विचार

गिरिजाबाबुको स्नेह

रूपन्देही जिल्लाको बुटवल नजिकै ज्योति नगरमा २०५५ सालमा ठूलो पहिरो गयो। केही विस्थापितै भए। वुटवल क्याम्पसमा पनि क्षति पुग्यो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भयो। त्यति बेला म रूपन्देहीको प्रमुख जिल्ला अधिकारी थिएँ। त्यसैले भ्रमणको चाँजोपाँजो सबै गर्नुपर्ने भयो। बुटवलको मूल सडकबाट करिब १० मिनेट हिडेपछि पुगिने क्षतिग्रस्त स्थलमा रहेको ठूलो ढुंगामा प्रधानमन्त्रीलाई आसन ग्रहण गराई पीडितका पीरमर्का सुन्ने व्यवस्था मिलाइएको थियो।

कार्यक्रम सकिएपछि पीडितलाई सहायता रकम उपलब्ध गराउन उहाँले निर्देशन दिनुभयो। त्यसपछि दिवा भोजनका लागि कांग्रेस नेता सूर्यप्रसाद प्रधानको घर जाने कार्यक्रम थियो। उहाँलाई व्यर्थमा पहिरो गएको उबडखाबड ठाउँमा हिँडाएजस्तो लागेछ कि मसँग रिसाउनु भयो। फर्कने बेलामा पनि मसँग बोल्नै रुचाउनु भएन। सधैँ आड, भरोसा दिने, उत्साहित गराइराख्ने अभिभावकतुल्य गिरिजाबाबु त्यसरी रिसाउँदा म निराश भएँ। भोलिपल्टका अखबारमा गिरिजाबाबुले पीडितहरूप्रति देखाउनु भएको सद्भावको प्रशंसासहितको समाचार आयो। समाचार पढेपछि भने मलाई वृद्ध प्रधानमन्त्रीलाई दुःख भए पनि ठीकै गरेछुजस्तो लागेको थियो। तैपनि मन खल्लो भइरह्यो। दिउँसो प्रधानमन्त्री आफैँले टेलिफोन गरेर धन्यवाद दिँदै ‘मैले तपाईँको चित्त दुखाएँ। अन्यथा नलिनु होला है।' भन्नुभयो। त्यति बेला म असाध्यै खुसी भएँ।


होलेरी काण्डताका म दाङमा प्रमुख जिल्ला अधिकारी थिएँ। सुरक्षाका लागि राति सेनाको ब्यारेकमै बस्ने गृह मन्त्रालयको निर्देशन थियो। ब्यारेकमा सुर्खेतबाट आएका दुई जना कर्णेलले होलेरीका विषयमा निर्देशन लिने र दिने नियन्त्रण कक्षमै म पनि बस्थेँ। बिहान बिहान प्रधानमन्त्री गिरिजाबाबु प्रायः सोध्नुहुन्थ्यो - होलेरीमा के भइरहेको छ? मैले थाहा पाएसम्मको यथार्थ जाहेर गर्थँे। उहाँलाई मेरो जाहेरीमा विश्वास भएनछ क्यारे ...तपार्इँलाई त केही थाहै रहेेनछ' भन्नुभयो। कारण अरूको र मेरो जाहेरी फरक परेछ। तत्कालीन गृह सचिवले गृह मन्त्रालयको विज्ञप्तिमार्फत् दिएको जानकारी भ्रमपूर्ण थियो।। मैले भने सेनाका अधिकृतहरूको कुरा प्रत्यक्ष सुनेर थाहा पाएको सूचना जाहेर गरेको थिएँ। त्यसैले उहाँलाई भने - हैन मैले जाहेर गरेकै विवरण सत्य हो। तर उहाँलाई पत्यार लागेनछ कि त्यसपछि सम्पर्कै गर्नुभएन। त्यस्तैमा एक दिन उहाँका स्वकीय सचिव गोकर्ण पौडेलले ‘सम्माननीय ज्यू कुरा गर्ने' भन्दै टेलिफोन सम्पर्क गराउनु भयो। प्रधानमन्त्रीले मसँग होलेरीको यथार्थ विवरण माग गर्नु भयो। मैले बताएँ। अनि उहाँले एकाएक राजीनामा गर्ने कुरा पो गर्नुभयो। म स्तब्ध भएँ। ‘हजुरको राजीनामाको कारण जनताले थाहा पाउनुपर्छ।' मात्र भन्न सकेँ। सोही दिन उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भयो।

संविधानसभाको निर्वाचनका क्रममा नेपाली कांग्रेसको स्थिति राम्रो देखिएको थिएन। मलाई दैलेखको अनुगमन गर्ने जिम्मेवारी दिइएको थियो। आफूले थाहा पाएको जानकारी उहाँलाई जाहेर गर्नु कर्तव्य ठाने। त्यति बेला कांग्रेस र विशेषगरी नेताहरू सुशील कोइराला, सुजाता कोइरालाको चुनावी स्थिति राम्रो नभएको सूचना दिएको थिएँ। गुप्तचर, प्रहरी, गृह प्रशासन, सेना एवं कांग्रेसकै अधिकांश कार्यकर्ताबाट दिइएको जानकारी र मेरो जाहेरी मिलेनछ क्यारे उहाँले हल्कारूपमा लिँदै भन्नुभयो ‘ कांग्रेसले बहुमत ल्याउँछ यो निर्वाचनमा।' निर्वाचन परिणाम आएपछिको भेटमा गिरिजाबाबुले देख्नेबित्तिकै भन्नुभयो - सही सूचना तपाईंसंग हुने रहेछ। तर फेरी पनि म भन्छु कांग्रेसको जित भएको छ, प्रजातन्त्रले जितेको छ, मुलुकमा स्थायी शान्ति कायम गर्ने दिशामा हामी अघि बढेका छौं, प्रजातन्त्रको संरक्षण गर्न सकियो भने चुनाव त फेरि पनि हुन्छ।

उहाँको मृत्यु हुनुभन्दा करिब १ महिना पहिले भेट्ने अवसर पाएको थिएँ। स्वास्थ्यको बारेमा जिज्ञासा राख्दा ‘स्वास्थ्य राम्रो हैन काम चलाउसम्म छ भन्ने जबाफ पाएँ। यो अलि अनौठो लाग्यो। उहाँ निराश हुनुभएको पहिले कहिल्यै थाहा पाएको थिइन। उहाँको इच्छा शक्ति अत्यन्त बलियो थियो। हामीलाई सधैँ उत्साहित गर्नुहुन्थ्यो। मेरो मनमा अनीष्ठको आशंका बढ्दै गयो। उहाँ मण्डिखटार सरेपछि एक पटक दर्शन गर्ने इच्छा छ भनेर स्वकीय सचिव शेखर थापासँग समय मिलाइदिन भनेको थिएँ। समय मिल्नै सकेन।
उहाँको निधनकोे समाचार दोहाको अन्तरराष्ट्रिय विमानस्थलमा पाएँ। अलिकति ढिलो भए पनि शवयात्रामा सामेल हुन भ्याएँ। नत्र आफैँलाई कहिल्यै माफ गर्नसक्ने थिइन जस्तो लाग्यो। शवयात्राको व्यवस्थामा केही नपुगेजस्तो लाग्यो। अन्तिम दर्शन गर्न चाहनेहरूलेे उहाँको मुहार पूरै दख्ने व्यवस्था मिलाएको भए राम्रो हुन्थ्यो। यसका लागि खुला ट्रकमा बीपीको शवयात्रामा जस्तै राखिनुपर्थ्याे। यस्तै मुलुककै यति ठूला नेतालाई सबै राजनीतिक दलका झन्डा ओडाएर सम्मान गरिएको भए उत्तम हुन्थ्योजस्तो लाग्छ।
उहाँले थाल्नु भएको शान्ति प्रक्रिया र संविधान लेखन पूरा भएको छैन। उहाँका अभियान पूरा गर्नु नै यथार्थमा उहाँप्रति श्रद्धाञ्जली हुनेछ। यसमा अगुवाइ गर्ने दायित्व नेपाली कांग्रेसकै नेताहरूको हो। आफ्ना महान् नेताप्रति त्यही सच्चा श्रद्धाञ्जली हुनेछ।

लेखक स्थानीय विकास मन्त्रालयका सचिव हुन्।

 

प्रकाशित: १७ चैत्र २०६६ २२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App