विचार

तानाशाह जन्मने खतरा

समुन्द्र मन्थनबाट अमृत निकाल्नुअघि कालकुट बिष निस्किएको थियो । हिन्दू पुराणमा उल्लेख भएअनुसार संसारको विनाश हुने भएपछि भगवान् महादेव कालकुट बिष पिउन तयार भए । कण्ठमा बिष राखेर प्राणीजगत्को रक्षा गरे । त्यसैले उनी निलकण्ठका रूपमा पुजिन्छन् । नेपालको नयाँ संविधान निर्माण त्यस्तै समुन्द्र मन्थन भएको छ, जसले अमृतरूपी राजनीतिक स्थिरताको सुनिश्चितता गर्न सकेको छैन । बिषरूपी अस्थिरता र अराजकता फैलने खतरा बढ्दैछ । त्यो बिष पिउन कोही पनि तयार छैन । नेताहरू सबै आआफ्नो राजनीतिक स्वार्थसिद्धिमा लागेका छन् । सबैको ध्यान देशको वर्तमान संकट समाधानभन्दा पनि आगामी चुनावतर्फ केन्द्रित छ । देश र जनताको हितभन्दा आफ्नो राजनीतिक भविष्य र पार्टीभित्रको गुटको हित कसरी हुन्छ भनी लागेका छन् । अस्थिरता, अन्योल र अराजकता फैलँदै गएको छ । यसैको जगमा टेकेर तानाशाहको खतरा बढ्दैछ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र चुनाव लक्षित रणनीतिमा देखिएका छन् । शेरबहादुर देउवा अलमलमा छन्, केपी ओलीमा उग्र राष्ट्रवादको भूत सवार छ भने पुष्पकमल दाहाल जस लिनका लागि देशलाई नै दाउमा राख्न तम्सिएका छन् । असन्तुष्ट मधेस केन्द्रित दलका नेताहरू महन्थ ठाकुरदेखि उपेन्द्र यादवसम्म चुनाव केन्द्रित सस्ता नारा उचाल्दैछन्, देशको हित हुनेगरी समस्या समाधानको ठोस उपाय बताउन सकिरहेका छैनन् । राजेन्द्र महतो सीके राउतभन्दा अलिअलि मात्र फरक छन् । मधेस केन्द्रित नेताहरू बार्गेनिङको शैली अपनाएर जायज मागलाई ओझेलमा पार्ने प्रस्तावहरू उठाइरहेछन् । प्रदेशको सीमांकन र अंगीकृत नागरिकताको मुद्दा मुख्य बनाइरहेछन् । अर्कोतर्फ, धर्मको मुद्दासमेत जोडतोडले उठिरहेको छ । यी सबै मुद्दा देश र जनताको हितका लागि भन्दा राजनीतिक अस्त्रका रूपमा प्रयोग भइरहेछ । देशलाई के आवश्यक छ र के गर्दा उत्तम हुन्छ भन्ने विषय वैज्ञानिक शोध र अनुसन्धानबाट मात्र पत्ता लगाउन सकिन्छ । नेपालमा कस्तो राजनीतिक प्रणाली हुने, सीमांकन कस्तो हुने र अंगीकृत नागरिकताको हकमा के गर्ने भन्ने विषयको टुंगो पूर्वाग्रहरहित गहिरो अनुसन्धान र अध्ययनले टुंगो लगाउनुपर्ने थियो । त्यस्तो अध्ययन देखिँदैन । देशभित्र र बाहिरका केही शक्तिको निहित स्वार्थ पूरा गराउने उद्देश्यले प्रेरित भएर प्रस्तावहरू आइरहेका छन् । मधेसका स्थानीयको विरुद्धका प्रस्तावहरू मधेस केन्द्रितले नै ल्याउन खोज्नुमा शंका गर्ने ठाउँ प्रशस्त छ । अंगीकृतलाई मुख्यमन्त्री बन्न दिने गरी संविधानको संशोधन कुनै पनि मधेसप्रेमी मधेसीलाई मान्य हुनसक्दैन । कसैले पनि नवनागरिकलाई आफ्नो नेता मान्नेसम्मको आफ्नो खुट्टामा आफै बन्चरो हान्नेसम्मको कार्य गर्दैन । मधेसमा बन्ने प्रदेशको नेता नवनागरिक बन्ने अवस्थाका विरोधी स्वयं मधेसी जनता नै हुनेछन् । भ्रमहरू धेरै छरिएका छन्, जसको निहित उद्देश्य त्यहाँका जनताले क्रमैसँग बुझ्दै गइरहेका छन् । ज्वाइँलाई छोरी छाड्ला भनेर नक्कली छोरा बनाएर नागरिकता दिलाउने ससुराहरू पछुताउँदै सीडीओ कार्यालय धाइरहेको घटना मधेसमा धेरै पाइन्छ । पंक्तिकारले पर्सा सीडीओ कार्यालयमा त्यस्तै घटना दुई वर्षअगाडि देखेको थियो । नक्कली छोरा या छोरी बनेर नागरिकता लिएका घटना मधेसमा मात्र नभई पहाडमा पनि धेरै छन् । भारतीय भूमिबाट प्रवेश गरेका अपराधीले समेत नेपाली नागरिकता लिएका घटनामा पप्पु यादवदेखि निरञ्जन होजाईसम्मको नाम आउँछ । यी आपराधिक घटनामा मुछिएकाले मात्र खुल्यो, नखुलेका धेरै तथ्य खोजबिनबाट पत्ता लाग्न सक्छ ।
सीमांकनमा पहाड र तराई÷मधेसलाई अलग बनाउने खेलहरू भइरहेका छन् । मधेसलाई पहाडबाट अलग्याउने कार्यहरू विगतमा समेत भए । एक मधेस प्रदेशको बार्गेनिङ दुई प्रदेशमा लगेर टुंग्याइएको थियो । यी कदमहरू देशको हित र वैज्ञानिक अध्ययन–अनुसन्धानको प्रतिवेदनका आधारमा गरिएका थिए वा थिएनन् ? कुनकुन देशको स्वार्थको गुलाम बनेर गरिएका थिए ? यी यक्ष प्रश्नहरू जनताले नेतालाई सोध्नेछन् । संवेदनशील भूराजनीतिमा अवस्थित नेपालमा पक्कै पनि छिमेकीको सुरक्षा चासो रहन्छ । त्यसको हेक्का राख्न जरूरी छ । त्यसो भन्दैमा देशलाई नै दाउमा राखेर गर्ने निर्णयहरू घातकसिद्ध हुन्छन् । अहिले जेजस्तो उद्देश्यले संविधान संशोधनमा समर्थन र विरोधका स्वर सुनिएका छन्, ती सबै लहडी देखिन्छन् । कसैलाई संविधान संशोधनको जस लिनु छ त कसैलाई अपजसको भारी बोकाएर लोकप्रिय बन्नु छ । देशलाई के चाहिन्छ र जनताको कसरी भलो हुन्छ भन्ने उद्देश्यले संशोधनको प्रस्ताव दर्ता हुन लागिरहेको छैन । हतारमा काम गरेर फुर्सदमा पछुताउने नेतृत्वले देशलाई मारमा पारेको छ । नेताहरूमा दृष्टि कमजोर छँदैछ दृष्टिकोणमा झन् समस्या छ । संसारमा कुनै पनि नेतृत्वले सबै कुरा देख्न सक्दैन र दृष्टिकोण बनाउन सक्दैन । असल नेताले गतिलो टिम खडा गरेको हुन्छ, जसले गहिरो अध्ययन र अनुसन्धानबाट ठोस निष्कर्ष निकालेर दृष्टि र दृष्टिकोण सबै दिन सक्छ । नेपाली नेताहरूमा यस्तो प्रयास कसैले गरेका छैनन् । उनीहरू देशविदेशमा पटकपटक चुकेका घटनाबाट कमजोरी केलाउन सकिन्छ ।
धर्मको मुद्दा जोडतोडले उठिरहेछ । यो मुद्दा उठाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य देखिन्छ । पूर्वपञ्चहरूको पार्टी हिन्दू अधिराज्यको मुद्दामा एक भएका देखिन्छन् । तर, तिनै पञ्चहरू शक्तिमा हुँदा नेपालका हिन्दू मठमन्दिरहरूमा धेरै मूर्ति चोरी भएका थिए । तिनकै पालामा इशाइहरूले बलियो आधार बनाएर धर्म परिवर्तनलाई बढावा दिए । हिन्दू अधिराज्य कायम गर्ने मुद्दा उनीहरूको लक्ष्यभन्दा पनि राजनीतिक अस्त्र बनेको छ । छिमेकी भारतमा हिन्दूवादी दल भारतीय जनता पार्टी शक्तिमा रहेको अवस्थामा तिनको समर्थन लिने अभिप्राय लुकेको देखिन्छ । यही मुद्दा उठाएर राप्रपा बलियो शक्तिका रूपमा स्थापित हुन खोजिरहेको छ । उसका रणनीति चुनावमुखी मात्र होइन राजनीतिक संकटमा खेल्नेतर्फ पनि उन्मुख छन् । कमल थापा त हिन्दूको आडमा राजातन्त्र फर्काउने चाहना राखेर हिँडिरहेछन् । पशुपतिशमशेर राणा राजाको नामसमेत सुन्न चाहँदैनन्, तर हिन्दू अधिराज्य कायम गर्ने दृढता व्यक्त गर्छन् । राप्रपाले झण्डामा गाई राखेर नयाँ राजनीतिक सम्भावनाको खेती अगाडि बढाइसक्यो । यसले धार्मिक मुद्दातर्फ देशलाई केन्द्रित गर्ने अवस्था बन्दै गइरहेछ । गाउँदेखि सहरसम्म धार्मिक सेन्टिमेन्ट मानिसका मनमा गड्दै गएको छ । नेपाली कांग्रेसभित्र पनि महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू खुमबहादुर खड्का, शेखर कोइरालालगायतले हिन्दू राज्य फर्काउने मुद्दामा जोडबल दिइसके । धर्म परिवर्तनको लहर फैलाइरहेकाहरूलाई निरुत्साहित बनाउने नीति कोहीसँग छैन । फगत धर्म सापेक्ष राज्यको मुद्दा अगाडि बढाइएको छ ।
देशमा अर्काथरी उग्र नारा उचाल्नेहरू सक्रिय छन् । अति प्रगतिशिल देखिएर स्वप्निल संसारको चित्र देखाउँदै जनतालाई भड्काउन लागिपरेका छन् । जातीय विभाजनको बीउ रोपेर द्वन्द्वमा भविष्य देख्नेहरू दुवै छिमेकीभन्दा पनि टाढा आफूलाई जोडिरहेछन् । उनीहरू समस्या समाधानको कुरै सुन्न चाहँदैनन् । अराजकतारूपी कालकुट बिष फैलाउन खोजिरहेछन् । कुरा प्रगतिशील गर्ने अनि कामचाहिँ तानाशाहका लागि गर्ने शैली खतरनाक छ । उग्र राष्ट्रवादलाई काउन्टर दिन उग्र क्षेत्रीयतावादीहरू जे जसरी प्रस्तुत भइरहेछन् त्यसले अर्को तानाशाहको विकल्प खडा गर्ने प्रयास भइरहेको छ । महाभूकम्प र नाकाबन्दीपछि देशले नयाँ कोर्स लिन मात्र खोजेको थियो, अनेक आन्दोलनका धम्कीहरू आइरहेछन् । उता, विखण्डनवादीहरूको चुरीफुरी बढिरहेकै छ । जायज के हो र के गर्दा देशले गतिलो निकास पाउँछ भन्नेबारे कसैसँग प्रष्ट खाका छैन । फेरि पनि कुरा त्यही आउँछ– देशलाई कस्तो संरचनामा लाँदा र कस्तो नीति अपनाउँदा लाभ हुन्छ भन्नेबारे अध्ययन–अनुसन्धान भएकै छैन । यहाँ विदेशमा यस्तो छ र उस्तो छ मात्र भनिन्छ, तर त्यो नेपाली समाजमा लागु गर्दा उपयुक्त हुन्छ–हुँदैन गतिलो निष्कर्ष छैन । बाहिरी स्वार्थी समूहको दबाबमा परेर मुन्टो मोड्ने प्रवृत्ति हावी छ । यसले देशलाई अर्को विपत्तिमा धकेल्ने सम्भावना बढेको छ ।
देशमा संघीयताका पक्षधर र विरोधी, धर्म निरपेक्षताका पक्षधर र विरोधी, प्रदेशहरूका सीमांकनमा सन्तुष्ट–असन्तुष्ट समूहबीच तीव्र ध्रुवीकरण भइरहेको छ । आन्तरिक र बाह्य खतराको लेखाजोखा सुरक्षा निकायले गरेकै होला । देश नै संकटमा पर्न सक्नेसम्मका चेतावनीयुक्त अध्ययन प्रतिवेदनहरू तयार भइरहेछन् । पंक्तिकारले गरेको एउटा अध्ययनले मधेसमा क्षेत्रीय मात्र नभई धार्मिक द्वन्द्वको खतरा देखिन्छ । यस्ता खतराले तानाशाह जन्माउन सक्छ । जुन देशमा क्रान्ति या कुनै ठूलो उपलब्धिपछिको संक्रमण लम्बिन्छ त्यो देश अर्को संकटमा धकेलिन सक्छ । संकटमोचनका लागि मध्यमार्गीको मुख्य भूमिका हुन्छ । अहिले पार्टीहरूभित्र त्यस्ता धार कमजोर छन् । फ्रान्सको क्रान्तिपछि प्रगतिशीलका नाममा उग्र नारा घन्काउने र पुराना सुन्दर दिनहरू सम्झाउँदै प्रतिगमन निम्त्याउने समूहको समान उद्देश्य थियो– तानाशाहको जन्म गराउने । तर, मध्यमार्गी हावी हुँदै गएर दुवै प्रकारका अतिवादीलाई काबुमा राख्न सफल भए । क्रान्तिको उपलब्धि रक्षा भयो । नेपालमा पनि मध्यमार्गी बलिया हुने–नहुनेले उपलब्धि रक्षाको भविष्य निर्धारण गर्छ । अतिवादीहरू हावी भएमा तिनले मिलेर तानाशाहको ढोका खोल्न सक्छन् । जातीय, क्षेत्रीय, धार्मिक जुनसुकै मुद्दा किन नउठाउन् तिनीहरूको नियतमा खोट छ र ती अतिवादी हुन् । यिनको उद्देश्य तानाशाह जन्माउने नै हो । यसलाई रोक्न नेताहरूले संविधान कार्यान्वयनका लागि गतिलो निर्णय लिन तयार हुनुपर्छ । दल तथा राजनीतिभन्दा माथि उठेर देशका लागि जोखिम मोल्न तयार हुनुपर्छ ।

प्रकाशित: १५ मंसिर २०७३ ०३:२० बुधबार

तानाशाह जन्मने खतरा