मिलन पाण्डे र पुकार बम
'यी सबै ६ महिने र ९ महिने हुन्। यिनीहरुलाई जनताको मतलव छैन। तर हामीले आफ्नो कर्तव्य छाड्नुहुन्न। म मैले देखेको बेथिति रोक्न कुनै सम्झौता गर्न सक्दिन। आफैँसँग पनि सक्दिन।' १० औँ अनशनको पहिलो दिन डाक्टर गोविन्द केसी आफ्नो निर्णयबाट पछि नहट्ने भन्दै अनशनमा बसेका थिए। नभन्दै, आफ्नै घनिष्ठ मित्रकै विरुद्ध सत्याग्रहमा उत्रिए।
पहिलो अनशनदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारविरुद्धको सत्याग्रह १० औँ अनशनसम्म आइपुगेको छ। पटकपटक सम्झौता भएको छ र प्रत्येक पटक धोका भएको छ। यो धोका डाक्टर गोविन्द केसीलाई मात्रै भएको होइन। यो धोका लोकतन्त्रलाई नै हो। सरकारले आफूले गरेको सम्झौता पालना गर्दैन भने उसले लोकतन्त्र मान्छ भन्ने आधार के छ?
अहिले नेताहरुको रबैया हेर्ने हो भने बरु बूढो मरे मरोस्, मरे हामीलाई काम गर्न सजिलो हुन्छ भन्ने पाराको देखिएको छ। संयोग हो वा नियत, यही बेलामा संशोधन प्रस्ताव दर्ता गरेर एक पन्चे धेरै काज गर्न खोजेको जस्तै देखिएको छ।
लोकतन्त्रलाई लोकको मजाक बनाउनेले लोकतन्त्रको वकालत गर्न सक्दैनन्। पार्टीहरु अनि सरकार आफँै पनि अन्तै कतैबाट सञ्चालित भएको उनीहरुकै व्यवहारले देखाउँछ। डाक्टर केसीको सत्याग्रहमा २० औँ दिनसम्म साँधिएको मौनताले यो सरकार अनि सरोकारवालाको नियत स्पष्ट पारिसकेको छ। डाक्टर गोविन्द केसीको विरोधमा अनि लोकमानको समर्थन बोल्ने नेताहरुले लोकतन्त्रको धजिया उडाउँदैछन्। अनि, धेरै नेताको मौनताले पनि लुटतन्त्रको वकालत गर्दैछ। लोकमानको विषयमा साधिएको मौनताले, लम्ब्याइएको बाटोले पनि यो रहस्यको पुष्टि भइसकेको छ। त्यसैले, यो लडाइँ डाक्टर केसीको मात्रै नभएर लोकतन्त्रप्रेमी नेपालीकै हो। यो लडाइँ मेडिकल शिक्षाका माफियाविरुद्ध मात्रै होइन, यो त अब लोकतन्त्रकै लडाइँका रूपमा अगाडि आइसकेको छ।
१० औँ अनशनसम्म आइपुग्दा, डाक्टर गोविन्द केसीले एउटै सिद्धान्तमा संघर्ष गरिरहनुपरेको छ। पहिलो अनशनदेखि नै वरिष्ठताका आधारमा डिन नियुक्तिमा पटकपटक सम्झौता भएकै हो। पाँचौँ अनशनदेखि अख्तियारको प्रमुख आयुक्तमाथि छानबिन कारबाही माग आएकै हो। १० औँ अनशनका माग फेरि यिनै हुनुको मतलव, यो सिस्टम अनि नेतृत्वमा ठूलो समस्या छ भन्ने नै हो। लोकतन्त्रमा एउटा सरकार एउटै कुरामा पटकपटक सम्झौता गर्छ अनि प्रत्येक पटक त्यो सम्झौतालाई लत्याएर फेरि उल्लंघन गर्छ। योभन्दा लोकतान्त्रिक देशका नागरिकको बेइज्जत अरु के हुन सक्छ र? त्यसैले, यो डाक्टर केसीलाई होइन, आमनेपालीलाई दिइएको धोका हो। आज पहिलो अनशनदेखि ९ पल्ट सम्झौता भएको विषयमा फेरि अनशन बस्नु हाम्रो लोकतन्त्रको सबैभन्दा ठूलो मजाक हो। आज एकजनाले भ्रष्टाचारविरुद्ध बारम्बार यसरी आफ्नो ज्यान फाल्नुपर्ने अवस्था आउनु हाम्रो यो युवा पुस्ताका निम्ति सबैभन्दा ठूलो विडम्बना हो।
हाम्रा नेताहरु झुटको खेती गर्दैछन्, भर्ना भएर ४ अर्बको चलखेल भएपछि मात्रै ३५ लाख लागु गरेर पन्छिन खोज्दैछन्। यदि त्यो लागु गर्नु नै थियो भने खाएर डकारेपछि किन लागु गरियो? यदि केसीको माग गलत छ भने ती मागमा किन पटकपटक सम्झौता गरियो? किन सार्वजनिक भाषणहरुमा केसीको माग गलत भनेर भन्न नसकेको? अहिलेका माग कुनै नयाँ छैनन्, सबै पुरानै माग हुन्। पहिलेकै माग सम्बोधन गराउनका निम्ति नै यो अनशन बसिएको हो। कतै, पहिलाका माफिया, दलाल डाक्टर केसीसँग बदला लिनका निम्ति यो सब झालझेल गरेर डाक्टर केसीलाई मार्ने दाउमा त छैनन्, प्रश्न उब्जेको छ। हालसम्म त्यस्तै देखिएको छ।
यसपालिको वार्ता टोली पनि प्रपञ्चकै शिकार देखिएको छ। १४ दिनमा, बनाउनका निम्ति बनाएको जस्तो टोली छ। अहिले नेताहरुको रबैया हेर्ने हो भने बरु बूढो मरे मरोस्, मरे हामीलाई काम गर्न सजिलो हुन्छ भन्ने पाराको देखिएको छ। संयोग हो वा नियत, यही बेलामा संशोधन प्रस्ताव दर्ता गरेर एक पन्चे धेरै काज गर्न खोजेको जस्तै देखिएको छ।
समयसापेक्षरूपमा समाजका तत्वहरु समयअनुसार चल्न नसकेपछि आन्दोलन हुन्छ। चरणचरणमा हुने आन्दोलनले प्रायः अघिल्लो चरणको आन्दोलनको उपलब्धि अनि आन्दोलनकारीलाई चुनौती दिने गर्छ। अहिले जारी रहेको डाक्टर केसीको भ्रष्टाचारविरुद्धको आन्दोलन पनि त्यही सिलसिलाको कडी हो। हालको लडाइँ पनि त्यही लोकतन्त्र ल्याउन संघर्षशील शक्तिहरुसँगै हँुदैछ। लोकतन्त्र ल्याउने शक्तिहरुले नै लोकतन्त्रको मर्मअनुरूप काम गर्न नसकेपछि अहिले नेपाली समाज यही प्रकरणबाट फेरि लोकतन्त्रको भ› लडाइँमा छ। अहिलेसम्म लोकतन्त्र सैद्धन्तिक वा सवैधानिकरूपमा मात्र प्राप्त भएको छ। यो लडाइँ व्यावहारिक लोकतन्त्रका निम्ति हो। यो लडाइँ किन पनि महत्वपूर्ण छ भने यसले भौतिक वा संवैधानिकरूपमा केही नयाँ ठोस उपलब्धि दिने छैन। तर यो हाम्रा नेताहरुमा रहेको अलोकतान्त्रिक चरित्रविरुद्ध लडाइँ हो। यो हाम्रो नेतृत्वभित्र दबेको राजतन्त्र, उनीहरुको व्यवहारमा रहेको तानाशाह अनि उनीहरुको मनपरीतन्त्रविरुद्धको लडाइँ हो। त्यसैले, यो लोकतन्त्र प्राप्तिका निम्ति नेपाली समाजको आफ्नै नेतृत्वविरुद्ध 'साइकोलोजिकल वार' हो।
अहिलेको नेतृत्वको विगत २७ वर्षे इतिहास अनि हालको व्यवहारले पनि हाम्रो लोकतन्त्र हाम्रै नेतृत्वबाट अपहरित भएको अनुभूति हुन्छ। २०५१ सालको आफ्नो स्वार्थका निम्ति आफ्नै पार्टी र नेताबीचको अन्तर्घातका घटनाहरु हाम्रो मनमस्तिष्कमा ताजै छन्। २०५५ र ५६ सालमा जसरी आफ्नो स्वार्थविरुद्ध रातारात चलखेल भयो, सांसदहरु किनबेच भए, ती घटना हामीले अझै भुल्न सकेका छैनौँ। ६२ र ६३ पछि केही सुधार होला भन्ने आशा थियो तर त्यसपछि पनि खासै नयाँ केही परिवर्तन हुन सकेको छैन।
धेरै टाढा पनि पुग्नुपर्दैन। लोकमानसिंह कार्कीकै नियुक्ति प्रकरण ताजा छ नि। राति ११ बजेसम्म नियुक्ति नहुने कुरा थियो तर बिहान ६ ब‰दा शपथ ग्रहणको तयारी सकिसकेको थियो। यही रातारात हुने चलखेलले पनि हामी निर्धक्क हुने अवस्था छैन। हालको व्यवहारले यी माफियाले डाक्टर केसीलाई मारेर लोकमानलाई बचाउने अनि माफियाहरुलाई पोस्ने नियतसहित काम गरिरहेको गन्ध दिएको छ। अनि, व्यवहारले यो शंका पुष्टि हुँदै पनि छ।
डाक्टर केसीको यो लडाइँले सामाजिक अनि राजनीतिकरूपमा ठूलो महत्व राख्छ। अहिले डाक्टर केसीको मुद्दामा सहमति हुन्छ भने डाक्टर केसीको ज्यान बच्छ भने अनि पेस गरिएको प्रस्ताव पारित भए लोकतन्त्रले संजीवनी पाउनेछ। तर, यदि एकार्काको मुख देखाएर डाक्टर केसीलाई मारिन्छ भने महाअभियोग प्रस्ताव पारित हुन्न, भित्र/बाहिरका शक्तिहरुबाट चलखेल हुन्छ भने यो लोकतन्त्रमाथि ठाडो प्रहार हुनेछ अनि लुटतन्त्र लोकतन्त्रमाथि हावी हुनेछ। लोकतन्त्र फेरि लामो समयका लागि कोमामा पुग्नेछ।
राजनीति अनि विकासका लागि समाजको मानसिकता अनि आत्मबल निकै महत्वपूर्ण हुन्छ। नेतृत्वले त्यसलाई सहीरूपमा सञ्चालन अनि नेतृत्व गर्न सकेन भने दुईवटा कुरा हुन्छन्। पहिलो, समाज अनि आमनागरिक चरम निराशामा पुग्छ अनि राज्य र राजनीतिलाई आफूबाट टाढा राख्छ। वा दोस्रो, फेरि अर्को क्रान्ति गर्छ र विद्यमान नेतृत्व अनि अवस्थालाई फाल्छ।
हालको अवस्था पनि त्यही मोडमा आएको छ। यदि केसी हारे भने फेरि पनि चलखेल भयो भने नेपाली समाज डिप्रेसनमा पुग्नेछ अनि लोकतन्त्र कोमामा पुग्नेछ या यी दल, नेतृत्व अनि यी पार्टीविरुद्ध नै उर्लनेछन् अनि हालको नेतृत्वको अस्तित्व समाप्त हुनेछ। तसर्थ, यो लडाइँले नेपाली समाजमा ठूलो दूरगामी महत्व राख्छ। यो कुनै व्यक्तिविशेषविरुद्धको लडाइँ हुँदै हैन। यो लुटतन्त्र अनि भ्रष्टाचारविरुद्धको लडाइँ हो। जितको मतलव लोकतन्त्र। हारको मतलव लुटतन्त्र।
यो अनशन बस्नुअघि हामीले 'यो बेला अलि ठीक भएन, अरुले साथ दिन्नन् होला' भन्दा डाक्टर गोविन्द केसीले हामीलाई भन्नुभएको सम्झन्छौँ– 'हेर्नूस्, म मलाई कसले समर्थन गर्छ, कसले समर्थन गर्दैन, माहोल ठीक छ कि छैन भनेर अनशनमा बस्ने मान्छे होइन। म मेरो मूल्य/मान्यताका लागि, नैतिकताका लागि अनशन बस्ने गर्छु।
मैले यस्तो शंकी, मूल्य/मान्यतामा अडिग, निष्ठावान व्यक्ति आजसम्म देखेको छैन। उनी जस्तो व्यक्ति छन् र त यो निराशाले ढाकेको समाजमा आशाको दीप देखिएको छ। उनकै बाटोमा हिँड्ने उनका पागल समर्थकहरु छन् र त लोकतन्त्रमाथि विश्वास कायम छ।
त्यसैले, पदमा आसीन सर्वहारा जनताका प्रधानमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू, स्वास्थ्यमन्त्रीज्यू सक्नुहुन्छ भने तीर्थ खनियालगायतलाई राजीनामा गर्न लगाउनुहोस्। गर्न मान्दैनन् भने बर्खास्त गर्नुहोस्। त्यो पनि गर्न सक्नुहुन्न भने आफैँ राजीनामा दिनुहोस्। तर डाक्टर गोविन्द केसीलाई मारेर बाँच्न खोज्नेहरु बाँच्नुको कुनै अर्थ छैन।
कथंकदाचित डा. केसी हारे भने ३ करोड नेपाली हार्नेछन्।अहिंसा हार्नेछ। लोकतन्त्रप्रतिको आस्था हार्नेछ। अनि, सबैभन्दा दुःखको कुरो यो हारमा यी भ्रष्टाचारीहरुको जित हुनेछ। त्यसैले, डाक्टर केसी हार्नुहुन्न, लोकतन्त्र हार्नुहुन्न अनि यी माफिया जित्नुहुन्न।
पाण्डे विवेकशील नेपाली दलका केन्द्रीय व्यवस्थापिका उपप्रमुख, बम केन्द्रीय कार्यपालिका प्रमुख
प्रकाशित: ११ पुस २०७३ ०५:२२ सोमबार