विचार

तराईमा विग्रहको बीउ

अहिले नेपाल र तराई अलग देखाउने नियतवश केही व्यक्तिले मधेस नामलाई ज्यादै माथि उचालेका छन्। यो तराई हो भने मधेस नाम किन जोड्नु? मधेस हो भने तराई फेरि किन? एउटै वस्तु वा व्यक्ति वा स्थानका अलग अलग नाम त हुन सक्छन् तर दुईटै नाम जोडेर उच्चारण त गरिँदैन। सोझै मधेसमात्र भन्दा शदियौँदेखि नेपालको तराईमा बस्ने पुराना तराईबासीको मन कुँढिने, तराईमात्र भन्दा भन्दा मधेसीको चित्त नबुझ्ने। यस्तो डोठ्याङ परेर नै दुवैथरीलाई चित्त बुझ्ने होस् भनेर तराई मधेस वा मधेस तराई जोडेर प्रचारमा ल्याइँदो छ। दुवैथरीले यसको भित्री रहस्य त केही न केही बुभेकै छन्।

अब यी दुई नाम कसरी आए त, यिनको पुरानो नेपाली कथा कस्तो छ त भनेर अलिकति मन्थन गरौं। हामी अहिले नेपालीमा पानीले निथु्रक्कै भिजेकोलाई 'तरतर' भिजेको भन्छौं। तरी शब्दले फारसीमा आर्द्रता चिसोपनलाई र पहाडदेखि तलको चिस्यान भूमि बुझाउँछ। पहाडको तलको पूर्व पश्चिम पसारिएको तलहटीको नाम तरी–तराई भयो। सात आठ सय वर्ष पुरानो दस्तावेजमा यही नाम पाइन्छ। तराई प्रायः जंगल नै थियो। मिथिला क्षेत्र र पश्चिमको केही थोरै क्षेत्र आवाद भए पनि चुरे तलको पूर्व पश्चिम फैलिएको चारकोशे झाडी थियो। तराईको वनलाई तरियानी पनि भनिन्थ्यो। सुदूर पश्चिमका राजाका विर्ता गुठी दिएको मोहरमा र दाइका लोकगीतमा तराईको अर्को नाम 'माल' भन्ने पनि पाइन्छ।

नेपाल ३ हजार वर्षपहिलेदेखि नै तराई, पहाड र हिमाल एकात्मना भएको राष्ट्र हो। पछिल्ला ५० वर्षभित्र आप्रवासन गर्नेहरुले शक्तिशाली छिमेकीको साथ लिएर जुन माग अगाडि सारिराखेका छन् त्यो नेपाललाई कमजोर बनाउने रणनीति होइन भन्ने आधार के?

ऐतिहासिक कालदेखि नेपाल भूमि भनेको अति पुण्यभूमि मानिँदै आएको छ। यो ऋषिमुनिहरुको तपोभूमि, ज्ञानभूमि र अध्यात्मवादी पैदा गर्ने पवित्रस्थल पनि हो। सांख्य दर्शनका प्रवर्त्तक कपिलमुनि यहीँ जन्मे, उनको नाम अहिले कपिलवस्तुले बोकिराखेकै छ। बौद्ध धर्मका प्रवर्त्तक सिद्धार्थ गौतम शाक्यमुनिको जन्म पश्चिम तराईमै लुम्बिनी वनमा भएको थियो। कनकमुनि क्रकुच्छन्द बुद्ध पनि यहीँका थिए। जैन धर्म प्रवर्त्तक महावीर पनि मिथिलामा पैदा भएका थिए। कर्मयोगी राजर्षि जनकको जन्मभूमि पनि मिथिला क्षेत्र नै हो। मिथिलामा जन्मेकी जनककी छोरी सीता मैथिली र जानकी पनि भनिन्छिन्। त्यस वखतको जनकपुरमा विश्वमित्र, याज्ञवल्क्य, अश्वल, जरत्कारु, भुज्यु, गौतम, उद्दालक, शाकल्य, जावाल, मैत्रैयी, वाचक्नवी, गार्गी आदि वैदिक विद्वान् विदुषी ऋषिमुनिहरुको जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो। यी विद्वान् विदुषी वैदिक ऋषिमुनिहरुको आवतजावत मध्यदेशभित्रका मद्र, माण्डव्य, कुरु, पञ्चाल, साकेतदेखि हुने गर्थ्याे। सारस्वत प्रदेश (हाल भारत–पाकिस्तान सीमामा पर्ने सरस्वती नदी उपत्यका) बाट आएका गौतम आदि ऋषिले मिथिला क्षेत्रलाई यज्ञभूमि पुण्यभूमि बनाएका थिए। यिनै गौतम ऋषि र वैदिक निपगणले आएर आवाद र अधिकार जमाएकाले नै यो देश नेपाल नामले प्रख्यात हुन आएको हो। यसरी वैदिक कालदेखि नै ऋषिगण राजगणको सम्बन्धले हिमाल–पहाड–तराईको सुसम्बन्ध जोडिएको हो र अहिलेसम्म यो यति घनिभूत भएर आएको छ कि यसलाई छुट्याएको इतिहासै छैन। हिमाल–पहाड–तराईको सम्बन्धलाई लिएर सप्रमाण व्याख्या मैले यसअघिका लेखहरुमा पनि गरिसकेको छु।

सिद्धार्थ गौतम २९ वर्षको उमेरमा विरक्तिएर घरबार, पिता, पत्नी र सानो पुत्र छाडेर चकमन्न रातमा भागेर हिँडे। साख्य दर्शनका आचार्य अराड जस्ता अध्यात्मवादीसँग संगत गर्दै कतै चित्त नबुझेर घुम्दै मगध राज्य पुगे। त्यहाँका राजाले भेटेर कहाँका सिद्ध हौ, कहाँबाट आयौ, कसमा हौ? भनेर सोध्दा 'म शाक्य शुद्धोदनको पुत्र सिद्धार्थ गौतम हुँ, हिमवन्त प्रदेशबाट आएको हुँ' भनेका थिए। बुद्ध वाङ्मयको यस वाक्यबाट तिलौराकोट र कपिलवस्तु हिमवन्त प्रदेश भनिँदोरहेछ भन्ने कुरा बुझिन्छ। यसको हजार एघार सय वर्षपछिका गुप्त सम्राटका पालाका अभिलेखमा हिमवत् पर्वत शिखरमा रहेका कोकबराहस्वामी र श्वेतवराहस्वामी (बराह क्षेत्र) का लागि पूर्णिया भारतका महाजन रिपुपालले कोष्ठागार (भण्डार घर) बनाएर तीन असर्फीमा एक कुल्य (एक मन बराबर) विजन लाग्ने खेत डोंगा ग्राममा (हालको डोग्राहा, मोरङ) किनेर गुठी राखेर मन्दिर मूर्ति पनि बनाएका थिए। यसपछि अयोध्याबासी अमृतदेव आई आमाको नाममा भगवान्का दुवै मन्दिरको जीर्णोद्धार गरी नित्यपूजा र सदावर्त्त लाउनका लागि पाँच कुल्य वीजन लाग्ने खेत जग्गा गुठी राखेका थिए। आसामदेखि कुमाउबीचको भूभाग त्यस बेलामा पनि नेपाल भनिन्थ्यो, त्यसको तराई भाग पनि नेपालभित्रै पर्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ। यसरी तराईको नामले पहिलेदेखि पुकारिँदै आएको यो समतल भूतलको अर्को नाम मधेस किन रहन आयो? अहिले यस नामले उच्च सम्मान किन पाएको छ, यसबारे पनि विचार अलिकति गर्नु प्रासाङ्गिक हुन आउँछ।

माथि उल्लेख भएका कुरुपञ्चाल देशका ब्राह्मण/क्षत्रीलगायत जनवर्गको आवागमन धार्मिक कार्य र तीर्थव्रतको लागि वानप्रस्थी बनी तपोभूमि फैलाउँदै आउने परम्परा भएको प्रमाणहरु पनि पुराणहरुमा प्रशस्त पाइन्छन्। जस्तो सुनसरीको विजयपुरलाई रुद्राक्षारण्य (रुद्राक्षको वन) भनिन्छ। यता बारा पर्सादेखि तलतिर चम्पारण्य (चापको वन, चम्पारन) कहिँदैछ। पश्चिम तराईको दक्षिणतिर नैमिषारण्य (निमिषको वन) क्षेत्र पर्छ। नैमिषारण्य क्षेत्रको सबै पुराणमा महत्वसाथ वर्णन गरिएको छ। सुत आदि पौराणिक व्यक्ति बाह्रैमास त्यहाँ पुराण भनिरहन्थे। शौनक ऋषिलगायतका अठासी हजार ऋषिहरु स्रोता भई त्यहाँ पुराण सुनिरहन्थे। ब्रह्मसरोवर–मानसरोवरबाट झरेको कर्णाली नदी त्यस क्षेत्रलाई पवित्र पार्दै सरयूको नामले बहँदै गई गङ्गामा गएर मिसिन्छ। यही क्षेत्रमा आचार्य व्याकरण–भाष्यकार पतञ्जलि पैदा भए, अयोध्याका शुङ्गसम्राट पुष्यमित्रका सन्मान्य गुरु थिए। यी तीर्थ क्षेत्रको विद्वान् ऋषिको वर्णन किन गरिएको भने मध्यदेशदेखिका धार्मिक जनसमूह तराईका धार्मिकस्थल, मध्य पहाडी भागका सप्तकौशिकी सप्त गण्डकी वाग्मती तिरका धार्मिक स्थल, सिद्ध क्षेत्र, देवमन्दिर दर्शन स्पर्शनका लागि ओइरिन्थे। वाग्मती क्षेत्रमा पशुपति ज्योतिर्लिङ्ग, वैष्णव शक्ति, बौद्ध मन्दिर, मठमन्दिर, गौतम आश्रम, भरत आश्रम आदि प्रशस्त धार्मिकस्थल तथा मूर्ति मन्दिर थिए। गण्डकी क्षेत्रमा पनि देवघाटदेखि मुक्तिक्षेत्रसम्म रुरु क्षेत्र, नृसिंह धाम, पुलहाश्रम, पुलस्त्याश्रम, भरताश्रम आदि अनेक धार्मिक क्षेत्र तीर्थस्थल थिए। यिनमा तीर्थ गर्न यी आश्रममा तप गर्ने राजर्षि, महर्षि र जनसमूह आइरहन्थे।

ऐतिहासिक कालदेखि मध्यदेश भनेका पश्चिम सिन्धु प्रदेशदेखि पूर्वका धेरै देश पर्छन्। मद्र (हाल पाकिस्तानको पन्जाव), शूरसेन (यमुना तटको राज्य, व्रज भूमि), मथुरा (शूरसेनको राजधानी), साकेत (अयोध्या), कुरु (हालको दिल्ली र पन्जाव), पञ्चाल (हालको वरेली, फरक्का र कान्यकुव्ज क्षेत्र) आदि देश मध्यदेश कहलिन्थे। यी देशदेखि कोही कारणवश विस्थापित भएर वा जीविका सहज पार्न बन्द बेपारका लागि माथि भनेजस्तै धार्मिक क्षेत्रको बास र तीर्थ यात्राका लागि र युद्ध विद्रोहमा बच्नका लागि पनि आएका भागेका मानिस नेपालमा विशेषतः तराईमा स्थायी बसोबास गर्न लागे। यता पश्चिमोत्तर पहाडी भाग कश्मीर, केदार कान्यकुब्जतिरबाट क्षत्री बाहुन खस समूह पनि पहाडै पहाड नेपाल पसेर त्यहीँ भरिँदै आए।

अंग्रेजसँगको सन् १९५७ को गदरमा अंग्रेजबाट बच्न एकैचोटि करिब लाख मधेसीहरु अवध क्षेत्रबाट नेपाल पसे। नेपालले शरण दिएकाले यहीँ बसे। यसपछि यो क्रम बढ्दै गयो। समतलको रसिलो उब्जाउ भूमिमा बिहार उत्तर प्रदेशका सुक्खा भूमिबाट आप्रवास बढ्दै आयो। मध्यदेशबाट आएका सबै मधेसी कहलिएर उनीहरु बसेको क्षेत्र मधेस कहलियो। यसरी यो नाम पनि प्रचलित हुँदै आयो। पछि मध्यदेशमात्र होइन, भारत नै मुगलान कहलियो। त्यहाँका बासिन्दा मुगलाने भए। मधेसी र मुगलानी पर्यायवाची बने।

भारत पूर्वोत्तर सिन्धु प्रदेशमा प्राचीन कालमा रोमबाट दिग्विजय गर्दै आएको महान् अलेक्जेन्डरको नेतृत्वमा आई बसेका तिनका अधिकारीले सिन्धुलाई हिन्दु र बासिन्दालाई पनि हिन्दु भन्न थाले। समयक्रममा पश्चिमाहरुले भारतीय सबैलाई हिन्दु भने र देशै हिन्दुस्तान भनियो। पछि अंग्रेज शासनकालमा उनको उच्चारणमा हिन्दुको इन्दु हँुदा भारत इन्डिया भयो। यहाँका बासिन्दा इन्डियन भनिए। अब यस्तै हिमालपारिको प्रदेश भोट भनिन्छ। यताका मानिसले यसलाई भोटमात्र भने पनि कश्मीर र त्यसभन्दा पनि पश्चिमका मान्छेले तोद्बोद् (तल्लो भोट) भन्ने गर्थे। त्यसैको अपभ्रंश तिब्बत भयो। यसरी धेरै देशका २–३ नाम हुन्छन्, दुवै नाम जोडेर उच्चारण गरिँदैन।

मेरै अनुभव भन्छु। हामी सानो छँदा हाम्रा घरमा कोही कस्मेटिक सामान चुरापोते लिएर, कोही कपडाको पोको, आलु, कोपी, परवर, भन्टा आदि तरकारी लिएर बेच्न आइरहन्थे। हामीले मधेसे आए भन्दा पिताजी मधेसे भन्नुहँुदैन, कहाँबाट आएका हुन्, पहिले सोध्नुपर्छ भन्नुहुन्थ्यो। उनीहरु आफैँ हामी मधेसिया होइन हजुर यहीँको बस्तीपुर, सुखीपुर वा वीरपुरबाट आएको हो भन्थे। कोही पारि मुगलानबाट आएको हामी मधेसिया हो भन्थे। त्यसबेला साँच्चै मधेस शब्द मुगलान बुझाउने थियो। पहाडेलाई थरबाटै बोलाउँदा राम्रै मानिन्थ्यो। तराईबासीलाई मधेसी भन्दा वा थरबाट बोलाउँदा पनि अपमान बोध हुन्थ्यो। बरु उनीहरुको व्यावसायिक दक्षताको हिसावले सम्बोधन गर्नु उचित थियो। थारूलाइ चौधरी, मुसहरलाई डफ्फेदार, नङकेश काट्ने र जीउ मालिस गर्ने नाउलाई ठाकुर, सतार वातरलाई सरदार आदि सम्मानित सम्बोधन मानिन्थ्यो। अहिले त्यस्तोे मधेसी उपपद किन यति लोकप्रिय ग्राह्य भयो? विचारणीय छ।

भद्रकाली मिश्रको तराई कांग्रेस क्षेत्रीय पार्टीमै सीमित भएको हुँदा र तराईमा त्यति प्रभाव विस्तार गर्न अक्षम ठानी गजेन्द्रनारायण सिंहले सबैलाई समेट्ने राम्रो उद्देश्यले सद्भावना पार्टी स्थापना गरे। उनका शेखपछि यो पनि आत्मकेन्द्रित नेताहरुको स्वार्थ नमिलेरै धेरै चिरामा विभाजित हुँदै आयो। यता मधेसकेन्द्रित फोरममा ठूला राष्ट्रिय पार्टीका ठूला नेताहरु ठूलै आशत्रास राम्रै आकर्षणले आकृष्ट भएर समाहित हुन गए पनि उद्देश्य कमजोर भएरै त्यसबाट प्रतिफल राम्रो पाएनन्। अनि स्थापित हुनका लागि कताको प्रेरणाले हो तराईका मूलबासी र आप्रवासीसमेत समायोजन गरी राजनीतिक उद्देश्यले अर्को नयाँ पार्टी खोलियो। धेरै पार्टी छरिएपछि झन् कमजोर भएर चुनाव पनि हारिने, माग पनि पूरा नहुने ठानी मोर्चा खडा गरियो, मूल तराइबासी थारूलाई त्यसको नेतृत्व दिए पनि चुनाउमा त्यति सफलता मिलेन। यता पहिले चुनाउमा प्रथम भएको माओवादी दल पनि तेस्रोमा खुम्चियो।

नेपालमा गणतान्त्रिक संविधान जुन परिस्थितिमा आयो त्यो बडो ऐतिहासिक कुरा थियोे। राज्यभित्र रहेर काम गर्ने राजनीतिक दलहरुको आआफ्नो मान्यता र सोचाइ हुन्छ र त्यो छलफल पनि भइरहन्छ। २४० वर्षदेखि प्रजातन्त्रिक ढंगले चुनाउ गर्दै राष्ट्रपति छान्दै आएको अमेरिकामा त त्यत्रो विवाद हुने रहेछ। तर परिणाम आएपछि हिजोसम्मका विरोधीले पनि तत्काल परिणाम स्वागत गर्ने, बधाई दिने र भविष्यमा एक भएर जनताका लागि काम गर्ने वक्तव्य जारी गरे। तर शायद प्रजातन्त्रको संस्कार नभएर होला, संविधान आउनासाथ प्रदेशको सीमा, अंगीकृत नागरिकता र प्रतिनिधित्वका कुरा अघि सारेर मधेसी नेता आन्दोलनतिर लागे। छिमेकी भारत मधेसीको आन्दोलनमा देखिने गरी प्रत्यक्षरूपमा सरिक भयो। आफ्नो स्वार्थ पट्याउन हात हाल्न लाग्यो। करिब पाँचै महिनासम्म नाकाबन्दी लाएर नेपाललाई घँुडा टेकाउने जस्तो अत्यन्त घृणित कार्य गर्न पनि पछि परेन। राष्ट्रवादी नेपालीको उग्रविरोधले र आफ्नै देशको राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाबले मात्र नाकाबन्दीबाट त ऊ पछि हट्यो। तर यति बेलासम्म नेपालको अर्थतन्त्र तहसनहस भइसकेको थियो। आजपर्यन्त भारत नेपाली नेतालाई मधेसीका माग पूरा गर भन्ने आदेश दिन/अह्राउन छाडेको छैन। हुँदाहुँदा आलंकारिक राष्ट्रपतिसमेत यही कुरा गर्न चुक्तैनन्। के नेपाली नेताले भारतका नेतालाई 'जम्मु कश्मीरको मुद्दा समाल, गोरखाल्यान्डको माग पूरा' गर भन्न सक्छन्, भन्न मिल्छ?

मैले तराईका माग कस्ता हुनुपर्छ, तराईका जनताको सुख, शान्ति र समृद्धिका लागि कस्ता माग पूरा गर्नुपर्छ भनेर पहिले विश्लेषण गरेको छु। मधेसीका मागले कस्तो प्रभाव पार्छ, यो विचारणीय छ। अंगीकृत नागरिकलाई सत्तामा पुर्‍याउने खेलले हजारौँ वर्षदेखि यहाँ बस्ने तराईबासी हेरेका हेर्‍यै हुने? के तिनको अधिकार कुण्ठित भएन? त्यस्तै नेपाल तीन हजार वर्षभन्दा पहिलेदेखि नै तराई, पहाड र हिमाल एकात्मना भएर रहेेको राष्ट्र हो। अहिले आएर पछिल्ला ५० वर्षभित्र आप्रवासन गर्नेहरुले शक्तिशाली छिमेकीको साथ लिएर जुन माग अगाडि सारिराखेका छन् त्यो  नेपाललाई कमजोर बनाउने रणनीति होइन भन्ने आधार के? कतै यो नेपाल विखण्डनतिर लैजाने परिपञ्च त हैन? मधेसी राजनीतिक दलका नेता भन्छन्– समतल क्षेत्र जति एउटा राज्य बन्ने सामर्थ्य राख्छ। अर्का मधेसी नेताको भनाइ छ– हाम्रा लागि नेपाल 'धाइआमा' हो। 'धाइआमा' भनेका दूध चुसुन्जेल पाल्ने, लाम्टा सुकेपछि फाल्ने हो। नेपाललाई 'नेपाल आमा' भन्ने तराईबासीलगायत सम्पूर्ण नेपाली अनि नेपाललाई 'धाइआमा' भन्ने मधेसकेन्द्रित राजनीतिक दलका नेता। यो उनीहरुको तुक्कामात्र हो वा राजनीतिक रहस्य? समयक्रममा बुझिँदै जाइएला। मूल तराईबासीलाई पाखामा पार्दै पछि आएका मधेसीलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा प्राथमिकता दिने कार्यले मुलुकको दीर्घकालीन भलो नहोला। अहिले केही राजनीतिक दलहरु संविधान संशोधनको माध्यमले बिग्रहरूपी बिषको बीउ रोप्न खोज्दैछन्। यो झांगिएमा सबै बिमाख पार्छ।

प्रकाशित: ६ मंसिर २०७३ ०४:१० सोमबार

तराईमा विग्रहको बीउ