा ताउ लगाउँदै क्रान्तिको कुरा गर्नेहरुले बिपीको यो सूत्र सम्भि्कन जरुरी छ— सानो मुलुकमा आन्दोलन वा क्रान्ति गर्न जति सजिलो छ, त्यसको सफल अवतरण धेरै कठिन छ।' हुन पनि हो, विगतका सम्पन्न नेपालका आन्दोलन र क्रान्तिका विरामलाई हेर्ने हो भने बिपीको यो अनुभवी वाणीमा कति यथार्थ ध्वनित हुन्छ! यसैले सबै दल  बौद्धिक जमात, विज्ञ तप्का, दबाब समूह सबै शक्ति एक भएर बिपीले भनेझैँ नेपालको माटो हातमा लिई एकपटक गम्भीर हुन अबेला भैसकेको छ। राष्ट्रियतामा आएको सङ्कट चिर्न एकता नै अनिवार्य छ।  एकचालीसौँ मेलमिलापको नयाँ सूत्र यही हुन सक्छ-'स्वतन्त्र र सार्वभौम नेपालको आधार, राष्ट्रिय एकता र मेलमिलाप।'

प्रकाशित: १७ पुस २०७३ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App