विचार

असन्तुलित आयात-निर्यात

चालु आर्थिक वर्षको प्रथम चौमासिकको व्यापार घाटाको आँकडाले देशको खराब अर्थतन्त्र र परनिर्भरताको भयानक तस्बिर प्रस्तुत गरेको छ। यो अवधिमा नेपाललाई अन्तर्राष्ट्रिय व्यापारमा २ खर्ब ७७ अर्ब २ करोड रुपैयाँ घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्ममा ३ खर्ब १ अर्ब ९३ करोडका वस्तु विभिन्न मुलुकबाट आयात भएका छन्। निर्यात भने केवल २४ अर्ब ४९ करोड रुपैयाँबराबरको भएको छ। गत आवको तुलनामा चालु आवको प्रथम चार महिनामा आयात ८७.८५ प्रतिशत र निर्यात १३.१ प्रतिशत बढेको छ। आयात–निर्यातको यो चुलिँदो असन्तुलनले मुलुकको अर्थतन्त्रमै गम्भीर असर पार्ने अवस्था सृजना भएको छ। यो आँकडाले मुलुकको उत्पानशील क्षमता तीव्र गतिमा ह्रास हुँदै गएको र परनिर्भरता ह्वात्तै बढेको यथार्थ पनि प्रस्तुत गरेको छ। यो अवधिमा सवारीसाधन सबैभन्दा बढी करिब ३४ अर्बको आयात भएको छ। त्यसपछि पेट्रोलियम पदार्थ करिब ३३ अर्बको भित्रिएको भन्सार तथ्यांकले देखाएको छ।

गत वर्ष भारतले हठात् लगाइदिएको नाकाबन्दीका कारण आयात कम हुन पुगेको तथ्य यो आवमा ह्वात्तै बढेको सवारीसाधनलगायतको आयातले प्रष्ट पारेको छ। विलासिताका वस्तु आयातमा देखापरेको अपार वृद्धिले पनि व्यापार घाटा बढाउन मद्दत गरेको देखिन्छ। नेपालमै मनग्गे उत्पादन हुने चकलेटको आयात आँकडा मात्रै हेर्ने हो भने पनि फुर्मायसी तथा विलासिताका वस्तु आयातको बढ्दो अवस्था छर्लंग हुन्छ। गत आवमा विभिन्न २८ मुलुकबाट एक अर्ब ६० करोड रुपैयाँबराबरको चकलेटजन्य उत्पादन आयात भएको देखिन्छ। नेपालमा चकलेट आयातको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतसम्म रहेको छ। चकलेट, बिस्कुट, साबुनजस्ता वस्तु नेपालमा उत्पादन नहुने होइन, तर यहाँ उत्पादित यी वस्तुको स्तरका कारण पनि आयातितमा बढी ध्यान गएको बुझ्न सकिन्छ। साथै, कच्चा पदार्थ महँगो, अनियमित ऊर्जाप्रवाहका कारण पनि उत्पादन लागत बढी पर्न गएको देखिन्छ। कमजोर प्रतिस्पर्धी क्षमता, न्यून गुणस्तर तथा उद्योगमैत्री वातावरणको अभावजस्ता कारणले स्वदेशी उत्पादनमा उपभोक्ता आकर्षित हुन सकिरहेका छैनन्। उत्पादनमुखी उद्योग स्थापना, वैदेशिक लगानी प्रोत्साहन, लगानी सुरक्षालगायतका सवालमा नेपाल जहिले पनि पछाडि पर्दै आएको छ। राजनीतिक दलसँग सीधा आवद्ध रहेका विभिन्न नामका टे्रड युनियन र तिनका क्रियाकलापले पनि उद्योगमैत्री वातावरण बन्न सकिरहेको छैन। यसले सञ्चालनमा आइसकेका कतिपय उद्योग बन्द हुने अवस्था सृजना भएको छ भने नयाँ लगानीलाई निरुत्साहित बनाएको छ। नयाँ उद्योग खोल्न झञ्झटिलो सरकारी प्रक्रिया, कतिपय ठाउँमा स्थानीयको अव्यावहारिक अवरोध तथा दक्ष कामदारको अभावले पनि आयातवृद्धिमै बल पुगेको छ।

यति हुँदाहुँदै पनि नेपाली गलैँचा, पस्मिना, चिया, अलैँची, कफी, तयारी पोशाक (गार्मेन्ट)लगायतका उत्पादनको माग विभिन्न मुलुकमा अझै भइरहेको छ। यी वस्तुको पर्याप्त निर्यातले पनि परनिर्भरताको अवस्थालाई विस्तारै अन्तर्निभरतातर्फ लैजान मद्दत गर्छ। चालु आवको प्रथम चौमासिकमा निर्याततर्फ पहिलो नम्बरमा गलैँचा रहेको छ। करिब ३ अर्ब रुपैयाँबराबरको गलैँचा विभिन्न मुलुक निर्यात भएको छ। चिया र कफी २ अर्ब ३० करोड, गार्मेन्ट उत्पादन २ अर्ब १९ करोडको निर्यात भएको छ। आयातको तुलनामा यो निकै न्यून परिमाण हो। विगतमा गलैँचा, पस्मिना, गार्मेन्ट, जडिबुटी तथा कृषिउपजको निर्यातको अवस्था निकै सुदृढ हुनाले नै व्यापारघाटा कम थियो। पछिल्लो समय उल्लिखित वस्तुको गुणस्तरमा आएको ह्रास तथा कमजोर प्रतिस्पर्धी क्षमताका कारण बजार गुम्दै गएको हो। गुमेको बजार पुनस्थापित गर्न सक्दामात्रै पनि निर्यात ह्वात्तै बढ्न जानेछ। यसका निम्ति पहिलो र महŒवपूर्ण काम भनेको जतिसक्यो बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्राउने पहल गर्नु हो। त्यसपछि स्वदेशी उद्योगलाई प्रशस्त सुविधा दिएर उत्पादनमुखी उद्योग खोल्न प्रोत्साहन गर्ने, ऊर्जा अभाव हुन नदिने तथा दक्ष स्वदेशी कामदारलाई रोजगारीको सुनिश्चितता दिने कार्य गर्न सक्दा परनिर्भरताको अवस्थामा सुधार आउने छ। यसले बेरोजगारी समस्यालाई हटाउँदै मुलुकलाई आत्मनिर्भरताको बाटोमा हिँडाउन मद्दत गर्नेछ। अनिमात्रै व्यापार घाटा कम हुने र अर्थतन्त्र सबल बन्ने स्थिति पैदा हुन्छ। अन्यथा, उकालो चढिरहेको नेपालको व्यापार घाटा सुधार हुन त सक्दैन नै साथमा अर्थतन्त्रलाई अझै लामो समय रेमिट्यान्सले चलायमान बनाउनु पर्नेछ।

प्रकाशित: १० मंसिर २०७३ ०३:४३ शुक्रबार

असन्तुलित आयात-निर्यात