विचार

लक्ष्मी परियारको नियति!

लक्ष्मी परियारको गल्ती सायद गरिब र दलित हुनु मात्र थियो। त्यसैले विवेकका अन्धा मास्टरले सभ्यता नै लजाउने गरी सारा गाउँलेको अगाडि उनलाई लछारपछार गर्‍यो। ज्ञानको मन्दिर मानिने विद्यालयको प्रांगणमा टनटनती पाता कस्यो। जथाभावी कुटपिट गर्‍यो। उसकी अन्धविश्वासी आमाले प्लास्टिकको झोलामा दिसा ल्याइन्। जबर्जजस्ती उनको मुखमा कोचिदिइन् र अनुहारभरि लतपत पारिदिइन्। यतिले पुगेन। घर पुग्नै लाग्दा उनको टाउकोमा बेस्सरी चिर्पट बजारियो। रक्ताम्मे भएर उनी भुईँमा ढलिन्। अनि क्रूरतापूर्वक उनको छातीमा बेस्सरी लात हानियो। यस्तो अत्याचार गर्न तिनले उनीमाथि बोक्सीको आरोप लगाएका थिए। गाउँलेहरू पनि रमिता मानेर चुपचाप हेरिरहे। अझ एउटी महिलाले आफूजस्तै अर्की महिलाको दुःखमा समानुभूति गरी प्रतिवाद र प्रतिकार गर्नुपर्नेमा उल्टै तिनलाई बाँध्न नाम्लो दिएर पीडकलाई सहयोग गरिन्।

अब यो वा त्यो निहुँमा लामालाई उन्मुक्ति दिए वा लगभग उनकै मतियार प्रहरी इन्चार्जलाई कारबाही नगरिए कथित बोक्सी प्रथाले फेरि सामाजिक स्वीकृति पाउँछ। अनि हाम्रो समाज फेरि मध्ययुगमा फर्कन बाध्य हुन्छ।

मध्ययुगीन धार्मिक समाजको झल्को दिने यस्तो घटना हाम्रै समय र समाजमा भएको सुन्दा सारा न्यायप्रेमीको शिर झुकेको छ। कुनै पशुमाथि अत्याचार हुँदा त विवेकी मान्छे प्रतिवाद गर्न तम्सन्छ भने काभ्रे सानो वाङ्थलीका बासिन्दाले यस्तो जघन्य घटनालाई कसरी चुपचाप हेरिरहे? हो, तिनीहरू रमिते भइरहे। अनि प्रहरी? पीडितले उजुरी गर्दा प्रहरी प्रहरीचौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले यस्तो केस हेर्ने मेरो काम होइन भने। के उनी सरकारका प्रतिनिधि थिएनन्? पीडितको संरक्षक र न्यायदाता सरकार नभए अरु को हुन्छ? सरकारवादी हुनुपर्ने मुद्दा दर्ता नगरेर उल्टै तिनले गाउँलेहरूलाई साक्षी राखी पीडितलाई जबर्जस्ती मिलापत्रमा सहीछाप गर्न किन लगाए? अत्यधिक यातना र मानसिक आघातले घटनाको तीन दिनपछि जब लक्ष्मीको प्राणपखेरु उडेर गयो, बल्ल साराका सारा जिब्रो टोक्न बाध्य भए।

अन्धविश्वासको सत्ता

धर्मसत्ता बलियो भएको समाजमा अधिकांश व्यक्ति विश्वासका अन्धा हुन्छन्। तिनका नजरमा जन्म र जरा उँचो र निचाका आधार बन्छन्। जातले ठूला भनिएकाहरू 'निचा'हरू सदैव आफूसँग झुकून् भन्ने चाहन्छन्। यसरी तिनले छोराछोरीलाई पनि विवेकका अन्धा बनाउँछन्। बाबुआमाबाट बचेका बालबालिकालाई छिमेक र समाजले अन्धा बनाउँछन्। तिनको उमेरसँगै अन्धविश्वास पनि जवान हुँदै जान्छ। यसरी अज्ञान र अन्धविश्वासको सत्ता अजर, अमर हुन्छ। नत्र बोक्सीका नाममा मान्छेको ज्यानै लिने, गाउँ निकाला गर्ने, दिसा खुवाउने र अंगभंग गर्ने गतिविधि यतिविधि हुने थिएनन्। नेपाल र भारतजस्ता धर्मसत्ता भएका मुलुकमा यस्ता घटना दिनदिनैजसो भइरहेका छन्। तीमध्ये अधिकांश घटना मिडियामा आएका छैनन्। सुकरात, बुद्ध, गान्धीदेखि आधुनिक युगका महापुरुषहरूले आत्मज्ञानमा जोड दिए पनि हाम्रो समाज अझै सभ्यता र चेतनाको आदिम युगमै छ।

सभ्यता विकासको प्रारम्भिक युगमा प्रत्येक जाति अलौकिक तत्वको कल्पना गर्थे। यी तत्व सौम्य, क्रूर वा दुवै गुणले युक्त भएको मानिन्थ्यो। यही कारण अविकसित र पिछडिएका जातिमा भूतप्रेतको उपासना, मान्यता र भयको भावना जति प्रबल छ, त्यति सभ्य देश र शिक्षित समुदायमा छैन। नेपाल, भारतजस्ता पूर्वी समाजका अधिकांश बासिन्दा यी अलौकिक तत्वको अस्तित्वमा विश्वास गर्छन्। मानसिक रूपमा कमजोर व्यक्तिहरू भूतप्रेत वा बोक्सी देखेको दाबी गर्छन्।  आदिवासी, अशिक्षित र अविकसित समुदायमा मात्र होइन, शिक्षित र सहरियाहरूमा पनि भूतप्रेतलाई मान्ने चलन छ। सनातन धर्ममा विश्वास गर्ने पढेलेखेका मानिसले उल्टै यस्तो अन्धविश्वासको विस्तारमा भूमिका खेलेका छन्।  यसको मूल आधार हाम्रा धर्मग्रन्थ र प्रचलित लोककथाहरू हुन् जसमा तिनको अस्तित्व स्विकारिएको छ। भूतप्रेत शब्द प्रायः मरेका व्यक्तिको कथित आत्माका लागि प्रयोग गरिन्छ। बोक्सीले भूतप्रेत उठाएर मान्छेमाथि लगाइदिने वा आफैँले चुसेर बिरामीको प्राण हर्ने अन्धविश्वास गरिन्छ। वैद्य वा झाँक्रीले बिरामीलाई तिनीहरूबाट बचाउने दाबी गर्छन्।

बोक्सी, भूतप्रेतमाथिको अन्धविश्वास त्यतिखेर बलियो हुन्छ जब झाँक्रीहरू जानी, नजानी मनोचिकित्साबाट बिरामीको असाध्य रोग निको पार्छन्। सबैलाई बाटो देखाउने शिक्षित, धनीमानी र नेताहरू तान्त्रिकको शरणमा पुग्दा जनसाधारणको अन्धविश्वास अझै चुलिन्छ। अनेक फोबिया भएका व्यक्ति आफूमाथि देवी वा देवता चढेको ठान्छन्। अचम्म, मानिसहरू तिनकै पूजा गर्न थाल्छन्। कमजोर मानसिकताका व्यक्ति शंकालु हुनु स्वाभाविक हो। कसैले जादूटुना लगाएर बाँझी बनाएको पोल लगाए निःसन्तान महिला तुरुन्तै विश्वास गर्छन् र झारफुकको चक्करमा फस्छन्। 'देवता चढ्ने' को दिमागमा शंका लागेको व्यक्तिको नाम पहिलेदेखि घुसेको हुन्छ। झाँक्रीले बक्न लगाउँदा अवचेतनमा उसले त्यस्ता व्यक्तिको हुलिया र घरको अवस्थिति बताउँछ। अतः पशुपन्छीको बलि चढाउने, अन्नपानी, सम्पत्ति स्वाहा गर्ने र आरोपितको ज्यानै लिने कृत्यहरू हुन्छन्। कतिपयले भूत प्रसन्न गर्ने नाममा आफ्नै बालबालिकाको बलि दिएका खबरसमेत सुनिन्छन्।  

जन्तरमन्तर धूर्त मानिसहरूको दिमागको उपज थियो। पछि त्यो संस्कृतिको अभिन्न अंग बन्यो। यो विश्वास निरर्थक हो भन्ने कुरा अधिकांश तान्त्रिक, वैद्य वा कथित बोक्सीकै दीनहीन स्थिति हेर्दा प्रस्ट हुन्छ। अदृश्य शक्ति भए कथित बोक्सी गरिब र दीनहीन हुँदैनथे। कसैलाई पनि त्यति दीनहीन जिन्दगी बिताउने रहर हुँदैन। झाँक्री, तान्त्रिक र बाबाहरूले सानातिना चमत्कार गरेर देखाएपछि मान्छे अझै अन्धविश्वासमा फस्दै जान्छन्। तर, तिनले जानी, नजानी सानोतिनो विज्ञानकै सहारा लिएको बु‰ने हो भने यो भ्रम तोड्न सजिलो पर्छ। श्रीलंकाका डा. कोबुरले बाबा र तान्त्रिकहरूलाई आफ्नो चमत्कार सिद्ध गर्न चुनौती दिँदा कसैले आँट गर्न नसक्नुको कारण यही थियो।

जघन्य अपराध

सानो वाङ्थलीको घटनालाई सामान्य मान्न मिल्दैन। त्यहाँ पीडक निरक्षर जनसाधारण होइन। ऊ स्थानीय विद्यालयका शिक्षक हो जो सामाजिक शिक्षा पढाउँथ्यो। ऊ हत्या गरिएकी लक्ष्मीको १० वर्षे छोरा सुमनको शिक्षक पनि हो। उसले आफ्नै विद्यार्थीसामु उसैकी आमालाई क्रूरतम हिंसा गरेको छ। त्यो पनि बोक्सीको आरोपमा। घटनाका सबै पाटा खुलिसक्दा तथ्य केही फरक पर्न पनि सक्छ। तर, शिक्षक हिरा लामाले दिसा खुवाई चरम यातना दिएकै परिणामस्वरूप शारीरिक र मानसिक आघातले एक दलित युवतीको हत्या भएको तथ्यको साक्षी पूरै गाउँ छ।

घटनाको पिँधमा पुगेर हेर्ने हो भने यसको पृष्ठभूमिमा वर्गभेद र जातिभेद दुवै देखा पर्छन्। हाम्रो समाजमा गरिब र कमजोरलाई नै बोक्सी आरोप लगाइन्छ। कदाचित अनुसन्धानले लक्ष्मीलाई रिसको झोकमा मात्रै लामाले बोक्सी भनेको हो भने पनि उसले दलित समुदायलाई 'हेप्न नसकून्' भनेर 'ठीक पारिदिन्छु' शैलीमा व्यवहार गरेको देखिन्छ। पीडक आफैँ वर्णाश्रम व्यवस्थाबाट पीडित समुदायको मान्छे हो। तर, ऊ त्यसैको मतियार बन्न पुगेको छ। किनभने समाजको आँखामा त ऊ एउटी दमिनीभन्दा उच्च जातको मात्र होइन, उँचो आर्थिक हैसियतको पनि छ। समाजको रामरमिते प्रवृत्तिमा पनि 'अछुत, त्यसमाथि बोक्सीलाई ठीक पार्नै पर्छ' भन्ने मानसिकता देखिन्छ।

२०६३ जेठ २१ गते पुनर्स्थापित प्रतिनिधि सभाले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको हो। २०६८ जेठ १० मा तत्कालीन व्यवस्थापिका–संसद्ले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) विधेयक पारित गर्‍यो। प्रथम राष्ट्रपति रामवरण यादवबाट सोही  वर्ष जेठ १८ गते प्रमाणीकृत भएपछि त्यसले कानुनको मान्यता पायो। यसरी नयाँ नेपालले सबै समुदाय र वर्गलाई समान र सार्वभौम नागरिक मानेर न्यायमूलक समाजको सपना देखेको छ। अनि फेरि दलितमाथि नै यस्तो आरोप किन लगाइन्छ? किन यो वा त्यो निहुँमा उनीहरूको हत्या हुन्छ? लाञ्छित हुनु, अपमान सहनु, कुटिनु, मारिनु लक्ष्मी परियारहरूको नियति होइन। यो  नियति विवेकको अन्धो समाजले बनाइदिएको हो। अब यो वा त्यो निहुँमा लामालाई उन्मुक्ति दिए वा लगभग उनकै मतियार प्रहरी इन्चार्जलाई कारबाही नगरिए कथित बोक्सी प्रथाले फेरि सामाजिक स्वीकृति पाउँछ। अनि हाम्रो समाज फेरि मध्ययुगमा फर्कन बाध्य हुन्छ।

प्रकाशित: १ पुस २०७३ ०५:३४ शुक्रबार

लक्ष्मी परियारको नियति