विचार

रामचन्द्रको ऐनामा गुल्जारीलाल

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेलको सपथपछि उनी अगाडिका चुनौतीबारे घोत्लिइरहँदा भारतमा दुई दुई पटक कार्यबाहक प्रधानमन्त्री बनेका गुल्जारीलाल नन्दाको संझना आइरह्यो। यी तिनै गुल्जारीलाल हुन् जो भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरू सन् १९६४ मा र द्वितीय प्रधानमन्त्री लालबहादुर शास्त्री सन् १९६६ मा निधन भएपछि कार्यबाहक प्रधानमन्त्री बनेका थिए। स्वतन्त्र भारतका मन्त्री मात्र होइन, राष्ट्रिय योजना आयोगका प्रथम उपाध्यक्ष बनेका गुलजारीलाल वरिष्ठतम् व्यक्ति मानिन्थे। उनी लामो समय भारतको गृहमन्त्री पनि थिए।

मानसपटलमा गुलजारीलाल आउनुको कारण भारतमा उनले कायम गरेको आर्थिक अनुशासन र नैतिकताको मर्यादा हो। यिनले सत्तरी वर्ष नाघेपछि भारतीय सरकारको मन्त्री बन्न पनि इन्कार गरेर राजनीतिबाट विश्राम लिए। सामान्य भारतीयको जस्तै सरल जीवन बाँच्ने प्रयत्न गरे। यिनको मृत्यु सय वर्षको उमेरमा सन् १९९८ मा भएको थियो। भारत सरकारले दिने सबै भन्दा उच्च पदक भारत रत्नबाट विभूषित गुल्जारीलाल जीवनको अन्तिम अवस्थामा त्यतिखेर बहुचर्चामा आए जब यिनलाई घरपट्टीले कोठा भाडा नतिरेको भनेर यिनका भाँडा मिल्काइदिए। यिनीसँग भाडा तिर्नलाई दिने केही थिएन। भारत सरकारले दिने स्वतन्त्रता सेनानी भत्ता पाँच सय रूपैयाँ पनि यिनले म मातृभूति स्वतन्त्र पार्न लागेको पाँच सय पाउँछु भनेर होइन भन्दै इन्कार गरेका थिए। पछि टोलबासी र साथीभाइको अनुरोधमा त्यो भत्ता लिएर कोठा भाडा तिरेर यिनी आफ्नो गुजारा चलाउँथे। यो खवर थाहा पाएर भारतीय प्रधानमन्त्री राजीव गान्धी नब्बे हजार सहयोग लिएर पुगे। तर गुल्जारीलालले मलाई पाँच सय भत्ताले पुगिरहेकाले बरू त्यो पैसा राजस्थानको छात्रा विद्यालयलाई सहयोग गरेर छोरीहरूलाई पढ्न मद्दत गर्नूस् भनेर फर्काइदिए।

राष्ट्रपति रामचन्द्र पौडेलको परीक्षणको घडी सोमबारदेखि सुरु भैसकेको छ। जसरी वर्षभरि पढेको मूल्यांकन वार्षिक परीक्षामा हुन्छ, त्यसैगरी रामचन्द्र पौडेलको ७८ वर्षको परीक्षा राष्ट्रपतिको सपथग्रहण लगत्तै सुरु भयो। राष्ट्रपतिको परीक्षामा पौडेल पास होलान्? उनलाई नजिकबाट चिन्नेहरू शंका गर्छन्, रामचन्द्र जीवनभर कहिल्यै प्रथम पुरुष भएनन् तर उनको उत्कट अभिलाषा सधैँ कार्यकारी बन्ने रहेको बताइरहे। राष्ट्रपतिमा निर्वाचित भएपछि पनि उनले त्यो घिडघिडो छाडेनन्, भनिहाले–मेरो उत्कट इच्छा प्रधानमन्त्री बन्ने नै थियो ! तर राष्ट्रपति बन्न पनि उनले कति पापड बेले र कतिजनाबाट उनी अनुगृहित बने? रामचन्द्रलाई राष्ट्रपति बनाउन लागेकाहरूको भागलपुरी पापड बेलाई कति कष्ट र झेल्याइपूर्ण थियो? उनीहरूलाई नै थाहा छ कि त यो शृंखला स्वयम् रामचन्द्रलाई राम्रैसँग अवगत छ। यो पदमा उनी लरतरो मेहनतले पुगेका होइनन्।

लहरो तान्दा पहरो गर्जने जस्तो छ, राष्ट्रपतिको कुर्सीसम्मको रामचन्द्र पौडेलको यात्रा। पदमा विराजमान हुनु नै राजनीतिक जीवनको अभीष्ट हो? खासमा राष्ट्रपति पदमा विराजमान भएपछि उनको दिनगन्ती सुरु भएको छ। तनहुँ रिस्ती बाहुन पोखरीका रामचन्द्रको सादा जीवन उच्च विचार राष्ट्रपति कार्यालयको चास्नीमा चुर्लुम्म डुब्ने हो कि उनले भने जस्तै सरल र सहज हुने हो? यसका लागि धेरै समय प्रतीक्षा गरिरहनुपर्ने देखिँदैन। राष्ट्रपति हुनुअघिका रामचन्द्र पौडेलको करनी र कथनी जस्तै हुने हो कि यसअघि जस्तै भन्ने एकथोक र गर्ने अर्कोथोक हुने हो? गुल्जारीलाल नन्दाले जस्तै आमनागरिककै अवस्थामा बाँच्ने अभ्यास गर्ने हो? नन्दाको मनमा भारतीय नागरिक अभाव र भुकमरीको सिकार बन्नुपरेको, अंग्रेजको गुलामबाट स्वतन्त्र भए पनि खै भारतीय नागरिक मुक्त भएको ? उनको मनमा सधैँ प्रश्न उठिरहन्थ्यो।

जवाहरलाल नेहरू स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री भएर पनि अंग्रेजसरहको जीवन बिताउनेहरूको नजरबाट देश दुनियाँलाई हेर्थे तर कार्यबाहक प्रधानमन्त्री हुँदा पनि आमभारतीय बनेर आफूले आफैँलाई गुल्जारीलाल सवाल गरिरहन्थे। जीवनपर्यन्त गुल्जारीलालहरूले देश र जनतालाई के गर्छु भनेर राजनीतिमा पदार्पण गरेका थिए त्यसैमा निष्ठावान बनेर लागिरहे। जग्गा, सुन, चाँदी हिरा जुहारात, घर, घोडागाडी, बैंक ब्यालेन्स, सेयर केही जोडेनन्। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने ध्येयमा समर्पित रहिरहे। अर्थशास्त्रका प्राध्यापक, सांसद, गृहमन्त्री, मन्त्री, योजना आयोगका प्रथम उपाध्यक्ष, दुईपटक कार्यबाहक प्रधानमन्त्री बने पनि भाडाको एउटा कोठामा सर्वसाधारण जनताको जीवन जिए र बिदा भए।

मंगलबारको नागरिक दैनिकमा राष्ट्रपतिको तलब सुविधा कति भनेर एउटा समाचार प्रकाशित भएको छ। लगभग दुई सय रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपतिको सुविधा सम्पन्न कार्यालय, बैठक कक्ष, बागबगैंचा, पार्किङ र अन्डरग्राउन्डसमेत भएको पाँचतले आवासगृह छ। जहाँ जाकुची, साउना, स्टिमसहितको अत्याधुनिक हेल्थक्लब छ। राष्ट्रपति भवनमा गौशालामा लैनो गाई पालिएको छ। ताजा तरकारीका लागि अग्र्यानिक करेसाबारी, फलफूल बगैंचा छ। बगैंचे, तरकारी बारीमा काम गर्ने विशेष मानव शक्तिको व्यवस्था पनि छ। भवनलाई बीचमा पारेर बिहान बेलुका विचरण गर्ने सुन्दर पक्की बाटो छ। मेनगेटमा भिभिआइपी सुरक्षा, भवनको पछाडि सेनाकै अर्को सुरक्षा दस्तासमेत छ। भवनमा अत्याधुनिक भान्छा छ जहाँ सेनाका सिद्धहस्त भान्छेहरूले दैनिक बिहान, दिउँसो र साँझको खाना तथा अन्य आवश्यक चिया चमेनाको व्यवस्था गर्छन्।

बिपी कोइरालापछि कांग्रेसमा कोही समाजवादी चिन्तक थियो भने रामचन्द्र पौडेलको नाउ कांग्रेसजनले लिने गर्थे। अब रामचन्द्र उहाँले भन्नु हुने समाजवादको उच्चतम पदमा त पुग्नुभयो तर जनतालाई त्यो अवस्थामा पुर्‍याउन कसरी लाग्नुहुन्छ? उहाँलाई एक कम तीन करोड नेपालीका छ करोड आँखाले नियाल्न थालिसकेका छन् किनभने पौडेल शितल निवासको छहारीमा बस्न सोमबारै पुग्नुभएको छ। रामचन्द्र चन्द्रशमशेरका छोरा कृष्णशमशेरको निवासमा बस्न जानेबित्तिकै जनता उहाँले जस्तै सुख/सुविधाबाट लाभान्वित हुन कहिले पाउँछन्? तत्कालै यस्तो कसरी संभव हुन सक्छ!

रामचन्द्र पौडेलको देवत्वकरण गरेर उहाँले चाहनुभएको समाजवादी समाज त्यत्तिकै बन्नेवाला छैन। यसका लागि त्यतातर्फको उहाँको पहिलो पाइलो कसरी अगाडि बढ्नेछ ? सबैको नजर अहिले त्यतापट्टि छ। हुन त राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री, मन्त्रिपरिषद् र संवैधानिक आयोग हुन् भनिन्छ। तर यसअघि राष्ट्रपतिलाई चुरे संरक्षण, महिला उत्थान जस्ता परियोजना दिएर खुसी पार्न खोजियो। यो कुरा रामचन्द्रले अस्वीकार गर्न सक्नुपर्छ। आफ्नो आचरण आनिबानी व्यवहार संवैधानिक र मर्यादित कायम राख्न उहाँलाई छरितो विज्ञ सल्लाहकार समूह चाहिन्छ तर त्यसैमा सही निर्णय गर्न नसकेमा भने बिचौलिया, माफिया, तस्कर, दलाल, भ्रष्टाचारी, ब्यापारी र ठेकेदारसमेतको स्वार्थ साधना गर्न राष्ट्रपतीय संस्था भूमिगतरूपमै दुरूपयोग हुने खतरा रहन्छ। यसमै सचेतना जरुरी छ।

आफूलाई सही मार्गमा लैजान र बाटो देखाउन पूर्वराष्ट्रपतिहरूले सल्लाहकार राख्नुभयो। अब नयाँ राष्ट्रपतिले आफूलाई सल्लाह दिने सल्लाहकार कस्ता नियुक्त गर्नुहुनेछ त्यसबाट नै उहाँ कतातर्फ अभिमुख हुनु हुँदैछ प्रष्टिने छ। सल्लाहकारबाट राष्ट्र प्रमुखको छवि देखिनेछ। प्रथम राष्ट्रपति डा. रामवरण यादवले ककसलाई सल्लाहकार राख्नुभयो ? स्पष्ट छ। द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो र दोस्रो चरणमा गरेर सल्लाहकारहरू नियुक्त गर्नुभयो। पहिलो चरणमा विविध क्षेत्रका प्रभावशाली व्यक्तिलाई राख्नुभयो भने पछिल्लो चरणमा त्यस्तो देखिएन। अब तेस्रो राष्ट्रपतिले आफ्नो टिम कस्तो बनाउनुहुनेछ? त्यसैले देखाउनेछ।

यो विषय किन पनि संवेदनशील छ भने अहिलेको राजनीतिक वातावरण एकदमै तरल छ। पार्टीभित्र एकले अर्को पदमा बार्गेनिङ गरिरहेछन्। गठबन्धन सरकार छ। विपक्षी एकदमै सशक्त छ। राप्रपाले राष्ट्रपति निर्वाचनमा सहभागिता नजनाएर आफू विपक्षमा रहेको औल्याइसकेको छ। मधेसी पार्टीहरू मोलतोलमा लिप्त छन्। अघिल्लो राष्ट्रपति कार्यकालमा हिंसात्मक राजनीति छाडेर मूल प्रवाहमा आएका विप्लब हुँकार गर्न थालेका छन्। विखण्डनकारी बाटो छाडेर वैधानिक बाटोमा आएका सिके राउत गंभीर सवाल उठाइरहेछन्।

नयाँ राष्ट्रपतिको महिमागानले समस्या समाधान हुने देखिँदैन किनभने नयाँ राष्ट्रपति तिनै रामचन्द्र हुन् जो २०४६ सालको परिवर्तनपछि सधैँ सत्ता र शक्तिमा रहेका थिए। उनी मन्त्री बने, सभामुख बने, गृहमन्त्री बने, उपप्रधानमन्त्री बने, फेरि मन्त्रीमै झरे। माओवादी निर्मल निवासबाट सञ्चालित छ भनेर भनेका कुरा कहिल्यै पुष्टि नगरीकन पौडेल बसिरहनुभयो। जबकि यतिखेर माओवादीकै बुइ चढेर उहाँ राष्ट्रपतिमा पुग्नुभएको छ। अब यसलाई उहाँले सन्तुलन कसरी गर्नुहुन्छ? किनभने राष्ट्रपति भन्ने पदले राष्ट्रलाई प्रतिनिधित्व गर्छ। पार्टीभन्दा यो धेरै नै माथिको पद हो।

संविधान आफैँमा परस्पर बाझिने धारा उपधाराका कारणले विवादास्पद छ। अदालतको व्याख्या आफ्नै हुने गरेको छ। न्याय विवादित छ। संविधान नमान्नेलाई मूल धारमा कसरी ल्याउने? हिजोको जस्तो जे बोल्न पनि अब छूट छैन। संवैधानिक कानुनी विवाद ज्युका त्युँ छन्। संवैधानिक निकायमा समावेशी मृगतृष्णा बनिरहेको छ। जताततै विरोधको स्वर मुखरित छ। अराजकता बढिरहेछ। यस्तो समयमा राष्ट्रपतिको सानो कमजोरी पनि समस्याको बिउ बन्न सक्छ। राष्ट्रपतिको पद दुरूपयोग हुने खतरा कायमै छ। अर्थतन्त्र धराशायी अवस्थामा छ। विदेश नीतिमा धाँजा पर्न थालेको छ। अन्तर्राष्ट्रिय, क्षेत्रीय र छिमेकीसँगको संबन्धमा जटिलता बढिरहेको छ। राष्ट्रिय मुद्दा उचालिँदैछन्। संक्रमणकालीन न्याय छताछुल्ल छ। बेपत्ता छानवीन लापत्ता छ। हिजो आफैँ शान्ति मन्त्री हुँदा के भनिएको र गरिएको थियो?

सरकार प्रमुखमाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। अर्थतन्त्र संगीन अवस्थामा छ। निवर्तमान राष्ट्रपतिले नागरिकता विधेयकको संबन्धमा अडान लिइन्, अब नयाँ राष्ट्रपति कसरी चल्नुहुन्छ? कार्यकारीले चलाउछ कि आफैँ चल्नुहुन्छ? संविधानको संरक्षक कसरी बन्नुहुन्छ? के गर्नुहुन्छ?

विगतले कठोर निर्णय लिने अवस्थामा रामचन्द्रलाई कहिल्यै खरो उतारेन। तर कांग्रेस सभापति शेरबहादुर जहिल्यै पनि सुरो निर्णय लिन माहिर छन्। उनकै बलमा राष्ट्रपति बन्नुभयो तर यो गरिमामय पदलाई विवादरहित मात्र होइन, सर्वसम्मत बनाएर समस्या समाधान गर्न कसरी सक्नुहुन्छ?

प्रथम र द्वितीय राष्ट्रपति जनताका छोराछोरी थिए तर आसनमा पुगेपछि राजारानीको हरक आयो। तामझाम, सवार, सलामी, भोजभत्तेर, पदक तक्मा मात्रै होइन कि कैदीको आममाफी र नियुक्तिमा समेत लालसा देखियो। त्यो देखेका, हेरेका, बुझेका र विरोध गरेका रामचन्द्रले आफूलाई भारतका स्वतन्त्रता सेनानी समाजवादी नेता गुल्जारीलाललाई आफ्नो ऐनामा देख्छन् कि देख्दैनन्? त्यसैमा उनको कार्यकालको सफलता र असफलता देखिन्छ। तेस्रो राष्ट्रपति रामचन्द पौडेललाई बधाई र शुभकामना !  

प्रकाशित: १ चैत्र २०७९ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App