सामाजिक मनोविज्ञानअनुसार कुशल नेतृत्व गर्ने राजकीय र राजनीतिक नेताहरू नै राजनेता बन्न सक्छन्। यस्तै मनोविज्ञानका आधारमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रमुख नेतृत्व कुशलतापूर्वक सम्हालेको देखिन्छ। पृथ्वीनारायणको लालनपालन राजा नरभूपाल शाहको प्रत्यक्ष निर्देशनमा जेठी आमा चन्द्रप्रभावतीबाट भएको हो। पाँच वर्षको उमेरमा अक्षरारम्भ गराइएका पृथ्वीनारायणले आठ–नौ वर्षको उमेरमा घोडचढी अभ्यास गरेका थिए। उनले ब्रतबन्ध गरेपछि वेद, सप्तशती, शुक्रनीति, कामन्दकीय नीति, रामायण, महाभारत, सामान्य व्यावहारिक गणित पढे। शस्त्रविद्यामा सानैदेखि रूचि रहेका उनले दरौँदी नदीमा पौडी खेल्ने अभ्यास पनि गरेका थिए। गोरखा दरवारमा बिहान बेलुका नियमित रूपमा सप्ताह पुराण र चौमासा पुराण पनि लगाइन्थे। यिनमा रामायण, महाभारत, श्रीमद्भागवत आदि अठार पुराण पनि पाठ गरिन्थे । व्याकरण, ज्योतिष, वेद, रुद्री, गीता, चाणक्यनीति, पञ्चतन्त्र, हितोपदेश र सप्तशती आदि पढ्ने काम राजाप्रजा र भाइभारदार सबैले गर्थे । नीतिशास्त्रमा उल्लेख गरिएका राजा वा शासकले नगरी नहुने ५ कर्तव्य वा ५ यज्ञलाई पृथ्वीनारायणले पालना गरेको उनको व्यवहारबाट थाहा पाइन्छ ।
पृथ्वीनारायणको मानसिक विकासमा सनातन÷हिन्दू धार्मिक, सांस्कृतिक औपचारिक वा अनौपचारिक शिक्षाको थप प्रभाव परेको देखिन्छ । कौटिल्यको अर्थशास्त्र,मनुस्मृति, याज्ञवल्क्य स्मृति, राजधर्मजस्ता कृतिको प्रभाव परेको पनि पाइन्छ । यसैको प्रभावका कारण उनमा आवश्यक धार्मिक, सांस्कृतिक, भाषिक लचिलोपन देखिन्छ । यही उदार, सहिष्णु सांस्कृतिक प्रभाव स्वरूप नेपालका सबै जातजाति, धर्म र सम्प्रदायका परम्परा रित, भाषा–भेषहरूलाई यथायोग्य स्थान, मानसम्मान पृथ्वीनारायणले व्यवहारमा नै देखाएका हुन् । यसरी नै व्याहारिक जीवनमा आइपरेका अपमान र उपेक्षाभावबाट इख्खिएर पनि उनको व्यक्तित्व विकासमा टेवा पुगेको देखिन्छ । यस्तै कुराको प्रभावमा उनले भारतको काशी पुगेर त्यहाँको राजनीतिक वस्तुस्थितिको अध्ययनका साथै शस्त्रसंग्रहसमेत गरेको देखिन्छ ।
दक्षितिरबाट तीर्थाटन गर्न आउने सनातनी विद्वान् सन्त, महन्त र अनुभवी व्यक्तिहरू गोरखा राज्यको नेतृत्वमा हिमाली सनातनी हिन्दू अधिराज्य संगठित तथा विस्तारित हुने आसा र भरोसा राख्थे । विद्वान्हरूका यस्ता उत्साहप्रद विचारबाट समेत पृथ्वीनारायण प्रोत्साहित हुन्थे । राजमाताले प्राचीन लिच्छवी, मल्ल र शाह राजाहरूका आफूले जानेसम्मका पुरुषार्थका र यशकीर्तिका कुरा नवराजालाई सुनाउँथिन् । पुर्खाका महŒवपूर्ण योगदानको प्रेरणा सुने, देखे र बुझेपछि बाह्रहजारको थिति बाँधी जाउँला भन्ने अभिलाषा रहेको कुरा उनले दिव्योपदेशमा अभिव्यक्त गरेका हुन् । माताकै प्रेरणाले पृथ्वीनारायण उपत्यकाको वास्तविक राजनीतिक गम्भीर ज्ञान लिन मितबाबाको राज्य भक्तपुर गएका थिए । उनकै प्रेरणा र प्रोत्साहनमा पृथ्वीनारायणमा महान् शक्तिशाली राष्ट्रनिर्माण गर्ने भावना जागृत भएको प्रसिद्ध इतिहासविद् प्रा. दिनेशराज पन्तलगायतले उल्लेख गरेका छन् । हरेस नखाने, धैर्यशील, लक्ष्यमा अडिग रहनेजस्ता क्षमताको विकासमा पनि राजमाता चन्द्रप्रभाले महŒवपूर्ण सरसल्लाह दिएको देखिन्छ । सफल, आदर्श र कूटनीतिक क्षमतायुक्त राजाका विशेषताका बारेमा पनि माताले अर्तीबुद्धि दिन्थिन् । माइतीघर पाल्पामा रहँदैदेखि तत्कालीन भारतीय राजनीतिक घनचक्कर सुनेबुझेकी राजमाताको कूटनीतिक, दूरदर्शी चेतको व्यक्तित्व रहेको बुझिन्छ । राजमाताको एकता नै बल हो भन्ने विचारबाट पृथ्वीनारायण प्रभावित थिए । अन्तर्देशीय परिस्थितिका बारेमा जानकार भएपछि छोराको नेतृत्वमा दक्षिण छिमेकीको आक्रमण र अतिक्रमणबाट यो हिमाली भूखण्डलाई बचाउन सकिएला भन्ने कुरामा राजमाता आशावादी थिइन् र उनका पनि प्रभावले पनि पृथ्वीनारायणले नेपालको एकीकरण गर्ने आवश्यक सैद्धान्तिक जुक्तिबुद्धि पाएको इतिहासविद्हरूको भनाइ छ । माताको मूल आशय पुर्खाहरूको अधुरो इच्छा साकार पार्न पृथ्वीनारायणलाई सबैभन्दा पहिले त भावनात्मक रूपमा तयार पार्नुमा रहेको देखिन्छ । उनको राजकीय व्यक्तित्व निर्माणमा पाल्पाली मामा उद्योत सिंहको महŒवपूर्ण भूमिका रहेको पाइन्छ । मामामार्फत् पृथ्वीनारायणले युद्धमा कसको सहयोग लिनुपर्छ ? युद्ध गर्दा कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्ने कुरा सिकेका थिए । राजमाताले गोरखालीलाई आत्मसम्मान भर्ने, मुलकका निम्ति ज्यान दिने, अनावश्यक कुरामा अरूसँग नझुक्ने, मित्रप्रति उदारभाव राख्ने, विद्वान् गुणी, साधु, सज्जनहरूको मान, इज्जत गर्ने, मातापिताको मान्यजनको सेवा गर्ने आदि शिक्षा र संस्कार छोरालाई युवाअवस्थामा नै दिएकी थिइन् ।
बाइसेचौबीसे राज्य रजौटाका बीचमा बारबार झैझगडा हुँदा जनताको दैनिक जीवन अत्यन्त कष्टपूर्ण भइरहेको थियो । यो आमहिमाली भूखण्डका जनसमुदायले भोगेको साझा समस्या थियो र यही साझा मनोविज्ञान बन्यो । अनेक टुक्रामा विभाजित राज्यमा केही सीमित शासक र तिनका वरपरका व्यक्तिहरू खुसहालमा रहे पनि आमजनता अत्यन्त कष्ट र कहरका स्थितिमा थिए । त्यसबेला एकअर्का राज्यमा आउजाउ, भेटघाट, बरव्यवहार, बन्दव्यापारजस्ता विषयमा साह्रै संकट भोगिरहेको स्थिति देखिन्छ । एकअर्का राज्यका जनता, व्यापारी कुटिने, पिटिने, लुटिने र मारिन पनि सक्थे । यस्तो लडाईं–झगडा राजा रजौटा दाजुभाइका बीचमा जीवन समाप्त पार्ने तहसम्मको हुन्थ्यो । चेपे नदीमा गरिएको शान्ति र सहमतिको सम्झौता उल्लंघनले त्यसबेलाको भयावह स्थितिलाई स्पष्ट पार्छ । यस्तो विकराल स्थितिबाट आमजनता परस्परमा शान्ति, समुन्नति, एकता तथा एकीकृत राज्यको पक्षमा थिए । जनताको यो साझा मनोविज्ञानले पनि पृथ्वीनारायणलाई नेपाल एकीकरण गर्न टेवा प्रदान गरेको देखिन्छ । यसरी साझा मनोविज्ञानले साझा काम सम्पन्न गर्ने बल प्रदान ग¥यो ।
गोर्खा राज्यका आफ्ना पुर्खाले वरपरका राज्य–रजौटालाई एकीकृत गर्ने अधूरो कार्य पूरा गर्नुपर्ने कर्तव्य र दयित्व पृथ्वीनारायणलाई राजमाता चन्द्रप्रभावतीमार्फत् अवगत भएको विषय हो । आर्थिक–भौतिक दृष्टिले अन्य राज्य रजौटाका तुलनामा गोर्खा राज्य कमजोर रहेको देखिन्छ । यही कारण विवाहका समयमा जेठान दिग्बन्ध सेनले गरेको हेपाहा व्यवहारबाट पृथ्वीनारायण इख्खिएको देखिन्छ । आफूप्रतिको यस्तो हेपाहा प्रवृत्ति काठमाडौँमा बस्दा त्यहाँका राज्य र रजौटाबाट पनि उनले सहनुपरेको देखिन्छ । यिनै परिस्थतिका कारण उनमा उच्च नेतृत्वको आकांक्षा उत्पन्न भएको हो । विसं १७९१ मा मकवानपुरबाट फर्किंदा चन्द्रगिरि डाँडाबाट उपत्यकालाई हेरेर त्यहाँको पनि राजा हुन पाए हुन्थ्यो भन्ने भावना जागृत भएको देखिन्छ । सुरुमा विशाल राज्यको राजा हुने इच्छा भए पनि पछि इस्टइन्डिया कम्पनी सरकार भारतको अतिक्रमणबाट जोगाउन विशाल नेपालको निर्माण गर्न चाहेको देखिन्छ । राजमाताको शिक्षा र संस्कार तथा आफैले भोगेका उचनिच व्यवहारका कारण पृथ्वीनारायणमा विशालताको भावना क्रमशः घनीभूत भएको देखिन्छ । यो एकीकृत हिमाली राज्यलाई भाइअंश गर्ने कुराको पनि पृथ्वीनारायण कट्टर विरोधी थिए । उनी व्यक्तिगत, पारिवारिक तथा वंशस्वार्थमा कहिल्यै सीमित भएनन् ।
एकीकरणका समयमा सयभन्दा बढी स्थानमा लडाइँ भएको पाइन्छ, तर अन्त कतै नभएको निर्मम सामूहिक अंगभंग कीर्तिपुर एकीकरणमा भएको अतिवादी व्याख्या गरिएको इतिहासविद्को भनाइ रहेको छ। विशेषगरेर अंग्रेज लेखक पादरी जोसेप्पीले लन्डनबाट प्रकाशित कृतिमा कीर्तिपुरमा एकीकरणका क्रममा बाँसुरी बजाउनेबाहेक सबै जनताको नाक काटेको उल्लेख गरिदिएका थिए । उनले त कीर्तिपुरलाई पृथ्वीनारायणले नकटापुर बनाइदिएको समेत भनेका छन् । कप्तान कर्कपेट्रिकले लडाइँमा समातिएका पुरुषजति सबैको नाक काटिदिएको उल्लेख गरेका छन् । कुनै एक व्यक्तिले अंग्रेज रेजिमेन्ट हड्सनलाई लेखेको पत्रमा कीर्तिपुरका पराधीन जनताको बाह्र धार्नीभन्दा बढी नाक काटेको रिपोर्ट दिएको देखिन्छ।
शत्रु भए पनि वीरको कदर गर्ने स्वभावका पृथ्वीनारायणले चौकोटका वीर महेन्द्र रायका परिवारलाई भत्ता दिएको थिए । तर, एकीकरण महाअभियानका कट्टर विरोधीलाई उनले निर्ममतापूर्वक दमन गरेको पाइन्छ। ललिताबल्लभको लेखअनुसार कीर्तिपुरे लडाकुले आत्मसमर्पण गरेपछि पनि गोर्खाली सेनालाई झुक्याएर मारेको हुँदा ती कातरलाई मार्नु उचित नठानी तिनका प्रमुखहरूलाई निरुत्साहित पार्न पोइल जाने नारीका नाकका टुप्पाका नथुनी काटेर कुरुप गराए जस्तै १०–१२ जनाको मात्र नाकमा चोट वा घात दिएको इतिहासविद् ज्ञानमणि नेपाल बताउँछन् । नेपाली इतिहास, संस्कृतिका विषयमा द्वन्द्ववादी सिकाइमा सुरुदेखि नै केही गम्भीर समस्या रहेकाले यस क्षेत्रमा अतिवाद र उग्रवाद हाबी रहेकै छ । पृथ्वीनारायणको महान् भूमिका र एकीकरण महाअभियानको चुरो नबुझी केही शाह राजाका गलत कृत्यलाई आधार मानेर समग्र गौरवशाली इतिहासलाई उपेक्षा गर्नेसम्मका नीति, नियत र काम नभएका होइनन् । तर, पुष्पलालले यो अभियान र अभियन्तालाई सकारात्मक कोणबाट मूल्यांकन गरेका छन् । साहित्यकार हृदयचन्द्र सिंह प्रधानले पृथ्वीनारायणलाई महान् सपूत भनेका छन्।
पृथ्वीनारायणको योगदान र भूमिकालाई कुनै एक वंश, अंश र समुदाय तथा संस्कृतिविशेष व्यक्ति र तन्त्रसित मात्र जोड्ने गल्ती गर्नु हुँदैन । तमाम नेपालीको साझा मनोभावनालाई साकार पर्ने एकीकरणजस्तो महानतम कार्यका लागि गरिएको त्याग, समर्पण र बलिदानभित्र पृथ्वीनारायणको महानता मियोझैँ अचल र अविरल रहेकै छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्झँदै ‘एकीकरण दिवस’का रूपमा मनाउँदा मुलुक रूपान्तरणको महाअभियानमा सबैखाले योगदान गर्ने र जीवन उत्सर्ग गर्ने वीर–विरांगनाको सामूहिक भूमिका, योगदान र बलिदान उजागर हुन्छ।
प्रकाशित: १३ पुस २०७३ ०२:५९ बुधबार